अनलाइनको भरमा ‘धन्दा’ चलाइरहेकाको फन्दामा मिडिया पर्दा सम्पादकीय स्वतन्त्रता हनन भयो

अनलाइनको भरमा ‘धन्दा’ चलाइरहेकाको फन्दामा मिडिया पर्दा सम्पादकीय स्वतन्त्रता हनन भयो

गएको वैशाख ११ गते राति सवा १० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यूएईको दुबईका लागि ‘टेक अफ’ गरेको फ्लाई दुबई एयरलाइन्सको जहाजको इन्जिनमा आगोको झिल्का देखिएपछि आगलागी भएको समाचार बाहिरियो।

पत्रकारले फोन घुमाइहाले, धादिङको गल्छीमा केहीबेर रोकिएको देखि कस्तो आवाज आएकोसम्म हुर्हुरी लेखिहाले। ‘त्यो जहाज धादिङमा रोकेर ‘ककपिट क्रु’ (चादकदल) ले सबै निरीक्षण गरी जहाजको अवस्था 'ठिक छ' भन्दै उडाएर दुबई लगेको’ भन्ने बेहोराको समाचार नाम चलेकै ठूला अनलाइन मिडियाले लेख्न भ्याए। 

ठूला मिडियाका पत्रकार पनि समाचारभन्दा बढी अफवाहमा लागे। यसले हाम्रो पेसाकै बदनामी हुन पुग्यो। समाचार दिँदा धैर्य हुन जरुरी छ। किनभने, कसैको जिउज्यानसँग जोडिएको संवेदनशील विषय हो यो।

आधिकारिक सूचना नआई हामीले अड्कलका भरमा लेखिदिँदा आफ्नो पेसाको विश्वसनीयता त गुमाएका हुन्छौं नै, जहाजमा सवार यात्रुका परिवार र आफन्तलाई तनाव पनि दिइरहेका हुन्छौं।

समाचारमा संवेदनशील नहुने, रिपोर्टिङको विषयवस्तु, प्रकृति नबुझिदिने, सामान्य ‘टर्मिनोलोजी’ (प्राविधिक शब्द) समेत ख्याल नगरिदिने हाम्रो लापरवाहीका कारण सही सूचना पाउने नागरिकको हक कुण्ठित हुँदै गएको छ।

चौथो अंग यदि पत्रकारितालाई मान्ने हो भने, धैर्य र सही सूचनामा हामी गम्भीर हुन जरुरी छ। 

परिणाममुखी पत्रकारिता गरौं

मैले पत्रकारिता गरेको २० वर्षभन्दा बढी भयो। व्यावसायिक रूपमा नेपाल समाचारपत्र दैनिकबाट सुरु भएको मेरो पत्रकारिता विभिन्न मिडियामा हुँदै अहिले ‘क्यापिटल नेपाल डटकम’ र ‘क्यापिटल बिजनेस म्यागेजिन’ मा आइपुगेको छ।

लामो समय नेपालको नागरिक उड्डयन र पर्यटन क्षेत्रमा कलम चलाइयो। विभिन्न एयरलाइन्स, पाइलट, एयरहोस्टेस, जहाज, विमानस्थल, होटल, ट्राभल, पर्वतारोहणलगायत विषयमा रिपोर्टिङ गरियो। यद्यपि, अर्थतन्त्र र कर्पोरेट सेक्टरमा पनि कलम चलाउँदै आएको छु। 

पत्रकारितामा सबै आ-आफ्नै ‘प्यासन’ ले आएका हुन्छन्। मलाई लाग्छ, हामीले कुनै पनि बेथितिको उठान गरेपछि त्यो बेथिति नदोहोरियोस् र सम्बद्ध निकायले कारबाही गरोस् भन्ने नै हो। त्यसकारण परिणाममुखी पत्रकारिता हाम्रो प्रमुख ध्येय हो भन्ने मलाई लाग्छ। 

दुई दशकभन्दा बढी अवधि रिपोर्टिङ गर्दा मैले लेखेका केही समाचारले साँच्चै प्रभाव पारे।

केही उदाहरण दिन्छु, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका एक इन्जिनियरिङ डाइरेक्टरले २५ जना भारतीयलाई जनही दुई-दुई लाख भारु लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित निगमको इन्जिनियरिङ विभागमा  काममा लगाएका रहेछन्। यो निरन्तर लेखियो, भण्डाफोर भयो। उनले अस्वीकार गरेका थिए, तर ती भारतीयलाई दिइएको नियुक्तिपत्रमा भएको हस्ताक्षर तिनै निर्देशकको भएको विधि विज्ञान प्रयोगशालाको परीक्षणले पुष्टि गरेपछि उनी दोषी प्रमाणित भए। उनलाई कारबाही भयो। 

नागरिक उड्डयन क्षेत्रमा रिपोर्टिङ गर्दा स्रोत बनाउनु सबैभन्दा प्रमुख समस्या देखिन्छ। सुरु हामीलाई पनि त्यस्तै गाह्रो थियो। जहाज वा हेलिकोप्टर ‘कमान्ड’ गर्ने क्याप्टेनदेखि विमानस्थलभित्रका इन्जिनियर, वायुसेवा कम्पनीका अध्यक्ष, अन्य अधिकारी वा सामान्य कर्मचारीसम्मलाई स्रोतका रूपमा उपयोग गर्न जान्नुपर्ने हुन्छ। 

केही वर्षअघि नेपाल वायुसेवा निगमको ‘बोइङ ७५७’ जहाजमा मुसा पसेको समाचार लेखियो। त्यो खबर मलाई त्यही जहाज उडाउने क्याप्टेनले ककपिटबाटै फोन गरेर जानकारी दिएका थिए।

मुसा पसेको भन्दै उडान स्थगित पनि भयो र साँझसम्म पनि मुसा खोज्दा नभेटिएपछि सुरक्षामा सम्झौता गरी निगमले जहाज गन्तव्यका लागि उडायो। 

उड्डयन क्षेत्रमा अहिले पनि टर्मिनोलोजी ख्याल गरेको देखिँदैन। दर्ता नम्बर र ‘कलसाइन’ खुट्ट्याउन सकेको देखिँदैन। जहाजका आन्तरिक पार्टपुर्जादेखि प्रकारसम्म पत्रकारले ख्याल गर्नुपर्ने हो, तर त्यो देखिँदैन।

यतिसम्म कि, वायुसेवा कम्पनीका नाम पनि सही लेख्न नसक्ने पत्रकारले ‘एभिएसन’ मा पत्रकारिता गरिरहेका छन्, यो सबैभन्दा हास्यास्पद हो। यसका लागि सम्बन्धित विज्ञसँग सोधखोज गर्न हामी पत्रकार लजाउनुहुन्न र चुक्नुहुन्न। 

‘एभिएसन’को रिपोर्टिङ गर्न अर्काे समस्या भेरिफाइ कसरी गर्ने भन्ने हो।

केही वर्षअघि १० करोड रुपैयाँ पर्ने ठूलो बोइङको 'टुल किट' जहाजबाट हरायो। यो सूचना मकहाँ त आइपुग्यो; तर हो कि होइन, खोज्न धेरै समय लाग्यो। मैले लगभग दुई साता लगाएर त्यो सूचना पुष्टि गरेर समाचार लेखेँ। भेरिफाइ गर्न आफूले गएर हेर्न नमिल्ने, जो पायो उही विमानस्थलमा छिर्न नपाइने। यसका लागि पत्रकारले विश्वस्त स्रोत बनाइराख्नुपर्छ। जब प्रमाणित हुन्छ, तब समाचार लेख्ने। त्यो टुल किट भारत नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा निगमको जहाजबाट झिकिएको पछि पत्ता लागेको थियो। 

अहिले धेरैले फोनबाटै रिपोर्टिङ गर्ने र स्रोत एकदमै कम भेट्ने गर्छन्। जसले गर्दा आउनुपर्ने समाचार आएका छैनन्। जब स्रोत बनाइन्छ, त्यसपछि स्रोतले स्रोत तान्छ।

एउटा उदाहरण : नेपाल वायुसेवा निगमका एक निर्देशकले मलाई बोलाएर भने, ‘कोटेश्वरको एउटा अग्लो घरले गर्दा उडानमा जोखिम भएको छ।’

उनले साढे आठतले घर भनेका थिए र मलाई त्यो क्षेत्रको गुगल म्याप प्रिन्ट गरेर दिएका थिए। फोटोपत्रकार र म त्यो घर खोज्दै गयौं। घर भेटियो पनि। त्यहीँ बसेर सारा सूचना संकलन गरी घरको फोटो खिचियो। त्यसपछि क्याप्टेनहरूलाई फोन गरेर ‘त्यो घरले उडान जोखिम भएको छ कि छैन ?’ भनेर सोधेँ। उनीहरूले जहाज टेकअफ गर्ने बेला त्यही अग्लो घरका कारण एकदमै जोखिम भइरहेको बताए।

र, त्यो समाचार छापियो। त्यो समाचारले हंगामा मच्चियो। त्यो घरले अनुमतिभन्दा साढे दुई तला बढी निर्माण गरेको रहेछ। त्यसपछि त्यो घरको साढे दुई तलामात्रै भत्किएन, वरपरका रहेका स्वीकृतिभन्दा धेरै तला बनाउने अन्य घरहरू पनि भत्काउन बाध्य भए। 

समाचार लेख्दा कहिलेकाहीँ कुनै समाचार किन लेखेको भनेर दबाब आउँछन्। तर, पत्रकारले कानुन हेर्ने हो, विषयवस्तुको संवेदनशीलता बुझ्ने हो। गैरकानुनी र संवेदनशील विषय छ भने कुनै जात, धर्म, लिंग पत्रकारले हेर्दैन।

एउटा उदारहण दिन्छुः नेपालको पहिलो महिला पाइलटले आफूले उडाएको जहाजको ककपिटभित्र आफ्नी छोरीलाई बारम्बार प्रवेश गराएको त्यही जहाजमै सवार उड्डयन नियामक नेपाल नागरिक उडड्यन प्राधिकरणकै एक अधिकारीले देखेपछि मलाई खबर गरे। मैले समाचार लेखेँ।

पछि उनी र उनीसँग उडेका क्याप्टेनलाई ६ महिनासम्म जहाज उडाउन प्रतिबन्ध लगाएर कारबाही गरियो। यो समाचार कतिपयले नलेखेको भए हुन्थ्यो भनेका थिए, तर संवेदनशील विषयमा भावनामा बग्ने कुरै आउँदैन। 

अर्को एउटा उदाहरणः करिब १८ वर्षअघि त्रिपुरेश्वरस्थित चारतारे ब्लुस्टार होटल बन्द हुने समाचार लेखेँ। होटलकै सञ्चालकसँग कुरा गरेर मैले त्यो समाचार लेखेको थिएँ। भोलिपल्टै पहिलो पृष्ठमा समाचार छापिएको थियो। तर, बिहानै तिनै होटल सञ्चालकले मलाई फोन गरेर ‘तपाईंले जे मन लाग्यो, त्यही लेखिदिने ? मेरा होटलका कर्मचारीले मलाई घेरेर मार्न लागिसके, तपाईं आएर सम्झाइदिनुस्’ भने।

ती सञ्चालक व्यवसायीमात्र नभई नेपाल उद्योग वाणिज्य महासंघका एक अध्यक्षका नातेदार रहेछन्। त्यो समाचार गलत हो भनेर उनी धेरै कराए, एक सातापछि उक्त होटल सधैंका लागि बन्द भयो। 

हामी पत्रकारलाई परिणाममुखीभन्दा पनि ‘क्लिकमुखी’ रिपोर्टिङ गरिररहेका छौं कि जस्तो लाग्छ। संवेदना हराएको देखिन्छ। भ्युजका लागि बेअर्थका समाचार दिनु कतिको ठिक हो ?

अहिले पनि नेपाल वायुसेवा निगम र नागरिक उड्डयन प्राधिकरणमा समस्या नभएका होइनन्, तर विषयवस्तुलाई उधिनेर समाचार लेख्न हाम्रो चासो नै छैन। यसमा कमजोरी रिपोर्टरको मात्रै होइन, सम्पादक र मिडिया व्यवस्थापकको पनि देखिन्छ। झन्, पत्रकार नै लगानीकर्ता भएको मिडिया क्लिकतिर लहसिएको देखिन्छ। 

न्युज ‘किल’ गर्न सम्पादक र लगानीकर्ताको होडबाजी

पहिले लगानीकर्ताले न्युज ‘किल’ गर्छन् भन्ने सम्पादकबाट सुनिन्थ्यो।

मैले काम गरेको एउटा मिडियामा ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परिवारले लिन्छन् सरकारी सुविधा’ भन्ने समाचार हटाउन लगानीकर्ताबाट आएको थेगिनसक्नुको दबाब, केपी शर्मा ओलीको आलोचनात्मक लेख्दा खेप्नुपरेको खप्कीको अर्कै पाटो छ।

केही लगानीकर्ता जो अहिले अनलाइनको भरमा ‘धन्दा’ चलाइरहेका छन्, उनीहरूको फन्दामा मिडिया पर्दा सम्पादकीय स्वतन्त्रता हनन भएको छ। 

अर्काे झन् डरलाग्दो पाटो जो पत्रकार आफैं लगानीकर्ता भएका छन्। उनीहरूले पनि समाचार त उल्टोपाल्टो पार्छन् नै ब्लगसमेत आफूअनुकूल नभए छाप्दैनन्।

एउटा उदाहरण दिन्छु : नाम चलेका पत्रकार, जो आफैं लगानीकर्तासमेत हुन्। विवादास्पद पप्पु कन्स्ट्रक्सनका अध्यक्ष हरिनारायण रौनियार त्यतिबेला सांसद पनि थिए। उनले ठेक्का पाएर बनाएको संरचनाहरू भटाभट भत्किरहेका थिए। म काम गरेको मिडियाका सम्पादकले ती ठेकेदारलाई भेट्न पठाए। म अर्को सहकर्मी लिएर गएँ, अन्तर्वार्ता लिएँ। तिनले फर्किने बेला खाममा राखेर पैसा दिन खोजे। मैले ‘सांसद नभएको भए तपाईंको गाला चड्काइदिन्थेँ’ भनेर रन्थनिँदै कार्यालय आएर सम्पादकलाई बेलिविस्तार लगाएँ। सम्पादकले ‘त्यसो हो भने ब्लग लेख’ भने। ब्लग त लेखियो, तर छापिएन। ७-८ दिनपछि सोध्दा नछापिने निर्णय भएको थाहा पाएँ। 

अर्काे बेथितिबारे नै समाचार थियो। समाचार त पूरै उल्टो भएर छापिएछ। सम्पादकलाई सोध्दा ‘तिम्रो बाइलाइन हालेको छैन, समाचार उल्टो बनाउने, सुल्टो बनाउने, उल्टाउने गुल्टाउने मेरो कुरा हो’ भने। लगानीकर्ताले समाचार उल्ट्याए, हटाउन लगाए भने त्यहाँ भनाभन हुन्छ। तर, त्यहाँ लगानीकर्ता नै सम्पादक भएपछि कोसँग डिस्कस गर्नू ? 

नेपाली मिडियामा अहिले देखिएको प्रमुख समस्या भनेको जनशक्तिको चरम अभाव हो। सम्पादक नै लगानीकर्ता भएका मिडियामा एकदमै थोरै तलब दिने र त्यो पनि समयमा नदिने देखिएको छ। 

उदाहरणका लागि एक जना सम्पादक, जो अर्काे व्यक्ति लगानीकर्ता भएको मिडियामा हुँदा एउटा रिपोर्टरलाई ४० हजार रुपैयाँ मासिक तलब दिनुपर्छ भन्थे। तर, अहिले ती सम्पादक आफैं लगानीकर्ता भएपछि ४० हजारमा चार वटा रिपोर्टर राख्नुपर्छ भन्छन्, यो कस्तोखाले हिसाब हो ? 

रिपोर्टरले घर धान्नुपर्दैन ? उसको व्यवहार हुँदैन ? पत्रकार नै लगानीकर्ता भएपछि झन् समस्या बुझेर बजार मूल्य, महँगी हेरेर तलब दिने कि आफ्नै गोजी भर्न तिर लाग्ने ? केही चलेका र राम्रै आम्दानी भएका मिडियाले पनि पत्रकारका सामाजिक सुरक्षामा ख्याल गरेका छैनन्। यसले गर्दा रिपोर्टरहरूमा ‘भिडौं यो समाचारमा’ भन्दा पनि ‘आजलाई टारौं’ भन्नेमा केन्द्रित भएका छन्। 

म आफैंले पनि केही समय मिडियामा लगानी नै गरेँ। तर करिब तीन वर्ष मिडिया सञ्चालन गरेपछि म अहिले के निष्कर्षमा आइपुगेको छु भने-समाचार लेख्ने पत्रकारले व्यवसाय गर्न सक्दैन। व्यवसाय गर्न सोहीअनुसारको ज्ञान र सीप चाहिन्छ। 

विज्ञापनमा मिडियाको ‘अनप्रोफेसनल’ व्यवहार

केही समय आफ्नै मिडिया चलाएर काम गर्दा के थाहा भयो भने, मिडिया आफैंले विज्ञापनदातासँग ‘अनप्रोफेसनल’ व्यवहार गरिरहेका छन्। उदाहरणका लागि राम्रो चलिरहेको अनलाइनले एउटा विज्ञापन मासिक ५ लाखमा ल्याउने गरेको रहेछ। धेरै मिडिया भएपछि विज्ञापनदाता पनि कसलाई दिने/नदिने दोधारमा पर्छ नै। धेरै मिडिया विज्ञापन माग्न गएपछि ‘बाार्गेनिङ’ मिडियाले होइन, विज्ञापनदाताले गर्ने नै भयो। 

जब त्यो अनलाइनले ५ लाखको विज्ञापनलाई २ लाखमा भए पनि आफैंले छाप्नुपर्ने कुरा गर्यो, अन्य मिडियाको विज्ञापनको दर विज्ञापनदाताले नै घटाइदिए। मिडिया आफैंले न्यूनतम यतिसम्मको विज्ञापन हुनुपर्ने र अधिकतम मिडियाको ‘रिच’देखि हर कुरा हेरेर हुने भनेर मापदण्ड तोके हुँदैन? आफैं गिरेर आफ्नो मूल्य आफैं किन घटाएका हुन् मिडियाले ? यसरी त मिडियाको आम्दानी हुन्छचाहिँ कसरी ? 

अर्काे, केही ‘दलाली’ पत्रकारिता गर्नेले पत्रकारितालाई नै धुमिल बनाइरहेका छन्। एउटा उदाहरण दिन्छु, एक हेलिकोप्टर व्यवसायीको हेलिकोप्टर सरकारले उडाएको थियो। हेलिकोप्टर त उडायो, भाडा दिएनको रहेनछ। मैले समाचार लेखेँ। तर, अर्कै मिडियाका एक पत्रकारले ती व्यवसायीको अफिस गएर ‘मैले लेख्न लगाएको' भन्दै पैसा मागेछन्। जबकि, मैले ती व्यवसायीलाई अघिल्लो दिन भेटेर समाचार लेखेको थिएँ।

आफूले लेख्नु त परको कुरा अर्काले लेखेको समाचार समेत आफूले लेख्न लगाएको भनेर पैसा उठाउन खालका पनि हुन्छन्। 

अहिलेका न्यु मिडिया (डिजिटल मिडिया) तत्कालै ‘सब्सक्राइब मोडेल’ मा गएर आम्दानी गर्न सक्छन् जस्तो पनि देखिँदैन। बजार निकै सानो छ। विज्ञापनमा मिडियाको प्रोफेसनल व्यवहार गर्न सके धेरै मिडियाको आर्थिक स्थिति सुध्रिन्थ्यो भन्ने मलाई लाग्छ। 

(नेपाल समाचारपत्र दैनिक, दैनिकी डटकम, नागरिक दैनिक, बाह्रखरी डटकम, नेपालन्युज डटकम, आयोमेल डटकम, हेल्थपोस्ट नेपाल डटकममा काम गरेका भट्टराई हाल क्यापिटल नेपाल डटकम र क्यापिटल बिजनेस म्यागजिनका समूह कार्यकारी सम्पादक छन्। उनैसँग उकेराको चौथो अंग कोलमका लागि ‘एभिएसन पत्रकारिता’ मा आधारित रहेर प्रजु पन्तले गरेको कुराकानी) 

चौथो अंगका पुराना श्रृंखला 

९ साउन, २०८०, १८:३३:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।