इन्जिनियर सुष्माको प्रसव पीडा र खुसी : डाक्टरले नै खेर गयो भनेको बच्चाले पुनर्जीवन पाउँदा...

इन्जिनियर सुष्माको प्रसव पीडा र खुसी : डाक्टरले नै खेर गयो भनेको बच्चाले पुनर्जीवन पाउँदा...

इलेक्ट्रोनिक्स इन्जिनियर। यतिले मात्र सुष्मा खत्री रञ्जितको परिचय खुल्दैन। इन्जिनियरिङका अलावा साहित्य र पत्रकारितामा पनि सक्रिय छिन् उनी। २०४६ सालको जनआन्दोलनताका उनी ‘अस्मिता’ पत्रिकामार्फत पत्रकारिता गरिरहेकी थिइन्।

धेरै पत्रपत्रिकामा उनका थुप्रै लेख-रचना प्रकाशित हु्न्छन्। घर, इन्टेरियर, बगैंचा लगायतका विषयमा उनको कलम चल्छ। ‘टेवा’ नामक बुलेटिनको सम्पादक भएर समेत काम गरिसकेकी सुष्मा अहिले भने इन्जिनियरिङ क्षेत्रमै बढी व्यस्त छिन्।

रसियामा इन्जिनियरिङ पढ्दा एक वर्ष सिनियर सुमन रञ्जितकारसँग प्रेम सम्बन्ध भएपछि नेपाल आएर विहे गरेकी सुष्माका दुई वटी छोरी छन्। ठूली छोरी बायोलोजीमा मास्टर गर्दैछिन् भने सानी छोरी कम्प्युटर साइन्समा डिप्लोमा पढ्दै छिन्।

गर्भवती हुँदाका थुप्रै पीडाका अनुभव छन् सुष्मासँग। डाक्टरको लापरबाही, कामकाजी हुँदाका अप्ठ्यारो र शारीरिक रुपमा पीडा पनि भोगेकी छिन् उनले। सुष्मा खत्री प्रसवका पीडा र मातृत्वको खुसी उकेरासँग यसरी साट्छिन्ः

रसियाबाट सन् १९९५ मा नेपाल फर्कनासाथ मैले पाटनढोकामा इलेक्ट्रोनिक्स फ्याक्ट्रीमा काम पाइहालें। मैले त्यहाँ क्वालिटी कन्ट्रोल इन्जिनियरको रुपमा ४ सय जना कर्मचारीलाई हेर्नुपर्थ्यो।

अफिसले मलाई निश्चित समयसम्म काम छोड्न नपाउने र निश्चित समयसम्म विहे पनि गर्न नपाउने सम्झौता गराएको थियो। मैले चुपचाप कागजातमा सही गरिदिएँ। त्यति बेलासम्म विहे गरिहाल्ने सोच पनि थिएन।

कामप्रतिको लगावका कारण जागिर खाएको ६ महिनाभित्रै अफिसबाट मलाई तीन महिनाको लागि प्रशिक्षणमा जर्मनी पठाउने भयो। तर घरमा मैले नेवार केटो मन पराएको थाहा भएर समस्याहरु आए। हामीले विहे गरिहाल्नुपर्ने अवस्था आयो।

जीवनभन्दा जागिर ठूलो हुने कुरा पनि भएन। हामीले कोर्ट म्यारिज गर्यौं र पछि मन्दिरमा परिवारका साथ टीकाटालो गरियो। कागजी सम्झौता जस्तो भए पनि अफिसले मलाई गुमाउन चाहेन र जर्मनीमा तालिमका लागि पठायो।

०००
जर्मनीबाट नेपाल फर्केपछि बच्चा जन्माइहाल्ने सोच आयो। नेपाली समाज, विहेपछि बच्चा खोजिहाल्ने। साथमा मेरो उमेर पनि बढ्दो थियो। २८ वर्ष भइसकेकी थिएँ। त्यसैले बच्चाको प्लान गरिहाल्यौं।

गर्भवती भएको थाहा पाएपछि मेरो मन त्यसैत्यसै नाच्यो। हाम्रो मायाको सिर्जना मेरो पेटभित्र हुर्किरहेको छ भन्ने सोचाइले साह्रै रमाइलो लाग्यो।

हामी ढोलाहिटीमा बस्थ्यौं, श्रीमानको अफिस महाराजगञ्ज। घर-अफिस गर्न सजिलोका लागि मैले बालकुमारीमा स्कुटर सिक्न थालें। त्यतिबेला तीन महिनाको गर्भ थियो मेरो पेटमा। के गडबड भएछ कुन्नि, ब्लिडिङ हुन थाल्यो।

ननस्टप रगत बगेपछि पाटन हस्पिटलमा गयौं। भिडियो एक्स-रे गराउँदा डाक्टरले बच्चा खेर गइसक्यो, अर्बोसन गराउनु भने। म यति धेरै अत्तालिएँ की श्रीमानले सम्हालेर बाहिर ल्याउनुभयो। तर हामीले आश मारेनौं र त्यहाँबट सर्वाङ्ग हस्पिटलमा डा. सानुमैंया दलीलाई देखाउन गयौं।

उहाँले फेरि भिडियो एक्स-रे गर्नुभयो। तर उहाँको जवाफ अघिल्लो डाक्टरको भन्दा फरक थियो। मलाई अहिले पनि डा. दलीले भनेको याद छ- बच्चा अझै जीवित छ तर बचाउने हो भने मैले भने जस्तै गर्नुपर्छ। उहाँको यो कुराले मलाई पुनर्जीवन पाएको महसुस भयो। मैले आश मारिसकेको मातृत्व फेरि जाग्यो।

उहाँकै सल्लाह बमोजिम मैले तीन महिनासम्म पूरा बेड रेस्ट गरें। त्यो बेला भएको ब्लिडिङ सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ। डाक्टरकै सल्लाह अनुसार हप्ताको एक पटक हर्मोनको इन्जेक्सन लगाउन हस्पिटल जान्थें। एक पटक इन्जेक्सन दिंदा १५ सय पर्थ्यो। महिनाको ६ हजारको त इन्जेक्सन मात्रै दिएँ।

०००
हामी संयुक्त परिवारमै बस्थ्यौं। सासु पहिले बितेकोले सानीमा सासु, जेठानीहरु घरमै हुन्थे। तर केही सहयोग नगर्ने। बिहानै श्रीमानले खाना तयार गरेर खाटको मुनि राखेर जानुहुन्थ्यो। मलाई यताउता चल्ने अनुमति थिएन। यसरी कोठामै खाना खाँदा मैले धेरै कटु वचन सुन्नुपर्यो। तर मैले ती कुरालाई मनमा लिइनँ। यस्ता कुराको तनाव लियो भने पेटको बच्चालाई असर पर्छ भन्ने थाहा थियो।

६ महिना लागेपछि अफिस जान थालें। बिहान र बेलुका ट्याक्सीमा जान्थें। महिनाको ३५ सय रुपैयाँ त ट्याक्सीमै खर्च हुन्थ्यो। मेरो तलब जम्मा ४५ सय थियो।

अफिस गएको १० दिनपछि फेरि उस्तै ब्लिडिङ भयो। अब चाहिँ पक्कै बच्चा गयो भन्ने लाग्यो। अत्तालिएर हस्पिटल गयौं। फेरि एक महिना पूरै बेड रेस्ट। म चुप लागेर बस्नै नसक्ने। बेड रेस्टको चार महिना जेलमा बसेजस्तो भयो। बच्चा राम्रो होस् भन्ने मात्रै लाग्थ्यो।

८ महिना लागेपछि फेरि अफिस गएँ। दुई महिना धेरै नै काम गरें। भुईंतलादेखि पाँचौं तलासम्म ओहोर-दोहोर गरिराख्नुपर्थ्यो।

०००
डाक्टरले दिएको समय नजिकिँदै थियो। अफिस जान तयार हुँदै थिएँ। एक्कासि पेट दुख्न थाल्यो। बेस्सरी पेट दुख्दै गएपछि हस्पिटल लगियो। पाटन हस्पिटलमा भर्ना गरेपछि ममी आइ पुग्नु भयो। खुब पेट दुख्यो। त्यही रहेछ प्रसव पीडा।

म यति छट्पटाएँ की अब मर्छु भन्ने लाग्यो। मलाई आमाको हात समाएको याद छ। बिहानदेखि व्यथा लागेर छटपटिएको मलाई बल्ल ७ बजे अर्को कोठामा लगियो। कोठा एकदमै चिसो थियो। जाडोले काम्दै थिएँ, एसी चलाएको रहेछ।

म जस्ता धेरै व्यथा लागेका महिलालाई देखेपछि मलाई भित्र प्रसूति रुममा लगेको थाहा पाएँ। कोही रुँदै थिए। कोही चिच्याउँदै थिए। म भने लाजले आवाज नआउने गरी रुँदै थिएँ।

मैले प्राकृतिक तरिकाले नै बच्चा जन्माएँ। त्यत्रो रगत खेर गएर पनि स्वस्थ बच्चा जन्माउन पाउँदा खुसीको सीमा रहेन। बच्चालाई मेरो हातमा दिंदा मेरो आँसु थामिएन। बच्चा त ठ्याक्कै गुडिया जस्तै।

०००
सुत्केरी बिदा जम्मा ५२ दिन पाइन्थ्यो। त्यो ५२ दिन छोरीलाई राम्ररी हेरें। पहिले पनि धेरै बिदा लिइसकेको थिएँ। बेतलबी बिदा पनि धेरै लिइसकेको थिएँ।

बिदा सकियो। घरमा कसैले बच्चा नहेरिदिएकाले काम गर्ने राखेर अफिस जान थालें। ठूली छोरी हुर्काउने बेला १८ जना त काम गर्नेहरु फेरें। घरकाले काम गर्नेलाई पनि बस्ने वातावरण नै नदिने रहेछन्। म साह्रै हैरान भएँ। करिअर नै डामाडोल हुने पो हो की भन्ने चिन्ता भयो।

अफिसबाट दिउँसो खाजा खाने समयमा बच्चालाई दूध खुवाउन घर आउँथें। घरमा बच्चा सुतिरहेको बेला दूध बोटलमा निचोरर तातोपानीमा डुबाएर फर्कन्थें। तीन महिनापछि त बच्चालाई पुल्चोकको फस्ट स्टेप बेबी केयरमै राखें।  

कामकाजी आमाका लागि बच्चा र करिअर एकैचोटी अघि बढाउनुपर्दा धेरै नै गाह्रो हुन्छ।

एक पटक डे केयरमा बिदा थियो। आफू पनि छोरीसँग घरमै बस्न बिदा माग्दा बिदा दिइएन। हतार-हतार छोरीलाई माइतीमा छोडेर अफिस जानुपरेको थियो। मेरो अफिस ९ बजे, त्यसैले बच्चालाई ८ बजे नै खुवाएर लानुपर्ने। कति पटक त भोमिट गर्दागर्दै कोच्याएर हिँड्नुपरेको अनुभव पनि छन्।

०००
मलाई बच्चा साह्रै मन पर्ने। त्यसैले दुई वटा त चाहिन्छ भनेर छोरी चार वर्षकी भएपछि अर्को प्लान गर्यौं। खासै केही समस्या आएन। खाना धेरै खान नसक्ने तर बच्चालाई चाहिन्छ भनेर ड्राइफुड र फलफूल भने धेरै खान्थें। भात चाहिँ खानै नसक्ने। आलु भएपछि केही नचाहिने। अरुलाई जस्तो वाकवाकी पनि भएन।

सानो छोरीको पालामा त अफिसबाट काम गर्दागर्दै नियमित चेकअप गर्न जाँदा डाक्टरले आजै बच्चा जन्मन्छ भन्नुभयो। ठूली छोरीलाई माइती पुर्याएर सबै सामान ल्याएपछि भर्ना भएर बसें। साँच्चै राती १० बजे नै बच्चा जन्मियो। सुरुको बेला जस्तो धेरै व्यथा पनि लागेन।

५२ दिनको सुत्केरी बिदा बसेर फेरि आफ्नो काममा फर्कें। ठूली त स्कुल जान्थी। तर सानीलाई खाजा खाने बेलामा दूध खुवाउन आउँथे।

एक पटक ठूली छोरी स्कुलबाट फर्किएपछि खाटमा उफ्रँदा घाउ भएछ। काम गर्ने बहिनीले फोन गरेर खबर गरिन्। हामी दगुरादगुर गरेर घर पुग्यौं। उसले पुतलीको लुगाले घाउ छोप्दै थिई। हस्पिटल लैजाँदा त सात टाँका लगाउनुपर्यो। पछि फेरि त्यसमा १० टाका लगाउनुपर्यो।

करिअरका कारण मैले दुवै छोरीलाई १/२ वर्ष आफ्नो दूध खुवाउन पाइनँ। दिनभरि छोडेको बच्चालाई घर आएर दूध खुवाउन खोज्दा खानै मानन्ने। आफूले चाहे जस्तो बच्चालाई केयर गर्न सकिनँ भनेर अहिले पनि पीडा हुन्छ।

२३ जेठ, २०७८, १३:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।