उकेरा कोलम

१० कक्षामा अध्ययनरत लिलाको प्रसव पीडा र खुसी : दोस्रो सन्तान जन्मिँदा बितेको छोरा फर्किएर आएझैं भयो


घरमा विवाहको भव्य तयारी हुँदै थियो। तर लिला भण्डारीलाई आफ्नै विवाह हुँदैछ भन्नेसम्म थाहा थिएन। कुनै साथीले 'यो तेरो विवाहको तयारी हो' भनिदिएपछि मात्र उनले आफूलाई परायाघर पठाउन थालेको पत्तो पाएकी थिइन्।

थाहा होस् पनि कसरी? न पढे-लेखेकी थिइन् न त जान्ने-बुझ्ने उमेर नै भएको थियो। विवाह हुँदा लिला मात्र १५ वर्षकी थिइन्।

सानोमा पढ्न नपाए पनि उमेरले पढाइलाई नछेक्ने रहेछ। उनी यतिबेला १० कक्षामा अध्ययनरत छिन्। 

विवाह भएको तेस्रो वर्षमै बच्चाकी आमा बनेकी लिलाले तीन वटा सन्तान जन्माइन्। तर पहिलो बच्चा ब्लड क्यान्सरका कारण डेढ वर्षकै हुँदा बिते। अहिले उनका दुई छोरा छन्। कलिलै उमेरमा विवाह, सन्तान वियोग, प्रसव पीडा र त्यसपछिको खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन् लिला भण्डारी:

म काठमाडौंको मध्यमवर्गीय परिवारमा जन्मिएँ। मेरा बुवा मिठाराम थापा दुग्ध विकास संस्थानमा ठूलै पोस्टमा हुनुहुन्थ्यो भने आमा गीता थापा गृहणी।

२०४७ साल माघमा मेरो मागी विवाह भयो। त्यतिबेला म मात्र १५ वर्षकी थिएँ। 

घरमा धुमधामसँग विवाहको तयारी चल्यो। मैले सोधें, ‘के हुँदैछ हाम्रो घरमा।’ सबैले पूजा गर्न आँटेको बताए। तर एक जना साथीले तेरो विवाह हुँदैछ भनिदिइन्। अनि मात्रै मैले आफ्नो विवाह हुँदैछ भन्ने थाहा पाएँ। मलाई त विवाह भनेको के हो, कस्तो हुन्छ थाहै थिएन।

अर्काको घर, नयाँ ठाउँ, नयाँ परिवेश। अन्माउने बेलामा म जान्न भनेर रोएँ। तर जति रोइकराइ गरे पनि कन्यादान भएरै छाड्यो। विवाह हुँदा श्रीमान् भने १७ वर्षजतिको हुनुहुन्थ्यो। 

विवाह भएको लामो समयसम्म माइतीको यादले सताइरह्यो। त्यतिबेला साडी नै लगाउने चलन थियो। माइतीघर घरबाट आधा घण्टा जति टाढा थियो। घर आएको सात दिन नपुग्दै साडीमा लटपटिँदै दौडेर माइती जान्थें। म नहुँदा कस्तो भएको होला, भाइ-बहिनी के गर्दै होलान् भन्ने चिन्ता लागिरहन्थ्यो।

माघमा विवाह भएपछि भदौतिर मात्रै पहिलो पटक मेरो महिनावारी भयो। धान गोड्न खेतमा गएकी थिएँ। पखला पनि चलिरहेको थियो। पिसाब फेर्दा रगत देखियो। सुरुमा त डायरिया चल्दा रगत आउने रहेछ कि भन्ने लाग्यो तर फेरि दोहोर्‍याएर आएपछि महिनावारी भएँ कि भन्ने भयो।

मलाई महिनावारी भए आराम गर्न पाइन्छ भन्ने लाग्थ्यो। हुन पनि १५ दिनसम्म अलग्गै बस्न पाएँ। काम गर्न नपर्ने, दिनदिनै नुहाउनुपर्ने। तर गाईको दूध खान नपाउँदा भने नमज्जा लागेको थियो।

०००
पहिलो पटक महिनावारी भएको झन्डै तीन वर्षपछि म गर्भवती भएँ। जे पनि गन्हाउने, मुखमा केही राख्यो कि वाक्क-वाक्क लाग्ने जस्ता लक्षण देखिएपछि मैले सुरुमा फुपु दिदीलाई सुनाएँ। मेरो र फुपु दिदीको विवाह एउटै घरमा भएको थियो। फुपु दिदी मेरी जेठानी थिइन्। मेरो मनमा भने भूत-प्रेत लाग्यो कि भन्ने भयो। फुपु दिदीले बच्चा बसेको होला भन्नुभयो।

मलाई श्रीमानले अस्पताल लैजानुभयो। नतिजा सकारात्मक आयो। हामी पनि बाबु-आमा बन्ने भयौं भनेर दुवै जना रमायौं। सानो उमेरमै आमा बन्न लागेको भए पनि गर्व महसुस हुने रहेछ। 

त्यतिबेला खानपानमा भने खासै ध्यान दिइएन। कामबाट भने केही आराम पाइयो। सानो उमेर भएकाले लाज धेरै लाग्यो। माटोको बासना खुबै मनपर्ने भएकाले रातो माटो पोलेर खान्थें। माटो खाएको थाहा पाएर श्रीमानले गाली गर्नुहुन्थ्यो।

०००
लामो प्रसव पीडापछि मैले पहिलो सन्तान थापाथली अस्पतालमा जन्माएँ। बच्चा ठूलो भएकाले भ्याकुम लगाएर निकालिएको थियो। छोरा हँसिलो अनुहारको थियो। विडम्बना! ढेड वर्षको हुँदा मैले छोरा गुमाएँ। उसलाई ब्लड क्यान्सर भएछ। ६ महिना कान्ति अस्पताल राख्यौं। बचाउने धेरै कोशिस गर्‍यौं तर सकेनौं। 

शोकमा डुब्यो मेरो परिवार। पहिलो बच्चा सम्झँदा अहिले पनि मेरो आँखा रसाइहाल्छ। त्यो क्षण शब्दमा बयान गर्नै सक्दिनँ।

बच्चा गुमेपछि समाजले हेर्ने दृष्टिकोण परिवर्तन भयो। यसको रगतै खराब छ। जति बच्चा जन्माए पनि बाँच्दैन भनेर कुरा काट्नेहरु धेरै भए। छोरो बित्ने बित्तिकै मैले आफ्नो रगतको परीक्षा दिनुपर्ने भयो। 

पहिलो सन्तान गुमाएको छोटो समयमै म पुनः गर्भवती भएँ। दोस्रो सन्तान पेटमा आउँदा भने मलाई निकै चिन्ता लाग्यो। मेरो रगत खराब हो कि, यसलाई पनि पहिलोलाई जस्तै हुने हो कि भन्ने चिन्ताले साँझ परेपछि सधैं रुन्थें। 

मनको कुरा सुनाउने मानिस थिएनन्। रोएको देखाउने कुरा भएन। म ऐनाको अगाडि बसेर रुन्थें। रुन पनि साथी चाहिँदो रहेछ। मेरो आकृति त्यसको साक्षी बसेको थियो।

०००
दोस्रो सन्तान मैले घरमै जन्माएँ। फेरि छोरा नै जन्मियो। दुखाइको पीडाभन्दा मनको पीडा धेरै भएकाले प्रसव पीडा खासै महसुस गरिनँ। बरु सानैमा छाडेर गएको पहिलो सन्तान फर्केर आएझैं लाग्यो।

बच्चालाई अस्पताल जँचाइरहें। चिकित्सकले छोराको रगत राम्रो छ भनेपछि मात्रै सन्तोषको श्वास फेरें।

०००
१८ महिनाको फरकमा अर्को सन्तान पनि जन्माएँ। तेस्रो बच्चाको योजना थिएन। संगिनी सुई लगाइरहेको थिएँ। तर त्यसले शरीरलाई राम्रो गरिरहेको थिएन। रगत बगिरहन्थ्यो। बच्चा बसेको थाहै पाइनँ। तीन महिना भएपछि मात्रै बच्चा पेटमा रहेको थाहा पाएको थिएँ।

तेस्रो सन्तान पनि छोरा नै भयो। यो बच्चा पनि घरमै जन्मियो। यस पटक छोरी भएको भए हुन्थ्यो भन्ने लागेको थियो।

बुढेसकालमा पढाइ
मेरा श्रीमान् श्रीराम भण्डारी नेपाल प्रहरीमा डिएसपी हुनुहुन्छ। उहाँ सोमालिया जानुभएको थियो। उहाँले मलाई घुम्न बोलाउनुभयो। एक्लै सोमालियाका लागि हिँडें। दुबईमा ट्रान्जिट पर्यो। सँगै गएका साथीले नैरोवी जाने प्लेन चढाइदिए। 

जब म नैरोवीमा ओर्लिएँ, रनभुल्ल परें। सबै कालो छाला भएमा मानिस। न मैले बोलेको अरुले बुझ्छन्, न अरुले बोलेको मैले। मैले नपढेका कारण तीन घण्टा वेटिङमा राखियो। सामान्य फर्म भर्नुपर्ने रहेछ तर बुझिनँ। त्यही समयमा एक जना भारतीय नागरिक आइपुगे। टुटेफुटे हिन्दी बोलेर उसलाई आफ्नो कुरा राखें र उसैले फर्म भरिदियो।

बाबुले पढाइदिएका भए आज यसरी अर्काको देशमा अलपत्र पर्नुपर्ने थिएन जस्तो लागिरह्यो। जिन्दगीमा पहिलोपल्ट पढाइको अभाव खट्कियो। सानैमा विवाह गरिदिएर पढाइबाट बन्चित गराएकोमा मैले पहिलो पटक बाबुलाई दोष दिएँ। जब श्रीमानलाई भेटें, बेस्सरी रोएँ। 

साल थाहा छैन। हामी घुम्न थाइल्याण्ड गएका थियौं। यात्राका क्रममा एक जना उमेरले परिपक्व दिदी भेट भयो। उहाँलाई के गर्नुहुन्छ भनेर सोध्दा पढ्दैछु भन्नुभयो। पढाइको अभाव झेलिरहेकी मलाई उहाँको कुरा चाख लाग्यो। मेरो जिज्ञासु अनुहार देखेर ती दिदीले आफू आस्था महिला विद्यालय गठ्ठाघरमा पढ्ने बताउनुभयो। अनि मलाई पनि बुढेसकालमा पढ्ने रहर जाग्यो।

म सुरुमा आस्था महिला विद्यालयमा बुझ्न गएँ। पढ्न नपाएका आफूजस्तै महिलाहरु धेरै देखें। म स्कुलमा बुझ्न गएको थाहा पाएर मेरो श्रीमान् धेरै खुसी हुनुभयो। उहाँले भोलिपल्टै विद्यालय भर्ना गराएर आउनुभएछ।

पढ्न थालेपछि म पनि बच्चाजस्तै बनेकी छु। एक पटक कक्षामा साथीसँगै किताब पल्टाइरहेको थिएँ। मेरो किताबमा चित्र रहेछ, अर्को साथीकोमा रहेनछ। मैले त तिम्रो त चित्र छैन, यी मेरो त भनेर खुसी भएछु। शिक्षिकाले देखेर के भनेको भनेपछि पो झसंग भएँ।

एक पटक त हदै भयो। मेरो खुट्टा कसो-कसो बेन्चमा फसेछ। जति निकाल्न खोज्दा पनि सकिनँ। मैले  चकचक गरेर खुट्टा फसाएको कुरा हावाजसरी फैलिहाल्यो।

भोलिपल्ट कान्छो छोरो मलाई विद्यालय पुर्‍याउन आयो। हातमा सयको नोट थमायो र भने धेरै चकचक नगर्नु, राम्रोसँग ज्ञानी भएर पढ्नु भनेर फर्कियो।

०००
बच्चा छिटो-छिटो हुर्किनेरहेछन्। हाँस्यो, बोल्यो, हिँड्यो भन्दाभन्दै हुर्किहाले। अहिले छोरा ललित चिकित्सक बनिसकेका छन्। बंगलादेशमा चिकित्साशास्त्रको पढाइ सकेर नेपाल आएको धेरै भएको छैन। कान्छो छोरा लव स्नातक सक्ने तरखरमा छन्।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....