ब्याच नम्बर ६९ : बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि…

ब्याच नम्बर ६९ : बैंककमा तीन नेपाली विद्यार्थी अपहरणमा परेपछि…

नेपालमा भएका अपहरणका घटनाको अनुसन्धान त भइनैहाल्छ। म सिआइबीका कार्यरत रहँदा नेपाल बाहिर अपहरणमा परेका नेपाली नागरिकबारे पनि अनुसन्धान गर्ने जिम्मेवारी आएको थियो। अनुसन्धान निकै जटिल प्रकारको थियो। नेपालबाट मात्र अनुसन्धान गर्न सम्भव थिएन। संयमताका साथ अनुसन्धान गर्दा अपहरितको ज्यान त जोगियो नै अपहरणकारीहरू समेत समातिए।

घटना बैंककको हो। बैंककमा प्रा कृष्ण हाथेछु लगायतका तीन जनाको छोराहरू पढ्ने रहेछन्। उनीहरू उतै अपहरणमा परे। जसले अपहरण गरेको हो उसको उद्देश्य फिरौती लिने नै देखियो। घटनास्थल बैंकक थियो तर पीडित नेपाली। अपहरणमा परेकाहरू उतै थिए। उनीहरूको परिवारका सदस्य नेपालमा थिए।

बैंककमा गएर हामीले अनुसन्धान गर्न सम्भव थिएन। तर अपहरणकारीहरूले फिरौती माग्नेहरू नेपालमा भएकाले यता पनि अनुसन्धान गर्न सम्भव थियो। यता आधा अनुसन्धान गर्नुपर्ने देखियो भने आधा बैंककमा अनुसन्धान गर्नुपर्ने थियो। बैंककमा हामीले अनुसन्धान गर्न पाउँदैनथ्यौँ। तर नेपालमा के भइरहेको छ भन्ने सूचनाहरू त दिन सकिन्थ्यो।

त्यसका लागि तत्काल एक जना प्रहरी अधिकारीलाई बैङ्ककै पठाउने कुरा भयो। यताबाट जाने प्रहरीले अनुसन्धान गर्न नपाए पनि बैंकक बसेर त्यताको प्रहरीले पाएको सूचना नेपालमा पठाउने अनि यता हामीले अनुसन्धान गर्दा फेला परेको तथ्य प्रमाणहरू उता पठाउन समन्वय गर्न त सक्थे। भाषागत समस्याहरू पनि हुन सक्थ्यो अनुसन्धानमा। उतै एक जना प्रहरी गएपछि त्यो समस्या पनि सहज हुन्थ्यो र अनुसन्धान गर्न सहज हुन्छ भन्ने

सल्लाह हुँदा तत्काल प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक जना प्रहरी अधिकारीलाई बै‌ंकक पठाउन आदेश दिए। अपराधको गम्भीरता र अनुसन्धानको अनुभव भएको नेतृत्व भएपछि त्यति सहज हुन्छ।

अर्याल तल्लो तहमा रहेर काम गर्दा आफैंले पनि अपराध अनुसन्धानको नेतृत्व गरेका थिए। अपराध अनुसन्धान महाशाखाको प्रमुख हुँदा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको सफल अनुसन्धान गरेका थिए। त्यसमा डा.उपेन्द्र देवकोटाको छोरीको अपहरण अनुसन्धान पनि थियो।

छलफलपछि सिनियर प्रहरी अधिकृतलाई नै अनुसन्धान समन्वयका लागि बैंकक पठाउने कुरा भयो। सिआइबीका एसपी थिए पीताम्बर अधिकारी थिए। उनैलाई पठाऊँ भन्ने भयो। अर्याल सहमत मात्र भएनन् अनुसन्धानमा जान आवश्यक खर्च पनि हेडक्वाटरबाटै व्यवस्था गरिदिने भए।

अनुसन्धानको जटिलतामध्ये खर्च व्यवस्थापनले कार्यालय प्रमुखको सधैं टाउको खान्छ। कार्यालयमा बजेट हुन्न। त्यसैले प्राय खर्च हुने अनुसन्धान भयो भने कार्यालय प्रमुख हच्किनै पर्ने अवस्था हुन्छ। विदेशमा अनुसन्धान गर्न  पठाउने नै हो भने खर्चको व्यवस्थापन गर्ने जिम्मेवारी कार्यालय प्रमुखको हुन्थ्यो कहाँबाट व्यवस्थापन गर्ने ठुलो टाउको दुखाई हुन्थ्यो। अहिले पनि त्यस्तै छ।

कार्यालय प्रमुखले नै जति खर्च लाग्ने हो प्रधान कार्यालयबाट लिएर जानु भनेपछि ढुक्क भयो नि। प्लेन टिकटदेखि सबै व्यवस्था सहजै भइहाल्यो।

त्यो बेलामा थाइल्याण्डमा रहेका नेपाली राजदूतले पनि धेरै सहयोग गर्नुभयो। उहाँलाई घटनाको गम्भीरता सुनाउँदै अनुसन्धानमा सहजीकरण गर्न नेपालबाटै एक जना प्रहरी पठाउन लागेको भने लगत्तै खुसीहुँदै आफूले गर्न सक्ने सबै सहयोग हुने बताउनुभयो। अब पीताम्बर बैंकक गएर दूतावासमै बस्ने भए। यसले गोपनीयतासँगै अन्य पाटो पनि सहज भयो। यसरी सहयोग गर्ने राजदूतको नाम चैं बिर्सिए। तर उहाँ राजनीतिक रूपमा नियुक्त नभएको चैं सम्झना छ।

एसएसपी पीताम्बर बैंकक गएपछि यता नेपालमा पनि हामीले अनुसन्धानका लागि समूह बनायौँ। अपहरणका परेका विद्यार्थीहरुको परिवार नेपालमा थियो। नेपालमा रहेका परिवारका सदस्यसँग फिरौती लिन अपहरणकारीहरूले कुनै न कुनै माध्यमबाट सम्पर्क गर्छन् नै। यसका लागि नेपालमा रहेका परिवारका सदस्यलाई विश्वासमा लिन अति आवश्यक थियो।

अपहरणमा अर्को जोखिम भनेको परिवारको विश्वास पनि हो। तीन परिवार थिए। यस्तो बेलामा परिवारका सदस्यहरूले जे जस्तो समस्या बेहोर्नुपरे पनि आफ्नो सन्तानलाई सकुशल अपहरणमुक्त गराउन फिरौती बुझाउन पनि सक्थे। हाम्रो उद्देश्य यताबाट फिरौती जान नदिने अनि उता अपहरणमा परेका तीनै जना नेपाली विद्यार्थीलाई सकुशल अपहरणमुक्त गर्नु पनि थियो।

अनुसन्धान अगाडि बढ्दै जाँदा नेपाली विद्यार्थीहरु रेस्टुरेन्टमा जानेक्रममा अपहरणमा परेको खुल्यो। अपहरण बैंककमा भए पनि त्यहाँका नागरिक संलग्न नहुन सक्ने देखियो नै। पाकिस्तानी नागरिकहरूले अपहरण गरेको हुनसक्ने देखियो।

यता सिआइबीका टोलीले तीनै जना विद्यार्थीको परिवारका सदस्यको गतिविधि निगरानीसँगै अपहरणकारीको नेपालमा हुनसक्ने सम्पर्कबारे पनि अनुसन्धान भइरहेको थियो।

अपहरितले फिरौती पाउन अपहरितको परिवारलाई त्रासमा पार्नु सामान्य नै हो। प्रहरीलाई खबर गरिस् भने हत्या गरिदिन्छौँ, यति पैसा दिइनस् भने सन्तानको लास पनि भेट्दैनस् भनेर तर्साउँछन् नै। यातना दिएको, कुटेको, भिडियो बनाएर पठाउने, अपहरितले बचाउन याचना गरेको अडियो-भिडियो बनाएर पठाएर तर्साउने सबै उपाय अपनाउँछन्।

यस्तोमा परिवारका सदस्यको मनोबल स्थिर राख्न, सफल अनुसन्धान गरेर अपहरणमा परेकाहरू सकुशल घर फर्कन्छन् भने विश्वास दिलाउन अति गाह्रो हुन्छ। उनीहरू आत्तिएका हुन्छन् अनि आत्तिएको बेलामा अपहरणकारीले भने अनुसार निर्णय गर्न पनि सक्छन्।

फिरौती बुझाउँदैमा बन्धक बनेकाहरू सकुशल मुक्त हुन्छन् भन्ने हुन्न। मुक्त नहुन पनि सक्छन्। अनुसन्धान बिग्रन पनि सक्छ। तर त्रासमा रहेका परिवारका सदस्यहरूले कतै छाडिहाल्छ कि भन्ने आसमा पैसा पठाउन पनि सक्छन्। त्यसैले यता परिवारका सदस्यहरूको निगरानी राखिएको थियो।

अर्को फिरौती रकम करोडमाथि थियो। यत्रो रकम वैध च्यानलबाट पठाउन सम्भव हुन्न। यस्तो अवस्थामा उनीहरूले अपनाउने बाटो भनेको हुन्डी नै हो। सम्भावित हुन्डी गर्नेहरूको सूची बनाएर उनीहरूमाथि पनि निगरानी राखेका थियौँ।

उता अनुसन्धानमा राजदूतबाट निकै प्रभावकारी सहयोग भइरहेको थियो। एसएसपी पीताम्बरलाई त्यहाँको सुरक्षा निकायसँग समन्वय गराउन

उता अनुसन्धानमा राजदूतबाट निकै प्रभावकारी सहयोग भइरहेको थियो। एसएसपी पीताम्बरलाई त्यहाँको सुरक्षा निकायसँग समन्वय गराउने, नेपाली विद्यार्थीलाई अपहरणमुक्त गराउन सरकारी निकायहरूमा पत्र पठाउने सबै पक्षमा सहयोग भयो।

पीताम्बर अधिकारी आफैँमा अपराध अनुसन्धानबारे जानकार प्रहरी भएकाले समन्वय गर्न थप सहज भयो। उता बैङ्कका प्रहरी टिमले पनि शङ्का लागेको सूचनाहरू दिने सम्भावित अपहरणकारीहरूको नेपालमा सम्पर्क देखिएको नम्बर दिएर भरिफाई गर्ने लगायतका कामहरु गरिरहेका थिए।

अनुसन्धान प्रभावकारी नै भइरहेको थियो। तर यता नेपालमा रहेका परिवारका सदस्य निकै आत्तिइसकेका थिए। हामीले अनुसन्धान सफल हुन्छ, सकुशल अपहरणमुक्त हुन्छन् भनेर आत्मबल बढाइरहेका थियौँ।

तीन परिवारमध्ये एक परिवारका सदस्यको गतिविधिमाथि हामीलाई शङ्का लाग्यो। उनको केही हुण्डी कारोबारीसँग निरन्तर सम्पर्क भइरहेको देखियो। त्यता अनुसन्धान केन्द्रित गरिहाल्यौँ। उनले फिरौती रकम पठाउन लागेको देखियो। फिरौती रकम टन्नै थियो।

अब परिवारका सदस्यलाई ‘तपाइहरूले फिरौती पठाउन लाग्नुभएको रहेछ। नपठाउनु’ भन्नु पनि भएन। फिरौती रकम जान दिनु पनि भएन। यसमा बिचको उपाय अपनायौँ। कोमार्फत हुन्डी हुँदै छ भन्ने खुल्यो। अनि हामीले यता परिवारका सदस्यलाई फिरौती रकम बुझाउन दिने तर सो रकम बैंकक पुग्न नदिने उपाय अपनायौँ।

एक व्यापारिक परिवारले छोरालाई अपहरणमुक्त गराउन यता नेपालमा फिरौती बुझाए। हामीले त्यही उपाय अपनाएर फिरौती रकम यतै नेपालमै रोक्यौँ तर परिवारका सदस्यलाई योबारे जानकारी दिएनौँ।

उता बैंककमा अनुसन्धान सफल हुँदै गइरहेको थियो। लगभग नेपाली विद्यार्थीलाई अपहरण गरेर राखिएको लोकेसन खुल्दै थियो। दुबैतिर राम्रो समन्वय भइरहेको थियो।

दुवैतर्फको संयोजनका कारण तीन नेपाली विध्यार्थीहरुलाई अपहरितहरूले राखेको घर पत्ता लाग्यो। बैङ्कको स्पेसल टिम परिचालित भयो। यस्तोमा अर्को जोखिम भनेको अपहरितको ज्यानको सुरक्षा पनि हो। अपहरणकारीहरूले पक्राउ पर्ने पक्का भयो भने हत्या गरिदिन पनि सक्छन्।

यस्तोमा बैकका प्रहरी पनि अनुभवी थिए। उनीहरूले अपहरितलाई क्षति नहुने गरी अप्रेसन सञ्चालन गरेर बन्धक बनाएर राखेको घरसम्म पुगेर तीनै जना विद्यार्थीलाई अपहरणमुक्त गराए। अपहरणकारीबारे हामीलाई जे शङ्का लागेको थियो त्यही निस्कियो। उनीहरूलाई पाकिस्तानी नागरिकले अपहरण गरेको खुल्यो।

(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

६ मंसिर, २०८०, २२:०५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।