उकेरा कोलम

सञ्चारकर्मी सलोजाको प्रसव पीडा र खुसी : पेटभित्रै बच्चाको धड्कन रोकिएपछि…


१७ वर्षदेखि पत्रकारितामा सक्रिय सलोजा दाहाल अहिले नेपाल टेलिभिजनमा समाचार सम्पादकको रुपमा कार्यरत छिन्। 

सोलुखुम्बुका कुबेर ढुंगानासँग विवाह गरेकी उनी दुई सन्तानकी आमा हुन्। 

विवाहको दुई वर्षपछि गर्भवती भएकी सलोजालाई पेटको बच्चाको धड्कन रोकिँदाको पीडाले अझै झस्काइरहन्छ। उनले आफ्नो प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गरिन्:

मेरा बुबा सोलुखुम्बुमा शिक्षक हुनुहुन्थ्यो। मेरो जन्म पनि त्यहीँ भयो। सोलुखुम्बुमा जन्मिए पनि मेरो बाल्यकाल भने ओखलढुंगामा बित्यो।

गाउँबाटै एसएलसी पास गरेपछि आइए पढ्न म दिदीसँग विराटनगर झरेँ। विराटनगरको सिटी कलेजबाट आइए पास गरेँ। विराटनगरबाटै मैले पत्रकारिताको सुरुवात गरेकी हुँ। 

विराटनगरमा पत्रकारिता पढाइ हुने क्याम्पस थिएन। त्यहाँ नेपाल प्रेस इन्स्टिच्युट भन्ने संस्थाले पत्रकारिताको तालिम दिन्थ्यो। मैले त्यही तालिमपछि पत्रकारिता सुरु गरेँ। 

सुरुमा मैले विराटनगरबाटै प्रकाशन हुने दर्शन दैनिकमा काम गरेँ। त्यसका साथै गोरखापत्र दैनिकमा रंगेली संवाददाता रहेर स्टिन्जिरको रूपमा काम गरेँ। 

महेन्द्र मोरङ क्याम्पसबाट डिप्लोमा गरेँ। पत्रकारिता पढ्नु र पत्रकारिता गर्नु मेरो रहर थियो। तालिम लिएर पत्रकारिता क्षेत्रमा लागेकी मैले काठमाडौंको पुतलिसडकस्थित कान्तिपुर सिटी कलेजबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेँ। 

पत्रकारिता गर्नु मेरो चाहना र रहर थियो। तर पत्रकारिता गर्ने उपयुक्त वातावरण थिएन। अझ राजधानी बाहिर बसेर पत्रकारिता गर्ने केटीहरुको संख्या कमै थियो। 

मेरो कार्यक्षेत्र नेपाल भारत सीमा क्षेत्रमा पर्थ्यो। त्यसबेला समाचार लेखेको भरमै धेरै धम्कीहरु पनि आउँथेँ। एक पटक फोनमार्फत निरन्तर धम्की आउन थाल्यो। पत्रकारिता क्षेत्रका केही सीमित अग्रज र साथीहरुलाई सुनाएँ, यस्तो कुरा घरमा भने सुनाइनँ। 

त्यही बीचमा २०६६ सालमा म विराटनगरबाट काठमाडौं आएँ। यहाँ नेपाल वान टेलिभिजनमा काम गर्न थालेँ। त्यसपछि हरेकपल डटकम अनलाइन मिडियामा र  रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम घटना र विचारमापनि काम गरेँ। 

०००
परिवारमा दिदीको विवाह भइसकेको थियो। मलाई विवाह गर्नुपर्ने दबाब थियो। तर कोसँग गर्ने? पत्रकारिता गरेको केटी भनेपछि विवाह गर्ने केटा र उसको परिवारले अलि फरक नजरले हेर्ने रहेछ। अझ केहीको सर्त हुन्थ्यो, विवाहपछि पत्रकारिता छोड्नुपर्छ भन्ने। म मेरो पेसाप्रति कुनै पनि सम्झौता गर्न चाहन्नथेँ। मेरो पेसालाई सम्मान गर्नेसँग जिन्दगीमा सहकार्य गर्न चाहन्थेँ। 

विवाहमा निशर्त सहकार्य हुनुपर्छ भन्ने लाग्थ्यो। त्यसैबीचमा २०७१ सालमा मैले २८ वर्षको उमेरमा सोलुखुम्बुका कुबेर ढुंगानासँग मागी विवाह गरेँ। उहाँ कपनमा बस्नुहुन्थ्यो र क्याम्पस पढाउनुहुन्थ्यो।  

मलाई विवाह लगत्तै बच्चा होस् भन्ने लाग्थ्यो। तर विवाहको दुई वर्षपछि हामीले बच्चाको योजना बनायौँ । पेटमा बच्चा पाँच महिनाको हुँदासम्म मैले समुद्रपारि डट कम भन्ने अनलाइनमा काम गरेँ। त्यसपछि गाह्रो महसुस हुन थाल्यो। काम पनि छोडेर घरमै बस्न थालेँ। 

बच्चा पेट आउनासाथ खान नसक्ने भएको मलाई पछि उठ्न/बस्न निकै नै सकस हुन थाल्यो। त्यही बेला सासुआमा निक्कै बिरामी हुनुहुन्थ्यो। चिकित्सकले उहाँ अब धेरै बाच्नुहुन्न भनेको थियो। उपचार हुन सक्दैन, आयु लम्ब्याउने मात्र हो भनेको कुराले खुब दिक्क लाग्थ्यो।

एकातिर परिवारकै मुख्य सदस्य हामीबाट छुट्दै हुनुहुन्थ्यो, अर्कोतिर परिवारमा एकजना नयाँ सदस्य आउने थियो। घाँटीको नसा सुकेकोले (मोटर न्युरोन डिजिज) उहाँलाई श्वास फेर्न निकै गाह्रो हुन्थ्यो। बोल्न, खान केही सक्नुहुन्नथ्यो। त्यो देख्दा पनि मलाई असाध्यै पीडा हुन्थ्यो। 

मैले कल्पना गरेकोभन्दा निकै फरक थियो त्यसबेलाको जिन्दगी। म गर्भवती, भक्तपुरमा हाम्रो नयाँ घर बनाउँदै थियौं। सासुआमा जिन्दगीको अन्तिम घडीमा हुनुहुन्थ्यो। यी सबै कुरा सम्झँदा झस्किन्थेँ। यी सबै अप्ठ्यारा भुल्न त्यसबेला युट्युब हेरेर ध्यान गर्थेँ। प्रवचन सुन्थेँ। 

मलाई अन्तिम महिनासम्म पनि धेरै खान नहुने, बान्ता भइहाल्ने हुन्थ्यो। तर मैले नै नखाए बच्चाको ग्रोथ हुँदैन भन्ने लाग्थ्यो। त्यसैले अन्न चाहिँ जबरजस्ती आँखा चिम्लिएर अलिअलि खान्थेँ। कहिल्यै मिठो नलाग्ने ढिँडो गर्भवती अवस्थामा खाएँ। कोक र स्प्राइट भने खुब खान मन लाग्ने। आधा रातमा उठेर पनि खान्थेँ। फलफूल चाहिँ निरन्तर खाएँ।

गर्भवती भएको समयमा म अलि भावुक हुन्थेँ। सानो कुरामा पनि मन दुख्थ्यो। सबैभन्दा बढी जिन्दगी अत्यास लाग्थ्यो। पत्रकारिता पनि छुटेजस्तो लाग्थ्यो। त्यस्ता कुरा सम्झिँदा त श्वास नै फेर्न गाह्रो हुन्थ्यो।

०००
बच्चा गर्भमा आएदेखि नै केएमसी अस्पतालमा डाक्टर चन्दा कार्कीलाई देखाइरहेको थिएँ। उहाँले श्रीमान्-श्रीमतीलाई नै राम्रो काउन्सिलिङ गर्ने। हरेक महिना चेक गर्न जाँदा श्रीमानलाई गर्भावस्थामा श्रीमतीको ख्याल गर्ने तरिका र कारण बताउनुहुन्थ्यो। जसका कारण मलाई व्यावहारिक पक्षमा पनि सजिलो भयो। 

डाक्टरले भनेअनुसार बच्चाको ग्रोथ भइरहेको थिएन। त्यसैबेला सुगर देखियो। समय अनुसार बच्चाको तौल पनि बढेको थिएन। म निरन्तर चिकित्सकको निगरानीमा बस्नुपर्ने भयो। बच्चा जन्मिनुभन्दा अगाडि चार पटक अस्पताल बसेँ। 

घरको आफ्नो अवस्थाले मन बेचैन हुन्थ्यो। तर पेटमा बच्चा चलेको, खेलेको थाहा पाउँदा भने सबै पीडा गायब भएजस्तो लाग्थ्यो। पछि-पछि त पेटमा बच्चा चलेको बाहिरैबाट देखिन्थ्यो। त्योबेला म निकै रमाइलो र आनन्द मान्थेँ। त्यतिबेला भने तनाव आफैँ भाग्नेरहेछ। बच्चातिर ध्यान दिँदा सबै बिर्सने रहेछ। 

०००
भदौको महिना थियो। बच्चा जन्मिने महिनामा मेरो सासुको निधन भयो। सासुको निधन भएको आठौं दिन दिउँसो चार बजेदेखि मलाई व्यथा लाग्न थाल्यो। पानी बगिरहेको थियो।

शरीरको कुन ठाउँमा दुख्यो भनेर थाहा पाउनै गाह्रो। बेला-बेलामा ढाड दुखे जस्तो लाग्थ्यो। हात, खुट्टा, जिउ उस्तै गरी दुख्ने। त्यसबेला उठेर बस्थेँ। मसँगै नन्द-आमाजु पनि हुनुहुन्थ्यो। हामी सबैको कामना थियो, कोरामा बसेकै बेलामा बच्चा नजन्मियोस्। 

शरीर र ढाड दुख्ने क्रम निरन्तर बढेको थियो। भोलिपल्ट बिहान पाँच बजेतिर व्यथाले निकै च्याप्यो। सहनै नसक्ने भएपछि श्रीमानलाई सुनाएँ। अब ढिला नगरी अस्पताल जान सुझाउनुभयो। म मेरो बुबासँगै अस्पताल गएँ। 

अस्पताल पुग्दासम्म डक्टरका अनुसार ६ घर खुलिसकेको रहेछ। लामो व्यथा लागेकोले बच्चालाई केही असर परेको छ कि भन्ने भयो। मेरो बच्चाको धड्कन भेटिएन। डाक्टरले निकैबेर चेकअप गरेपछि पनि बच्चाको धड्कन नै छैन भन्नुभयो। त्यसपछि मेरो होस् उड्यो। 

९ दिनदेखि नुन खाएको थिएन। त्यसले बच्चालाई असर गर्‍यो होला भन्ने चिकित्सकको अनुमान थियो। बच्चाको धड्कन छैन भन्दा त म आफैंलाई गाह्रो भएजस्तो लाग्यो। मैले डक्टरलाई सोधेँ- साँच्चै मेरो बच्चाको धड्कन रोकियो त? डक्टरले सम्हाल्ने तरिकाले भन्नुभयो, ‘कहिलेकाहीँ चिसोले पनि यस्तो हुन्छ नुन-पानी, चिनी-पानी खानूस्। मैले नुन-चिनी-पानी खाएको करिब ४०/४५ मिनेटपछि बच्चाको धड्कन आयो। 

मैले आफैंले नदेखेको बच्चाको धड्कन सुन्दा आएको आनन्द सायदै अघिपछि महसुस गर्न सक्छु। बच्चाको धड्कन आएपछि मलाई भोक लागेको महसुस भयो। शरीर अलि गलेजस्तो, अलिअलि दुखेजस्तो लाग्यो। मुख निकै सुकेको थियो। तर लेबर रुममा बसेर खाना खान नपाइने रहेछ। म लेबर रुममा छिर्दा भोकले काँपिरहेकी थिएँ। 

त्यसबेला मलाई लामो समय सुत्केरी व्यथा त लागेछ तर व्यथा नै लागेको हो भनेर महसुस गर्न सकिन छु। किनकी, प्रसव पीडाले भन्दा पनि सासुको निधनको पीडाले बढी गालेको थियो मलाई। 

धार्मिक संस्कार अनुसार किरिया-कर्मकै क्रममा बच्चा जन्मिए न्वारन गरेपछि मात्र पुन किरिया-कर्म सक्नुपर्ने रहेछ। त्यसैले जतिसक्दो मैले छोरो जन्मिएको कुरा लुकाएर राखेँ। मोबाइल स्विचअफ गरेँ। श्रीमानतिरको कसैलाई पनि बच्चा जन्मिएको नभन्ने सहमति भयो। 

तर, बच्चा जन्मिएको कुरा श्रीमानलाई नभनिरहन सकिनँ। एक जना साथीमार्फत उहाँलाई छोरो जन्मिएको खबर पठाएँ। त्यसपछि म अस्पतालमै बसेँ। त्यसबेला आमाको खुब याद आउँदो रहेछ। उहाँसँगै भएको भए हुन्थ्यो जस्तो लाग्ने। 

सासुको किरिया-कर्म नसकिदाँसम्म म अस्पतालमै बसेँ। बुबा, केही आफन्त दिदीहरुले मेरो ख्याल राख्नुभयो। तर बच्चा जन्मिँदा श्रीमानको अभाव साह्रै खट्किँदोरहेछ । उहाँ खास्सै टाढा नभए पनि आफूसँगै हुनुपर्थ्यो भन्ने मनमा लागिरहने रहेछ। 

३ किलो ३ सय ग्रामको बच्चा जन्मिएको थियो। तर बच्चा जन्मनासाथ अब्जरभेसनमा पठाएकोले दुई दिनपछि मात्र मलाई दिइयो। तर बच्चाले राम्ररी दूध चुस्न सकेन। ख्वाई नमिलेर होला मेरो दूध पनि आएन। त्यसैले डक्टरको सल्लाह अनुसार नै ल्याक्टोजिन खुवाइयो। विस्तारै मेरो खानपान मिल्यो। बच्चाले पनि अलि अलि दूध खान थाल्यो। 

दूध चुस्न थाले पनि बच्चा रातभरि रुन थाल्यो। किन रुन्छ भन्ने पनि थाहा नहुने, कसरी फकाउने पनि थाहा नहुने। श्रीमान्-श्रीमती दुवै जना मिलेर सकभर फुल्याउथ्यौँ। अनुभवी मान्छे नभएकोले दु:ख पाइएछ। तर पछि थाहा भयो, बच्चा भोक र चिसोले रुदो रहेछ। म सबैथोक छोडेर निरन्तर बच्चासँगै बस्न थालेँ। ऊ कुन बेला खान्छ, सुत्छ, के गर्न मन पराउँछ भन्ने कुरा बच्चाले नबोले पनि सबै कुरा थाहा पाउँथें। उसलाई देख्दा सबै दु:ख-पीडा भुल्थेँ। 

निरन्तर रूपमा कार्यालयमा काम नगरे पनि म प्रेस युनियनको उपमहासचिव भएकाले कार्यक्रममा गइरहन पर्थ्यो। म छोरा बोकेरै जान्थेँ। बच्चा बोकेर हिँड्दा राम्रो नराम्रो दुवैखाले प्रतिक्रिया आउँथे तर अरुले भनेका कुरा सुन्थेँ, काम चाहिँ आफ्नै सुरले गरेँ। 

म गर्भवती हुँदै काम छोडेँ तर मसँगै पढेको तर निजामती सेवामा कार्यरत मेरो साथी मज्जाले बच्चा हुर्काउँदै आफ्नो अफिस पनि भ्याइरहेकी थिइन्। त्यसपछि लाग्यो, बच्चा हुर्काउनका लागि सरकारी सेवामा नै लाग्नुपर्ने रहेछ।

मैले लोकसेवा आयोग पढ्ने सोच बनाएँ, अफिसरको तयारी सुरु गरेँ। छोरो डेढ वर्षको थियो। नेपाल टेलिभिजनमा छैटौँ तह (समाचार सम्पादक) मा नाम निस्कियो। 

नाम त निस्कियो तर अब बच्चा कहाँ छोड्ने? बुबा-आमाले हेरिदिन्छु भन्नुभयो। तर उहाँहरु ओखलढुंगा हुनुहुन्थ्यो। उहाँहरु आउन डेढ महिना लाग्ने भयो। त्यो बेला काका–काकी कपनमै हुनुहुन्थ्यो। उहाँहरुले छोरो हेरिदिनुभयो। म उहाँकै घरैमा गएर बसेँ। 

बुबा आएपछि उहाँले ६/७ महिना हेरिदिनुभयो। बच्चा पनि हुर्किँदै थियो। मेरो परीक्षणकाल पनि सकियो। त्यसपछि घर नजिकै खुलेको मन्टेश्वरीमा छोरालाई भर्ना गरेँ। बिहान ९ बजे छोरालाई स्कुल छोडेर अफिस जान्थेँ। म छोरो लिन पुग्दा कहिलेकाहीँ ७ बज्थ्यो। मलाई भेट्नासाथ छोरो रुन थाल्थ्यो। म उसँगै रुन्थेँ। बाहिर कसैको बच्चा देख्दा आफ्नै बच्चाको यादले सताउँथ्यो। त्यसबेला नाम ननिस्किएको भए कम्तीमा बच्चासँगै बस्न त पाउँथें भन्ने लाग्थ्यो। 

०००
दोस्रो बच्चा जन्माउने कुनै योजना थिएन। एक्कासि म थकित हुने, उठ्न–बस्न नसक्ने जस्तै भएँ। अनि श्रीमानले तिमी त प्रेग्नेन्ट भयौ कि क्या हो भन्नुभयो। चेक गर्दा बच्चा गर्भमा आएको दुई महिना भइसकेछ। त्यतिबेला छोरो चार वर्षको भएको थियो। 

२०७७ मा कोरोना महामारी सुरु भएको थियो। तत्कालै लकडाउन पनि भयो। त्यो बेला कोभिडको डर पनि एकदमै थियो। श्रीमानको कलेज–स्कुल पनि बन्द भयो। उहाँ पूरै समय घर बस्न थाल्नुभएको थियो। श्रीमान् घरमा भएपछि बच्चा हेर्ने, घर व्यवहारमा पनि मैले केही चिन्ता लिन परेन। 

कार्यालयले कोरोना संक्रमण सुरु भएदेखि नै कर्मचारीलाई आफ्नै गाडीमा ल्याउने-पुर्‍याउने गर्न थालेको थियो। त्यसले मलाई सजिलो भयो। 

दोस्रो बच्चा पेटमा हुँदा पनि मलाई खाना मन नलाग्ने, बान्ता हुने भइरह्यो। तर मलाई पहिलो बच्चाको समयमा जस्तो अप्ठ्यारो भएन। मानसिक रुपमा पनि अलि फ्रि भएछु। 

पेटमा बच्चा चलेको थाहा नहुदाँसम्म म कार्यालय बाहिर गएर रिर्पोटिङ गरिरहेँ। कोरोना संक्रमणकाल भएकोले अलि सजग हुनुपर्ने अवस्था थियो। तर पेटमा बच्चा चलेन थालेपछि बाहिर निस्कन छोडेँ, कार्यालयले पनि सजिलो बनाइदियो। कार्यालयका अग्रज, सहकर्मीदेखि प्रशासनले समेत सहयोग गर्‍यो। 

कोरोना महामारीको कारणले गर्दा निरन्तर चेकअपका लागि डाक्टरकहाँ गइनँ। तर, टेलिभिजनमै आउने डाक्टरसँग काउन्सिलिङ गरेँ। केही समस्या भयो भने डाक्टरसँग फोनमै सुझाव लिन्थें। 'आमाको माया' भन्ने एप डाउनलोड गरेको थिएँ। त्यसमा उनीहरुले नै फोन गरेर हालखबर सोध्थे। 

सिभिल अस्पतालमा बच्चा जन्माउने योजना थियो। त्यहाँ चार पटक चेकअप गराएको हुनुपर्ने रहेछ। प्रक्रिया पुर्‍याउनका लागि मात्र म त्यहाँ चार पटक चेक गराउन गएँ। 

दोस्रो बच्चाको बेलामा खासै समस्या हुँदो रहेनछ। अनुभवले पनि काम गर्ने रहेछ। बच्चा जन्मने दुई दिन अगाडि पेटमा बच्चा चलेन। दिउँसोदेखि बच्चा नचलेपछि सात/आठ बजेतिर सिभिल अस्पताल गयौँ। डाक्टरले डार्क चक्लेट खान दिए। त्यो चक्लेट खाएपछि भने बच्चा चल्यो। 

त्यसको पर्सिपल्ट अफिसबाट फर्किसकेको थिएँ। मलाई अलिअलि पेट दुखेजस्तो भएको थियो। राति ९ बजेतिर भने व्यथा लाग्यो। आमा कपनमा हुनुहुन्थ्यो। व्यथा लागेको कुरा आमालाई सुनाएँ। कम हुने, दुख्ने भइरहेको थियो। कोभिडको कारणले झ्याप्पै अस्पताल जाने आँट पनि आएन। 

राति श्रीमानलाई सुनाएँ। उहाँले हस्पिटल जाउँ भन्दा भोलि जाउँला भनें। आमाले बिहान खाना बनाउनुभयो। खाना पनि खायौँ। त्यही दिन आफन्त बहिनीको विवाह थियो । विवहामा सहभागी हुँदै त्यतैबाट अस्पताल पुगियो। अस्पताल पुग्दा मेरो चार घर खुलिसकेको रहेछ। 

श्रीमान् साथमै हुनुहुन्थ्यो। तर बच्चा समाइदिने मान्छे चाहिन्छ भन्ने लाग्यो। मैले अफिसको साथी मीरा भण्डारीलाई फोन गरेर बोलाएँ। उहाँ तुरुन्तै आइपुग्नुभयो। 

अस्पताल पुगेको तीन घण्टापछि मैले नर्मल रूपमै छोरीलाई जन्म दिएँ। लिङ्ग पहिचान गरेको थिइनँ। तर मलाई छोरी नै जन्मियोस् भन्ने चाहना थियो। चाहेकै कुरा पूरा हुँदा खुसी नहुने कुरै भएन। 

म दोस्रो बच्चा गर्भमा आउदाँदेखि नै आनन्द मनाइरहेकी थिएँ। आवश्यक सहयोगका लागि सहयोगी हुनुहुन्थ्यो। अन्य सहयोग श्रीमानले नै गर्नुभयो। छोराको पालामा पाएको दु:ख बिर्सने गरी म दोस्रो पटक सुत्केरी हुँदाको भरपुर आनन्द लिन चाहन्थेँ। 

श्रीमानले पनि सक्दो सहयोग गर्नुभयो। छोराछोरीसँगै मेरो खाना, उठ्न, बस्न पनि खुबै ख्याल राख्नुभयो। छोरी जन्मेको पाँच महिनापछि मात्र कार्यालय गएँ। 

अहिले हामी श्रीमान-श्रीमती पालो गरेर कार्यालय जाने र छोराछोरी हेर्छौँ। उहाँ बिहान क्याम्पस पढाउन जानुहुन्छ म दिउँसो अफिस जान्छु। हामी दुवै जनाले नभ्याएको दिन मेरो माइतीमा लगेर छोराछोरी छोड्छौँ। 

छोरी जन्मिएपछि श्रीमानको बच्चाप्रतिको लगाब बढेको महसुस गरेकी छु। छोरी उहाँसँगै नजिक छिन्। अहिले १५ महिनाकी भइन्। छोरा अलि बढी मसँग नजिक छ। 

०००
बच्चा जन्मिएपछि जिन्दगी अलि फरक तरिकाले बग्दोरहेछ। आमा-बाबु बन्नु भनेको नाता सम्बन्ध बढ्नु मात्र होइन, लगानी, लगाव, चाहना पनि बढाउनु रहेछ। आमाले यही गर्छु, यही गर्दिनँ भन्ने केही नहुने रहेछ। 

कहिलेकाहीँ मध्यरातमा खानेकुरा बनाउन किचन छिर्नुपर्छ। कहिले रातैभरि नसुती बस्नुपर्छ। बच्चा जस्तै बनेर खेल्नुपर्ने रहेछ। तर जे गरे पनि रमाइलो मात्र लाग्ने। आफ्नो बच्चाले गरेको सबै काम राम्रो लाग्ने। 

छोरी जन्मिएपछि श्रीमानले पनि उत्तिकै मिहिनेतका साथ बच्चाको ख्याल गर्नुहुन्छ। खाना बनाउने, खुवाउनेदेखि डाइपर चेन्ज गर्न पनि अघि सर्नुहुन्छ। 

खासमा छोराछोरी हुनु भनेको सुन्दर सपनाको कल्पना गर्नसक्ने बन्नु पनि रहेछ। छोराछोरी हुर्काउनमा आमा–बुबा दुवैले मिहिनेत गरे उनीहरु पनि खुसी हुने रहेछन्। यो काम भन्दा पनि आमा-बाबु बन्नु भनेको तपस्या गर्नुजत्तिकै निरन्तर मिहिनेती बन्नु रहेछ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....