संसद बैठकअघि किन छलफलमा जुटे प्रतिपक्ष दलहरू !

संसद बैठकअघि किन छलफलमा जुटे प्रतिपक्ष दलहरू !

काठमाडौं : संसद बैठक सुरू हुनुअघि प्रतिपक्षी दलहरूको बैठक बस्दै छ।

नयाँबानेश्वरस्थित संघीय संसद् भवनमा नेपाली कांग्रेससहित प्रतिपक्षी दलको बैठक बस्न लागेको राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले जानकारी दिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागी हुन लागेको शाहीले बताए।

सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ। राप्रपाका नेताहरूले समेत आफूहरूको आन्दोलनमा बल प्रयोग गरेको भन्दै त्यस दिनदेखि नै गृहमन्त्रीको राजीनामा माग्दै आएका छन्। 

गत बिहीबारको संसद बैठकमा प्रतिपक्षका अन्य दलहरूले समेत उभिएर विरोध जनाएका थिए। त्यस दिनको  बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदबीच धकेलाधकेल भएपछि प्रतिपक्षी दलहरू एकठाउँमा उभिएका थिए। उनीहरूले सभामुख देवराज घिमिरेको भूमिकाप्रति असन्तुष्टि जनाएका छन्। 

आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक बस्नुअघि प्रतिपक्षी दलको बैठक बस्न लागेको हो। बैठकले सहकारी प्रकरणमा गृहमन्त्रीको छानबिनमाथि साझा धारणा बनाउने शाहीले बताए।  

जेठ ६, २०८१ आइतबार १०:५२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।