सुर्खेत गोली काण्ड : भारतीय सुटरलाई साढे तीन लाखमा विनोद हत्याको ठेक्का, मोटरसाइकल र गाडी ठोक्किँदा जोगियो ज्यान !

सुर्खेत गोली काण्ड : भारतीय सुटरलाई साढे तीन लाखमा विनोद हत्याको ठेक्का, मोटरसाइकल र गाडी ठोक्किँदा जोगियो ज्यान !

सुर्खेत : शनिवार दिउँसो वीरेन्द्रनगर–१ का ३९ वर्षीय विनोद गिरी घरबाट वीरेन्द्रनगर–६ बजारतिर निस्के। दिनभर आफ्नो काम गरे। साढे आठ बजे काम सकेर घर फर्किए। घरमा नपुक्दै वीरेन्द्रनगर–३ स्थित गैरीगाउँ बाटोमा उनी चढेको कारलाई पिछा गर्दै भे ५ प ६०६१ नम्बर मोटर साइकलमा आएको सुटर टिमले गोली चलायो।

मोटरसाइकलमा आएका दुईमध्ये पछाडि बसेका भारतीय सुटरले गोली हाने। गोली सिसामा लागेर फुट्यो। गिरीलाई गोली लागेन। बाइक र गाडी एक आपसमा ठोक्किएपछि सुटरसहित दुई जना सडकमा ढले।

कटुवा पेस्तोल र बाइक छोडेर भाग्न थालेका सुटरलाई विनोदका साथीहरूको समाउन सफल भए। उक्त घटना प्रहरीसम्म पुगेपछि प्रहरी रातभर अनुसन्धानमा खटियो। घटना संलग्न भारतीय सुटरसहित चार जनालाई प्रहरी पक्राउ गर्यो।

आइतबार गिरीमाथि गोली प्रहार गर्ने एक जना भारतीय सुटरसहित चार जनालाई प्रहरीले सार्वजनिक गर्यो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार भारतको उत्तर प्रदेशको बिजनौर दादानगरगञ्जका १९ वर्षीय रोहित राजपूत, कैलालीको गौरीगङ्गा नगरपालिका–२ का १८ वर्षीय मोटरसाइकल चालक इन्द्र विक सोही ठाउँका १८ वर्षीय भरत भुल र सुर्खेतको वीरेन्द्रनगर–४ का ३७ वर्षीय राजन गिरी पक्राउ परेका थिए।

रोहित भारतीय सुटर हुन्,  विक मोटरसाइकल चालक, भूल योजनाका सहयोगी हुन् भने गिरी सुटर र अन्य दुई जनालाई सुर्खेतमा ल्याएर होटेलमा बास बसालेर व्यवस्थापन गर्ने व्यक्ति रहेको प्रहरीको दाबी छ।

घटनामा संलग्न देखिएका अन्य व्यक्तिहरूको पहिचान भएको दाबी गर्ने प्रहरीले पहिचान भने खुलाएनन्। उनले प्रहरी उनीहरू नजिक पुगेको दाबी मात्र गरे।

‘प्रारम्भिक अनुसन्धानबाट चार जनालाई पक्राउ गरेका छौँ। घटनाको अनुसन्धानमा बाधा नपुगोस् भनेर मुख्य योजनाकारलाई शङ्कित व्यक्ति भनेर खुलाएका छौँ,’प्रमुख खड्काले भने, ‘मुख्य शङ्कित व्यक्ति पक्राउ परेपछि थप घटनाको रहस्य खुल्नेछ। थप अभियुक्तको खोजीका लागि प्रहरी टोली परिचालित भएको छ। छिट्टै निष्कर्षमा पुग्नेछौँ।’

यता पीडित विनोद गिरीले आफूमाथि व्यावसायिक आपराधिक लाभका कारण गोली हानिएको दाबी गरे।

यसरी बन्यो हत्याको योजना ?

प्रहरीका अनुसार गिरीको हत्या योजना डेढ महिनाअघि बनेको हो। प्रहरीले नाम सार्वजनिक नगरेका मुख्य व्यक्ति (शङ्कित) ले गिरीको हत्याका लागि सुरुमा कैलालीका इन्द्र विकसँग सम्पर्क गरेका थिए।

सुरुमा उनीहरूबिच ह्वाट्स एपमार्फत कुराकानी हुँदा विक गिरीको हत्या गर्न तयार भए। २०–२५ दिन अगाडी मात्रै हत्याको योजना बनाउन मुख्य व्यक्ति कैलालीको अत्तरियामा विकलाई भेट्न पुगेका थिए।

१०–१२ दिन अगाडी इन्द्रले भरतलाई ल्याएर गौरीगङ्गाबाट कैलालीको लम्की आएका थिए। हत्याको योजना बनाउने मुख्य व्यक्तिले भारतबाट राजपूतलाई पनि लम्की बोलाएर स्थानीय टिएमटी होटेलमा बसेर पूर्व योजना बनाएका थिए।

८-९ दिन अगाडि इन्द्र र भरतलाई मुख्य योजनाकारले नेपालगन्ज बोलाएर आफूहरूसँग सुटर रहेको र विनोदलाई मारेपछि डेढ लाख दुई जनालाई र सुटरलाई दुई लाख दिने ‘अफर’ गरेका थिए। यसमा उनीहरू राजी भए।

मुख्य योजनाकारले इन्द्रलाई एक नाल कटुवा पेस्तोल र २ राउन्ड गोली उपलब्ध गराए। त्यसको दुई दिन पछि भारतका सुटर रोहितलाई इन्द्र, भरत र मुख्य योजनाकारले नेपालगन्जमा भेटघाट गरी थप योजना बनाए।

उनीहरूले रोहितलाई उक्त कटुवा पेस्तोल र गोली दिए। मुख्य योजनाकारले रोहितलाई दुई लाख रुपैयाँ दिने सहमति गरेको प्रहरीको दाबी छ।

फागुन ७ गते रोहित हत्या गर्ने योजनासहित  सुर्खेत आएर वीरेन्द्रनगर–४ स्थित गणेश होटेलमा बसेका थिए। वीरेन्द्रनगर–४ का राजन गिरीले रोहितलाई होटेलमा बस्ने व्यवस्था मिलाएका थिए।

९ गते मुख्य योजनाकारले नेपालगन्जमा इन्द्र, भरत  र एक जना अर्को नाम नखुलेको व्यक्तिले भे.५ प.६०६१ नम्बरको मोटर साइकल उपलब्ध गराए। सोही योजना अनुसार उनीहरू तीन जना नेपालगन्जदेखि सुर्खेत आएका थिए।

अर्का एक शङ्कित व्यक्तिले विनोदको घर देखाए र होटेलमा समेत गतिविधिबारे जानकारी पुर्याउँथे। सोही अनुसार उनीहरूले शनिवार साँझ हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेका थिए।

‘हत्याको योजना बनाउने मुख्य व्यक्ति, भारतबाट बोलाइएका सुटर, इन्द्र र भरत बसेर हत्याको पूर्व योजना बनाएको अनुसन्धानले देखाएको छ,’ प्रहरी उपरीक्षक खड्काले भने, ‘विनोदका गतिविधि निगरानी गर्न इन्द्र र भरत पहिला नै सुर्खेत आएको देखिन्छ।’

सुटरसहित दुई जनालाई साढे तीन लाख रुपैयाँ दिने सहमति दिएपछि हत्याको योजना बनाएको प्रहरी उपरीक्षक खड्काले बताए।

‘हत्याका लागि दुई जनालाई डेढ लाख  र सुटरलाई तीन लाख दिएर सहमति गरेको देखिन्छ,’उपरीक्षक खड्काले भने, ‘गिरीको हत्या योजनासहित रोहित फागुन ७ मा सुर्खेत आइपुगेका थिए।’

उपरीक्षक खड्काका अनुसार पक्राउ परेकाहरू रकम लिएर हत्या गर्न प्रयोग गरिएका व्यक्तिहरू हुन्। मुख्य अभियुक्त भने अझै फरार छन् ।

को होलान् मुख्य योजनाकार ?

गोली हानेर हत्याको प्रयासमा परेका विनोद नेपाली काँग्रेसको भातृ सङ्गठन तरुण दल सुर्खेतका सदस्य हुन्। तर उनी राजनीतिक भन्दा पनि निर्माण र काठ व्यवसायीको रुपमा परिचित छन्। उनी ठेक्कापट्टामा संलग्न छन्। घटनाको कारण व्यवसायीक देखिएको प्रहरीले दाबी गरेको छ।

विनोदको हत्याको योजना बनाउनेबारे जानकारी आएको तर गोपनीयताका लागि नाम खुलाउन नमिल्ने प्रहरीको दाबी छ। तर अनुसन्धान स्रोत यो घटना २०७८ भदौ ११ को घटनामा जोडिनसक्ने दाबी गर्छन्।

२०७८ भदौ ११ मा साँझ ६ मा वीरेन्द्रनगरको कालुङगचोकमा पाँच जनाको समूहले सन्तोष गिरीलाई खुँडाले हानेका थिए। सन्तोषले आफूमाथि विनोले आक्रमण गर्न लगाएको दाबी गरेका थिए।

सन्तोषले सुशील रावल, महेश खत्री, सुनिल वादी, रिपेस मस्र्याङी, गगन बुढा, रुपेस सेन ठकुरी र हेमन्त नेपालीको नाम किटान गरेर जाहेरी दिएका थिए। उनले विनोद गिरीलाई मुख्य योजनाकारको रुपमा उल्लेख गरेका थिए। 

प्रहरीले सुनिल वादी र रिपेश मस्र्याङीलाई पक्राउ गरेको थियो। विनोदसम्म अनुसन्धान पुगेन। वादी पुर्पक्षका लागि थुनामा गए भने रिपेश एक लाख ५० हजार धरौटीमा रिहा भएका थिए।

सन्तोष पनि तरुण दलमै आबद्ध छन्। उनी र विनोदबिच पारिवारिक सम्बन्ध समेत रहेको छ।

१३ फागुन, २०८०, २३:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।