कुल्लुमनालीबाट ‘१० हजार करोड भारु’ पर्ने मूर्ति चोरेर नेपाल आएपछि...
नेपाल र भारतबीच औपचारिकभन्दा पनि अनौपचारिक रूपमा अपराधमा संलग्नहरू साटफेर भइरहन्छन्। म केन्द्रीय अनुसन्धान ब्युरोको प्रमुखहुँदा पनि छ जनाजति साटफेर भएका छन्। हामीले उनीहरूसँग नेपालमा अपराध गरेर भागेर भारतमा लुकेर बसेका नेपाली माग्ने हो। उनीहरूले भारतमा अपराध गरेर नेपालमा आएर लुकेर बसेका भारतीय माग्ने हो।
भारतीयलाई भारत पठाउन कुनै समस्या भएन। नेपालीलाई नेपाल ल्याउन पनि समस्या हुन्न। तर नेपालीलाई भारत पठाउन वा भारतीय नागरिकलाई नेपाल ल्याउन भने प्राय असम्भवै हुन्छ। नेपाली नागरिक जोडिएको यस्तै एक चोरीको घटना भएको थियो हिमाञ्चलको कुल्लुमनालीमा।
त्यहाँको अति धार्मिक विश्वास रहेको मूर्ति चोरेर नेपाल आएका नेपालीलाई मूर्ति खोज्ने सर्तमा भारत पठाउन भारतीय सुरक्षा निकायले निकै कर गरेका थिए। तर पठाउने कुरै थिएन। पठाइएन।
घटना पनि निकै रोचक छ। पहिला घटनाबारे नै लेखौँ।
OOO
भारतको कुल्लुमनालीमा औपचारिक रूपमा राजतन्त्र छैन। तर अहिले पनि त्यहाँ राजपरिवारका सदस्यहरूको निकै सम्मान हुन्छ। दबदबा चल्छ उनीहरूको राजनीति अनि समाजमा। उनीहरू धार्मिक अनि सांस्कृतिक रूपमै सर्वसाधारणसँग जोडिएकाले राजतन्त्र नभए पनि उनीहरूको सांस्कृतिक अनि धार्मिक महत्त्व कायमै छ।
कुल्लुमनालीमा महाराजहरूको भगवान् रामको पुस्तैनी मन्दिर रहेछ। त्यहाँ ६ इन्चका राम-सीता अनि हनुमानको ढलौटको मूर्ति रहेछन्। त्यो मूर्ति भगवान् रामले नै बनाएको जनविश्वासका कारण मन्दिरको निकै महत्त्व रहेछ।
जनश्रृती अनुसार भगवान् रामले अश्वमेध यज्ञ गर्नेक्रममा कतै जानुपर्ने भएपछि आफैँले आफ्नो,सीताको र हनुमानको मूर्ति बनाएको मान्यता रहेछ। अयोध्याका राजाले चार सय वर्ष अगाडि त्यो मूर्ति कुल्लुमनालीको राजपरिवारलाई उपहार दिएपछि उनीहरूले मन्दिर बनाएर मूर्ति त्यहीँ राखेको धार्मिक मान्यता रहेछ।
हरेक वर्ष श्रीपञ्चमी अनि दशैँको नवरात्रीमा भव्य रथयात्रा हुन्छ त्यहाँ। एक दिन त्यही मन्दिरको सामान अनि तीन वटै मूर्ति चोरी भयो। बेलुका मन्दिरमा ताल्चा लगाएर बिहान पूजा गर्न जाँदा मन्दिरमा मूर्ति नदेखेपछि हङ्गामा भयो।
भारतको केन्द्रियतहको खुफिया एजेन्सीसमेत संलग्न भएर अनुसन्धान गर्दा एक जना नेपालीमाथि शङ्का लागेको रहेछ। उनीहरूले त्यसैको आधारमा मूर्ति खोज्न नेपालको सहयोग मागे। त्यो आग्रह सिआइबीमा आइपुग्यो।
मूर्ति सामान्य ढलौटको साना-साना भए पनि त्यसको धार्मिक र सांस्कृतिक महत्त्व निकै भएकाले निकै दबाब बढेको देखियो उता। उनीहरू जसरी पनि मुर्ति खोज्न आग्रह गरिरहेका थिए।
एकातिर राजपरिवारको आफ्नै पारिवारिक मन्दिर अनि अर्कोतिर अति नै जनविश्वास भएको मन्दिर भएकाले उता पनि मूर्ति खोज्न निकै दबाब बढेको रहेछ।
उनीहरूले शङ्का गरेको व्यक्तिको विवरण नेपालमा पठाएपछि सिआइबीमै रहेका भीम ढकाल अनि दीपेन्द्र अधिकारीलाई त्यसको अनुसन्धानको जिम्मा दिएँ।
उनीहरूले अनुसन्धान गरेर शङ्कास्पद व्यक्ति कोहलपुरमा छ भन्ने पत्ता लगाए। उनीहरू अर्कै केसको अनुसन्धानका लागि त्यतैतिर जानुपर्ने थियो। त्यही बेला पारेर कोहलपुर गए। शङ्का लागेको व्यक्ति फेला पनि पारिहाले।
अब पहिलो चोटिमै कसले चोरेको हो भन्छन् र! मान्ने कुरा भएन। केराकार गर्दै, फकाउँदै गर्दा उसले मूर्ति चोरी गरेको स्वीकार गर्यो। तर मूर्ति कहाँ छ खुलाएन।
भीम अनि दीपेन्द्रले रिपोर्टिङ गरिरहेका थिए। श्री पञ्चमी आउन लागेको थियो। अब मूर्ति नभेटिए वर्षौँदेखि चल्दै आएको जात्रा नै रोकिने अवस्था भयो भन्दै उताबाट सोधेकोसोध्यै।
हुँदाहुँदा राजपरिवारका सदस्यले नै फोन गरेर आग्रह गर्न थाले। हिन्दी मिसिएको नेपाली भाषामा मज्जाले कुरा गर्ने रहेछन् उनीहरू। संस्कृति नै नास हुने भो भन्थे।
यता प्रहरी नियन्त्रणमा रहेकाले कहिले मूर्ति चीनमा बेचिसकेँ भन्ने त कहिले बौद्धमा बेचेँ भन्ने। कहिले टुक्राटुक्रा पारेर बेचेँ भन्दा रहेछन्। केराकार गर्ने प्रहरी नै हैरान।
केराकार गर्दागर्दा उसले मूर्ति यता नल्याएको, उतै छाडेको बतायो। अब कुन चैँ पत्याउने?
उसको हाउभाउले भने मूर्ति केही नगरेको झैँ देखिन्थ्यो। तर घुमाएको घुमायै। उसले नेपालमा अपराध गरेको हैन। भारतमा गरेको अपराधमा नेपालमा केही गर्न मिल्दैन। फकाउने बाहेक अर्को उपाय थिएन।
उताको राजज्योतिषीलाई देखाउँदा 'रामचन्द्र कुल्लुमनाली छाडेर कतै जानुभएको छैन, यतै हुनुहुन्छ' भनेको सुनाउँदै थिए। विश्वास एकपक्ष भयो। अनि अनुसन्धान अर्को। ज्योतिषलाई देखाएर सबै थाहा हुने भए अनुसन्धान गर्न प्रहरी किन चाहियो?
यता केराकार जारी थियो। केराकार गर्दागर्दा उसले सामान चोरेको तर नेपाल नल्याएर उतै छाडेको बताइरह्यो। यसमा उसको बोली बदलिएन। हो कि क्या हो भन्ने भयो।
उताबाट उसले यतै राखेको छ खोज्न भारत पठाउन आग्रह गर्न थाले। 'उसलाई तपाइकै मान्छेहरूले ल्याउन्। मूर्ति देखाएपछि नेपाल फर्काउँछौँ' भनिरहेका थिए।
उनीहरूले वचन पुरा गर्थे होला। तर नेपालले नेपालीलाई पक्राउ गरेर भारत पठाएको सूचना चुहियो भने सिआइबी हैन कि प्रहरी संगठनै छाडे हुन्थ्यो मैले। जुनसुकै प्रयोजनका लागि होस् नेपाली पठाउने कुरै थिएन।
मैले उनीहरूलाई त्यही जवाफ दिएँ। उनीहरू 'भरोसा करो' भनिरहेका थिए। यसमा भरोसाको कुरै थिएन। यत्रो जोखिममा के को भरोसा!
विकल्पमा यता उसले भने अनुसार गुगल म्याप बनाएर पठाउने सहमति भयो। उसले बताए अनुसारको एक ठाउँमा जाँदा मन्दिरका केही सामान फेला पर्यो। यसले उत्साहित बनायो। तर मूर्ति थिएन।
मूर्ति अन्तै छ भन्यो। उसले भने अनुसार यता गुगल म्याप बनाएर उठा पठायो, उता प्रहरी खोज्ने। पहिलो पटक चोरी भएको सामान फेला परेको खबर फैलिएपछि त मूर्ति खोज्न ५० हजार बढी स्थानीय नै खटिएछन्। तर मूर्ती फेला परेन।
उ कहिले यता भन्ने,कहिले उता। बल्ल बल्ल उनीहरूले दुईवटा मूर्ति फेला पारे तर सीता र हनुमानको मात्रै। रामको मुल मूर्ति छैन।
उसले भने अनुसारै सामानहरू फेला परेकाले रामको मूर्ति पनि फेला पर्ने सम्भावना थियो। तर रामको मूर्ति सडकबाट डाँडातिर फ्याकेको बतायो। जम्मा ६ इन्चको मूर्ति थियो। एक फेला पार्न कठिन। अर्को अरू कसैले फेला पारेर लग्ने सम्भावना पनि रह्यो नै।
भोलीपल्ट श्रीपञ्चमी छ। अघिल्लो दिनसम्म मूर्ति फेला परेन। श्रीपञ्चमीको जात्रा रोकियो भने अनिष्ट हुन्छ भनेर उनीहरूले नेपालीलाई मूर्ति खोज्न भारत पठाउन आग्रह गरिरहेका थिए। त्यो त सम्भावनै थिएन।
अन्तमा दीपेन्द्रहरूले सबै डिटेल बुझेर उनीहरूलाई भाइवरबाट बताइदिए। अनि गुगल म्याप पनि बनाएर पठाए। ५० हजारभन्दा बढी स्थानीयहरू मूर्ति खोज्न खटिए।
धन्न मूर्ति फेला पर्यो। उसले भनेको सत्य रहेछ। मूर्ति त चोरेको रहेछ। तर नेपाल ल्याउन नपाएको। भोलीपल्ट प्राण प्रतिष्ठा गरेर मूर्ति मन्दिरमा राखे अनि भव्य रथयात्रा पनि गरे।
सुरक्षा निकायकाहरु खुसी हुने नै भए। राजपरिवारकाहरु पनि खुसी भए। राजपरिवारका प्रमुखले नै फोन गरेर धन्यवाद दिए। महत्त्व आर्थिक मात्र हुन्न, धार्मिक र सांस्कृतिक महत्त्व पनि हुन्छ नै। हाम्रो सहयोगले एउटा धार्मिक महत्त्व र परम्परा कायम रह्यो त्यसमा हामी पनि खुसी नै भयौँ।
अब यता नेपालमा जो हाम्रो नियन्त्रणमा थिए उनलाई सार्वजनिक अपराधको आरोपमा हिरासतमा राखेका थियौँ। मूर्ति फेला नपरेसम्म प्रहरी नियन्त्रणमा राख्न अन्य उपाय थिएन। जब मूर्ति फेला पर्यो उनी रिहा भए। यता कारबाही गर्ने कुनै कानुनी आधार थिएन।
तर नियन्त्रण मुक्त हुनु अगाडि उनले कसरी मूर्ति चोरे भन्ने विवरण भने खुलाएछन्। दीपेन्द्रहरूले पछि भनेका थिए। त्यो मूर्ति फेला परेकोभन्दा पनि रोचक रहेछ।
हिमाञ्चलमा नेपाली काम गर्न जानु सामान्य नै हो। अहिले पनि टन्नै नेपाली जान्छन्। उनी त्यसरी नै सामान्य मजदुरीका लागि कुल्लूमनाली गएका रहेछन्।
राम मन्दिरमा त्यस्तै डेढ किलो जतिको सुनको छाता रहेछ। उनको नजर त्यही छातामा परेको रहेछ। सुनको छाता चोरेर नेपाल भाग्ने योजना बनाए उनले।
त्यहाँको मन्दिर हाम्रो पहाडतिर ढुङ्गा छापेर बनाइन्छ नि हो त्यस्तै। छानामा पनि स्लेट राखिएको हुन्छ। मन्दिरमा ताल्चा अनि सिसिटिभी हुने भएकाले ताल्चा फोड्न सम्भव थिएन।
नजिकै त्यस्तै अर्को घर रहेछ। कतै छतबाट मन्दिरभित्र जान सकिन्छ कि भनेर अर्को घरको छतमा गएर यसो स्लेट तानेको हटिहालेछ।
अनि उ बजार गएर डोरी, किला तान्ने ह्याम्बर, प्वालपार्ने सामान लगायतकाहरु किनेर आयो। मन्दिरको पछाडि रुख रहेछ जो सिधै मन्दिरको छतमा जाने। डोरीलाई गाँठोहरू बनाएर रुखमा बाँधेर रुख चढ्यो। अनि सहजै छतमा पुग्यो।
मन्दिरको छतमा राखेको स्लेट हटिहाल्यो। उनी त्यसैबाट भित्र छिरे। भित्र सिलिङ टालेको रहेछ। उनले किला तान्ने ह्यामरले किला उखेलेर मन्दिर छिर्न सक्ने प्वाल बनाए। डोरी खम्बामा राखेर तल झरेछन्।
तर तल सुनको छाता छैन। बिहान मन्दिर खोलेपछि सुनको छाता निकाल्ने अनि बेलुका मन्दिर बन्द गर्ने बेलामा सुनको छाता सेफमा राख्ने रहेछन्। त्यो उसले चाल पाएन।
मुर्ती चोर्ने योजना नभए पनि मन्दिरभित्र आएकाले उसले तीनवटा मूर्ति अनि केही सामान झोलामा राखेर डोरीबाट छतमा आयो। छतमा आउँदा बिगारेको सिलिङ ठोकेर मिलाइसकेको थियो। छतमा पनि स्लेट मिलाएर रुखहुँदै तल झर्यो।
बिहान पुजारी मन्दिरमा जाँदा ताल्चा जस्ताकोत्यस्तै। तर भित्र मूर्ति छैन। मन्दिरको ढोका अगाडिको सिसिटिभीमा कुनै शङ्कास्पद गतिविधि छैन। सबै छक्क।
भोलीपल्ट बिहानैबाट मूर्ति चोरिएको हल्ला भयो। तत्काल सामान लिएर नेपाल आउन सम्भव भएन।
कतै गएका छैनन् भन्ने रहेछन्। नेपालीले सबै सामान चोरेको रहेछ। चोर्नासाथ भाग्न पाएनन्। धेरै हल्ला भयो। अनि डराएर उसले कतै ती सबै सामान लुकाएर नेपाल भागेर आएको रहेछ।
भोलीपल्ट उसले सबै सामान लिएर तिब्बतीय क्याम्प तल रहेको ब्यास नदीको किनारमा गयो। नदी किनारमा तार जालीमा ढुङ्गा हालेर कटान रोक्न पर्खाल बनाइएको रहेछ। एउटा जालीको तार चुँडिएर केही ढुङ्गा खसेको ठाउँ देखेपछि उसले अझ ढुङ्गाहरू उप्काएर सबै सामान त्यही लुकाएर बजार फर्कियो।
बस्ने ठाउँ थिएन। बसपार्कमा आएर बसभित्रै सुत्यो। त्यताबाट हरियाणा आयो। चिया खाँदिगर्दा भारतीय टिभीमा मूर्तिबारे नै समाचार आइरहेको रहेछ। समाचारमा मूर्तिको मूल्य १० हजार करोड भारु भनेपछि उसको दिमाग चकरायो। नेपाल फर्किन हिँडेको उ फेरि मूर्ति लिन उतै फर्कियो।
सामान त्यही खोला किनारमा छाडेर तीनवटा मूर्ति लिएर आयो अनि तीन किलोमिटर अगाडिको शिवालय मन्दिरमा सुत्यो।
भोलीपल्ट गाडी चढेर आउँदा प्रहरीको चेकिङ थियो। बसबाट लुसुक्क झरेर नजिकैको डाँडातिर चढ्यो। तीनवटा रुख अनि जरा बाहिर निस्किएको ठाउँ देखेपछि पछि चिन्न सजिलो हुन्छ भनेर त्यही खनेर तीन वटै मूर्ति लुकाएर बजारमा फर्कियो।
त्यो रात पनि शिवालयमै सुतेको रहेछ। त्यत्रो महँगो मूर्ति नेपाल लैजान पाए त सबैभन्दा धनी हुन्थेँ भनेर रातभर सुत्नै सकेनछ। बिहान उठेर रामको मात्र मूर्ति गोजीमा राखेर पुन बस चढेर अगाडि जाँदा टाइट चेकिङ देखेपछि डराएर बसबाट ओर्लिएर मूर्ति डाँडातिर फ्याँकेर नेपाल आएको रहेछ।
उसले चोरी गरेको हो भन्ने सबै आधार थियो। तर उसलाई नेपालमा कारबाही गर्न सक्ने आधार थिएन। भारत पठाउने त कुरै भएन। जे समस्या हो त्यो समाधान भयो। तर अपराध अनुसारको सजाय दिन सकिएन। उसको नाम र ठेगाना राखेर निगरानी भने राखेको थियो प्रहरीले।
(प्रहरी निरीक्षकको रूपमा नेपाल प्रहरीमा प्रवेश गरी डीआईजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)
माघ ३, २०८० बुधबार २१:४०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।