ब्याच नम्बर ६९ : रमाइलो गर्न पब जाऊँ भन्दा तीन नेपाली मक्ख परे, पाकिस्तानीले अपार्टमेन्ट लगेर बन्धक बनाए

ब्याच नम्बर ६९ : रमाइलो गर्न पब जाऊँ भन्दा तीन नेपाली मक्ख परे, पाकिस्तानीले अपार्टमेन्ट लगेर बन्धक बनाए

बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थी उतै अपहरणमा परेको र नेपाल प्रहरीले थाइल्यान्ड प्रहरीसँग मिलेर गरेको संयुक्त अप्रेसनबारे केही अघिल्लो अंकमा लेखेको थिए। त्यो अप्रेशन कसरी भयो अनि उनीहरू किन अपहरणमा परे भन्ने पक्ष यो अं कमा लेख्दैछु।

अपहरणमा परेका तीनै नेपाली विद्यार्थी बैंककको एजप्सन विश्वविद्यालयमा पढ्थे। उनीहरू एकै लयको उमेरका। पढाइ सकिएपछि उनीहरू प्राय आफू बस्ने अपार्टमेन्ट नजिकैको रेस्टुरेन्टमा जाने रहेछन्।

रेस्टुरेन्टका सञ्चालक पाकिस्तानी। उनी पनि त्यही विश्वविद्यालयमा पढेकाले उनीहरूबिच राम्रै दोस्ती जमिसकेको थियो। सार्वजनिक ठाउँमा आफ्नो अनि आफ्नो परिवारको वास्तविक वा बनावटी होस् आर्थिक हैसियतबारे कुरा गर्दा नसोचेको दुर्घटना निम्तन सक्छ। यो त्यस्तै दुर्घटना रहेको पछि अनुसन्धानमा खुलेको थियो।
 

रेस्टुरेन्ट सञ्चालकको नाम अलि थियो। २०७१ पुस ४ गते बेलुका राति ११ बजेतिर तीनै जना त्यही रेस्टुरेन्टमा बसेर खानपिन गरेर बाहिर निस्किएका थिए। उनीहरूसँगै अलि पनि बाहिरिएका थिए। पछि एकाएक केटाहरू अपहरणमा परेको सूचना नेपालमा आएको थियो। पहिलो शङ्का त अलीमाथि नै पर्ने भइहाल्यो। तर नहुन पनि सक्थ्यो। तर पहिलो शङ्कामा उ नै पर्नु स्वाभाविकै हो।

अर्को अनुसन्धानको घेरामा त्यही विध्वविध्यालयमा पढ्ने नेपाली विध्यार्थीहरु अझ विशेष यी तीन जनाबारे जानकारहरू अनुसन्धानको घेरामा पर्ने नै भए।

अपहरणमा परेपछि नेपालमा फोन गरेर फिरौती माग्दा सिधै एक करोड मागेका थिए। त्यसले उनीहरूबारे कुनै नेपालीले सूचना दिएको हुनसक्छ। नहुन पनि सक्छ है यस्तोमा। तर अनुसन्धानमा सबैतिर शङ्का नगरी क्लु फेला पर्दैन। अझ प्रारम्भमा त धेरै नै शङ्कामा पर्छन्। अनुसन्धान गर्दै जाँदा फेला पर्ने सूचनाको आधारमा शङ्काको घेरा साँघुरो बनाउँदै लैजाने हो।

रेस्टुरेन्टमा प्राय गइरहने, लामै समय बस्ने भएकाले अपहरणको धेरै शङ्कामा त्यही रेस्टुरेन्ट नै परेको थियो।

उनीहरू अपहरणमा परेको दोस्रो दिन यता नेपालमा फिरौतीको लागी फोन आएको थियो। उनीहरूको माग थियो एक करोड। जब उनीहरूले नेपालमा रहेका परिवारका सदस्यलाई फोन गरेर सबै बताए अनि मात्र यता अपहरणमा परेको खुलेको थियो।

घटना नेपालको नभएर बैङ्कको भएकाले केस सिधै सिआइबीमा आयो। अन्तरदेशिय सङ्गठित अपराध भयो नि त यो। तीनै युवाहरूको परिवारको आर्थिक अवस्था राम्रै हो।

फिरौती मागेको फोन आएपछि उनीहरू आत्तिएर प्रहरीको सम्पर्कमा आए। घटना गम्भीर रहेकाले हामीले यतासँगै उता बैंककमा समेत संयोजन गरेर अनुसन्धान अगाडि बढायौँ।

अनुसन्धानमा सघाउन नेपालबाट एसपी पीताम्बर अधिकारीलाई बैंककमै पठायौँ पनि। उनी गएर थाई प्रहरीसँगै अप्रेसनमा सहभागी भइसकेका थिए।

उता अपहरणमा परेकाहरूलाई चाँडो पैसा माग्न त्यहाँ कुर्न बसेकाहरूले आफ्नो बोस इरानी हो अनि पैसा पाएन भने मार्छ भन्दै थर्काउँदा रहिछन्। आँखामा पट्टी लगाएर राखेको छ। को हो को हो। डर हुने नै भयो।

यता परिवारका सदस्यहरूले प्रहरीमाथि त्यति भरोसा गरिसकेका थिएनन्। सिस्टममाथि विश्वास नगर्नेहरू थिए त्यसमा। उता अपहरणमा परेकाहरूले नेपालमा फोन गरेर हामीलाई कुटेका छन् पैसा पठाउनु भनिराख्ने रहेछन्। यसले हाम्रो चुनौती बढाइरहेको थियो।

अपहरण कसले गरेको हुनसक्छ भन्ने मोटामोटी अनुमान भए पनि उल्लेखनीय सूचना आइसकेको थिएन। समय लम्बिइरहेको थियो। यस्तो केसमा समय जति लम्बियो अपहरितको शारीरिक क्षतिको जोखिम पनि उत्ति नै बढ्थ्यो। यता हामीले फिरौतीबापत जान सक्ने रकम पनि रोकिसकेका थियौँ आफ्नै च्यानल लगाएर।

अपहरण भएको २० औँ दिनमा बल्ल केही महत्त्वपूर्ण क्लु आए। तीनै जना बैंककको लाड–काराबाङस्थित एक अर्पाटमेन्टमा बन्धक बनाएर राखेको हुनसक्ने सूचना थियो। पक्का थिएन। सूचना मात्र।

शङ्का लागेको स्थान थाई प्रहरीको निगरानीमै थियो। निरन्तर निगरानीपछि अपहरित त्यही अपार्टमेन्टमा हुनसक्ने सम्भावना बढी देखियो।

अपहरणमा सबैभन्दा जटिल पक्ष अपहरित राखिएको स्थानमा हस्तक्षेप गरेर बन्धकमुक्त गराउने काम हो। त्यो बेलामा सानो चुकको पनि ठुलो मूल्य चुकाउनुपर्ने हुनसक्छ। अपहरणकारी हडबडाएर अपहरितलाई क्षति पूर्याउन सक्छन्। यो काम अनुभवीले मात्र गर्न सक्छन्।  

अपहरित राखिएको शङ्का लागेको अपार्टमेन्टमा हस्तक्षेप गर्न बैंकक प्रहरीले कमान्डो टोली नै परिचालन गरेको थियो। यता नेपालबाट गएका पीताम्बर पनि उनीहरूकै टोलीमा थिए। निरन्तर निगरानीपछि दिउसँ भइसकेको थियो। अपार्टमेन्टमा लामो समय आउजाउ नदेखिएपछि अब अपार्टमेन्टभित्र छिर्ने तयारी भयो।

बैंककमा दिउँसो २ बजेको थियो होला अप्रेसन शुरुहुँदा। अपार्टमेन्ट त्यति ठुलो हैन, साढे दुई तले रहेछ। बाहिरबाट भित्र भइरहेका गतिविधि देख्न सक्ने भएकाले अलि सहज भयो।

बाहिर बसेर भएको सुरक्षा निगरानीमा घरमा तीन-चार जनाभन्दा धेरै छैनन् भन्ने देखिएपछि कमाण्डो टोली सुरक्षा अवधारणा पुरा गर्दै अपार्टमेन्टभित्र घुस्यो। यस्तोमा कसरी भित्र छिर्ने, कसरी नियन्त्रणमा लिने अनि कसरी बन्धकलाई बाहिर ल्याउने भन्ने प्रशिक्षणै हुन्छ।

घरको पहिलो तलामा जम्मा २ जना मात्र रहेछन् मोहम्मद जलिर र युकास रेहमान। हतियार रहेनछ। उनीहरू सहजै नियन्त्रणमा आए। उनीहरू अपहरितको कुरुवा थिए।

दुबैजनालाई कमाण्डोले सहजै नियन्त्रणमा लिइहाले। प्रोटोकल अनुसारै दोस्रो तलामा पुगेर एउटा कोठा खोल्दा भुईँमा तीन जना युवा आँखामा पट्टी बाँधेर बसिरहेका थिए। यस्तो बेलामा अपहरित आत्तिन सक्छन्। उनीहरूले ठुलो स्वरमा थाई पुलिस भन्दै कराए। ती तीनै जना अपहरणमा परेका नेपालीहरू नै थिए।

अपहरितको उद्धारमा अपनाउनुपर्ने सुरक्षा प्रोटोकल अनुसारै उनीहरूको उद्धार भयो।

अपहरणमा कुन खालका व्यक्ति, कस्तो समूहले अपहरण गरेको हो थाहा हुन्न। त्यसैले अधिकतम सुरक्षा बल प्रयोग गर्नेगरि तयारी हुन्छ यस्तोमा। जति साधन अनि स्रोत छ सबै अपनाइन्छ यसमा। अपहरित राखेको स्थानको निगरानीमा त्यति जोखिम नहुन सक्छ। तर जब हस्तक्षेप हुन्छ नि एक सेकेन्डको पनि महत्त्व हुन्छ।  

पीताम्बरले अप्रेसन सफल भएको अनि तीनै नेपाली विद्यार्थी सकुशल रहेको जानकारी गराए। खुसी लाग्यो। परिवारका सदस्यलाई जानकारी गरायौँ।

हाम्रो मुख्य लक्ष्य अपहरितलाई अपहरण मुक्त गराएर नेपाल फर्काउने अनि नेपालमा कोही अपहरणमा संलग्न देखिए अनुसन्धानको दायरामा ल्याउने नै थियो। अपहरणको अनुसन्धान र पक्राउको जिम्मा त थाई प्रहरीकै भइहाल्यो। तै पनि उनीरुहरुले अपडेट भने गरिरहन्थे।

प्रहरीले तीन नेपाली विद्यार्थीको अपहरणको आरोपमा पाकिस्तानी, थाई, बङ्गलादेशी, भारतीय र नेपालीलाई पक्राउ गरेको रहेछ।

अपहरणको मुख्य योजनाकार तीन नेपालीलाई पब लैजाने लोभ देखाउने उमिद अलि नै निस्किए। अपहरणको दिन रेस्टुरेन्ट आएका तीन नेपालीलाई आफ्नो अस्ट्रेलियाको भिसा लागेकाले रमाइलो गर्न जाऊँ भनेछ।

उनीहरू राजी भए। अलीले अर्को पब जाने हैन भन्दै पहिला केही साथीहरू पनि बोलाउने भनेर अपार्टमेन्टमा लग्यो। नेपाली केटाहरू खुरुखुरु पछि लागेर गए। अलीले उनीहरूलाई बहाना बनाएर त्यही अपार्टमेन्टसम्म ल्याउने र बन्धक बनाउने योजना बनाएको थियो। उ सफल भयो।

तीनै जना नेपाली विद्यार्थी अपार्टमेन्टको भित्र कोठामा गए लगत्तै त्यहाँ रहेकाहरूले उनीहरूलाई नियन्त्रणमा लिएर हात बाँधिदिए अनि आँखामा पट्टी लगाइदिए।

दोस्रो दिनसम्म अपहरितको हात बाँधेर आँखामा पट्टी लगाइदिएका रहेछन्। तेस्रो दिनबाट त खानामा बेहोस हुने औषधी हालेर खुवाउन थालेछन्। उताबाट धम्क्याउँदै फोन आइरहन्थ्यो। यता अनुसन्धान जारी नै थियो। यता परिवार आत्तिइरहेका थिए।

थाई र भारतीय नागरिकको जिम्मा रेखदेख गर्ने रहेछ। नेपाली नागरिक सजन यादव, युकस रेहमान पनि यसमा जोडिए। नेपालीले चैँ कलेजको सूचना दिने, उसको नेपालको अवस्थाबारे जानकारी दिने काम गरेका थिए।

OOO

उता विद्यार्थी अपहरणमुक्त भएको सूचना आए लगत्तै हामीले यता परिवारका सदस्यहरूलाई जानकारी दियौँ। उनीहरू खुसी भए। तर कस्तो अवस्थामा पो छन् भन्ने पिर त भइहाल्छ। अनि स्काइपबाट भिडियो कुराकानी नै गर्न लगायौँ। देखेपछि त ढुक्क हुन्छन् नि त।

अपहरणमुक्त भएपछि उनीहरू नेपाल आउन चाहन्थे। तर उता कानुनी प्रक्रिया बाँकी थियो। त्यसैले थाई प्रहरीले उनीहरूलाई तत्काल थाइल्यान्ड छाड्न अनुमति दिएन। पीताम्बर भने आइसकेका थिए। सन्तान नेपाल नआएसम्म के हो के हो भन्ने अभिभावकलाई लाग्ने नै भयो। उनीहरू पनि कहिले नेपाल आउँछन् भनेर सोधिरहन्थे। उता प्रहरी अनि अदालती प्रक्रिया बाँकी नै थियो। बयान लगायतका प्रक्रिया त पुरा हुनु पर्यो नि। उनीहरू नेपाल आएर नफर्कन पनि सक्छन्।

बल्ल सबै प्रक्रिया सकियो अनि उनीहरू नेपाल फर्कन पाएँ। यता परिवारहरू खुसी थिए। नेपाल प्रहरीका लागि पनि अपहरणमा विदेशमा संयुक्त प्रहरी अप्रेसन गरेको नयाँ अनुभव थियो। मिडियामा पनि चासो थियो।

परिवारकै अनुमतिमा उनीहरू नेपाल फर्कने फ्लाइट डिटेल पत्रकारहरूलाई पनि दियौँ। विमानस्थलमा परिवारका सदस्यहरू आत्तुरीका साथ कुरिरहेका थिए।

जब उनीहरू विमानस्थलको टर्मिनलबाट बाहिर निस्किए पत्रकारको क्यामरा उनीहरुतिरै सोझिएको थियो। परिवार अनि उनीहरू दुवैको आँसु बगिरहेको थियो।

अपहरणमा कृष्ण हाछेथुको छोरा पनि परेका थिए। जब तीनै जना केटाहरू अपहरणमुक्त भएर नेपाल आए अनि हाछेथुले' मलाई नेपालको कुनै सिस्टममा कहिल्यै विश्वास लागेन। तर म भ्रममा रहेछु' भन्नुभयो।

नेपालमा सिस्टमै नभएको हैन, सङ्ख्या कम होला तर काम गर्नेहरू छन्। बैंककमा अपहरणमा परेका नेपालीलाई नेपालमा बसेर संयोजन गर्दै अपहरणमुक्त गराउनु चानचुने काम हैन। तर गर्न सक्ने जनशक्ति छ त हामीसँग। अहिले पनि छ।

उहाँले त्यति भन्दा पनि निकै खुसी लागेको थियो त्यो बेलामा।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

१३ मंसिर, २०८०, २३:०४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।