डाक्टर सानुमैयाँको प्रसव पीडा र खुसी : ११ औं हप्तामा गर्भपात भएपछि म त पागल भएकी थिएँ नि!
करिब तीन दशकदेखि चिकित्सा क्षेत्रमा सक्रिय डाक्टर सानु मैयाँ श्रेष्ठ प्रधान पछिल्लो समय भने 'आइभीएफ' सेवामा व्यस्त छिन्। उनले ललितपुरमा आफ्नै आइभीएफ सेन्टर संचालन गरिरहेकी छन्। यसअघि प्रसूति तथा स्त्री रोग विशेषज्ञ भएर काम गरेको पनि उनीसँग अनुभव छ।
स्त्रीरोग विशेषज्ञका रूपमा पढ्नको लागि बेलायत जाने मौका मिलेर पनि व्यक्तिगत कारणले जान सकिनन् उनी। तर, वीर हस्पिटल, प्रसूति गृह, पाटन हस्पिटल, त्रिवि शिक्षण हस्पिटल, भक्तपुर जनस्वास्थ्य, ओम हस्पिटल, नर्भिक हस्पिटल लगायत थुप्रै क्लिनिकमा काम गरेको अनुभव भने उनले सँगालेकी छन्।
सन् १९९१ मा एमबीबीएस गरेकी उनले डाक्टरहरूको संख्या निकै कम भएको अवस्थामा पनि काम पाउन गाह्रो हुने गरेको बताइन्। त्यही भएर उनले वीर हस्पिटलको 'सर्जरी डिपार्टमेन्ट'मा तीन महिना 'भोलेन्टियर' काम गरिन्। तर, त्यहाँको कामको दबावले गर्दा उनले त्यो छोड्नु पर्यो। अनि सर्जरी पनि हुने र महिलासँग पनि प्रत्यक्ष सम्बन्धित हुने भएर उनी प्रसूति गृहतर्फ गइन्। त्यहाँ पनि दुई महिना 'भोलिन्टियर' नै काम गरेकी उनले त्यसबेला एक रातमा बीस जना भन्दा बढी महिलाको प्रसूति गराउँथिन्।
सयौंको प्रसूति गराइसकेकी उनी आफू अविवाहितहुँदा 'बच्चा भनेको के हो, बच्चा किन चाहिन्छ' भन्ने सोच्थिन् रे। तर, ३३ वर्षको उमेरमा विवाह भएपछि समाज र परिवारको कारणले उनलाई सन्तानको मोह झन् बढी हुँदै थियो। आफैं पनि मानसिक रुपमा तयार हुँदै थिइन्। तर, उनको गर्भ बस्न भने धेरै समय लाग्यो। अहिले उनी दुई सन्तानकी आमा हुन्।
उनै डाक्टर सानु मैयाँले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा लामो समय पछि आमा बन्नुको मिश्रित अनुभव यसरी साटिन् :
000
सन् १९९४/९५ तिरको कुरा हो। सन्तान जन्माउनु पर्छ भनेर पटकपटक कोसिस गर्दा पनि हाम्रो सन्तान भइरहेको थिएन। अहिले यसो सोच्दा उमेरले पनि थियो कि भन्ने लाग्छ। गर्भधारण नभएपछि मलाई अनेकन् तनाव झेलिरहेको थिएँ। आफू यही फिल्डको भएपनि आफैंलाई हेर्ने कुरा भएन। करिब दुई वर्षसम्म हामीले कोसिस गर्दा पनि मेरो गर्भ रहेन। त्यसपछि 'भैगो होस्' भनेर माया मरेर पढाइमा फोकस गरें।
अनि बेलायत जाने मौका मिल्यो। म ३५ वर्षकी भइसकेको थिएँ। सन्तान नजन्माउने भनेर मानसिक रूपमा तयार हुन थालिसकेकी थिएँ, तर त्यहीबेला मेरो गर्भ रह्यो। त्यो बेला उमेर धेरै भयो भन्नेसमेत ख्याल नै आएन। अनि पो बेलायत जाने कि सन्तान जन्माउने भन्ने कुरा आयो। यी दुइटै कुरा मैले धेरै अगाडीदेखि चाहिरहेको, उत्तिनै आवश्यक थियो। धेरै सोचेपछि, पढ्न त ६० वर्षमा पनि पढ्छु भन्ने लाग्यो अनि मैले सन्तान नै जन्माउने निर्णय गरें।
बल्ल-बल्ल गर्भ रहेको, मेरो दिमागमा त यसो गर्ने, उसो गर्ने, अब यस्तो हुन्छ भनेर धेरै कुरा चलिरहेको थियो। यति समयपछि सन्तान हुन्छ अनि पढ्न जाने भनेर सोच्न थालेको थिएँ। म निकै खुसी थिएँ। तर, ११ औं हप्तापछि मेरो गर्भपात भयो। म त त्यसबेला पागल नै भएँ नि! त्यसपछि, यतिधेरै सपना पनि बुन्न नहुने रहेछ जस्तो लाग्यो। बच्चा हातमा नआएसम्म ढुक्क भएर बस्न नहुने रहेछ भन्ने लाग्यो। अब म आमा हुन लागे भनेर बसेको बच्चा सँगै आमा हुने सपना पनि तुहियो।
मलाई त बिछट्टै गाह्रो भयो। त्यसबेला सबैको साथ खोजिँदो रहेछ। काममा पनि बिरामीहरूसँग निकै रिस उठ्यो। घरपरिवार, छिमेक कोहि पनि बाँकी थिएन, जसलाई देखेर मलाई रिस नउठेको होस्। त्यो बेलामा मेरो मानसिक अवस्था अर्कै थियो। एकप्रकारको डाहा पनि लाग्ने रहेछ, अरूको बच्चाहरू देख्दा। त्यहीबेला मेरी बहिनी पनि सँगै गर्भवती थिइन्। मेरो खेर गयो, उसको राम्रोसँग निरन्तर भइरह्यो। अनि त्यो देखेर मलाई 'जेलेसी फील' भएको थियो। अहिले सम्झिँदा अनौठो लाग्छ।
बहिनीको राम्रोसँग डेलिभरी पनि भयो। मलाई त त्यसबेला झन् पीडा भयो। नराम्रो लाग्यो। गर्भपात नभएको भए मेरो पनि यतिबेला जन्मिन्थ्यो भनेर दिमागमा आइरह्यो। म त मानसिक तनाबमै थिएँ। काम पनि फेरि प्रसूतिमै थियो। त्यसले गर्दा झन् घाउ बल्झेको जस्तो पनि महसुस गर्थेँ। अनि म रिसर्च गर्छु, घर बस्दिनँ भनेर पाटन हस्पिटलको होस्टेलमा बस्न गएँ।
होस्टेलमा श्रीमान आउन मिल्दैन थियो। मलाई आँखामा समस्या भएपछि एकदिन श्रीमान बस्न आउनु भएको थियो। त्यहीबेला मेरो गर्भ रहेछ। हामीले त त्यसबेला गर्भ रहन्छ भनेर सोचेका पनि थिएनौं। भाग्यले गर्दा पनि होकि जस्तो लाग्छ। तर, संयोगले बहिनीको डेलिभरी भएको एक महिनापछि मेरो फेरि गर्भ रहेको थियो।
त्यो बेला गर्भवतीहुँदा म अत्ति डराएँ। गर्भपात भएको आठ महिनापछि गर्भ रहेको। म त सबै काम छोडेर आफ्नो र बच्चाको ध्यानमा लागें। मलाई आफैं विश्वस्त पनि त हुनुथियो। त्यसबेला खुसी नहुने त कुरै भएन। हरेक महिना जसो अल्ट्रासाउन्ड गर्न जान्थें। बच्चा राम्रो छ भनेर सुन्दा मननै खुसीले अर्कै हुन्थ्यो। त्यो देखेर अगाडीको सबै तनाव गायब भएको थियो।
बच्चा नहुने मान्छेलाई बच्चा नभएसम्म जे गरे पनि त्यो तनाव नहट्ने रहेछ भनेर मैले महसुस गरें। त्यस्तो तनावमा भएकाहरुमा जब बच्चा हुन्छ अनि अर्कै चमक हुने रहेछ। त्यसबेला मलाई कसैले देखेको भए यही भन्थे होलान्। छोरी छ भनेर हामीलाई पहिलानै थाहा भयो। त्यसपछि मैले त 'मेरो छोरी राम्री होस्, उसलाई गुडिया जसरी राख्छु' भनेर सोच्न पनि थालिसकेकी थिएँ।
उ साँच्चिकै राम्री छे। मेरो श्रीमानको परेला मलाई निकै राम्रो लाग्छ। मेरो छोरीको पनि यस्तै होस् भनेर सोच्थें। गर्भवतीहुँदा मैले त सपनामा पनि छोरी समातेको, आफ्नो अप्रेशन आफैं गरेको पो देख्थें।
उसलाई जन्म दिने दिन थियो त्यो। बिहानै पानी बग्न थाल्यो। अनि पछि जचाउँदाखेरि थाहा भयो कि, बच्चालाई गाह्रो हुन लागेछ। अनि त्यहीबेला अप्रेशन गर्ने भन्ने कुरा भयो। म तयार भएँ। एकछिनमा 'ल है छोरी पायो' भनेर देखाउँदा मैले त सिधै उसको परेला पो हेरेछु!
एकप्रकारको उत्सुकता, रमाइलोपन कस्तो कस्तो मिश्रित महसुस भयो। मेरो दुईजना सन्तान छन्। पहिलोको समयमा जसरी हुन्छ राम्रोसँग होस् भन्ने थियो। सुरक्षितसँग उसलाई जन्म दिनु बाहेक मैले अरू कुरा सोचेकै थिएन। त्यही भएर मैले अप्रेशन गर्ने भन्दा पनि डर लागेको महसुस गरिँन। अप्रेशन पछि भने मलाई निकै गाह्रो भएको थियो। यस्तो नराम्रोसँग पेट दुख्यो कि, म बोल्न पनि नसकेर पसिना पसिना भएकी थिएँ। पछि त 'ब्ल्याडर'मा पिसाब भरेको रहेछ। त्यो निकाले पछि सब ठिक भयो।
छोरीलाई हातमा लिन पाउँदाको क्षण त म भन्न पनि सक्दिनँ। मेरो लागि त्यो पल बेलायतबाट डिग्री लिँदाको भन्दा महत्वपूर्ण थियो। सबैले कस्तो राम्री छोरी भन्थे। अनि मैले कम्ता मिहिनेतले जन्माएको हो त भनेर जबाफ दिन्थें। स्तनपान पनि मैले उसलाई तीन वर्षसम्म राम्रोसँग गराएँ।
स्तनपानले आमा र बच्चाको सम्बन्धमा झन् बढी आत्मीयता थपिदिने मैले महसुस गरेँ। सुत्केरी भएको ११ महिनासम्म मैले काम गरिँन।
त्यसपछि भने आफूलाई फुर्सद भएको जस्तो लागेर पुन: बेलायत जाने तयारी गर्न थालें। तर, त्यसअघि बेलायत जाने नियम बद्लिएको भएर दुई वर्ष कोसिस गर्दा पनि गाह्रो भयो।
भाग्यबस, सन् २००० तिर अष्ट्रेलियन सरकारले स्नातकोत्तर गर्नको लागि 'अष्ट्रेलियन एड' छात्रवृत्ति सर्वसाधारणको लागि पनि भनेर खुलायो। मैले त्यहि खुला प्रतिस्पर्धामा नाम पनि निकालें। नाम निस्कियो भने छोरीलाई पनि सँगै लगेर जान्छु भन्ने सोच थियो। पछि लगें पनि।
तीन महिनापछि अष्ट्रेलियामा छोरीसँगै श्रीमान पनि साथमा हुनु भयो। अनि त्यही समयमा मैले आइभीएफको बारेमा पढेकी हुँ। अष्ट्रेलिया हुँदा छोरी अरू साना बच्चाहरूसँग खूब घुलमिल हुन्थी। नेपाल फर्किएपछि उसले त्यो अभाव महसुस गरिछन्। एकदिन त 'मामु म संसारको सबै भन्दा अनलकी पर्सन हो' भनी। किन भनेर सोध्दा त सबैको भाइबहिनी छ मेरो मात्र छैन भन्ने जबाफ दिई।
नेपालमा फर्किएपछि मेरो बहिनीको पनि दुई/तीनवटा बच्चा देखी उसले। सधैं मेरो पेटमा हात राखेर बहिनी आओस् भनेर भन्थी। त्यसो भन्दाभन्दै म ४३ वर्षकी हुँदा फेरि गर्भ रह्यो। त्यो त झन् हाम्रो सोच भन्दा बाहिरको कुरा भयो। आमाको उमेर चालीस वर्ष भएपछि बच्चा जन्माउँदा बच्चा सुस्त मनस्थितिको हुने सम्भावना एकदम उच्च हुन्छ भनेर हामी आफैंले भन्ने गरेका छौं।
दोस्रो बच्चा जन्माउने/नजन्माउने बारे श्रीमानलाई सोधेको तिम्रो इच्छा भनिदिनु भयो। हामीले ठूली छोरीलाई त भनेका पनि थिएनौं। किनभने 'टर्मिनेट (समाप्त)' गर्ने कि भन्ने कुरा पनि थियो। फेरि पछि यो कुरा ठूली छोरीले थाहा पाउँला उसलाई आघात पुग्ला भन्ने सोचेर 'जे हुन्छ हुन्छ' भनेर मैले जन्माउने निर्णय गरेँ।
त्यसबेला मलाई टेस्ट गर्न पनि डर लाग्यो। डाक्टरले त्यस्तो रहेछ भनेर 'टर्मिनेट' गर्ने हो? भनेको सुन्न सक्ने हिम्मत ममा थिएन। अनि मनलाई दह्रो बनाएर सुस्त मनस्थितिकै भएपनि म पाउँछु, हुर्काउँछु, जे पर्ला पर्ला भनेर बसें।
अहिले त्यो छोरी झन् स्मार्ट छे। बुढेसकालमा जन्माएको भएर पनि हो कि उ निकै परिपक्व पनि छे। अहिले दुवै जना बेलायतमा पढिरहेका छन्। ठूलीले आर्किटेक्ट इन्जिनियरमा स्नातकोत्तर गरिसकी। सानीले पनि ए लेभलमा स्कुल टप गरिन्।
पहिलोमा जत्ति दोस्रो सन्तानको समयमा त्यति धेरै उत्सुकता चैं नहुने रहेछ। दोस्रो सन्तान त पहिलो सन्तानको लागि पाइदिएको भन्ने मात्र थियो त्यसबेला। त्यही भएर पनि होकि भोलि अप्रेशन गर्ने आजसम्म पनि म ड्युटीमै खटिरहेको थिएँ। त्यसबेला उमेरले गर्दा पनि अप्रेशन गर्ने बाहेक हामीले अर्को पर्खेनौं। दोस्रो सन्तान पनि राम्री होस् भनेर कल्पना गर्थेँ।
पहिलोलाई भन्दा दोस्रोलाई नजिकबाट हुर्काउन पाएँ। हामी आर्थिक रुपमा पनि अलि बलियो भयौं। त्यसले गर्दा सबै सहज हुँदै गर्यो। ठूलीले पनि सानीलाई निकै माया गरि। मातृत्व अनुभव भनेको मेरो लागि त निकै संवेदनशील र धेरै जिम्मेवारी भइदियो। उनीहरूकै धेरैजसो पीर लाग्ने गर्छ। व्यवसायीक रुपमा पनि म त व्यस्त हुनुपर्यो। तर, उनीहरुले कहिले पनि मलाई गुनासो गरेनन्।
आफैंलाई भने अझै धेरै समय दिएर उनीहरूसँग समय बिताउन नपाउँदा-नपाउँदै हुर्किए जस्तो लाग्छ। समय मिल्नेबित्तिकै हामी उनीहरुलाई भेट्न गइहाल्छौं। हुर्केको बच्चाहरूलाई सधैं आफ्नो साथमा राखौं भन्न पनि नमिल्ने। तर, आमाको मन सधैं आफ्नो सन्तानहरु वरपर नै भइरहोस् भन्ने लाग्ने रहेछ।
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो
उपसचिव महेश्वरीको प्रसव पीडा र खुसी : दुखाइ सहन नसकेर स्लाइनको बोत्तल बोकेर अस्पतालमा कराउँदै हिँडे
असोज १२, २०८१ आइतबार १८:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।