सिधाकुराको अडियो स्रोत पनि तारेखमा, थप व्यक्ती झिकाउन आदेश

सिधाकुराको अडियो स्रोत पनि तारेखमा, थप व्यक्ती झिकाउन आदेश

काठमाडौँ : सिधाकुराडटकममा प्रकाशित सामाग्रीबारे अदालतको मानहानिमा सुनुवाइ गरिरहेको सर्वोच्च अदालतले इजलासले प्रकाशक, कार्यकारी सम्पादकसँगै अडियोको स्रोतलाई समेत तारेखमा छाडेको छ।

सोमबार अडियो उपलब्ध गराउने स्रोतले बयानकाक्रममा थप व्यक्तिहरू पोलेपछि ती पोलिएका व्यक्तिहरू समेत झिकाउन आदेशदिँदै स्रोतसहित सिधाकुराका युवराज कँडेल र नवीन ढुङ्गानालाई तारेखमा छाड्न आदेश दिएको हो।

न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले एक हप्ताभित्र आरोपित थप व्यक्तिहरूलाई बयानका लागि अदालतमा उपस्थित गराउने आदेश समेत दिएको छ।

आइतबार अनलाइनलाई अडियो उपलब्ध गराउने स्रोतको बयान नसकिएपछि अदालतले उनलाई प्रहरीको जिम्मा लगाएको थियो। सोमबार उनको पनि बयान सकियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जोडिएको मुद्दा प्रभावित पार्न मिडिया सञ्चालकदेखि सर्वोच्चका न्यायाधीशसम्म संलग्न रहेको दाबी सहित सिधा कुराले ‘स्टिङ अपरेसन’ भन्दै अडियो सार्वजनिक गरेको थियो।

अनलाइनले प्रकाशन र प्रसारण गरेका सामग्रीबाट अदालतको अवहेलना भएको उल्लेख भन्दै वैशाख १६ मा सर्वोच्चका उपरजिस्ट्रार गोविन्द घिमिरेले प्रतिवेदन उठाएर वैशाख १७ गते न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले सो सामग्री २४ घण्टाभित्र हटाउन र बयानका लागि अदालतमा उपस्थित हुन प्रकाशक र सम्पादकलाई आदेश गरेको थियो। 

२४ बैशाख, २०८१, १८:२९:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।