इन्टेरियर डिजाइनर सपनाको प्रसव पीडा र खुसी : अपरेसन थिएटरमा आफ्नै पेट चिरेको आवाज कानमा गुन्जियो

इन्टेरियर डिजाइनर सपनाको प्रसव पीडा र खुसी :  अपरेसन थिएटरमा आफ्नै पेट चिरेको आवाज कानमा गुन्जियो

छोटै समयमा इन्टेरियर डिजाइनिङमा आफ्नो पहिचान बनाउन सफल सपना सापकोटा बेला कासा र नेस्ट फर्निचरकी कार्यकारी निर्देशक हुन्। 

१६ वर्षअघि जयन्त भुषालसँग वैवाहिक सम्बन्ध गाँसेकी सपनाले विवाह गरेको तीन वर्षपछि जुम्ल्याहा छोराछोरी जन्माइन्। पेटमा जुम्ल्याहा बच्चा छन् भन्दा सुरुमा उनी निकै डराएकी थिइन्।

सुत्केरी भइसकेपछि पनि विभिन्न स्वास्थ्य समस्या आएर २१ दिन अस्पताल बस्नु परेको तितो अनुभव मात्र होइन, छोराछोरी सात वर्षको हुँदा आफू ब्लड क्यान्सरबाट संघर्ष गर्नुपर्दाको पीडा भोगेकी छिन् उनले। प्रसव अवस्था र त्यसपछिका पीडा तथा खुसी उकेरामार्फत सपनाले यसरी पोखिन्ः 

विवाह गर्दा मेरो पढाइ चलिरहेको थियो। त्यही भएर पढाइ सकेपछि मात्र बच्चा जन्माउने हाम्रो सोच थियो। दुई वर्षमा पढाइ सकियो। त्यसपछि बच्चाको प्लान गरौं भन्ने सोचाइ आयो। त्यसैका लागि हामी डा. विमला मल्लसँग सल्लाहको लागि गएका थियौं।

संयोग नै भनौं, त्यही बेला मेरो दुई महिनादेखि पिरियड भएको थिएन। हामीले बच्चाको प्लान गर्ने सोच्दासोच्दै गर्भ बसिसकेको रहेछ। म यसलाई रमाइलो संयोगको रुपमा लिन्छु। तर मैले पछिल्लो पटक महिनावारी कहिले भएको ठ्याक्कै मिति भने भन्न सकिनँ।

डा. मल्लले एक पटक अल्ट्रासाउन्ड गरेर हेर्न सल्लाह दिनुभयो। जीवनमा कल्पना नै नगरेको कुरा भयो, मेरो पेटमा त जुम्ल्याहा बच्चा रहेछन्। हामी श्रीमान-श्रीमती छक्क परेर एकअर्कालाई हेरेर बस्यौं।

क्लिनिकबाटै बुबा (ससुरा) लाई फोन गरेर प्रेगनेन्सीको कुरा सुनाएँ। उहाँले गुड भन्नुभयो। पेटमा जुम्ल्याहा बच्चा छन् भन्दा गुड, भेरी भेरी गुड भन्नुभयो। अहिलेसम्म परिवारमा कसैको जुम्ल्याहा बच्चा जन्मेको थिएन। 

म सानैदेखि बच्चा भनेपछि भुतुक्कै हुन्थें। घरमा म र बहिनीबीच १२ वर्षको फरक थियो। बच्चाहरुसँग बस्दा मलाई साह्रै मज्जा लाग्थ्यो। विवाह गरेपछि नै पढाइ सक्नासाथ करिअरभन्दा पहिले बच्चा पाइहाल्नुपर्छ भन्ने लाग्थ्यो। मेरो पहिलो प्राथमिकता बच्चा अनि मात्रै करिअर थियो। 

दिदीबहिनी, साथीहरुबाट प्रेगनेन्सीका बेला गाह्रो हुने, खान नरुच्ने, वाकवाकी लाग्ने र महिनौं बेड रेस्ट गर्नुपर्ने कुराहरु सुन्दै आएकी थिएँ। जुम्ल्याहा बच्चा भएपछि त मलाई दोब्बर गाह्रो हुने भयो भन्ने लाग्यो। कसरी ९ महिना कटाउने होला भन्ने डरले सताउँथ्यो।

अचम्म! उहाँहरुले भने जस्तो मलाई खासै केही गाह्रो, अप्ठ्यारो अनुभव भएन। भोमिट पनि भएन, खाना एलर्जी, नरुच्ने केही भएन। जस्तो थिएँ उस्तै। मात्र मेरो तौल बढिरहेको थियो। पेटको आकारले ठूलो रुप लिँदै थियो। मेरो तौल ८६/८७ किलोसम्म पुग्यो। जो पनि पेटमा जुम्ल्याहा छ? भनेर सोध्थे।

हरेक पटक डाक्टरकहाँ जँचाउन जाँदा जुम्ल्याहाको ममी आयो भनेर मलाई नै पहिला पठाइदिनुहुन्थ्यो। सबै कुरा नर्मल नै थियो। तर मेरो मनमा भने सयौं कुरा खेलिरहने। एक्लै हुँदा र राति सुत्ने बेलामा मेरो मनमा दोहोरी चल्थ्यो। जुम्ल्याहा बच्चा हुँदा टाउको, हातखुट्टा, जिउ जोडिएको, कुनै अंग नभएका जस्ता कुराहरु दिमागमा आइरहने। सकरात्मक सोच्छु भन्दाभन्दै नेगेटिभ कुराहरुले गाह्रो बनाइरहन्थ्यो। म मानसिक रुपमा निकै कमजोर हुन्थें। बच्चा पेटबाट निकालेर मैले नहेरुञ्जेल मलाई यी कुराले तनाव दिइरहे।

 

०००
डाक्टरले दिएको समयतिर बिहान मलाई पेट दुख्यो र वाटर फल पनि भयो। त्यतिबेला के भएको हो भन्ने बुझ्न सकिनँ। डाक्टरलाई फोन गरेपछि पाटन हस्पिटलमा बोलाउनुभयो। मलाई सुरुदेखि नै अप्रेसन गर्नुपर्छ भन्नुभएको थियो।

जुम्ल्याहा बच्चा हुँदा एउटा टाउको तल र अर्काको खुट्टा तल पारेर पेटमा बसेको हुँदो रहेछ। डेलिभरीको समयमा जे हुन्छ, भगवानको मर्जी भनेर बसेको थिएँ। म भन्दा पहिला डेलिभरी हुनेको पनि जुम्ल्याहा बच्चा नै रहेछ, दुवै छोरी। डाक्टरहरु आज जुम्ल्याहा बच्चा मात्रै जन्मने दिन हो कि क्या हो भनिरहेको सुन्थें।

अपरेसन थिएटरमा आफ्नै पेट चिरेको आवाज कानमा गुन्जिरहेको थियो। एकैछिनमा क्वाँ, क्वाँ बच्चा रोएको आवाज आयो। यसो हेर्दा त गोरी, कर्ली कपाल भएकी हिस्सी परेकी छोरी। त्यो बेलाको सुखद पल कसरी बयान गरुँ? त्यसको दुई मिनेटमै आँखा ठूलोठूलो भएको कालो वर्णको छोरा निकालेर देखाए।

मलाई विश्वास नै लागेको थिएन, एउटै पेटमा ९ महिनासँगै बसेका बच्चा यति फरक हुन्छ र? मेरो बच्चा नै होइन कि? मैले डाक्टरलाई दुवै मेरै बच्चा त हो नि भनेर सोधेको पनि थिएँ। पछि कपडामा बेरेर ल्याएपछि दुई जना बच्चालाई मैले ठूलै लडाईं जितेर ल्याएजस्तो महसुस भयो।

०००
हस्पिटलमा चार दिन बसेर घर फर्कियौं। तीन दिनमा मलाई ज्वरो आए जस्तो भयो तर मैले कसैलाई भनिनँ। जिउ फेर्दा कहिलेकाहीँ यस्तो हुनु सामान्य होला भन्ने लाग्यो। 

घर आएको भोलिपल्ट मलाई धेरै नै गाह्रो भयो। श्रीमानसँग मलाई अहिले नै हस्पिटल लानु, श्वास फेर्ने गाह्रो भयो भनें। उहाँले छिटोछिटो गाडी चलाएर हस्पिटल लानुभयो। किड्नी, लिवर तथा फियो सुन्निएको रहेछ। बच्चाहरुले थिचेर सुन्निएको। इन्फेक्सन नै भइसकेको रहेछ।

ज्वरो १०२/१०३ बाट नघट्ने। बाल्टिनका बाल्टिन पानी खन्याएर नुहाएको जस्तो पसिना आउने। कतिपयले सुत्केरीलाई नुहाइदिनुभयो कि क्या हो पनि भन्थे। कम्लिकेट छ भनेपछि भर्ना गरियो। श्रीमान्, आमा, सासु र दुई जना बच्चा लिएर फेरि हस्पिटलमै फर्किैयौं। २१ दिनसम्म एन्टिबायोटिक्स आइभीबाट दिनुपर्यो। २१औं दिनमा म घर फर्केर २२औं दिनमा बल्ल न्वारन गरियो।

हस्पिटलमा बस्दा मेरी आमा धेरै रुनु हुने रहेछ। डाक्टरले सुरुमै तपाईंको छोरीलाई बचाउने हो भने भर्ना गरिहाल्नु भन्नुभएको रहेछ। 

०००
बच्चाहरु ७ वर्ष हुँदा मलाई ब्लड क्यान्सर भयो। डाक्टरले ३० प्रतिशत मात्रै बाँच्ने चान्स छ भनेका थिए। चार महिना निरन्तर हस्पिटल बसें। मेरा बच्चाहरु १५/२० दिनको एक पटक हस्पिटलमा मलाई हेर्न आउँथे। कपाल झरेपछि मलाई बच्चाले नचिन्लान् भन्ने साह्रै पिर पर्थ्यो। म बसेको अर्को कोठामा कपाल नभएपछि बच्चाले आमालाई नचिनेको कुराले मलाई नरमाइलो लागेको थियो।

कपाल झरिसकेपछि म टोपी लगाएर बसिरहेको थिएँ। छोरीले मामु हजुरको कपाल झर्यो। मामु झन् राम्री देखिनुभएको छ भन्दा मैले आफूलाई सम्हाल्नै सकिनँ। छोराछोरीकै अगाडि क्वाँ, क्वाँ रोएँ। छोरी त मेरी आमा नै जस्तो लाग्छ। बेग्लै खालको इमोसनल टच छ। छोराछोरीले बुझिदिंदा जीवनको बुझाइ नै अर्को हुने रहेछ। 

प्रसवदेखि क्यान्सरका दिनहरु हेर्दा भगवानले जे गर्छन्  राम्रैका लागि गर्छन् भन्ने लाग्छ। बच्चा पाएपछि विभिन्न समस्या देखापरे। क्यान्सर भयो। यी समस्यालाई जितेर आएपछि जीवनको सोच र गति नै फरक भयो। बाँच्ने कला नै फरक भयो। जिन्दगीलाई हेर्ने नजरिया नै फरक बन्यो।

छोराछोरी आएर मामु मात्रै भनिदिंदा पनि कति खुसी छाउने। आमा बनेपछि संसारका हरेक दुःख र पीडालाई जित्न सक्ने क्षमता वृद्धि हुँदै जाँदो रहेछ। दुई/दुई पटक डाक्टरले चान्स कम छ भनेको केसमा म आमा भएकै कारण जिते जस्तो लाग्छ।

रोगलाई जित्ने हो भने आत्मविश्वास बलियो हुनुपर्ने रहेछ। म मरें भने मेरा बच्चाहरु अनाथ हुन्छन्। उनीहरुको जीवन नर्क बन्छ भन्ने सोचले नै मलाई रोगसँग लड्ने क्षमता दियो। म आज बाँच्नु नै उनीहरुप्रतिको माया र कर्तव्यले जितेको हो जस्तो लाग्छ।

यो पनि

१० असोज, २०७८, १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।