घटनाको ८२ दिनपछि  पक्राउ परे सुर्खेत गोली काण्डका मुख्य योजनाकार, स्थानीय ठेक्का कब्जाका लागि चलेको थियो गोली

घटनाको ८२ दिनपछि  पक्राउ परे सुर्खेत गोली काण्डका मुख्य योजनाकार, स्थानीय ठेक्का कब्जाका लागि चलेको थियो गोली

सुर्खेत : विनोद गिरीलाई  गोली हानेर मार्ने प्रयास गरेको घटनाका मुख्य योजनाकार मानिएका वीरेन्द्रनगर नगरपालिका–१ का ३३ वर्षीय सन्तोष गिरी घटनाको ८२ दिनपछि पक्राउ परेका छन्। ज्यान मार्ने उद्योग, शरीर बन्धक, अभद्र व्यवहार, सङ्गठित अपराध लगायत आरोपमा उनी फरार थिए।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ बाट पक्राउ गरेर शुक्रवार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको छ।

प्रहरीले आरोपित गिरीलाई शुक्रवारै जिल्ला अदालत सुर्खेतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए।

‘अनुसन्धानको विषय लगभग सबै टुङ्गिएको छ। हामीले शुक्रवार अदालतमा हाजिर गराएर ल्याएका छौँ,’डिएसपी विश्वकर्माले भने, `केही दिनमा अदालत पठाउने छौँ।´

२०८० फागुन १२ मा वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरीमाथि गोली हान्ने मुख्य योजनाकार भएको दाबीसहित पीडित पक्षले ०८० फागुन १३ मा उनीसहित नौ जना विरुद्ध जाहेरी दिएका थिए।

हालसम्म पाँच जना आरोपित मात्रै पक्राउ परेका थिए। चार जना भने अझै फरार छन्। वीरेन्द्रनगर नगरपालिका–३ गैरीगाउँमा विनोद गिरी चढेको बाग्मती प्रदेश ०१–०२९ च ७२६४ नम्बरको कारमा गोली प्रहार भएको थियो।

सोही घटनामा संलग्न भएको आरोपमा फागुन १२ राति नै प्रहरीले भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुललाई पक्राउ गरेको थियो।

फागुन १३ गते घटनामा संलग्न रहेको भन्दै  वीरेन्द्रनगर नगरपालिका–४ का ३७ वर्षीय राजन गिरी पक्राउ परे। जिल्ला अदालतका न्यायाधीश मनोजकुमार श्रेष्ठको ०८१ वैशाख ३ गतेको इजलासले चारै जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो।

प्रहरीले वैशाख १ मा उनीहरुविरुद्ध सङ्गठित अपराध, ज्यान मार्ने र हातहतियार खरखजानाको मुद्दाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको थियो। सरकारी वकिलको कार्यालयले वैशाख ०२ गते जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेको थियो।

भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएका भारतीयसहितको टिमले गिरी सवार कारलाई लक्षित गरेर गोली प्रहार गरेको थियो तर गोली सिसामा लागेकाले विनोदको ज्यान जोगिएको थियो।

प्रहरी अनुसन्धानले रोहित भारतीय सुटर, विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी, गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्ति रहेको खुलेको थियो। 

प्रहरीले घटनाको मुख्य योजनाकार खुलेको दाबी गरे पनि परिचय भने गोप्य राखेको थियो। उकेराको खोजबिनमा सो घटनाको योजनाकार गिरी देखिए पनि समाचार प्रकाशित गरेको थियो।

स्थानीय ठेक्कामा वर्चस्वको विवादले हत्या प्रयास

हत्या प्रयासबाट जोगिएका विनोद अनि पक्राउ परेका सन्तोष दुवै राजनीतिसँगै स्थानीय ठेक्कापट्टामा संलग्न छन्। दुश्मनीको कारण पनि ठेक्का नै देखिन्छ।

२०७८ भदौ ११ मा साँझ ६ मा वीरेन्द्रनगरको कालिन्चोकमा पाँच जनाको समूहले सन्तोषलाई खुँडाले हानेपछि दुबैबीच दुस्मनी बढेको थियो। सन्तोषले सो आक्रमणको दोष विनोदमाथि लगाए। उनले अस्विकार गरे। 

तर सन्तोषले त्यो बेलामा सुशील रावल, महेश खत्री, सुनिल वादी, रिपेस मस्र्याङी, गगन बुढा, रुपेस सेन ठकुरी र हेमन्त नेपालीको नाम किटान गरेर जाहेरी दिएका थिए।

उनले विनोद गिरीलाई मुख्य योजनाकारको रूपमा उल्लेख गरे पनि  विनोदले आफू यो घटनामा संलग्न नरहेको भन्दै सन्तोषलाई मिल्न अनुरोध गरे पनि सहमति नभएको जानकार बताउँछन्।

पक्राउ परेपछि भने सन्तोषले प्रहरीलाई' खुँडा हानेर हत्या प्रयास गर्दा पनि कारबाही नभएपछि बदला लिन गोली हान्न लगाएको दाबी गरेको प्रहरीस्रोतले बतायो। 

यी दुवै राजनीतिक रूपमा नेपाली कांग्रेसको तरुण दलमा आबद्ध थिए। राजनीतिसँगै उनीहरू निर्माण व्यवसाय र काठको ठेक्कापट्टामा समेत संलग्न थिए। दुवै मिलेरै काम गर्थे।

खुँडाकान्डपछि उनीहरू सम्बन्ध चिसिँदै गयो। कांग्रेसका जिल्ला नेतृत्वहरुले दुवैको सम्बन्ध सुधार्न प्रयास नगरेका हैनन्, तर सफल भएनन्।

त्यसकै परिणाम बदला लिन उनले भारतबाट सुटर झिकाएर विनोदको हत्याको योजना बनाए। विनोद चढेको गाडी र सुटर चढेको मोटरसाइकल ठोक्किँदा गोली चले पनि उनलाई लागेन। सुटरसहितका शङ्कास्पद आरोपीहरू समातिएपछि अनुसन्धान सन्तोष केन्द्रित भए पनि पक्राउ परेका थिएनन्।

घटनाको ८२ दिनपछि बल्ल उनी पक्राउ परे।

सम्बन्धित समाचार

जेठ ४, २०८१ शुक्रबार १९:३०:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।