संसदमा बालेन र रास्वपामाथि ‘नरम’ प्रहार गर्दै प्रचण्डले २०६४ र २०७४ को आफ्नो गल्ती सम्झाए

संसदमा बालेन र रास्वपामाथि ‘नरम’ प्रहार गर्दै प्रचण्डले २०६४ र २०७४ को आफ्नो गल्ती सम्झाए

काठमाडौँ : दुई तिहाइसम्म जनमत पाएर पनि आफ्नो व्यवहारकै कारण गुमेको विगत सम्झँदै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी र प्रधानमन्त्री वालेन्द्र शाहलाई आफूले विगतमा गरेको गल्ती नदोहोर्याउन सुझाव दिए। फागुन २१ को निर्वाचनबाट बनेको संसदमा पहिलो पटक सम्बोधन गर्दा उनी निकै भिन्न र परिपक्व देखिए। उनले प्रधानमन्त्री वालेन्द्र शाह अनि सत्ताधारी दलको आलोचना गरे तर सुझावको शैलीमा।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा रोष्टममा उभिएर उनले नयाँ शक्ति र वर्तमान सरकारलाई आफ्नो इतिहासबाट पाठ सिक्न गम्भीर सुझाव दिए। संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै प्रचण्डले २०६४ मा पाएको जनमतपछि आफू भुईँमा न भाँडामा भएको र त्यसपछि भोग्नुपरेको परिणाम स्मरण गराउँदै रास्वपा र रवि लामिछानेलाई त्यस्तै अवस्था नभोग्न सचेत गराएका थिए।

२०६४ र २०७४ सम्झाए प्रचण्डले

२०६२/०६२ को आन्दोलन सफल भएसँगै भएको पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन माओवादी सबैभन्दा ठूलो दलको रूपमा संसदमा पुगेको थियो। ५७५ सदस्यीय संविधान सभामा माओवादी एक्लैले २ सय २० सिट जितेको थियो। तर तत्कालीन प्रधानसेनापति रुक्माङगत कटुवाललाई हटाउन खोज्दा द्वन्द्व बढेसँगै कमजोर बनेको थियो।

२०७४ को निर्वाचनमा पार्टी एकता गर्ने अभियानसहित एमाले र माओवादी केन्द्रले गठबन्धन गरेर निर्वाचनमा दुई तिहाइ नजिकको जनमत पाएका थिए। त्यसपछि नेपाल कम्युनिस्ट पार्टी नाम राखेर एक पनि भए। तर केपी शर्मा ओली, प्रचण्ड अनि माधव नेपालबीच द्वन्द्व बढ्दा पार्टी तीन टुक्रा भएको थियो।

अदालतमा परेको दलको नामको फैसलाले एमाले र माओवादी एकता अगाडिको अवस्थामा फर्किए, एमालेबाट माधव नेपालसहित विभाजित भएर एकीकृत समाजवादी पार्टी गठन गरेर अन्तमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गरे। २०७९ को निर्वाचनमा नेपाली कांग्रेस र माओवादी गठबन्धन गरेर गए पनि उनीहरुले सोचे जस्तो नतिजा पाउन सकेनन्। माओवादी ३२ सिटसहित सरकार बनाउन निर्णायक शक्ति बनेर कहिले नेपाली कांग्रेस त कहिले एमाले र रास्वपासहितसँग मिलेर सरकार बनाए।

अन्तमा एमाले र कांग्रेस मिलेर सरकार बनाएका थिए। यही सरकारको समयमा भदौ २३ र २४ मा जेनजी आन्दोलन भएर संसद विघठन भएसँगै फागुन २१ को निर्वाचनबाट रास्वपा १८२ सिटसहित सबैभन्दा ठूलो दलको रुपमा उदायो।

मंगलबार संसदमा प्रचण्डले यी सबै घटनाक्रम सम्झँदै आफ्नै इतिहासबाट कमजोरी सिक्न सुझाव दिएका थिए। उनले सदनमा आफ्नो राजनीतिक यात्राका उतारचढाव सुनाउँदै भने, "हार सहन जति कठिन छ, जित पचाउन त्यो भन्दा गाह्रो हुन्छ।"

उनले उदाहरणका रूपमा २०६४ मा आफू 'भाँडामा न भुईँमा' को अवस्थामा रहेको विशाल पार्टीको नेता मै हुँ भन्दै अहिले रास्वपाकै आकारमा दुई तिहाइ नजिकको जनमत पाए पनि आफ्नै कमजोरीले जनमत जोगाउन नसकेको समेत स्वीकार गरे।

उनले विशेष गरेर रास्वपा सभापति रवि लामिछाने अनि प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्झाउँदै भने “संख्या स्थायी हुँदैन, जनताको समर्थन सशर्त हुन्छ।"

उनले विशाल जनमतलाई अहंकारको मलखाद बन्न नदिन र इतिहासबाट सिक्न पटक पटक आग्रह गर्दै भने "आजको दुई तिहाइले हिजोको दुई तिहाइको नियति भोग्नु नपरोस्।"

उनले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा प्रधानमन्त्री शाह संसद्को बैठकमा नबसी बाहिरिएको प्रसङ्ग उठाए तर निकै नरम रूपमा। संसद्को मर्यादा र गरिमा सुदृढ गरेर मात्र अगाडि जान सकिने भन्दै उनले भने “प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसद्को मर्यादा रहन्न। प्रधानमन्त्रीको कार्यशैलीमा सबैको भविष्य जोडिएको छ।”

'बालेन शाह प्रधानमन्त्री बन्नु क्रान्तिकै सङ्कल्पको जित'

प्रचण्डले काठमाडौँका मेयर बालेन शाह देशको प्रधानमन्त्री बनेको प्रसङ्ग उल्लेख गर्दै फरक पार्टी भए पनि यो क्रान्तिकारी सङ्कल्पकै जित भएको बताएका थिए। उनले रवि लामिछाने र बालेन शाहलाई दुई तिहाइको सफलताका लागि बधाई दिँदै प्रश्नहरू पनि उठाए।

उनले नीति तथा कार्यक्रमले दलित, महिला, र जनजातिलाई उपेक्षा गरेको, मधेसले आर्थिक-सामाजिक रूपान्तरण खोजेको तर कार्यक्रममा सिङ्गो मधेस र कर्णाली मौन देखिएको, गरिब विकासका बाधक नभएको तर सरकारले पहिलो प्रहार गरिबमाथि नै गरेको भन्दै सरकारको आलोचना गरे।

“जबरजस्ती बस्ती खाली गरेर देशको मुहार बदलिँदैन," उनले भने, "जसको कोही हुन्न, उसको सरकार हुन्छ भन्ने संविधानको मर्म विपरीत सरकारले गरिबको घर भत्काएर पञ्चायती निरंकुशताको झझल्को दिएको छ।"

उनले सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै भने, "अर्बौँको तस्करी रोक्न छाडेर सीमामा एक दर्जन केरा ल्याउने निमुखा जनतासँग कर माग्ने र दुःख दिने काम बन्द गरियोस्।" उनले प्रधानन्यायाधीश सिफारिस गर्दा नागरिकमा स्वार्थको सन्देश गएको भन्दै यस्ता निर्णय तयारी र सल्लाहबाट गर्न समेत सुझाव दिए।

नयाँ र पुरानाको भाष्य गलत

'पुराना सबै उस्तै हुन्' भन्ने भाष्यलाई प्रचण्डले दार्शनिक र समाजशास्त्रीय दृष्टिले गलत बताए। "पुराना र नयाँ भनेर विभाजन गर्नुभन्दा सही र गलतको व्याख्या गर्नुपर्छ," उनले भने। विद्यार्थी र कर्मचारीको आवाज बन्द गरेर लोकतन्त्र बलियो नहुने भन्दै उनले युवा सांसदहरूलाई गम्भीर अध्ययन गर्न र सङ्ख्याको दम्भमा विधि नमिल्न आग्रह गरे।

अन्तमा, उनले भू-राजनीतिक अवस्थाका कारण विदेशी शक्तिको हस्तक्षेप बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै संसद्को गरिमा जोगाउन र सहकार्यको राजनीतिलाई प्राथमिकता दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराए।

वैशाख २९, २०८३ मंगलबार २१:४७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।