ब्याच नम्बर ६९ : निजामती सेवाका ५५ वर्षीय प्रथम श्रेणीका कर्मचारी जब हनी ट्रयापमा परे

ब्याच नम्बर ६९ : निजामती सेवाका ५५ वर्षीय प्रथम श्रेणीका कर्मचारी जब हनी ट्रयापमा परे

निजामती सेवाका प्रथम श्रेणीका एक अधिकृतले भेट्न खोजेको खोज्यै गरे।

पटक-पटक भेट्न खोजेपछि कार्यालय आउन अप्ठ्यारो लाग्यो होला भनेर आफैं भेट्न गएँ। त्यो बेलामा म अपराध महाशाखामै थिएँ।

कार्यालयबाहिर भेट्न जाँदा पहिला नै उनले अलि रिसाएजस्तो गरी भने, 'एसएसपी सा'प, काठमाडौंजस्तो ठाउँमा पनि यस्तो असुरक्षा !'  

'अलि कुरा बुझिनँ नि', भनेँ। उनी अकमकाए। उनको हाउभाउ हेर्दा केही भन्न चाहेको, तर नसकिरहेको संकेत पाइहालेँ। अलि सहजीकरण गर्नुपर्ने देखियो। 

उनले भने, 'काठमाडौंजस्तो ठाउँमा हामीजस्तो व्यक्ति असुरक्षित भएपछि अन्यको अवस्था के होला ? हामीलाई पनि बल्याकमेल गर्ने ?'

ब्ल्याकमेलबारे कुरा रहेछ भन्ने बुझिहालियो। तर कस्तो ब्ल्याकमेल अनि कसले भन्ने अझै खुलाउन सकेनन्।

'हो सर। अपराधको प्याट्रन बदलिएको छ। सघाउन म छु नि' भन्दै समस्या खुलाउन प्रेरित गरें। बल्ल उनी खुल्न थाले।

भएछ के भने उनको उमेर ५५-५६ को थियो। कुनै युवती उनको सम्पर्कमा आइन्। दुवैबीच कुराकानी हुन थाल्यो।

एक दिन युवतीले उनलाई भेट्न बोलाइन्। उनी पनि गइदिए। दुवै युवतीको कोठामा बसेका थिए।

कुरै कुरामा दुवैबीच यौन सम्बन्धको वातावरण बन्दै गयो। केटीले कपडा खोलिन्। उनले पनि खोलेछन्। कपडा खोलेलगत्तै कोठामा दुई जना केटाहरू आएर च्यापचुप समातिहालेछन्। झ्यापझ्याप फोटो खिचेछन्। र उनलाई पठाएछन्।

उनी लुरुलुरु घर आए। केही दिनपछि फोटो पठाउँदै धम्क्याउन सुरु भएछ। त्यसपछि पैसा माग्न थालेछन्। 

कहिले १० हजार त कहिले २० हजार पठाउन थाले। तर धम्क्याउने क्रम रोकिएन। फेसबुकमा हाल्दिन्छु, परिवारलाई पठाइदिन्छु भन्दै ठूलै रकम मागेपछि दिक्क भएर उनले मसँग भेट्न खोजेका रहेछन्। 

सबै कुरा सुनेपछि उनी हनी ट्रयापको फन्दामा परेको देखियो। 

५५-५६ वर्षको उमेरमा २२-२३ वर्षकी युवतीले भेट्न बोलाउँदा नै विचार गर्नुपर्ने हो। त्यसमा पनि कोठामा जाने, कपडै खोल्ने गरेपछि त बुझ्नुपर्ने हो नि। कतै फसिन्छ कि भन्ने ध्यानै पुर्याएनछन्। 

उनले दिएको जानकारीअनुसार अनुसन्धान बढ्यो। त्यति जटिल अनुसन्धान थिएन। केही दिनमै उनीहरू पक्राउ परे। 

हनी ट्रयाप शीतयुद्धताका पूर्वीजर्मनीका जासुसहरूले सूचना प्राप्त गर्न प्रयोग गरेको विधि हो। अहिले पनि रसियन जासुसहरू सूचना प्राप्तिका लागि महिलाहरूलाई प्रयोग गर्ने काममा निकै बदनाम छन्।

शीतयुद्धमा पूर्वी ब्लकका राष्ट्रले आफ्नो काम गराउन बाध्य बनाएर धम्क्याउन, गोप्य सूचना ल्याउन युवतीको व्यापक प्रयोग गरेका थिए।

अहिले आएर हनी ट्रयापको शैली सामान्य अपराधीले पनि प्रयोग गर्न थाले। पछिल्ला घटनाहरू हेर्ने हो भने त सामान्य रकमका लागि पनि ट्रयापमा पार्ने घटना बढिरहेका छन्।

महाशाखामा हुँदा आएका घटनाका आधारमा यसका केही ट्रेण्डहरू देखिएको थियो। 

प्रायः हनी ट्रयापमा पर्नेहरू सरकारी कर्मचारी र व्यापारी देखिए। सरकारी पनि निजामती सेवाका बढी। अनि सुरक्षा निकाय र त्यसपछि व्यापारीहरू बढी पर्ने गरेका भेटिए।  

प्रायः शैली उहीँ। उमेर समूह हेर्ने, सम्पर्क गर्ने, कुराकानी बढाउँदै विश्वास जित्ने अनि होटल वा डेरामा बोलाउने उनीहरूले गर्ने गरेको पाइन्छ।

यौन सम्बन्धका लागि उत्साहित बनाउने अनि समूहका अन्यलाई बोलाएर फोटो र भिडियो खिच्ने काम गरी धम्क्याएर पैसा असुल्ने उनीहरूले गर्ने गर्छन्। 

पीडितले जबसम्म धान्न सक्छन्, धान्छन्। मागेको पैसा दिन्छन्। तर घर र सामाजिक प्रतिष्ठा नै नरहने अवस्था आएपछि मात्रै उनीहरू प्रहरीकहाँ आइपुग्छन्। उनै सचिवजसरी। 

पहिलो धम्कीमै प्रहरीकहाँ आएर सबै घटना खुलाएको भए त आर्थिक क्षति अनि मानसिक तनाव त हुन्न थ्यो नि।

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दैछन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधबार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

२० बैशाख, २०८०, २०:४७:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।