ब्याच नम्बर ६९ : मध्यरात गम्भीर अपराधमा संलग्नको मोबाइल डिटेल चाहियो भने अदालत कहिले खुल्छ भनेर कुरेर बस्ने सिस्टम ठिक हो त!

ब्याच नम्बर ६९ : मध्यरात गम्भीर अपराधमा संलग्नको मोबाइल डिटेल चाहियो भने अदालत कहिले खुल्छ भनेर कुरेर बस्ने सिस्टम ठिक हो त!

थाइल्याण्डबाट अपहरणमुक्त गराइएका तीन युवाहरू नेपाल आउँदा मिडियाले निकै महत्त्व दियो। उनीहरू विमानस्थलमा आउँदाको खुसी, परिवारको खुसीका दृश्य रमाइलो देखिएको थियो विमानस्थलमा। विदेशमा अपहरणमा परेर पनि विना कुनै क्षति घर फर्कनु दोस्रो जन्म बराबरै त हो नि।

उनीहरू नेपाल फर्कने दिन टन्नै पत्रकारहरू पनि विमानस्थल पुगेका थिए। मिडियामा एकदम राम्रो कभरेज भयो पनि।

यस्तो घटनाले सुरक्षा संगठनप्रति आम नागरिकको विश्वास बढाउँछ। संगठनप्रति विश्वास बढ्दा प्रहरी संगठनले आम नागरिकबाट स्याबासी त पाउँछ नै सहयोग पनि हुन्छ। जब कामको जस पाइन्छ संगठनका सदस्यहरूको पनि आत्मबल बढ्छ। काम गर्न जोसिन्छन्।

थाइल्याण्ड अपहरण र सकुशल उद्धारको घटनाले ‘नेपाल बाहिर गएर पनि प्रहरीले अनुसन्धान गर्न सक्दो रैछ’ भन्ने सकारात्मक सन्देश दियो। अप्रेशनमा प्रत्यक्ष सहभागी प्रहरी कर्मचारीको आत्मबल बढ्ने नै भयो संगठनका अन्य सदस्यहरूको पनि मनोबल बढायो यो घटनाले। गरे त विदेशमा पनि अनुसन्धान हुने रहेछ भनेर हामीमा पनि आत्मबल बढायो यसले।

अर्को देशमा अपहरणमा परेका नेपालीबारे अनुसन्धान अनि सकुशल अपहरणमुक्त गराएर अपहरणमा संलग्नहरू समेत पक्राउ परेको घटना नौलो पनि थियो।

यसभन्दा अगाडि पनि मैले अपहरणबारे लेख्दा अपहरणको अनुसन्धान अनि जोखिमबारे उल्लेख गरेको छु।

अपहरणमा सबैभन्दा ठुलो जोखिमै अपहरितहरूको ज्यानको सुरक्षा हो। त्यसैले जहाँ अपहरितहरूलाई राखिएको हुन्छ हत्तपत्त त्यहाँ सुरक्षाकर्मीले हस्तक्षेप गर्दैनन्। पहिला उनीहरूको माग बुझ्ने, बार्गेनिङ गरेर समय लम्ब्याउने, अपहरणकारीको उद्देश्य बुझ्ने, अपहरितमाथि हुनसक्ने सुरक्षा जोखिम हेर्ने धेरै काम हुन्छन्।

यी नै कारण अधिकांश अपहरणका घटनामा अपहरित राखिएकै स्थानमा सुरक्षा हस्तक्षेप गरिएको हुन्न। पहिला अपहरितलाई अपहरणकारीको पन्जाबाट सकुशल निकालेपछि संलग्नहरू खोज्ने काम धेरै हुन्छ। त्यसमा फिरौती रकम दिइसकेको हुन पनि सक्छ वा फिरौती रकम लिन आउँदाबाटै पक्राउकोक्रम सुरु हुनु पनि सक्छ।

थाइल्याण्डमा भएको अप्रेशनमा भने जहाँ अपहरित राखिएको थियो त्यही हस्तक्षेप गरेर अपहरितलाई मुक्त गर्ने र अपहरणकारीलाई पक्राउ गर्ने काम भएको थियो। यो निकै जोखिमयुक्त काम भए पनि सफल भयो। अपहरितलाई केही भएन अनि अपहरणमा संलग्नहरू पनि पक्राउ परे। गजब भयो।

अलि कम जोखिम रहेको र अनुसन्धानमा केही समय लाग्दा पनि फरक नपर्ने आपराधिक घटनाको अनुसन्धानमा त त्यति फरक नपर्ला तर तत्काल जानकारी पाउनुपर्ने अपराध अनुसन्धानमा यो व्यवस्थाले अनुसन्धानमा अवरोध मात्र गर्छ। अनि अहिले गरिरहेको पनि छ।

यो अप्रेशन सफल हुनुमा धेरै पक्षको सकारात्मक भूमिका थियो। पहिलो त नेपाल र थाइल्याण्डबीचको सुमधुर सम्बन्धले काम गर्यो। दुई देशको सामान्य सम्बन्ध या खराब सम्बन्ध भएको अवस्थामा सुरक्षाकर्मी उतै पठाएर अप्रेसनमै सहजीकरण गराउन सम्भव हुने थिएन।

अर्को त्यहाँ रहनुभएका तत्कालीन राजदूतको सहयोग र उहाँको थाई अधिकारीहरूसँग सम्बन्धले पनि काम गर्यो। दूतावासले नै सम्पर्क गर्दै समन्वयमा सघाउँदा थाइल्याण्डको सरकारी अधिकारीहरूबाट तत्काल रेस्पोन्स हुन सक्यो। अर्को उतै प्रहरी संगठनकै सदस्य राख्न सक्दा पनि अनुसन्धानमा सूचना आदानप्रदान गर्न सहज भयो।

नेपालमा रहेका अपहरितका परिवारका सदस्यको सहयोग महत्त्वपूर्ण रह्यो नै। उहाँहरू अति आत्तिएर अन्य विकल्पतिर एकोहोरिएको भए हामीलाई गाह्रो पर्थ्यो। एक जनाले फिरौती पठाउने प्रयास गरे पनि सफल भएन। त्यसले पनि अपहरित राख्ने घरमै सुरक्षा हस्तक्षेप गर्न सहज भएको थियो।

जसले नेपालबाट हुन्डीमार्फत पैसा पठाउने प्रयास गरेका थिए त्यसलाई समयमै रोक्न नसकेको भए अपहरितलाई केही हुने जोखिम बढ्न सक्थ्यो। जसले पैसा पठायो उ रिहा भएर अन्य अपहरित थप ट्र्यापमा पर्ने जोखिम पनि हुन्थ्यो।

त्यो बेलामा टेलिफोन मनिटरिङ गर्न अहिले जस्तो अलि जटिल कानुनी प्रक्रिया थिएन। प्रहरीले चाहेको बेलामा कारण खुलाएर व्यक्तिको मोबाइल गतिविधिको निगरानी गर्न सकिन्थ्यो। अपहरितका नेपालमा रहेका परिवारका महत्त्वपूर्ण सदस्यहरूलाई हामीले जानकारी नै नदिई मनिटरिङ गरिरहेका थियौँ।

त्यसले तीन परिवारमध्ये एक परिवारका व्यक्ति हुन्डी गर्ने व्यक्तिको सम्पर्कमा पुगेर पैसा दिएको सूचना समयमै आएको थियो। हामीले पैसा दिने परिवारका सदस्यलाई यसबारे जानकारी नै नदिई हुन्डी गर्न सघाउने व्यक्तिलाई बेलैमा उठाउन सक्दा उता पैसा जान पाएन।

परिवारका सदस्यले अपहरित मुक्त नभएसम्म त्यो थाहा पाएनन्। जब अपहरितहरू अपहरणमुक्त भए त्यसपछि मात्र थाहा पाए। हामीले हुन्डीमा सहयोग गर्नेलाई पनि नियन्त्रणमा लियौँ। उनी राजनीतिमा पनि संलग्न रहेछन्। त्यो बेलाको माओवादीको बागमती प्रदेशका नेता थिए उनी।

उनलाई नियन्त्रणमा लिएपछि मातृका यादव आएका थिए भेट्न। उनी अनुसन्धानप्रति सकारात्मक र सहयोगी थिए। हुन्डीबाट पैसा जान रोकिँदा पैसा फसेन। हामीले हुन्डी गर्नेलाई नियन्त्रणमा लिएर पैसा सम्बन्धित परिवारका सदस्यलाई फिर्ता गरायौँ।

यसको खराब पक्ष छ। तर खराब पक्ष छ भनेर सबै प्रहरी युनिटलाई जसरी एकै व्यवस्था गरियो यसमा भने म सहमत छैन। प्रहरी सँगठनमा विशेष प्रकारको अपराधको अनुसन्धान गर्ने स्पेसल युनिटहरू छन्।

अहिलेको अवस्था हो भने त्यसरी हुन्डी गरेको थाहा पाएर बेलैमा रोक्न निकै कठिन हुन्छ। किनकि अहिले त अदालतको आदेश नभई कसैको कल लोकेसन र कल डिटेलै हेर्न नमिल्ने कानुन बनिसकेको छ।

जुन व्यक्तिलाई निगरानी राख्नुपर्ने हो उसको सबै विवरण खुलाएर अदालतमा पेस गरेपछि बल्ल अनुमति आउँछ। अनि त्यही अनुमति पत्र सम्बन्धित दूरसञ्चार प्रदायक कम्पनीमा पठाएपछि मात्रै अहिले प्रहरीले खोजेको कुरा पाउँछ।

अलि कम जोखिम रहेको र अनुसन्धानमा केही समय लाग्दा पनि फरक नपर्ने आपराधिक घटनाको अनुसन्धानमा त त्यति फरक नपर्ला तर तत्काल जानकारी पाउनुपर्ने अपराध अनुसन्धानमा यो व्यवस्थाले अनुसन्धानमा अवरोध मात्र गर्छ। अनि अहिले गरिरहेको पनि छ।

कुनै कुनै विवरण त तत्काल चाहिन्छ। अब नेपालको अदालत होस् या दूरसञ्चार प्रदायक कम्पनी होस् निश्चित समय हुन्छ कार्यालय खुल्ने। अब मध्यरात १२ बजे कुनै गम्भीर अपराधको सूचना आयो र तत्काल कल डिटेल अनि कल लोकेसन निकाल्नुपर्यो भने सम्भव छ त?

सम्भव हुन्न। प्रहरीसँग अपराधसँग जोडिएको महत्त्वपूर्ण क्लु हुँदा पनि तत्काल अत्यावश्यक विवरण नपाउँदा प्रहरी निरीह बन्न पुग्छ। भोलिपल्ट अदालत खुल्ने समय कुरेर बस्नुपर्छ। त्यो बेलासम्म बेलुका पाएको सूचना काम नलाग्ने भइसकेको पनि हुनसक्छ।

टेलिफोन कल डिटेल र लोकेसनमा प्रहरी कर्मचारीको सहज पहुँच हुँदा दुरुपयोग हुँदैनन् या भएका छैनन् भन्ने मेरो धारणा हैन। कल डिटेल विवरण निकालेर असम्बन्धित व्यक्तिलाई दिँदा प्रहरी कर्मचारी कारबाहीमा परेका पनि छन्।

यसको खराब पक्ष छ। तर खराब पक्ष छ भनेर सबै प्रहरी युनिटलाई जसरी एकै व्यवस्था गरियो यसमा भने म सहमत छैन। प्रहरी सँगठनमा विशेष प्रकारको अपराधको अनुसन्धान गर्ने स्पेसल युनिटहरू छन्।

जस्तो केन्द्रीय अनुसन्धान ब्यूरो, विशेष ब्यूरो, लागु औषध नियन्त्रण ब्यूरो अनि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको काम त अपराध अनुसन्धानै गर्ने हो नि। यस्ता विशिष्ट प्रकारका कार्यालयलाई अपराध अनुसन्धानकोक्रममा कल डिटेल लगायतका महत्त्वपूर्ण जानकारीमा अदालतै कुर्नुपर्ने वाध्यताबाट मुक्त गरेर उनीहरूलाई स्वतन्त्र रूपमा आवश्यक सूचना सङ्कलनको अधिकार दिनुपर्छ।

त्यस्तै तत्काल अधिकारको प्रयोग गरेर पछि त्यसको कारण खुलाएर पछि अनुमति लिन सक्ने प्रबन्ध गर्ने हो भने अहिले अपराध अनुसन्धानमा आइरहेको समस्या समाधान हुनसक्छ। गम्भीर अपराधमा कल डिटेल्स आएन भनेर प्रहरी कर्मचारी रन्थनिएर बस्नुपर्ने हुन्न।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

४ पुस, २०८०, १७:५३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।