दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौं : दुग्ध विकास संस्थान(डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ।

डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा ४८ करोड रुपैयाँ रकम भुक्तानी गरेको हो।

संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मीयाम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम)को बिक्री  बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको राससलाई जानकारी दिए।

‘गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ’, अधिकारीले भने।

डिडिसीले वैशाख लागेपछि विराटनगरमा १० करोड, जनकपुरमा एक करोड, हेटौंडामा आठ करोड, लुम्बिनीमा चार करोड २५ लाख, नेपालगञ्जमादुई करोड ७५ लाख, धनगढीमा एक करोड ५० लाख र काठमाडौंमा १३ करोड किसानको रकम भुक्तानी गरेको हो।

डिडिसीले हेटौंडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी छ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताए।

डिडिसीको हेटौंडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक पाँच लाख किलो दाना उत्पादन हुँदै आएको छ।

१४ बैशाख, २०८१, ०९:५५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।