ब्याच नम्बर ६९ : भुटानीले खाजा खर्च भनेर गाडीमै एक लाख छाडेर गएपछि आपत्

ब्याच नम्बर ६९ : भुटानीले खाजा खर्च भनेर गाडीमै एक लाख छाडेर गएपछि आपत्

यस अगाडिको अंकमा भारतको कुल्लुमनालीबाट मूर्ति चोरेर नेपाल आएका एक नेपाली अनि मूर्ति खोज्दाको दुःखबारे लेखेको थिए। त्यसमा सबैभन्दा ठुलो समस्या चैं पक्राउ नगर्ने सर्तमा नेपाली नागरिकलाई भारत पठाउने कि नपठाउने भन्ने थियो।

उनले मूर्ति चोरेर नेपाल नल्याइ उतै लुकाएर आएका थिए। उता खोज्दा मरे नभेटिएपछि भारतको प्रहरीले’ पक्राउ गर्दैनौँ, मूर्ति फेला परेपछि नेपाल पठाउँछौँ’ भनेर निकै आग्रह गरेका थिए। नेपाली नागरिकले विदेशमा जस्तो अपराध गरेर नेपाल आए पनि न यता कारबाही गर्न सकिन्छ न त फिर्ता पठाउनै मिल्छ। त्यो त सिधै जागिरै जोखिम मोल्ने विषय भयो। अर्को बदनामी पनि।

त्यत्रो जोखिम कसले उठाउँछ! भारत नपठाए पनि गुगलम्यापको सहयोगमा चोरेर उतै लुकाएको मूर्तिसहित सबै सामान फेला पर्यो। यता पनि उनलाई कारबाही गर्ने कुनै आधार थिएन। भारतमा मूर्ति चोरी गरेर नेपाल आएको भन्ने प्रहरी कार्यालयमा रेकर्ड राखेर हिरासतमुक्त गर्यौँ।

उता सरकारले नै चोरी भएको मूर्ति फेला पार्नेलाई १० लाख भारतीय रूपैयाँ पुरस्कारको घोषणा गरेको थियो। मूर्ति त हामीले फेला पारेका थियौँ। त्यसैले उताबाट त्यो पुरस्कार लिन खुबै आग्रह गरेका थिए। तर कानुनतः नमिल्ने भएकाले हामीले हुन्न भन्यौँ उनीहरूले माने पनि।

अर्को यस्तै घटना छ। यो चैं भुटानको। यसमा हामीले जसलाई पक्राउ गरेका थियौँ उनलाई भुटान पठायौँ। पठाउँदा त्यस्तो समस्या आउने त हैन तर आलोचना गर्ने अनि निहुँ खोज्नेहरूका लागि भने त्यो घटना सार्वजनिक भएको भए विवाद भने हुनसक्थ्यो।

केही पत्रकारले थाहा पाएर फोन गरेर सोधेका पनि थिए। पक्राउ परेका व्यक्तिको पृष्ठभूमि अनि उनलाई भुटान फिर्ता पठाउनुपर्ने कारण खुलाएपछि उनीहरूले घटना बुझे। नकारात्मक समाचार आएन।

घटना म केन्द्रीय अनुसन्धान ब्यूरोको प्रमुख हुँदाताकाकै हो। अबेर भइसकेको थियो। म कार्यालयबाट घर फर्कने तयारीमा थिएँ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको फोन आयो।

‘लौ न भुटानबाट एकजना ठुलै घोटाला गरेर नेपाल आएको छ रे। भुटानको पुलिस चिफले नै फोन गरेका थिए। खोज्नुपर्यो’ यति भनेपछि नाइँ भन्ने कुरा हुन्न।

धेरैलाई ब्यूरोबारे अलि भ्रम रहेको देख्छु म। ब्यूरो प्रहरी सङ्गठनभित्रकै हो। तर यसको चेनअफ कमान्ड सिधै प्रहरी महानिरीक्षकसँग ठोकिन्छ। अहिले त ब्यूरोको प्रमुख एआइजी हुने बनेको छ। त्यो बेलामा डीआइजी कार्यालय प्रमुख हुने नियम थियो। डीआइजी भए पनि हेडक्वार्टरको महाशाखामा एआइजी प्रमुख हुन्थे। तर ब्यूरोको चेनअफ कमान्ड एआइजीहुँदै नगएर सिधै प्रहरी महानिरीक्षक मातहत हुन्थ्यो।

अहिले पनि त्यही हो। एआइजीको सट्टा एससएपी दर्जाको ब्यूरो प्रमुख हुने नियम बन्यो भने पनि सिधै आइजीपी मातहत हुने हो। ब्यूरोले सिधै निवेदन या जाहेरी दर्ता गर्दैन। प्रहरी महानिरीक्षकले अह्राउने अनि खटाउने काम गर्ने हो ब्यूरोले।

त्यसैले आइजीपीले दिने मौखिक या लिखित आदेशको आधारमा ब्यूरोले अनुसन्धान गर्छ नै।

घटनाबारे अर्याललाई जे जति जानकारी आएका थिए त्यो मागेँ। सिधै सम्पर्क स्रोत भुटानका प्रहरी प्रमुखै थिए। मज्जाले नेपाली बोल्ने। लागूऔषध अनुसन्धान कार्यान्वयन इकाइको प्रमुखहुँदा सार्कस्तरीय कार्यक्रममा भुटानको प्रहरी प्रमुख भेट्दा लेफ्टिनेन्ट कर्णेल तहका थिए। त्यो बेलामा तह बढेर ब्रिगेडियर तहको भइसकेको रहेछ।

भुटानको प्रहरीले नेपाल आएको शङ्का गरेको व्यक्तिको नाम, तस्बिर लगायतका आवश्यक विवरण लिएँ। भुटानबाट भारतहुँदै नेपाल आएको उनीहरूको शङ्का रहेछ। विषय चैं ठगी। त्यो पनि डेढ मिलियनजति अमेरिकी डलर।

भुटानको सबैभन्दा ठुलो इन्स्योरेन्सका अधिकृत रहेछन् उनी। अहिले नाम बिर्सिएँ मैले। राजपरिवारका सदस्यहरूको समेत पैसा भएको इन्स्योरेन्सको हिसाब गोलमाल गरेर उनी भुटानबाट अवैध रूपमा भारत छिरेर त्यहाँबाट नेपाल आएको देखियो। उनीहरूको शंकामा ती व्यक्ति काठमाडौँमा छन् भन्नेसम्म देखियो। तर कहाँ छन् त्यो थाहा थिएन।

उनी नेपालीमूलका भएकाले भारतबाट सहजै नेपाल प्रवेश गरेका थिए। अब नेपाल-भारत सिमाना न सबै रेकर्ड रहने क्लोज सर्किट टेलिभिजन छ न त नेपाल प्रवेश गरेकाहरूको नै प्रस्ट रेकर्ड बस्छ।

नेपालमा पनि नेपाली जस्तो देखिएपछि नाकामा धेरै सोधपुछै हुन्न। नेपाली मूलका भुटानी भनेपछि मज्जाले नेपाली बोल्ने भइहाले। त्यसैले उनीबारे थप विवरण पाउन ब्यूरोकै टोली खटाउनुको विकल्प थिएन।

यता टिम खोजीमा खटिएकै थियो। उता भुटानबाट फोन आएको आयै। अब दरबारकै सदस्यको पैसा फसेकाले कतै नसमातिएला कि भन्ने परेको होला उता। दरबार जोडिएपछि प्रहरी पनि प्रेसरमा आउने नै भयो।

यता खटिएको टोली भने खोजीमै थियो। काठमाडौँ आएको भन्नेसम्म त हो सूचना। यसैको आधारमा यत्रो काठमाडौँमा कसरी भन्नासाथ फेला पार्न सकिन्छ र! अब यो त हाम्रो कुरा भयो। उता त खोज्दैछौँ, सूचना आइरहेको छ भन्ने त हो।

नेपालीमूलका भुटानी भनेपछि काठमाडौँमा बस्न सक्ने कि भुटानीहरूसँगै हो। हैन भने होटेल र लजहरूतिर नै हो। ठगी गरेर आएको भनेपछि पक्कै पनि ठूला होटेल जहाँ सिसिटिभी लगायतका सबै प्रबन्ध हुन्छ त्यहाँ त नबस्लान्। बस्न सक्ने भनेको बि ग्रेडका होटेल या अझ लजहरूमै हो।

टिम धुइँपत्ताल लागेर गेस्ट हाउसहरूमा खोज्न थाल्यो। त्यसमा पनि ठमेल अनि बागबजारतिर धेरै खोजी भयो। तर फेला परेको हैन। उताबाट फोन आउनेक्रम रोकिएको हैन।

उताबाट हाम्रो टिम पनि पठाऊँ कि भने। अब प्रहरी बोलाउने कुरा त भएन। बेकारमा लफडा हुन्छ। फेरी उनीहरू नेपाल आएर के गर्ने हो र! तर उनीहरूले पठाउन खोजेको इन्स्योरेन्सको मान्छेहरू रहेछन्।

त्यसबारे आइजीपी अर्याललाई जानकारी गराएँ। अनुमति पाएपछि हुन्छ पठाउनु भने। उनीहरू भोलिपल्टै नेपाल आइपुगे। उनीहरू नेपाल आएर मेरो सम्पर्कमा आएपछि पुन आइजीपीलाई जानकारी गराएँ। यस्तो सूचना चैं आफूभन्दा माथिकालाई जति चाँडो दियो त्यति सहज हुन्छ। शङ्का हुन्न नि कमान्डरलाई।

खोजी सुरु भएको तेस्रो दिन ती व्यक्ति कतै बौद्धतिर पो छन् कि भन्ने मेसेज आयो। त्यो दिन फेरि दिउँसोदेखि पानी परिरहेको थियो। भुटानबाट आएकाहरू फरार भएर नेपाल आएकाले गरेका बदमासी बताइरहेका थिए। बदमासी पनि के-के हो के-के। हाम्रो ध्यान भने खोज्नमै थियो।

बेलुकातिर ती व्यक्ति बौद्धमा फेला परे। उनले त्यस्तो नाइनास्ती केही गरेनन्। ब्यूरोको टिमसँग लुरुलुरु कार्यालयमा आए। पहिला हामीहरू मात्र बसेर ती व्यक्तिसँग सोधपुछ गर्यौँ। उनले केही नलुकाई गरेका बदमासीहरूबारे बताए।

भुटानबाट आएकाहरूको उद्देश्य उनलाई भुटान लैजाने थियो। तर त्यति सहजै भुटान लैजाने अनुमति दिन कहाँ सकिन्छ र! हामीले केही पक्ष भेरिफाई नगरी पठाउने कुरै थिएन। आइजीपी अर्याललाई त्यही जानकारी गराएर पक्राउ परेका व्यक्तिको पृष्ठभूमि केलाउनतिर टिम लाग्यो।

राजनीतिक कारणले त खोजेको हैन भन्ने पुष्टि गर्नु थियो हामीलाई। राजनीतिक आधारमा भागेर नेपाल आएको हो भने विना भिसा नेपाल आउनु अपराध भयो। त्यो अध्यागमनले हेर्ने विषय भयो। राजनीतिमा संलग्न देखिएन।

अर्को भनेको कतै प्रमाणित भुटानी शरणार्थी त हैन भन्ने हेर्ने हो। त्यसका लागि भुटानबाट नेपाल आएका प्रमाणित भुटानीको प्रमाण खोज्ने हो। त्यो पनि हैन भन्ने पक्का भयो। उनी नेपालीमूलका त हुन् तर नेपाली नभई भुटानी नागरिकै भएको पुष्टि भयो।

अब अपराधै गरेर नेपाल अवैध रूपमा आएको पुष्टि भएपछि भुटान पठाउन कुनै समस्या भएन। तर ती नेपालीमूलका भएकाले भुटानी शरणार्थीलाई भुटान पठाएको भन्ने गलत सन्देश पो जाने हो कि भन्ने चैं लागेको थियो। केही पत्रकारहरूले फोन पनि गरेका थिए। उनीहरूलाई नेपालीमूलका हुन् तर शरणार्थी नभएर भुटानी नागरिकै भएको भन्ने बुझायौँ। तर अब लेख्नेले के लेख्ने हो के थाहा!

उनीहरूले खोजिरहेका व्यक्ति समातिएको सुन्नासाथ भुटानको प्रहरी प्रमुख निकै खुसी भए। उनले धन्यवाद दिए। आइजीपी अर्याललाई जानकारी गराएर भुटानबाट आएकाहरूलाई फिर्ता लैजाने तयारी गर्न भनेँ। उनीहरूले ड्रुक एयरको तीनवटा टिकट काटे।

उनीहरूलाई ब्यूरोकै गाडीमा विमानस्थलसम्म पुर्याउने प्रबन्ध मिलाएँ। छुट्टिने बेलामा टिमको एकजना आएर’सरले टिमका प्रहरीलाई खाजा खान दिनु भनेर दुई लाख दिनु भएको छ’ भने।

मैले लिन मिल्दैन भनेँ। उनीहरूले उता आइजीपीलाई भनेछन्। फोन आइहाल्यो। अप्ठ्यारो नमान्नु, तपाइको टिमका केटाहरूलाई मेरो तर्फबाट उपहार हो भने। तर मैले लिन मिल्दैन हजुर भनेर अस्वीकार गरे। ती दुई जना अन्कनाई रहेका थिए।

श्याम ज्ञवाली पनि त्यो बेलामा ब्यूरोमै थिए। अहिले एआइजी भएर कार्य विभागमा छन्। प्रहरीको टिमसहित पक्राउ परेका व्यक्तिसहित तीन जनालाई विमानस्थल लगेर सबै प्रक्रिया पुरा गरेर ब्यूरोको टिम गाडीमा फर्कियो।

पछाडि बस्दा त एउटा प्याकेट भेटियो। खोलेर हेर्दा प्याकेटमा एक लाख रूपैयाँ रहेछ। केटाहरूले फोन गरेर भनिहाले। हामीले लिन नमानेपछि उताबाट जसरी पनि दिनु भनेर प्रेसर गरेछन् क्यार। गाडीमै पैसा छाडेर गएछन्।

भुटानको आइजीपीलाई फोन गरेर’ यस्तो त नगरेको भए हुने’ भनेँ। उनले केही हुन्न मैले व्यक्तिगत रूपमा खुसी भएर केटाहरूलाई खाजा खान दिएको भने।

अब आइजीपीसँग धेरै तर्क-वितर्क गर्नुको अर्थ थिएन। पैसा फिर्ता दिने व्यक्ति थिएनन्। अनि त्यो पैसा ब्यूरोको क्यान्टिनमा दिएर सबैले मासु चिउरा खाजा खायौँ।

यता अर्को तनाव थियो, कतै नेपालीमूलका भुटानीलाई पक्राउ गरेर भुटान पठायो भनेर समाचार आउने त हैन!

धन्न जसले चासो राखेर सोधेका थिए उनीहरूले हामीले भनेको बुझेछन्। समाचार त आयो तर सामान्य।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

१७ माघ, २०८०, १७:३७:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।