प्रतिपक्षलाई सभामुखको चेतावनी : 'संसद यस्तै रहे अध्यादेश पनि विकल्प हुनसक्छ'

प्रतिपक्षलाई सभामुखको चेतावनी : 'संसद यस्तै रहे अध्यादेश पनि विकल्प हुनसक्छ'

काठमाडौं : सभामुख देवराज घिमिरेले जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ बन्दक बनिरहेको बताएका छन्। 

शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको चौथो साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताका प्रतिनिधिहरूले जनताको विषय उठाउने संसद आज बन्दक बनिरहेको बताए। 

उनले भने, ‘यो व्यक्तिगत टिप्पणीको कुरा होइन। अहिले संसदमा जे गतिविधिहरू भइरहेका छन त्यो राम्रो संकेत होइन। संसदमा के भइरहेको छ र के हुनुपर्छ यो सबैको चासोको विषय हो। किनभने संसदमा हुनुपर्ने वहस र छलफलहरू अगाडि बढ्न सकिरहेको छैन। संसद बन्दक बनिरहेको छ। जनताका प्रतिनिधिहरूले जनताको अभिमतहरू राखेर निर्णय गर्ने ठाउँ आज अवरोध छ।’

उनले संसद सधैँ अवरुद्ध रहने हो भने संसदलाई अन्त्य गरेर अत्यादेशको माध्यमबाट कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउन सक्ने बताए। 

उनले भने, ‘यस्तै चल्ने हो भने निकटमा आइरहेको बजेट पारित गर्ने कुरा अथवा यस्तै अन्य विषयहरूका लागि नयाँ बाटो खोज्नुपर्ने हुनसक्छ। अहिले सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेको अवस्थामा सरकारले बहुमत देखाउँछु भनेर बहुमतको लागि मिति पनि तोकेको अवस्था छ। यस्तो अवस्थामा संसद अवरुद्ध भयो भने के परिणाम आउँछ? त्यसैले यो बेला संसदलाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट यस्ता कतिपय बाटोहरू खोल्नुपर्ने अवस्था आउँछ। अहिलेको अवस्थामा हामी गयौँ भने प्रजातन्त्रलाई कसरी उपयोग गर्ने भन्ने कुरा फेरि वहसमा आउनसक्छ।’

हालकै प्रणाली अन्तर्गत संसद रोकिएर बस्न सक्दैनन् र बस्नु पनि नहुने भन्दै यसमा निर्णय लिनको लागि सबैको साथ सहयोग आवश्यक भएको  उनको भनाइ छ।  

जेठ ५, २०८१ शनिबार १५:०९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।