विवाह गर्नुअघि नै हामीले मेरो इन्टर्नसिप सकेपछि मात्र बच्चा जन्माउने योजना बनाएका थियौं। त्यसैले विवाह गरेको ३ वर्षपछि बच्चाको प्लान गर्यौं। त्यति बेला मैले टिचिङमा इन्टर्नसिपमा काम गर्थें।
म गर्भवती भएपछि हामी श्रीमान्-श्रीमती नै दंग भयौं। परिवारबाट पनि विवाह गरेको लामो समय भइसक्यो, करिअरसँगसँगै परिवार पनि बढाउनुपर्छ भन्ने दबाब आइरहेकाले म आमा बन्ने भएपछि खुसी छाएको थियो घरमा।

गर्भ बसेको पहिलो ३/४ महिना साह्रै गाह्रो भयो। डिल्लीबजारबाट टिचिङसम्म पुग्दा भोमिट गर्दै जान्थें। मेरो गोजी र ब्यागभरि प्लास्टिक ब्यागहरु हुन्थे। प्रेगनेन्सीभन्दा अगाडि मेरो तौल ४१ केजी थियो। तर खाएको पेटमा नअडिएर होला, ३ महिना पुग्दा घटेर ३७ केजीको भएँ।
बच्चा जन्मने दुई महिनाअघिदेखि पूरै घरमै बसें। त्यतिबेला इन्टर्नसिप सकिएको थियो। बच्चा पाउनुअघि नयाँ काम के गर्ने भन्ने लाग्यो। पेटमा बच्चा ३६ हप्ताको हुँदै थियो आराम गर्दै थिएँ।
अचानक पानी बग्न थाल्यो। त्यसपछि मलाई मोडल हस्पिटल लगियो। व्यथा नलागेर एक दिन त्यत्तिकै राखियो। भोलिपल्ट व्यथा लाग्ने इन्जेक्सन दिएर नर्मल डेलिभरी गराइयो।
श्रीमान् पनि मोडल हस्पिटलमै डाक्टर हुनुहुन्थ्यो। त्यसैले श्रीमानलाई सँगै राखेर, उहाँको हात समाएर बच्चा जन्माउन पाएँ। डा. अरुणा कार्कीले नै सँगै बस भनेर राख्नुभएको थियो।
मेरो विचारमा हरेक महिलाले आफ्नै श्रीमानको अगाडि बच्चा जन्माउन पाउनुपर्छ। यसले महिलाको भावनालाई अझै नजिकवाट चिन्ने मौका मिल्छ।
बच्चा जन्माउने बेला असह्य हुनेगरी दुख्छ भन्ने मलाई थाहा थियो। मलाई पनि धेरै दुखिरहेको थियो। तर योभन्दा अझै दुख्छ होला भन्ने सोच्दासोच्दै छोरी जन्मिहालिन्। मैले एक पटक पनि आवाज ननिकाली बच्चा जन्माएको देखेर डा. अरुणा कार्कीले अहिलेसम्म यस्तो सुत्केरी देखेकै छैन भन्नुभयो।
३६ हप्तामै जन्मे पनि बच्चा नर्मल थियो। तर मेरो परिवारमा भने समस्या आइपर्यो। त्यही दिन ससुराको हार्टयाट्याक भएर नर्भिक हस्पिटलमा भर्ना गरियो। यता नातिको आगमन उता हजुरबुबा हस्पिटल। माहोल तनावपूर्ण थियो। उहाँलाई अप्रेसनको लागि गंगालाल अस्पताल लगियो। छोरी २० दिनकी हुँदा ससुराबा बित्नुभयो।
पारिवारिक तनावको कारण मैले सुत्केरी स्याहार धेरै पाइनँ। घरमा काम गर्नेको भरमा थियौं आमा-छोरी। परिवारका सबै पशुपतितिरै हुन्थे। ससुराको चोख्याएपछि बल्ल माइती गएँ। महिना दिनपछि मात्रै सुत्केरीझैं बस्न पाएँ।

छोरी जन्मेदेखि नै धेरै रुन्थिन्। जति पटक दूध खुवायो, त्यति पटक नै दिसा गरिहाल्ने। दिनमा २१/२२ पटक दिसा गर्थिन् छोरीले। घरमा, माइतीमा सोध्दा जाडो महिना भएकोले चिसो लागेर हो भन्थे।
म रात-दिन उसलाई हिटर, घाम, आगोमा सेकाइराख्थें। जति गरे पनि कम नभएपछि डाक्टरकहाँ देखाउँदा पो थाहा भयो, उसलाई ल्याक्टोस नपच्ने रहेछ। ल्याक्टोस आमाको दूध, बट्टाका दूधमा पनि हुने रहेछ। त्यही कारण दूध खायो कि दिसा लागिहाल्ने रहेछ।
कस्तो आपत्, भर्खर जन्मेको बच्चालाई आमाले दूध पनि खुवाउन नमिल्ने। सोयामिल्क खुवाउन मिल्थ्यो तर अहिले जस्तो सजिलै नपाइने। भारतबाट मगाएर पनि खुवाइयो। जाउलो, लिटो खान थालेपछि मात्रै सजिलो भयो।
छोरीलाई दूध खुवाउन नपाउँदाको पीडा, दूध निचोरेर फ्याल्नुपर्दाको पीडा खपिनसक्नुनै हुने रहेछ।
छोरी ४५ दिनकी भएपछि मोडल हस्पिटलमा काम गर्न जान थालें। नाइट ड्युटी पनि गर्न थालें। छोरीलाई सासुआमाले हेर्नुहुन्थ्यो।
०००
मैले १८ महिनाको ग्यापमा छोरा जन्माएँ। ससुरा बित्नु भएपछि दोस्रो बच्चाको लागि सासुले एकदमै रहर गर्नुभयो। घरमा मान्छे बितेको एक वर्षभित्र गर्भवती भयो भने मरेको मान्छेले फेरि जन्म लिन्छ भन्ने चलन रहेछ। सासुको इच्छालाई हामीले मान्यौं। त्यो बेला प्रेसर जस्तै लागे पनि बच्चा सँगसँगै हुर्कँदा सजिलो भएजस्तो लाग्छ।
दोस्रो प्रेगनेन्सीमा पनि उस्तै, ननस्टप भोमिट भइरहने। खाना खाएर बेसिनसम्म पुग्न समेत नभ्याउने, निस्किहाल्ने। अरु समस्या खासै भएन।
डाक्टरले समय दिएको आसपासतिर बिहान ५ बजे व्यथा लागेजस्तो भयो र हस्पिटल गयौं। छोरा १० बजे जन्म्यो र ५ बजे त घरै फर्किहाल्यौं। घरमा सासुले ‘१० देखि ५ सम्मको ड्युटी गरेर आएजस्तै गरेर बच्चा जन्माएर आइन्’ भनेको मलाई अझै याद छ।
०००
सुत्केरी नर्सले ८ महिनासम्म नाइट ड्युटी गर्नु नपर्ने नियम रहेछ। तर महिला डाक्टरको लागि त्यस्तो नियम थिएन। मैले छोरीको पालामा पनि ४५ दिनदेखि नै नाइट ड्युटी गर्दै आएको थिएँ। मोडल हस्पिटलको प्रशासनसँग लडेर अधिकार लिएँ। पछि डाक्टरलाई पनि ८ महिनासम्म नाइट ड्युटी गर्ने नपर्ने नियम लागू भयो। मैले लडेरै छोराको पालामा ८ महिना नाइट ड्युटी गरिनँ।
करियर, पढाइ र बच्चालाई सँगसँगै लगिरहेको थिएँ। छोरा ९ महिनाको भएपछि दुवै बच्चा लिएर जापान गयौं। जापानमा हामी श्रीमान्-श्रीमती नै पिएचडी गर्न जापान गएका थियौं। श्रीमानले न्युरो सर्जरीमा र मैले न्युरोलोजीमा पिएचडी गर्यौं।
.jpg)
दुवैजना पढ्न जानुपर्ने हुँदा छोराछोरी दुवैलाई बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म डे केयरमा राख्यौं। जापानमा नजिकै जानको लागि साइकल बढी प्रयोग हुन्थ्यो। कहिले म त कहिले डा. प्रवीण एक जना बच्चालाई अगाडि क्यारियरमा र अर्कोलाई पछाडि राखेर डे केयर लिन र पुर्याउन जान्थ्यौं। मलाई चाहिं दुई बच्चालाई साइकलमा राखेर लैजाँदा साह्रै डर लाग्थ्यो।
कहिले कलेज मात्रै के पुगेको हुन्थें, बच्चा बिरामी भयो भनेर फोन आउँथ्यो। त्यति बेला साह्रै अप्ठ्यारो पनि भयो। नेपालमा भएको भए बच्चाहरु हजुरआमा, आफन्तहरुसँग घरमै हुन्थे भन्ने लाग्थ्यो। तर करिअरलाई पनि त बीचैमा छोड्नु भएन।
हामी जापानमा ४ वर्ष बस्यौं। श्रीमान् मभन्दा एक वर्षअघि नेपाल फर्कनुभयो। उहाँ फर्कंदा छोराछोरीलाई सँगै ल्याउनुभएकोले त्यो एक वर्ष मेरो लागि ठूलो सकस भयो। तर भिडियो चाटिङमा बच्चाहरुसँग भिडियो हेर्दै कुरा गर्दा भने मन सम्हालिन्थ्यो।
एक्लै हुँदा एकदमै बच्चा सम्झिने। रुन मात्रै मन लाग्ने। आमा भएपछि मान्छेको सोचाइदेखि दृष्टिकोण नै फरक हुने रहेछ। बच्चा पाउनुअघि कस्तो थिएँ, अहिले कस्तो भएँ जस्तो लाग्छ।
गर्भवती हुँदा र बच्चा पाउँदा भएको गाह्रो बच्चा हुर्काउँदा सबै बिर्सिने रहेछ। कहिलेकाहीँ गाह्रो हुँदा बच्चाहरुलाई फेरि पेटभित्रै छिराउन पाए हुन्थ्यो जस्तो लाग्थ्यो। पेटभित्र भए आफू जता गयो उतै हुन्छन्, ढुक्क हुन्छ जस्तो लाग्थ्यो।
अहिले छोरी प्राज्ञी १२ कक्षा पढ्दै छिन् भने छोरा प्राज्ञेश १७ वर्षका भएका छन्। उनीहरु हेरेर कहिलेकाहीँ मैले नै पाएका बच्चा हुन् र? भन्ने लाग्छ। परिपक्व बन्दै गएको उनीहरुको सोच र व्यवहारले म आमा हुनुको आनन्द लिइरहेको छु।
यो पनि