संसद्‌मा ज्ञानेन्द्र शाहीको आक्रोश: सरकारले मानवीयतामाथि नै डोजर चलायो

संसद्‌मा ज्ञानेन्द्र शाहीको आक्रोश: सरकारले मानवीयतामाथि नै डोजर चलायो

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारको कार्यशैली र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आपत्ति जनाएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले आतंकवादी गतिविधि गरिरहेको आरोप लगाए।

शाहीले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएको विषयलाई लिएर सरकारको आलोचना गरे। 

"सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकार आतंकवादी हो कि होइन?" भन्दै उनले प्रश्न गरे। 

मानवीय संवेदनालाई कुल्चिएर विकास नहुने बताउँदै उनले अवैध संरचना भत्काउनु पर्ने भए पनि मानवीय संरचनामाथि प्रहार गर्न नहुने तर्क राखे।

नेता शाहीले सरकारले सुकुम्बासी बस्तीमा नभई हुकुमवासीहरूको मानसिकतामा प्रहार गर्नुपर्ने आवश्यकता पनि औँल्याए। सुकुम्बासीहरूको नाममा हुकुम्वासीहरूले गरेका गलत काममा सरकारले मौनता साधेकोमा उनले आपत्ति जनाए। 

नेता शाहीले भने,"यो सरकार हो कि आतंकवादी हो? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु अगाडि राखेर। तपाईंहरु बस्दै गरेको घर २४ घण्टामा खाली गर्नुस्। सक्नु हुन्छ? सक्नु हुन्छ २४ घण्टामा डेरा सर्न? त्यसको समय छैन। त्यो भएको हुनाले सरकारी सम्पत्ति जोगाउनु पर्छ भन्ने मान्यता राख्छु। अवैध संरचना भत्काउनुस्। यो भत्काउनु पर्छ भन्ने पक्षमा म छु। तर मानवीय संरचनामाथि डोजर चलाएर विकास हुँदैन।"

उनले थपे, "आज मन्त्रिपरिषदका सदस्य समेत हुकुमवासी भएका प्रमाणहरू छन्। आज त्यहाँमाथि किन डोजर चलाइएन? सुकुम्बासी बस्ती हटाउने क्रममा आज दुई जना मान्छेले आत्माहत्या गर्नु पर्यो। अब प्रश्न उठ्छ नागरिकको जीवनको सुरक्षा सरकारको कर्तव्य हो कि होइन?"

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले पेस गरेको २०८३ सालको नीति तथा कार्यक्रम २०८१ सालसँग कसरी हुबहु भयो भनेर समेत प्रश्न गरे।

"मेरो हातमा दुईवटा किताब छ। एउटा २०८१ सालमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको सरकारको नीति तथा कार्यक्रम र अर्को हिजो सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुभएको २०८३ सालको नीति तथा कार्यक्रम। यी दुवै हुबहु एउटै छ। अघिल्लोमा २१७ बुँदा छन् भने अहिलेकोमा १०० बुँदा छन्। ११७ बुँदा कम छ। तर दुवै फोटोकपी गरेजस्ता छन्,' उनले भने, 'झन्डै १० प्रतिशत मात्र परिवर्तन होला। लेख्ने मान्छे त एउटै रहेछ।?"

वैशाख २९, २०८३ मंगलबार १८:३७:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।