उकेरा कोलम

गायिका बेनुका राईको प्रसव पीडा र खुसी : श्रीमान् दयाहाङले 'तिमीलाई त ब्यथा लागेछ' भन्दा पो झसंग भएँ


बेनुका राई विहेअघि गायनमा व्यस्त थिइन्। लामो समयको प्रेम सम्बन्धपछि अभिनेता दयाहाङ राईसँग उनको विहे भयो।

करिअरको सुरुवाटी समय भएकोले बेनुका दम्पतीले बच्चा पाउन ढिला गरेका थिए।

बेनुकाको बच्चासँग छुट्टै खालको लगाव थियो। उनलाई बच्चा औधी मनपर्ने। बच्चा पाउन ढिला गर्दाको पीडा त छँदै थियो, ९ महिनाको गर्भावस्थामा धेरै खुसी र पीडाका अनुभव छन् बेनुकासँग।

व्यस्त श्रीमान् र परिवारका अन्य सदस्य पनि आफूसँग नहुँदा बेनुकाले गर्भवती अवस्थामा के-कस्तो अप्ठ्यारो परिस्थिति सामना गर्नुपर्यो?, बच्चा जन्मेपछिको तनाव कस्तो रह्यो? उनले आफ्ना अनुभव उकेरामार्फत यसरी पोखिन्:

म विहे अघिदेखि नै बच्चासँग घुलमिल भइहाल्ने स्वभावको मान्छे। बच्चासँग समय बिताउन पाउँदा अर्कै खालको आनन्द महसुस हुन्थ्यो। मेरा दाइको छोराछोरीसँग धेरै नजिक भएकाले पनि बच्चाहरुप्रति आशक्ति बढेको हुनसक्छ।

बच्चाप्रति अचम्मको एटेचमेन्ट छ मसँग। बाटोमा हिँड्दा स-साना नानीहरु रोएको देख्दा, आमाहरुलाई नानाथरी किनिदेऊ भनेर झगडा गररहेको म हेरिरहन्थें। मलाई लाग्थ्यो, खुरुक्क किनिदिए भइहाल्थ्यो, किन रुवाएको होला? त्यसमा पनि बाटोमा माग्न हिँडेका बच्चा देख्दा त मेरो मन भक्कानिन्छ।

184127204-807644023514946-4492183249341706206-n

म र हाङ (दयाहाङ) ले २०६५ सालमा विहे गर्यौं। लामो प्रेम सम्बन्धलाई हामीले विहे गरेर पूर्णता दियौं। तर विहेअघि नै ४/५ वर्ष बच्चा नपाउने समझदारी बनाएका थियौं।

बच्चाको ढिलो पाउने प्लान करिअरको लागि थियो। त्यो बेला हाङ अभिनयमा करिअर बनाउने दौडमा थियो भने म गायनमा। दुवैजना आआफ्नो क्षेत्रमा संघर्षमा थियौं।

म विहेअघि माइती नखिपोटमा बस्थें र हाङ शंखमुलमा काका-काकीसंग बस्थे। विहेपछि भने दुई वटा कोठा भाडामा लिएर बस्न थाल्यौं। त्यो समयमा कमाइ निकै कम हुन्थ्यो। विहेअघि नै बुढाले दुवैले करिअरलाई कुनै हालतमा रोक्नुहुन्न भनेको थियो।

चलचित्र 'लुट' आएपछि ऊ बढी नै व्यस्त हुन थाल्यो। काम धेरै आउन थाल्यो। त्यसपछि त ऊ बढी समय बाहिरबाहिर नै हुन थाल्यो। त्यो समय मैले आफूलाई नितान्त एक्लो महसुस गर्न थालें।

हामी दुई जना मात्रै कोठामा बस्थ्यौं। श्रीमान् नआउँदा डेरामा सुत्नै डर लाग्थ्यो। हाम्रो डेरा नजिकै कलाकार साथी सिर्जना सुब्बाको कोठा थियो। म कति पटक त सिर्जनाको कोठामा पनि सुत्न गएँ। त्यतिबेला म लगभग डिप्रेसनमै जान लागिसकेको थिएँ।

म कोहीसँग छिटो घुलमिल हुने मान्छे होइन। इन्टरनेट चलाउन पनि साइबर नै जानुपर्ने अवस्था थियो। केही मिल्ने साथीले पनि विहेपछि फोन गर्ने नै छोडे। विहेअघि म स्टुडियोमा पनि व्यस्त हुन्थें। तर मलाई स्टुडियोतिरबाट पनि नसम्झेको जस्तो लाग्थ्यो। म एक्लो, मेरो केही छैन जस्तै लाग्न थाल्यो। दिमागमा पनि नचाहिने कुराहरु खेल्न थाले।

जेठानी दिदी र देवरानीहरुले मलाई अब त बच्चा पाऊ भन्थे। त्यो कुराले मेरो मनमा छुन्थ्यो। साँच्चै त्यो बेला करिअरका लागि गर्नैपर्ने प्रोजेक्टहरु पनि खासै थिएनन्।

विहे गरेको तीन वर्ष भइसकेको थियो। मैले निर्णय गरें, अब बच्चा पाउँछु, बुढालाई मनाउँछु। तर बुढालाई भन्नै सक्दिनथें। बच्चाको कुरा गर्दा रिसाउने पो हो की जस्तो लाग्थ्यो। यस्तै धेरै कुरा मनमा खेलेर होला ६/७ महिना त सपनामा पनि बच्चाहरु मात्रै देख्ने। साथी, आफन्तहरुलाई सपनामा बच्चा देखेको कुरा सुनाउँदा कोहीले एकदमै राम्रो भन्थे त कोही नराम्रो। म तनावमै थिएँ।

एक दिन बुढालाई अब बच्चा पाउनुपर्छ, करिअर जस्तै बच्चा पनि जरुरी छ, उमेर पनि २८ भइसकें, ढिला हुँदा गाह्रो भन्दा उसको अनुहार हेर्न लायक भएको थियो। कताकता रंङ उडेको जस्तो। झसंग भएर किन अहिले बच्चा चाहियो? केही समय पख भन्दै थिए तर मैले मानिनँ। अन्तत: उसले मान्यो।

184103952-277307777516313-7305218992021576772-n

प्लान गरेलगत्तै बच्चा पनि बसिहाल्यो। म एकदमै खुसी थिएँ। सुरुको ३ महिना खाना नरुच्ने, मान्छेहरु भेट्दा, देख्दा पनि दिग्दारी हुन्थ्यो। एकदिन उखुको जुस खाएको थिएँ, दिनभरि भोमिटिङ भयो। यसरी भोमिट भइराख्यो भने ९ महिना कसरी पार गर्ने भनेर साह्रै डराएको थिएँ। तर त्यस दिनपछि भोमिट कहिल्यै भएन।

म घरमा एक्लै हुन्थें। बुढाको करिअर माथि गइरहेको समय थियो। मेरो साथी भनेकै टिभी थियो। अनेक खाले सिरियल हेरियो। अहिले त कसैले सिरियल हेरेको देख्दा पनि रिस उठ्छ। रियालीटी शोहरु पनि सबै हेर्थें।

९ महिनाको अवधिमा विभिन्न च्यानलमा गरेर 'कराँते किड्स' धेरै पटक हेरें। त्यो फिल्म सारै मनपर्यो। त्यसमा बच्चाको मिहिनेत, अभिनय र उनको अनुहारै मन पर्ने। म सोच्थें, मेरो छोरी भयो भने त्यो केटा जस्तै कराँते खेल्ने बनाउँछु। साथमा भ्वाइलिन सिकाउँछु भन्ने सपना थियो।

३ महिनाको अवधिपछि त मलाई साह्रै भोक लाग्न थाल्यो, जे पनि खान खोज्ने। जति बेला पनि खान मन लाग्ने। राति नै टन्न पकाएर सिरानीमाथि खानेकुराहरु राख्थें। बिहान उठ्नासाथ आँखै नखोली खान्थें।

हाङको कमाइ ठिकठिकै हुन थालिसकेको थियो। हामी फ्ल्याट लिएर बस्न थाल्यौं। एक महिना जेठाजु र जेठानी दिदी पनि बस्न आउनु भएको थियो। जेठानी दिदीलाई सँगै सुत्न बोलाउँथें।

मेरो तौल एकदमै बढ्यो। ५ फिटको मान्छे ७० केजीसम्म पुग्यो। धेरै हिँडडुल गर्नुपर्छ भन्थे तर मलाई मोटो शरीर र पुक्क परेको पेट लिएर बाटोमा निस्कन लाज लाग्थ्यो। भर्याङ तलमाथि गरिरहन्थें। पछि उहाँहरु जानु भएपछि फेरि म एक्लै भएँ।

पछि मलाई ग्यास्ट्रिक भयो। आइरन चक्कीले पनि ग्यास्ट्रिक गराउने रहेछ। म कुपन्डोलस्थित क्लिनिकमा एक्लै देखाउन जान्थें। सुरुमा २ पटक जति बुढा पनि सँगै गएको थियो। त्यसपछि म एक्लै जान थालें।

६ महिना पछि मेरो बढेको तौलले गाह्रो पार्न थाल्यो। खुट्टा सुन्निएर चल्नै नहुने। खुट्टामा सिरानी हालेर सुत्थें। मेरो ठूलो पेट देखेर डाक्टरहरु नै डराउँथें। सबैले जुम्ल्याहा छ कि क्या हो भन्थे। पछि ठूली नन्द आउनुभयो। त्यति बेलासम्म सुत्न, उठ्न गाह्रो भइसकेको थियो। पिसाब पनि धेरै नै लाग्थ्यो।

डाक्टरले असोज १८ गतेको समय दिएका थिए। बुढाले असोज ८ गते आफ्ना सबै कामहरु प्याकअप गरेर १० दिन पूरै समय मलाई दिन्छु भनेर आएका थिए। म पनि दंग थिएँ।

कोठामा मिडियम साइडको बेडमा म एक्लो सुत्थें। अर्को दुईवटा लो बेडमा एउटामा बुढा र अर्कोमा नन्द सुतेका थिए। म राति १२ बजेतिर पिसाब गर्न ट्वाइलेट गएको थिएँ। पिसाब फेरेर फर्कन लाग्दा फेरि पिसाब आयो, फेरि गर्छु, फेरि आउँछ। अलिकति चल्यो कि पिसाब आइहाल्ने।

के भएको हो मलाई थाहा थिएन। बुढा र नन्दलाई उठाउन पनि मन लागेन। सिटिङ रुपमा कपडालाई प्याड जस्तै बनाएर भित्ता समाएर उठेर बसेको थिएँ। बुढा मलाई खोज्दै आइपुगे। त्यतिबेला ३ बजिसकेको थियो। सबै बताएपछि बुढाले तिमीलाई व्यथा पो लागेको हो कि भन्दा पो म झसंग भएँ।

183482861-792328391700990-2385666256335264357-n

घरबेटीका एक जना स्वास्थ क्षेत्रमै काम गर्दथे। उनलाई बोलाएपछि पो थाहा भयो, पिसाब भन्ठानेको पानी पो बगेको रहेछ। त्यतिबेला मलाई ठूला मान्छे घरमा नहुँदाको अभाव खट्कियो।

ट्याक्सीमा पाटन हस्पिटल गयौं। हस्पिटलभित्र बुढालाई छिर्न दिएन। म र दिदी गयौं। पानी बगेको ६/७ घण्टा भइसकेको थियो। डाक्टरले मलाई पानी धेरै बगिसकेको र बच्चा माथि नै भएकोले नर्मल बच्चा पाउन गाह्रो हुने बताए। हामीले पनि रिस्क मोल्न चाहेनौं।

मलाई राखिएको कोठाको बेड पूर्वतिर झ्याल भएको परेछ। कलिलो घाम ठ्याक्कै मेरो अनुहारमा परेको थियो। म आमा बन्दैछु भनेर साह्रै दंग परेको क्षण थियो त्यो। अहिले पनि पूर्वपटिबाट कलिलो घाम आउँदा छोरा जन्मेको क्षण याद आउँछ।

बिहानको सवा १० बजे अप्रेसन गरेर बच्चा निकाले। बच्चा निकाल्दै गर्दा म पेनिक भएँ होला, एक्कासि मेरो अक्सिजन लेबल कम भयो। श्वास फेर्ने गाह्रो भएर अक्सिजन समेत लगाइएको थियो। त्यो पल मैले भगवानसँग मेरो बच्चालाई केही नहोस् भनेर पुकारिरहें।

बच्चा जन्मेपछि रुनु पर्ने रहेछ, मेरो बाबुले हें हें मात्रै गरेछ, रोएन छ। रुवाउन धेरै कोसिस गरे तर रोएन।  मलाई डाक्टरले तपाईंको छोरा भनेर देखायो। म मनैदेखि हाँस्न सकिन। मलाई मेरो नाक पटक्कै मन नपर्ने। बच्चा सुताउँदा ठ्याक्कै म जस्तै देखें, नाक त काटिकुटी मेरै जस्तै। बच्चा बाउ जस्तै होस् भन्ने चाहन्थें। तर कराँते किड्स धेरै हेरेर हो कि कपाल चाहिं त्यही केटाको जस्तै कर्ली थियो।

क्याबिनमा लाने बेला मेरो छाती दुख्यो। जसका कारण २ घण्टा जति ढिला गरियो। ग्यास्ट्रिककै समस्याले छाती दुखेको रहेछ। क्याबिनमा जाँदा बच्चाको औंला छोरीको जस्तै लामोलामो पो देखें। म कराउन थालें, मेरो त छोरा भन्थे, यो त छोरी छ।

मैले अस्पतालमा बच्चा साटिन्छ भन्ने सुनेको थिएँ। त्यही डरले म कराउन पुगेछु। अघि बच्चा देखाउँदा अनुहार मात्रै हेरेछु। पछि आफैंलाई नमज्जा लाग्यो।

भोलिपल्ट दिउँसो बच्चालाई हल्का ज्वरो आउन सुरु भयो। पाटन हस्पिटलको ग्राउण्ड फ्लोरमा बच्चाहरु राख्ने नर्सरीमा लगे। २/३ घण्टालाई लगेको बच्चा साँझ परिसक्यो, दिँदैन। पछि मुटुको धड्कन छिटो देखियो भनेर नर्सरीमै राखिने भएछ। हामी बुढाबुढीलाई केही पत्तो नै थिएन।

एकछिन अघिसम्‍म बच्चा साथमा थियो, अब छैन। मनमा नानाथरी कुरा खेल्न थाले। पछि बच्चाको समस्या बताएपछि म यति रोएँ कि नर्सहरु आएर धेरै सम्झाए। मैले रोएर अप्रेसन गरेको घाउ नै बल्झाएछु। म सँगसँगै बुढा पनि रुन थाले।

१० दिनसम्म बच्चालाई नर्सरीमै राखियो। ज्वरो कम भइसके पनि मुटुको भल्भमा हल्का समस्या अझै छ, पछि गंगालाल अस्पताल जानु भनेर हामीलाई डिस्चार्ज गरियो।

सुत्केरी अवस्थाको १० दिन म कहिले सम्झन पनि चाहन्नँ। निद्राको इन्जेक्सन लगाइदिंदा पनि निदाउन सक्दिनथें।

183624342-1088883068268188-373257054486274691-n

केही दिनपछि हामीले बच्चालाई गंगालालमा देखाउन लग्यौं। त्यहाँ डाक्टरले जन्मनासाथ जति रुनु पर्ने हो नरोएर धड्कन बढेको हो, ठूलो समस्या होइन, आफैं ठिक हुन्छ भने। म यति खुसी भएँ, अरु केही चाहिँदैन, यो खुसी नै काफी छ भन्ने लाग्यो।

मलाई आफ्नो बच्चालाई दूध खुवाउने साह्रै रहर थियो तर हस्पिटलमा १० दिन बोटलबाट खुवाएपछि मेरो दूध खानै मानेन। मैले हरसम्भव कोसिस गरें, तर सकिनँ।

१२/१३ दिन घरमा बुढाले मज्जाले बच्चा स्याहारे। त्यसपछि काममा त जानु परिहाल्यो। त्यसपछि म एक्लैले बच्चा स्याहार्नुपर्ने भयो।

अरु त सबै ठिक थियो, राति सुत्न भने नपाइने। हरेक २/२ घण्टामा उठेर बोटलमा दूध बनाएर खुवाउनुपर्ने। तर पनि त्यो अनिद्रा बच्चाको एक मुस्कानमा गायब भइहाल्ने।

यो मातृत्वको अनुभव पनि गज्जबकै हुँदो रहेछ। छोरा देखेपछि करिअर केही होइन जस्तो लाग्छ। तैपनि सकेसम्म स्टुडियो, स्टेजको लागि आएको अफरहरुलाई मिलाएर गइरहेको हुन्छु। एउटी महिलाका लागि करिअर, घर, परिवारभन्दा बढी महत्व आफ्नो सन्तानको हुँदोरहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....