ब्याच नम्बर ६९ :  भारतीय कुख्यात अपराधी पप्पुको सहयोगी समात्दा पत्रकार र मानव अधिकारवादीको कार्ड पो देखाए

ब्याच नम्बर ६९ :  भारतीय कुख्यात अपराधी पप्पुको सहयोगी समात्दा पत्रकार र मानव अधिकारवादीको कार्ड पो देखाए

फागुन २ मा प्रहरीले अमेरिका लैजाने भनेर काठमाडौँमा बन्धक बनाएर राखेको ११ जना भारतीय नागरिकलाई उद्धार गर्यो। उनीहरूलाई रातोपुलमा भाडामा लिएको कोठामा बन्धक बनाइएको रहेछ।

बन्धक बनाइएका सबै भारतीय नागरिक थिए अनि बन्धक बनाउने सात जना पनि भारतीय नागरिकै। जो बन्धक बनेका थिए उनीहरूसँग ४० लाखसम्म असुलेको पो देखियो।

यो घटनाले ८ वर्ष अगाडिको घटना सम्झिएँ मैले। त्यो बेलामा पनि यस्तै एक घटना भएको थियो। अपराधको शैली ठ्याक्कै उस्तै।

भारतीयहरूले भारतीय नागरिकलाई नै बन्धक बनाएर थिए। ठाउँ चैं झापा थियो। त्यो घटनामा कुख्यात भारतीय अपराधी नै जोडिएका थिए। यो घटनाको विस्तृत सार्वजनिक भएको छैन।

त्यो बेलामा म प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख थिएँ। कार्यालयमा बसिरहेको बेला तत्कालीन प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले दुई जना भारतीय प्रहरी लिएर मेरो कोठामा आए। दुवै भारतीय दिल्लीको विशेष ब्यूरोका सब-इन्स्पेक्टर तहका थिए। उनीहरू कोठामा प्रवेश गरे लगत्तै अभिवादन गरे। मैले सोफामा बस्न भने।

विदेश लैजाने भनेर भारतीय नागरिकहरूलाई बन्धक बनाएर पैसा असुल्ने समूहले हैरान बनाएको रहेछ भारतमा। दिल्लीमै टन्न केसहरू दर्ता भए पनि समूहका व्यक्तिहरू कोही फेला नपरेपछि उनीहरू यता नेपाल आएका थिए।

नेपाल आउनुको कारण पनि देखियो। उनीहरूले बन्धक बनाउने समूहबारे अनुसन्धान गर्दा हुन्डीबाट पठाउने पैसा घुमेर नेपाल आउने गरेकोसम्म सूचनाका आधारमा उनीहरू नेपाल प्रहरीको सहयोग माग्न आएका थिए।

हुन्डीबाट पैसा घुमेर जसले नेपालमा लिइराखेका छन् उनीहरू नै यो धन्दामा संलग्न रहेको उनीहरूको शङ्का रहेछ।

उनीहरूले भारतमा फैलिएको ठगी जालोबारे खुलाए। दिल्लीमा रहेकाहरूले अस्ट्रेलियामा रोजगारी पक्का भनेर भारतको हरियाणा, बिहार, उत्तर प्रदेशतिरका युवाहरूलाई लोभ्याउने रहेछन्। उता जानका लागि प्रक्रिया अगाडि बढाएपछि कलकत्तामा हाम्रो कार्यालय छ भनेर युवाहरूलाई अस्ट्रेलिया पठाउने भनेर कलकत्तातिर ल्याउने अनि सुट्ट पानीट्याङकीहुँदै झापामा छिराउने।

कहाँ आइपुगेको हो भन्ने केटाहरूले थाहा पाउनु अगाडि नै एक घरमा लगेर बन्धक बनाएर राख्ने अनि उनीहरूको परिवारसँग पैसा असुलेपछि भारततिरै लखेट्ने रहेछन्।

खुल्ला सीमाको समस्या नै यही हो। उता भारतमा अपराध गर्नेहरूले नेपाली भूमि समेत प्रयोग गरिरहेका हुन्छन्। अझ सीमावर्ती जिल्लामा यिनीहरुको चहलपहल र प्रभाव पनि उस्तै देखिन्छ। अपराध भारतमा भइरहेको हो। अनि पीडितहरू पनि भारतीय हुन्।

तर त्यसले नेपालमा पनि सुरक्षा खतरा त बढाउँछ नै। अपराधीहरू आर्थिक रूपमा बलियो हुनु भनेको प्रहरीको चुनौती बढ्नु हो। त्यसैले बेलैमा अपराधीको आर्थिक पक्ष भत्काउन सकिएन भने पछि जटिल बन्दै जान्छ।

उनीहरूले घटनाबारे ब्रिफ गरे अनुसार गम्भीर देखियो। शङ्कामा झापा देखियो। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई फोनबाटै घटनाको अवस्थाबारे जानकारी गराएर दीपेन्द्रलाई दुई भारतीय प्रहरीसहित तत्काल झापा पठाइहाले।

त्यो बेलामा जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखमा भीम दाहाल थिए। उनी झापामा पोस्टिङ हुनु अगाडि सिआइबीमै बसेर काम गरेकाले सहजिकरणमा समस्या भएन। त्यसमा उनी आफैँ सङ्गठित अपराध अनुसन्धानबारे जानकार पनि थिए।

उनीहरूले भारतमा रहेका अपहरितका परिवारका सदस्यहरूलाई कल गर्न इन्टरनेट कलको प्रयोग गरेका थिए। नम्बरहरू त आएका थिए तर ती सबै अस्ट्रेलियाको नम्बरहरू थिए। उनीहरूले कल डाइभर्ट गरेर जहाँको चाह्यो त्यही देशको नम्बर देखाउन मिल्ने इन्टरनेटमा रहेका साइटहरूको प्रयोग गरेर कल गरिरहेका थिए।

कल जहाँबाट गरे पनि इन्टरनेट त नेपालकै प्रयोग गरेका थिए। भारतको पनि उत्तिकै चासो भएकाले प्राविधिक अनुसन्धानमा दिल्लीमा रहेको विशेष ब्युरोका अधिकारीहरूले पनि सघाइरहेका थिए। अनुसन्धानमा सहजिकरणका लागि भारतबाट आएका दुई जना प्रहरीसँगै थिए नै।

त्यस्तै तीन दिन जति अनुसन्धान गरेपछि उनीहरू झापाको बिर्तामोडतिर रहेको हुनसक्ने देखियो। त्यसैको आधारमा अनुसन्धान बिर्तामोडमा केन्द्रीय भयो। दीपेन्द्रलाई झापाको टिमले सघाइरहेको थियो।

अनुसन्धानकाक्रममा बिर्तामोडको एक घरमा भइरहेको गतिविधि अलि शङ्कास्पद देखियो। त्यहाँ केही भारतीयहरू आएर बसेको अनि धेरै जना घरबाहिर ननिस्कने गरेको, घर सुनसानै देखिने गरेको लगायतका सूचनाको आधारमा प्रहरीले रेड हान्दा बन्धक अवस्थामा भारतीय नागरिकसँगै उनीहरूलाई कुर्न बसेका केही भारतीय अनि केही नेपाली नागरिक फेला परिहाले।

घरमा एउटा गाडी अनि एउटा मोटरसाइकलसँगै पेस्तोल पनि फेला पर्यो। त्यहाँ फेला परेकामध्ये अमित झा भन्नेले अपहरणको व्यवस्थापन गर्ने गरेको देखियो। सुनिलकुमार सिंह, सुशील कुमार चौधरी, सन्तोषकुमार चौधरी र ओमकुमार लोहारले अपहरण गरेर नेपाल ल्याएकाहरूको व्यवस्थापन गर्ने गरेको देखियो भने अपहरितलाई राख्न उनीहरूले शनिअर्जुन नगरपालिका–५ मा मासिक ७ हजारमा एक तले घर भाडामा लिएको खुल्यो।

उनीहरूसँगै दीपक सोलाङगी र विक्रम सेठ भन्ने दुई जना व्यक्तिहरूले भने विदेश जान चाहने युवाहरू खोजेर गिरोहको सम्पर्कमा ल्याइदिने गरेको देखियो।

सुनिल काठमाडौँ, काँडाघारी बस्ने गरेको देखियो। भारतीय नागरिक रञ्जित सिंह काठमाडौँको पेप्सीकोलामा बस्ने, भैरहवाका ओमकुमार काहार, सप्तरीका सन्तोष कुमार चौधरी र सुशील कुमार चौधरी  समेत पक्राउ परे। घरमा बन्धक बनाएको अवस्थामा भारतीय नागरिक कमलेश भाटी, विनोद कुमार साखला र जिगिर असोकभाई पमार फेला परेका थिए।

अपराध भारतमा भएको थियो। अपहरितहरू भारतकै। पीडित पनि भारतकै। भारतमा उनीहरूबारे टन्नै उजुरीहरू परेका रहेछन्। भारतीय प्रहरीहरू भारतीय नागरिकलाई उतै लैजान चाहन्थे। हामीलाई पनि पठाउन त केही गाह्रो भएन। तर नेपालमा उनीहरूले कसरी अपराध गरिरहेका छन् भन्ने पक्षको अनुसन्धान त गर्नुपर्यो।

पक्राउ परेकाहरुसँगको बयानबाट उनीहरूले भारतीय युवाहरूलाई अस्ट्रेलिया सहजै जान सक्ने अनि कामको ग्यारेन्टी भन्दै फकाउँदै नेपाल ल्याएर बन्धक बनाएर राख्ने गरेको देखियो।

यता बन्धक भएका युवाहरूलाई पहिल्यै पेस्तोल देखाएर तर्साउँदै परिवारका सदस्यहरूसँग केही नभन्न भन्ने। अनि दिन बिराएर इन्टरनेट कल गराउँदै अस्ट्रेलिया जाने प्रक्रिया पुरा भइसक्यो अब अस्ट्रेलिया पुगेपछि कल गर्छु भन्न लगाउने।

अनि केही दिनमा इन्टरनेट कलको नम्बर डाइभर्ट गराएर अस्ट्रेलियन नम्बर देखिने गरी कल गर्न लगाएर अस्ट्रेलिया आइपुगेको भन्न लगाउने।

उता आफ्नो मान्छे अस्ट्रेलिया पुगेकोमा घर परिवारका सदस्यहरू मक्ख। उनीहरू खुसी भएको मौका पारेर फेरि कल गराएर यता काम गर्न पैसा डिपोजिट गर्नुपर्ने रहेछ भन्दै परिवारका सदस्यको आर्थिक हैसियत अनुसार पैसा मगाउन लगाउने।

तत्काल पैसा चाहिएको भन्दै गिरोहको सम्पर्कमा रहेको हुन्डी कारोबारीमार्फत पैसा लिएर त्यो हुन्डीबाट घुमाउँदै नेपाल ल्याउने रहेछन्। जब नेपालमा पैसा हात पर्छ अनि उनीहरूलाई कतै भनिस् भने परिवारै सखाप पार्छु भनेर भारततिरै लखेट्ने रहेछन्।

अनुसन्धानकैक्रममा अनुसन्धानमा भारतमा हिन्दुसिंह यादव नाम गरेको व्यक्ति मुख्य योजनाकार देखिए। उनको पनि सम्पर्क जालो त केलाउनु पर्यो। यादवको नाम नेपालको कुनै अपराधमा संलग्न छ कि भनेर खोज्दा फेला परेन। तर उनीबाट अर्को नाम खुल्यो पप्पुदेव यादव भुमिहार।

भुमिहार नेपालका मोस्ट वान्टेड थिए नेपालमा। भुमीहार नेपाल अनि र भारत दुबैतिर अपहरणमा कहलिएका अपराधी। उनले अपहरितलाई नेपालमा ल्याएर बन्धक बनाएर राख्न आफ्ना समूहका सदस्य विन्दुसिंहलाई नेपालमा राखेको खुल्यो। विन्दुसिंह २३ वर्षदेखि नेपालमा बसेर, यतै नेपाली महिलासँग विवाह गरेर घरजमै गरेर बसिरहेका रहेछन्।

भूमीहार २०६० सालमा विराटनगरमा भएको तुलसीराम अग्रवालको अपहरणका मुख्य योजनाकार देखिएका थिए। अपहरणमा उनी २०६० मा नेपालमा पक्राउ परेर १२ वर्ष जेल सजाय पाएर २ वर्ष कैद भुक्तान बाँकी रहँदा नै छुटेर भारत गएका थिए।

नेपालको जेलमा रहँदा पप्पुदेव काठमाडौँको नख्खु, केन्द्रीय कारागार, मोरङ, रामेछाप र पाल्पा कारागारमा पुगेका थिए। जेल सरुवा भएर उनी जहाँजहाँ पुग्थे सुनिलसिंह पनि त्यहाँ जाने र उनको जेलभित्रको व्यवस्थापन गर्ने गरेको देखियो।

जब भूमीहार छुटेका थिए त्यो बेलामा के आधारमा यस्तो अपराधी छुट्यो भन्ने चासो र चर्चा भएको थियो। उनी छुटेर भारत गएर पुन यता नेपाललाई सेल्टर बनाएर गम्भीर अपराध सुरु गरिसकेका थिए।

अनुसन्धान भूमिहार केन्द्रित पनि हुने भइहाल्यो। उनी त्यो बेलामा कसरी छुटेका रहेछन् भनेर सोधखोज गर्दा त जेल प्रशासनलाई २४ लाख खुवाएर छुटेको भने सिंहले। पप्पुबारे बुझ्दा नेपालबाट छुटेपछि उनी बिहारमा देव कन्स्ट्रक्सन नामको निर्माण कम्पनी खोलेर त्यसैको आवरणमा अपराधमा सक्रिय देखिए।

पक्राउ परेका आरोपीहरु र बरामद परिचयपत्रहरु।अचम्म के भने सुनिलको साथबाट भारतबाट जारी भएको प्रेस सम्बन्धी अन्तर्राष्ट्रिय कार्ड पो फेला पर्यो। उनको साथमा ह्युमन राइट्स एन्ड पिस फाउन्डेसन(हुर्रक नेपाल) नामक मानव अधिकारवादी संस्थाको कार्ड समेत थियो।

हामीलाई आवश्यक पर्ने सूचनाहरू आइसकेपछि भारतीय नागरिकहरूलाई दिल्लीबाट आएका प्रहरीको जिम्मा लगाएर पठायौँ। नेपाली नागरिकहरूमाथि यतै अनुसन्धान गर्यौँ।

उता भारतमा विहारमा पप्पुको आतङ्क बढिरहेको थियो। नेपालमा उनको नेटवर्क भएकाले यता पनि निगरानीमा त थिए।

निर्माण कम्पनीबाट उनले बिहारमा अर्काको जग्गा कब्जाको घटनाहरू बढेपछि विहारको प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बेलामा २०२१ डिसेम्बर १९ मा हिरासतमै उनको मृत्यु भयो।

पप्पुको मृत्यु त भयो तर उस्तै प्रकारको घटना भने रोकिएनछ। त्यो रातोपुलको घटनाबाट देखियो। 

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

३० फागुन, २०८०, १९:४५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।