ब्याच नम्बर ६९ : पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए

ब्याच नम्बर ६९ : पाँच जनाको हत्यामा संलग्न क्रूर सुटरले सजाय हैन राष्ट्रपतिबाट माफी पो पाए

पाँच जनाको हत्या अनि पाँचै जनालाई गोली हानेर लुटपाट। अनुसन्धानले आरोपी देखायो राजु डङ्गोल, अशोक गोले, नीरज केसी अनि सुनिल महर्जन।

यो घटनाको अनुसन्धानको क्लु एक ट्याम्पो चालकबाट आएको थियो। कतै कुनै होटेलमा भएको कुराकानी प्रहरीसम्म आइपुग्यो। त्यसैको आधारमा ट्याम्पो चालक पक्राउ परे।

उनीबाट केही क्लु आयो। अञ्जनीकुमार चाचानको हत्याको घटनास्थलमा रहेको सिसिटिभीको फुटेजमा २ जना देखिएका थिए। त्यसको आधारमा सङ्ख्या एकिन गर्न सघायो।

'फलानो हुनसक्छ है' भन्ने सूचनाको आधारमा निरस केसीसम्म प्रहरी पुग्न सफल भएको थियो। घटनामा संलग्नहरूको पहिचान भए पनि राजु र अशोक मात्र पक्राउ परे। उनीहरूले फिटिक्कै सहयोग गरेनन् अनुसन्धानमा। नीरज अनि सुनिल भागेर भारत पुगिसकेका थिए।

उनीहरूलाई नेपाल ल्याउने प्रयासमा लाग्यौँ। उनीहरूसँग सम्पर्क गर्न सकियो। उनीहरूलाई फकाउँदै भैरहवासम्म ल्याउने योजना बनायौँ। उनीहरूलाई फकाएर नेपाल आऊ। हामीले केही सहयोग गर्न सके गरौँला भन्यौँ। आउँछु त भने तर आएनन्।

OOO

अनुसन्धानमा उनीहरूले २०६६ मा बाफलका एक व्यापारीलाई धारिलो हतियार देखाएर ५ लाख लुटेको, २०६७ कात्तिक १७ मा ठमेलका ४२ वर्षीय बौद्ध भिक्षु निमा लामालाई गोली हानेर १० लाख लुटेको खुल्यो।

चैत १० मा टेकुको एक्साइड ब्याट्रीको शोरुममा गोली हानेर प्रेमकृष्ण महर्जनको हत्या गरेको, २७ चैतमा अञ्जनीकुमार चाचानलाई गोली हानेर हत्या गरेको, पाल्पाका सुदीप बस्यालमाथि टेकुमा गोली प्रहार गरेको देखियो।

टेकु बाहेक अन्य घटनाको उद्देश्य लुट्ने नै देखियो। लुट्दा सबैभन्दा डरलाग्दो पक्ष के भने गोली हानिहाल्ने। तर्साउने, धम्क्याउने नै हैन।

उनीहरूमध्ये राजु र अशोक गोलेले व्यक्तिहरूबारे जानकारी लिएर नीरज र  सुनिललाई दिने गरेको देखियो। नीरजले गोली हान्ने अनि सुनिलले लुट्ने गरेको देखियो।

ठमेलमा भिक्षु बैङ्कमा गएर फर्किरहेको बेलामा गोली हानेका थिए। केही भन्दै नभनी गोली हानेर उनको साथमा रहेको १० लाख लुटेर भागेका थिए।

यसमा राजु डङ्गोलले ती भिक्षुको गतिविधि निगरानी गरेर उनी पैसा साट्न आउने गरेको सूचना दिएपछि लुट्ने योजना बनाएको देखियो।

२०६७ चैत १० गते टेकुको एक्साईड ब्याट्रीको कम्पनीमा भएको गोली प्रहारको कारण एक युवतीबारे विवाद देखियो।

साँझपख चार जना आएर गोली हानेका थिए। ललितपुरका प्रेमकृष्ण र नीरजबिच एक युवतीको विषयमा विवाद भइरहेको रहेछ। त्यसैको रिसमा गोली हानेको देखियो। महर्जन मारिए। पाल्पा बराम्दीका सुदीप बस्याल घाइते भए।

उनीहरूले घटनामा ७ पोइन्ट ६५ पेस्तोल प्रयोग गर्ने गरेका थिए। नीरजले भारतबाट २ लाखमा हतियार किनेर ल्याएको खुल्यो।

OOO

चारै आरोपी पक्राउ नपरे पनि घटनामा को-को संलग्न छन् भन्ने खुलिसकेको थियो। अनि २ जना पक्राउ परेका पनि थिए।

यो घटनाले काठमाडौँमा एक खालको त्रास फैलाएको थियो। भारत भागेकाहरू तत्काल पक्राउ पर्ने सम्भावना नदेखिएपछि पत्रकार सम्मेलन गरेर सबै विवरण सार्वजनिक गर्ने तयारी गर्यौँ।

लागुऔषध अनुसन्धान इकाइमा काम गर्दाताकादेखिकै मिडियासँग बोल्ने मेरो बानी नै थिएन। अनौपचारिक कुराकानी त हुन्थ्यो। तर पत्रकार सम्मेलन गरेर बोल्ने काम कहिल्यै गरेको थिइन्।

यो घटनाको पत्रकार सम्मेलन मेट्रोको रानीपोखरीमा रहेको कार्यालयमा गर्ने तयारी भयो। पत्रकार सम्मेलनमा बिचमा मेट्रोका प्रमुख एआइजी अर्जुनजङ शाही बिचमा बस्ने अनि दायाँ र बायाँ म र पुष्कर कार्की बस्ने सल्लाह भयो। प्रेसलाई ब्रिफिङ शाहीसरले गर्ने तयारी थियो।

तर उहाँ एकाएक' आजको पत्रकार सम्मेलन बाबुसाहेबले गर्छन् भनेर हिँडिदिनुभयो। मेरो त खुट्टा काम्न थाल्यो। धेरैको चासो भएको घटना भएकाले पत्रकार सम्मेलनमा टन्नै पत्रकारहरू थिए। टेलिभिजनको क्यामरा थियो। केहीले त लाइभ गरिरहेका थिए।

असाध्यै डर लाग्यो। केही पत्रकार साथीहरूले "दाइ चिन्ता नगर्नुस् हामी छौँ"भनेर हौसला पनि दिएका थिए। तर आफ्नो खुट्टा कामिरहेकै थियो।

केहीले हाम्रो अनुसन्धानमा शङ्का पनि गरेका थिए। अनुसन्धान सफल बनाएको देखाउन असम्बन्धित व्यक्तिहरूलाई ल्याएको आरोप पनि नलागेको हैन।

तर उनीहरू नै घटनामा संलग्न हुन् भन्ने पर्याप्त आधार र प्रमाणहरू थिए। जसले मेरो अनुसन्धान शैली बुझेका थिए उनीहरूले अविश्वास गरेनन्। अन्य केहीले शङ्का गरेकै हुन्।

पत्रकार सम्मेलनमा त्यो शङ्का हट्ने गरी प्रमाण र तथ्यहरू राख्ने चुनौती पनि थियो। जसोतसो पत्रकार सम्मेलन सकियो। राम्रो भयो भन्ने प्रतिक्रिया पाएँ। खुसी नै लाग्यो।

अहिले त म मज्जाले बोल्न सक्छु। यो अभ्यास चैँ अवकाशपछि मिडियाले लगाएको हो। सुरक्षा र अपराधबारे पत्रकारहरूले सोधिरहन्छन्। बोल्दाबोल्दै बानी लाग्यो।

OOO

म अपराध महाशाखाबाट सरुवा भएर हेड क्वाटर पुगे। पुष्कर कार्कीको पहिल्यै सरुवा भइसकेको थियो। पछि कार्की महाशाखाकै प्रमुख भएर गएको बेलामा २०७१ मा भागेर भारत पुगेका दुवै जना पक्राउ परे।

हामीले सङ्कलन गरेको प्रमाणको आधारमा २ जना पहिल्यै जेल गइसकेका थिए। नीरज र सुनिल पनि हत्या र लुटपाटको अभियोगमा जेल गए।

त्यो बेलाको काठमाडौँ परिसरको कुमोद ढुङ्गेलको टोली र तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा सोमेन्द्र सिंह राठौर समेतको टोलीको दिन रातको खटाई र मेहनतले नै यो अप्ठ्यारो अनुसन्धान टुङ्गोमा पुगेको थियो।

२०७१ मा नीरज जेल पुगे। तर २०७६ मा सहजै कारागारबाट निस्किए। ती चार जनामध्ये सबैभन्दा हिंसक नै उही थियो। गोली हानिहाल्ने उसैले हो। पाँच जनाको हत्या गरेको व्यक्ति तर पाँच वर्ष मात्र जेल परे।

असल चालचलन भएको भन्दै २०७६ मा सरकारको सिफारिसमा प्रजातन्त्र दिवसको दिन पारेर राष्ट्रपतिबाट माफी पाए उनले।

अब के भन्ने। यस्तै छ यहाँ। माफी पाएको समाचार पढ्दा साह्रै झोक चल्यो। औडाहा नै भयो। त्यत्रो मिहिनेत गरेर अनुसन्धानमार्फत प्रमाण सङ्कलन गरेर अनि भारत पुगेकालाई बल्लबल्ल पक्राउ गरेको व्यक्ति हुन् नि नीरज।

पाँच जनाको हत्या अनि पाँचै जनाको लुटपाट सामान्य अपराध हो र!  त्यसमा सहजै जन्मकैद हुनुपर्ने हैन? तर उल्टो माफी पो पाए। 

(प्रहरी निरीक्षकको रुपमा नेपाल प्रहरीमा प्रवेश गरी डिआइजीको रूपमा अवकाश पाएका हेमन्त मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ।)

ब्याचका पुराना अंक

४ माघ, २०७९, २१:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।