पत्रकार सुशीला तामाङको प्रसव पीडा र खुसी : छोरा हेर्नै मन लाग्थेन, रूँदा पनि रिस उठ्थ्यो

पत्रकार सुशीला तामाङको प्रसव पीडा र खुसी : छोरा हेर्नै मन लाग्थेन, रूँदा पनि रिस उठ्थ्यो

पत्रकार सुशीला तामाङ कला बिटमा लेख्न रुचाउँछिन्। बच्चा जन्माइसकेपछि बल्ल पत्रकारिता सुरु गरेकी उनी एक सन्तानकी आमा हुन्। कलाका विभिन्न विधाहरूमध्ये चित्रकलाका विषयमा विशेष रुचि भएकी उनले इन्टर्न हुँदै पत्रकारितालाई अगाडि बढाएकी हुन्।

केही वर्ष कान्तिपुर दैनिकमा नाटक र चित्रकलासम्बन्धी पत्रकारिता गरेकी उनी यतिबेला स्वतन्त्र पत्रकारिता गरिरहेकी छन्। उनै पत्रकार सुशीला तामाङले आफ्नो प्रसव पिडा र खुसी उकेरासँग साटिन् :

ooo

काठमाडौँ एङ्गल भन्ने ठाउँमा जन्मिए पनि मेरो बाल्यकाल काभ्रेपलान्चोकको गाउँमा बित्यो। हाम्रो समुदायमा छोरी पढाउने चलनै छैन। सायद हाम्रो गाउँबाट छोरी भएर पनि पढाइमा स्नातकोत्तर गर्ने म पहिलो हुँला।

मेरै पढ्ने हुटहुटीका कारण ९ वर्षको उमेरमा बल्ल विद्यालय भर्ना भएँ। बाल्यकाल र पढाइ सर्त नै सर्तमा अघि बढ्यो। पाँच कक्षासम्म सुर्यदय प्राथमिक विद्यालयमा पढेँ।

परिवारको म जेठो सन्तान। बिहानी कक्षा लिएर अक्षर चिनेपछि मैले पढ्छु भनेर जिद्दी गरेको थिएँ। नाम लेख्न जाने अहिलेको कालमा चल्छ भनेर मलाई भर्ना गरिदिनुभयो। एक कक्षामा भर्ना शुल्क २५ रूपैयाँ थियो।

एक कक्षामा म प्रथम भएँ। प्रथम भएपछि वाध्यताले २ कक्षामा पढाउनुपर्ने भयो। २ कक्षाबाट दोस्रो भएर तीनमा गएँ। त्यसपछि आमाले पाँच कक्षासम्म पढाउने निर्णय लिनुभयो। बुबा काठमाडौँ बस्ने भएकाले गाउँमा हरेक निर्णय आमाको चल्थ्यो।

पाँच कक्षामा म फेरि प्रथम भएँ। ६ कक्षाको भर्ना फी ६ सय थियो। तर प्रथम भएपछि फी लाग्दैनथ्यो। फी नलाग्ने भएपछि एक घण्टा टाढा रहेको विद्यालयमा भर्ना भएर पढ्न पाएँ।

मेरो विद्यालयबाट प्रथम भएर गएकाहरू कोही पनि त्यो विद्यालयमा प्रथम भएका थिएनन्। तर म भएँ। मेरो दिमागमा प्रथम भए फी लाग्दैन, फी नलागेपछि पढ्न पाउँछु भन्ने ध्याउन्न थियो। एसएलसी समेत प्रथम श्रेणीमा उत्तीर्ण गरेँ।

त्यसपछि अरू पढ्न नपर्ने, बिहे गर्नुपर्ने कुराहरू घरमा हुन थाले। मैले मानिन। जिद्दी गरेर काठमाडौँ आएँ। काम गर्दै जनमैत्री विद्यालयमा पत्रकारिता पढ्न थालेँ।

मलाई पत्रकारिताबारे सुरुमा केही थाहा थिएन। नर्स बन्न चाहन्थेँ। तर पैसा नभएकाले पत्रकारिता पढे पनि बिस्तारै यसैमा रस बस्न थाल्यो। एक फाइनान्समा काम गर्दै पढाइलाई निरन्तरता दिएँ।

बिएको दोस्रो वर्षको परीक्षा सक्काएपछि मेरो विवाह भयो। श्रीमान् सुमन तामाङ विदेश बस्नुहुन्थ्यो। बिएको पहिलो वर्ष विदेशबाट आएर भेट भयो। दोस्रो वर्षको परीक्षा दिएपछि विवाह भयो।

विवाह गरेको एक वर्षमै मैले बच्चा जन्माएँ। योजना बनाएको हैन, तर बच्चा जन्माएकैले मेरो पढाई भने रोक्नुपरेन।

मेरो परिवारमा पढेको म मात्रै थिएँ। मैले पढेको देखेर हाम्रो गाउँमा छोरी पढाओस् भन्ने चाहन्थेँ। बच्चा पेटमा आउने बित्तिकै मेरो चिन्ता यही विषयमा रह्यो। मैले बच्चा जन्माएर अन्य गृहिणी महिलाले जस्तै जीवन बिताउन पर्यो भने त झनै खराब प्रभाव पर्न जान्छ।

फलानोकी छोरीले पढेर के गरी, उही नपढेकोले जे गर्थे त्यही त गरी नि भनेर म भन्दा पछिका बहिनीहरूलाई अवसरबाट वञ्चित नगरियोस् भन्ने नै मेरो सोचाइ थियो।

त्यसैले बच्चा पेटमा आएको थाहा पाउने बित्तिकै सुरुमा म यही कुराले चिन्तित भएँ। मेरो करियर बच्चाको कारण रोकियो भने, अन्य महिला जस्तै घरमै समय बिताउन पर्यो भने भन्ने खालका भावहरू मनमा खेल्यो।

आफू प्रेग्नेन्ट भएको थाहा पाएपछि सुरुमा त स्विकार्न गाह्रो भयो। सेयर गर्ने कसलाई, उकुसमुकुस भयो। बच्चा पेटमा आउँदा खुसी भन्दा पनि म अब रोकिन्छु कि भन्ने डर भयो।

श्रीमानको सपोर्ट हरेक कुरामा थियो। तर गर्नुपर्ने त मैले नै थियो नि।

पाटनमा नियमित चेकजाँच गरेँ। बच्चा मेरो पेटमा छ, भोग्नुपर्ने मैले नै हो। बेकारमा अरूलाई किन टेन्सन दिनु भन्ने हुन्थ्यो। नियमित चेकजाँचका लागि समेत म एक्लै अस्पताल जान्थेँ।

सुरुको तीन महिनामा अरूलाई म प्रेग्नेन्ट छु है भन्न नसकिने रहेछ। साथीभाइलाई भन्न नसक्दा, कुरा सेयर गर्न नसक्दा निकै पिडा हुने।

तर संयोग, हाम्रो अफिसको तीन जना साथीहरू एक्कैचोटी प्रेग्नेन्ट भएछौँ। अरू पनि प्रेग्नेन्ट छ भन्ने भएपछि कुराहरू सेयर हुन थाल्यो। अलि सजिलो भयो।

बिस्तारै पेट बाहिर देखिन थाल्यो। पेट नदेखिँदा अरूलाई कुरा सेयर गर्न गाह्रो, पेट देखिन थालेपछि कसरी यसलाई लुकाउने भन्नेतिर ध्यान जाँदो रहेछ।

गाउँघरमा पटुका कसेर पेट लुकाउँथे रे, यहाँ के गर्ने होला भनेर तनाव भयो। मानिसहरूले बाहिर हिँड्दा पनि भुँडीमा हेर्ने भए नि त।

सात महिनाको समयमा म निकै बहादुर भइसकेकी थिएँ। मनमा हिम्मत थियो। सबै काम आफै गर्थेँ। तर ८ या ९ महिना पुगेपछि ठ्याक्कै उल्टो भयो। मेरो कोही छैन, म अब केही गर्न सक्दिन, उठ्न पनि गाह्रो हुन्छ, आफै उठ्न नसक्ने मान्छेले के गरेर खान्छ होला भन्ने खालको अनुभूति भयो।

अरूले केही भन्दा पनि मलाई नै टार्गेट गरेको भनेको हो कि, अफिसमा साथीहरू हाँसे पनि मेरै कुरा गरेर हाँसेको हो कि, घरमा परिवारका सदस्यहरू केही नबोली बसे भने पनि मेरै कारण नबोलेको हो कि भन्ने सोच आउने रहेछ। चरण-चरण अनुसार फरक-फरक अनुभूतिहरू अनुभव गरे।

मलाई पाटन अस्पतालमा डेलिभरीको लागि पुसको २९ गते समय दिएको थियो। तर पुसको १० गते अर्थात् १९ दिन अगाडि नै मैले बच्चा जन्माएँ।

अफिसमा सबैले बिदा कहिलेबाट लिने भनेर सोधिरहेका थिए। मैले २२ गतेतिर लिउँला भनेकी थिएँ। ९ गते मङ्गलबार परेको थियो। नियमित चेक गर्न अस्पताल आएँ। चिकित्सकले सबै नर्मल छ भनेर पठायो।

घर पुगेपछि साँझतिर सेतो पानी बग्न थाल्यो। सेतो पानी बगेपछि माइजुलाई फोन गरेँ। उहाँले ए त्यस्तो भएको हो भने त छिट्टै डेलिभरी हुन्छ भन्नुभयो।

सेतो पानी बग्ने काम रातभर पटक पटक भइरह्यो। रातभर कक्रक्क परेर बसिरहेँ। भोलिपल्ट बिहान घरबेटी दिदीले बहिनी गाह्रो भएको हो भनेर सोध्नुभयो। उहाँलाई वास्तविकता बताउने बित्तिकै अस्पताल जान ढिला भइसक्यो भन्नुभयो। इमर्जेन्सी तुरुन्तै पाटन अस्पताल भर्ना भएँ।

पानी बग्दा बग्दा बच्चाको धड्कन नै कम हुन लागिसकेछ। अस्पताल जाने बित्तिकै लेवरपेन हुने औषधी चढाइदिए। अनि बल्ल पेट दुख्न थाल्यो।

पानी धेरै बगेकाले बच्चा कमजोर बनेछ। भित्र चल्न नसक्ने बनेछ। भ्याकुम लगाएर बच्चा निकालियो। नर्मल डेलिभरी भए पनि बच्चा तान्न भ्याकुम प्रयोग गरिएको थियो।

अफिसको छुट्टी नै नलिई क्रिसमस डे को दिन मेरो छोरा जन्मियो।

बच्चाको अनुहार नै हेरिन सुरुमा। बेलुकाको पौने ६ बजेतिर बच्चा जन्माउने बित्तिकै मस्त निदाएछु। राती पौने २ बजेतिर झसङ्ग ब्युँझिएँ। त्यो समयमा पनि मलाई मेरो करिअरकै डर लाग्यो। अर्धहोसमा छोरा जन्मेको सुनेको थिए। तर होसमा आएपछि पनि बच्चाको अनुहार हेर्न इच्छा लागेन।

तर अगाडि ममी बसिरहनुभएको रहेछ। सानैदेखि ममीको अनुशासनमा बसियो। ममीले कहिल्यै पढ्न पर्छ भन्नुभएन। त्यसैले उहाँसँग मेरो कहिल्यै बिचार मिलेन।

बुबासँग कुरा मिल्यो। उहाँले पनि खूब माया गर्नुहुन्थ्यो। तर त्यो समयमा मलाई ममीको खूब माया लाग्यो। उहाँलाई देखेर रुन मन लाग्यो। उहाँसँग गरेका झगडा, बिचार नमिल्दा मनमा उत्पन्न भएका घृणाहरू सबै सरर दिमागमा आए।

मलाई जन्माउँदा पनि ममीलाई यस्तै भएको थियो होला भन्ने लाग्यो। त्यो समयदेखि मलाई मेरो ममीको माया खूब लागेर आयो।

घरमा गएपछि पनि मलाई छोराको माया लागेन। उ रुँदा पनि रिस उठ्थ्यो। शरीरको दुखाई त छदै थियो। अब म एक्लो कहिल्यै हुन्न, सधैं बच्चा हुन्छ भन्ने अनुभूतिले सताउँथ्यो।

तर बिस्तारै उसको हरेक क्रियाकलापहरूले मलाई आकर्षित गर्न थाल्यो। न्वारन हुने समयतिर बल्ल मलाई आफ्नो सन्तानको माया लागेको थियो।

मेरो परिवारका सदस्यहरूले त्यो समयमा एकदमै सपोर्ट गर्नुभयो। बच्चा जन्माएको दुई महिनादेखि मैले फेरि फाइनान्समा मार्केटिङको काम सुरु गरेँ। बच्चा छ भनेर अफिसले धेरै कुरामा सहयोग गर्यो। अफिसको सहयोग, परिवारको साथले म सामान्य दैनिकीमा फर्कन सकेँ।

बच्चा जन्माएपछि आरआर क्याम्पसमा स्नातकोत्तर पढेँ। पत्रकारिता पढेपछि यसैमा काम गर्ने इच्छा जाग्यो। सुरुमा इन्टर्नका रूपमा काम गरेँ। मेरो रुचि कलातिर ढल्कियो। पछि चित्रकलाका बारेमा खोजबिन गरेर लेख्न थालेँ। यो क्रम जारी छ। 

यो पनि
कलाकार सरिताको प्रसव पिडा र खुसी : आफूभित्र अर्को जीवित व्यक्ति पनि छ नि भन्ने सोच्दा नै कस्तो कस्तो लाग्ने
रश्मिको प्रसव पीडा र खुसी : बच्चा पेटमा आएको कुरा लाजले भन्न नसक्दा घरकाले ६ महिनापछि मात्रै थाहा पाए
माल्भिका सुब्बाको प्रसव पिडा र खुसी : हिँड्दा आफैंलाई पेन्गुइन हिँडे जस्तो लाग्थ्यो, एन्जाइटी नै भयो

चैत २६, २०७९ आइतबार १९:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।