रित्तो गाउँमा पूर्वाधारको के काम !

रित्तो गाउँमा पूर्वाधारको के काम !

बुटवल : गुल्मीको साबिक अर्खावाङ, ह्वाङदी, दर्लिङ, ठुलोचौरमा गाउँमा केही वर्ष अघिसम्म खाद्यान्न लैजाँदा मानिसले बोकेर लैजानुपर्ने अवस्था थियो। मट्टितेल, पेट्रोल जस्ता प्रज्वनशिल पदार्थ अर्खावाङ, ह्वाङदीका गाउँमा अर्जैको फूलबारीबाट स-साना ड्रममा लैजान्थे।

बिस्तारै ती गाउँमा ट्याक्टरले सामान लैजान थाले। गाउँघरमा ठुला व्यापारीहरू थिएनन्। त्यसैले २-३ वटा गाउँका साना व्यापारीको सामान एकै पटक अर्जै फूलबारीका व्यापारी ईश्वरी कार्कीले गाउँ-गाउँ पठाउँथे।

गाउँमा ट्याक्टर पुगे पनि उनीहरू पैदलै फूलबारीसम्म आएर जिप र बस चढ्थे। कतिपय त्यो भेगका नागरिक बागलुङको भिमगिठे, खार, खाल झर्थे र जिप चढेर बुटवल, तम्घास आउँथे।

खाद्यान्न मात्र होइन, सामान्य उपचारका लागि स्वास्थ्य चौकी समेत थिएनन्। गाउँमा बिजुली पुगेकै थिएन। सोलारबाट कहिँकतै उज्यालो हुने गरे पनि त्यो समय सोलार ‘धनी वर्गको’ हो भनिन्थ्यो।

सङ्घीयता लागु भएपछि यी गाउँहरू मलिका गाउँपालिकामा पर्दछन्। उ बेलाका अन्धकार र विकट गाउँ अहिले सुविधाले भरिएका छन्। गाउँपालिकाको कार्यालय नै अर्खावाङमा छ।

सडक पुगेको छ, बस, जिप पुग्छन्। गाउँपालिकामा होम डेलिभरी घोषणा भइसकेको छ। विद्युत्को पहुँच सबै गाउँमा छ। गाउँ गाउँमा इन्टरनेट सुविधा पुगेको छ। तर प्रयोग गर्ने जनशक्ती छैनन्।

गाउँका बाटा ग्राभेल भएका छन्। जुनकुनै गाउँबाट सजिलै पालिकासम्म पुग्ने पहुँच मार्ग बनेको छ। विकास र सुविधाले गाउँमा धेरै परिवर्तन भइसक्यो तर त्यो सुविधा उपभोग गर्नेहरू भने घटिरहेका छन्।

गाउँमा पूर्वाधार विकास, आधारभूत स्वास्थ्य, खानेपानी जस्ता आवश्यकता पुरा हुँदा मन भने फेरिएको छैन। गाउँमा विकासले गति लिए पनि त्यसको आभास गर्नेहरू बिस्तारै कम हुँदै गएका छन्। उनीहरू शहर र प्रदेशको मोहले उर्वर भूमिलाई खण्डहर बनाएर बसाई सरिरहेका छन्।

बिरामी हुँदा अस्पताल लैजाने युवा समेत गाउँमा छैनन्। बिहेवारि मात्र होइन, अन्तिम संस्कारका लागि घाटसम्म जाने युवा समेत छैनन्। गाउँमा अशक्त बिरामी, वृद्ध-वृद्धा, बालबालिका र महिलाहरू घर कुरेर बसेका छन्।

हिजो गाउँमा खेतबारी धेरै हुनेलाई धनी भन्थे। अहिले प्रशस्त खेतबारी हुनेहरू गरिब जस्ता भएका छन्। गाउँमा काम गर्ने उमेरका कोही छैनन्। उब्जेको बाँदर लगायतका जङ्गली जनावरलाई ठिक्क भएको छ।

दर्लिङ पाटाखर्क गुल्मीका नारायण लम्साल गाउँमा विकास आए पनि गाउँबाट युवाहरू पलायन भएको बताउँछन्।

‘कुनै बेला कक्षा ५ माथि पढ्न २ घण्टा हिँडेर दर्लिङ पुग्नुपर्थ्यो। बाटो थिएन। गोरेटो बाटो पछ्याउँदै जानुपर्थ्यो। तर अहिले सडक बनेको छ। तर त्यो सडकको प्रयोग गरेर हिँड्ने विद्यार्थी छैनन्’ उनले भने।

रोजगारी, शिक्षा र स्वास्थ्यकै कारण धेरैले जन्मेको थातथलो छाड्ने गरेको उनी बताउँछन्। गाउँमा मानिसको चहलपहल कम हुँदै गएपछि बाँदरले आतङ्क मच्चाइरहेको छ। खेतबारीमा भएका अन्नपात मात्र होइन, भित्राएर राखेका अन्नबाली समेत बाँदरले छाडेको छैन।

‘गाउँमा युवा छैनन्। महिला र बालबालिकालाई बाँदरले टेर्न छाड्यो। खेतबारीका मात्र होइन। धनसारबाट मकै समेत निकालेर बाँदरले खाने गर्दछ’ उनले भने।

गुल्मीकै सानो भार्से सुन्दर गाउँ सानो उपत्यका हो। सत्यवती गाउँपालिका–८ को भार्से गाउँमा मान्छे बस्नेभन्दा छोडेका घरहरूको सङ्ख्या बढी छ।

पाल्पाको रम्भादेवी गाउँपालिका–४, तनहुँका होमबहादुर रायमाझी घरमा ताल्चा लगाएर रुपन्देहीको तिलोत्तमामा बसेका छन्। दुई छोराहरूले जन्मथलो छाडेपछि होमबहादुर पनि पाँच वर्ष अघि गाउँ छाडेका हुन्।

‘एउटा छोरा विदेश छ। एउटा बुटवलमै जागिर गर्छ। गाउँमा बुढाबुढी भएपछि कसले रेखदेख गर्छ। त्यसैले गाउँको खेतबारी अरूलाई छाडेर घरमा ताल्चा लगाएर बुटवल झरेका हौ’ उनले भने।

रित्तिँदै पहाड

केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणनाको दस वर्षको पछिल्लो तथ्यांकअनुसार लुम्बिनी प्रदेशका तराईका केही पालिकाहरूमा ३.८५ प्रतिशत जनसङ्ख्या वृद्धि हुँदा पहाडी जिल्लाका पालिकाहरूमा २.३९ प्रतिशतले जनसङ्ख्या घटेको छ।

२०७८ को जनगणना नतिजा अनुसार लुम्बिनी प्रदेशमा पछिल्लो १० वर्षमा ५१ लख २२ हजार ७८ जनाले कुनै न कुनै हिसाबले बसाई सरेका छन्।

लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा र प्युठानमा जनसङ्ख्या घटेको छ। जनगणना २०७८ को तथ्यांकअनुसार १० वर्षमा पाल्पाको निस्दी गाउँपालिकाको जनसङ्ख्या ४ हजार ९८२ ले घटेको छ। पाल्पाकै बगनासकाली गाउँपालिकामा १० वर्षमा जनसङ्ख्या ४ हजार ४२७ ले घटेको छ।

पाल्पामा तानसेन नगरपालिका बाहेक अरू सबै पालिकामा जनसङ्ख्या घटेको छ। दुई वटा नगरपालिका र १० वटा गाउँपालिका सहित १२ वटा पालिका रहेको गुल्मीमा सबै पालिकाको जनसङ्ख्या घटेको छ।

नगरपालिकामध्ये रेसुङ्गामा ०.२६ प्रतिशत र मुसिकोट नगरपालिकामा १.२६ प्रतिशत जनसङ्ख्या घटेको छ। अर्घाखाँचीमा पाँच वटा पालिकाको जनसङ्ख्या घटेको छ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा १० वर्षमा ०.३३ प्रतिशतले जनसङ्ख्या बढेको छ। रोल्पा र रुकुमका पालिकाहरूमा भने जनसङ्ख्या केही स्थिर देखिएको छ। प्युठानका तीन पालिकामा पनि जनसङ्ख्या घटेको छ। लुम्बिनीको समग्र जनसङ्ख्या भने १३.७९ प्रतिशतले बढेको छ।

पाल्पाको बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँमा स्थानीयलाई टिकाइ राख्न राष्ट्रिय नीति र योजना नै बन्नुपर्ने बताइन्।

‘जसरी गाउँमा बसाई सराई भएको छ। त्यसको कारण खोजेर त्यही नीति र योजना सरकारले बनाउनुपर्छ। कुनै ठाउँ बाँदरले दुःख दिएर बसाई सराई भएको छ। कतै आधारभूत आवश्यकता नै नभएर बसाइसराई दर बढेको छ। ठाउँ र स्थान हेरेर योजना बनेमा मात्र बसाइसराई दर कम हुनेछ’ उनले भनिन्।

कसरी टिकाई राख्ने ?

दुर्गम र कम विकसित भएका ठाउँबाट बसाइसराइ वृद्धि हुँदा स्थानीय तहले कृषि, पशुपालन जस्ता कार्यक्रम मार्फत किसानलाई प्रोत्साहन गर्दै गाउँमै जनता टिकाइराख्ने योजना पनि बनाइरहेका छन्।

गुल्मीको धुर्कोट गाउँपालिकाले गाउँमै जनता टिकाउ र विदेशबाट समेत फर्काउन भन्दै चक्लाबन्दी खेतीमा प्रोत्साहन गरेको छ। गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले चक्लाबन्दी खेतीपछि कतिपय विदेश बाट फर्केर सुन्तला खेती गरेको बताए ।

‘स्थानीयलाई गाउँमै राखिराख्न कृषिमा अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याएका छौ’ उनले भने।

पाल्पाको रिव्दीकोट गाउँपालिकाले अकबरे खुर्सानी लगाउन प्रेरित गर्ने कार्यक्रम अघि सारेको छ। गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की खुर्सानीको बिउ लगाउनेदेखि बजार पुराउन्जेलसम्म किसानलाई चाहिने प्राविधिक र आर्थिक अनुदान गाउँपालिकाले दिँदै आएको छ। अहिले रिव्दीकोटमा अकबरे खुर्सानी खेतीतर्फ किसानको आकर्षण समेत बढ्दै गएको छ।

पाल्पाकै निस्दी गाउँपालिकाले अम्रिसो उत्पादनमा प्रोत्साहन गर्दा रैनादेवी छहराले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने नीति लिएको छ।

अर्घाखाँचीको सितगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेलले बसाइसराई कम गराउन पालिकाले कृषिलाई प्राथमिकता राखेर कार्यक्रम ल्याए पनि बसाइसराइ कम नभएको बताए।

प्युठानको सरूमारानी गाउँपालिकाका उपाध्यक्ष वसन्ता खड्काले रैथाने बाली र कृषिलाई प्रवर्द्धन गर्ने योजना अघि बढाएको बताइन।

उनले कृषिको बिउ बिजन र जोत्नका लागि हाते ट्याक्टरमा अनुदान, बाख्रा पालनका लागि खोर बनाउने, पशु पालनका लागि भकारो सुधारका कार्यक्रम अघि सारिए पनि बसाइसराई गर्नेहरू नघटेको बताइन्।

३ जेठ, २०८१, १७:३८:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।