आफ्नै मन्त्री भेट्न कठिन भएको रास्वपा सांसदहरूको गुनासो
काठमाडौं : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकारको कार्यशैली, सुकुम्वासी समस्या, संसद्को प्रभावकारिता लगायतका विषयमा आन्तरिक बहस सुरु भएको छ।
शुक्रबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सभापति रवि लामिछानेसँग भएको छलफलमा कोशी र मधेश प्रदेशका सांसदहरूले नीतिगत अस्पष्टता र मन्त्रीहरूसँगको समन्वय अभावबारे गुनासो राखे।
छलफलमा सुकुम्वासी बस्ती व्यवस्थापनमा देखिएको अन्योल र स्थानीय तहले गरिरहेको कारबाहीका विषयमा पार्टीको आधिकारिक धारणा माग गरिएको थियो। सांसदहरूले लालपुर्जा भएका र कर तिरिरहेका नागरिकलाई समेत विस्थापित गर्न खोजिएकोले केन्द्र सरकारको निर्देशन र पार्टीको ठोस नीतिको खाँचो औँल्याए।
झापाको गिरीबन्धु टी स्टेट र पाथीभरा केबलकार निर्माण जस्ता विवादित तथा ठूला आयोजनाका विषयमा सरकारले अनिर्णयको बन्दी बन्न नहुने सुझाव आएको छलफलमा सहभागी एक सांसदले जानकारी दिए। ती सांसदका अनुसार सरकार र संसद्बीच बढ्दो दूरी तथा आफ्नै दलका मन्त्रीहरूलाई भेट्न कठिन भएको विषयमा समेत कुरा उठेको थियो।
सभापति लामिछानेले भने पार्टीमा गुटबन्दी गर्नतिर नलाग्न सचेत गराउँदै जनताका समस्या सिधै नेतृत्वलाई जानकारी गराउन सांसदहरूलाई निर्देशन दिएका थिए। मन्त्रीहरूबाट सहयोग नभएमा वा समन्वय अभाव भएमा त्यसको सहजीकरणका लागि छुट्टै संयन्त्रको प्रयोग गर्न र बजेट निर्माणको पूर्वसन्ध्यामा आफ्ना क्षेत्रका महत्त्वपूर्ण योजनाहरू पेस गर्न आग्रह गरेका थिए।
बैठकले आगामी मनसुन र सम्भावित प्राकृतिक विपत्तिका बेला जनताको सेवामा सक्रिय हुन तथा सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरू जस्तै अस्पताल, विद्यालय र प्रशासन कार्यालयको नियमित अनुगमन गरी सुधारका लागि प्रतिवेदन बुझाउन भनेको छ। संसद्मा प्रस्तुत हुने विधेयकहरूको पूर्व तयारी र संसदीय भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको छलफलमा सहभागी ती सांसदले जानकारी दिए।
जेठ ८, २०८३ शुक्रबार २१:४१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।