उकेरा कोलम

मिडियाकर्मी सरिताश्री ज्ञवालीको प्रसव पीडा र खुसी : पहिलोपालि लात्ती हानेको अनुभव गर्नै पाइन 


काठमाडौँमा जन्मेकी सरिता श्री ज्ञवालीलाई सानै देखि मिडियाकर्मी हुने रहर थियो । सधैँ सक्रिय उनले एसएलसी लगत्तै सन् १९९७ मिस नेपालमा भाग लिइन्। उनी सेकेन्ड रनर अप भएकी थिइन्।

मिडियाकर्मीको यात्रा सुरु गर्दै उनले नेपाल टेलिभिजनको साङ्गीतिक कार्यक्रम ‘म्युजिक प्लस’मा काम गर्न थालिन्। उनको परिवारले मिडिया क्षेत्र त्यति रुचाएको थिएन। परिवारले अमेरिका पढ्न जाने कि नेपालमै बिहे गरेर बस्ने विकल्प दिए।

उनी अमेरिका गइन र प्रेम विवाह गरिन्।  पढाइसके पछि बच्चाको प्लान गरेकी सरिताले पहिलो सन्तान अमेरिकामै जन्माइन्। बच्चा भएपछि नेपाल फर्केर उनले आफ्नै रहरको पेसा टेलिभिजन क्षेत्रमा प्रवेश गरिन्। 

धेरै सन्तान जन्माउने रहर बोकेकी सरिताले ५ वर्षको ग्यापमा छोरा जन्माइन्। गर्भवती भएपछि मनमा  आउने डर, नकारात्मक सोच उनले धेरै नै अनुभव गरेकी छिन्। अरू महिलालाई जस्तो प्रसवको बेला शारीरिक पीडा भोग्न नपरे पनि बच्चाको तौल नपुग्दा, बच्चा पेटमा कहिले पनि नचल्दा धेरै नै मानसिक पीडा भोग्नु परेको अनुभव छ उनीसँग। अहिले एपीवान टेलिभिजनमा कार्यरत उनी आफ्नो प्रसवका अनुभवहरू उकेरा मार्फत यसरी बाँडिन्।

०००

ग्ल्यामर क्षेत्रमा रुचि थियो। एसएलसी पास हुनासाथ म मिस नेपालमा भाग लिए। अनि सेकेन्ड रनर अप पनि भए। 

लगत्तै नेपाल टेलिभिजनबाट प्रसारण हुने 'म्युजिक प्लस'मा भिजेको रूपमा काम सुरु गरेँ। परिवारमा अब म यही क्षेत्रमा लाग्ने भई भन्ने डर बढेछ। उनीहरूले विदेशमा पढ्न जाने कि बिहे गर्ने दुई वटा विकल्प राखे मसँग। 

भर्खरै करिअर सुरु हुँदै थियो मेरो। तत्काल बिहे गर्ने सोच थिएन। त्यसैले अमेरिकामा पढ्न जानु नै उपयुक्त लाग्यो र गए। मलाई मिडिया सम्बन्धी पढ्ने रहर थियो। तर सबैले प्रेसर दिएकाले कम्प्युटर विषय लिएर पढ्न थालेँ। तर मेरो भोक भने मिडिया तिरै थियो। त्यसैले ६ महिना कम्प्युटर पढेँ तर निरन्तरता दिन मन लागेन। त्यसपछि टिभी ब्रोडकास्टिङ विषय लिएर मास्टरसम्म पढेँ। अमेरिकामै च्यानल सेभेनमा टेलिभिजनकर्मीको अनुभव बटुलेँ। 

सन् २००४ मा मेरो बिहे भयो। अमेरिकामै हामीले बिहे गर्‍यौँ र नेपालमा आएर पनि परम्परागत रूपमा बिहे गर्‍यौँ। यता बिहे गरेर दुवै उतै फर्कियौँ। त्यति बेला दुवैको करियर सुरु हुँदै थियो, पढ्दै थियौँ। त्यसैले बच्चा तुरुन्तै नजन्माउने सल्लाह भयो। 

बिहे भएको ५ वर्षपछि मात्रै हामीले बच्चाको प्लान गर्‍यौँ। त्यो ५ वर्ष परिवारबाट बच्चाको लागि धेरै प्रेसर आयो। हुन पनि मेरो र मेरी जेठानीको एकै दिन बिहे भएको थियो। उहाँको वर्ष दिनमै बच्चा जन्म्यो। त्यसदेखि नै मैले बच्चाको लागि प्रेसरको सामना गर्नु पर्‍यो।

मलाई पनि बच्चा जन्माउने रहर जागिसकेको थियो। बिहे भएको नै ५ वर्ष अनि श्रीमानलाई चिनेको त अझैँ बढी। अव त प्लानिङ गर्नु पर्‍यो नि। म २८ वर्षको हुँदा छोरी जन्मिइन्।

गर्भवती हुँदा धेरै गाह्रो हुन्छ, मर्निङ सिक्नेस हुन्छ, केही पनि खाना रुच्दैन आदि कुराहरू सुनेको थिए। तर अचम्म ,मलाई त्यस्तो केही भएन। न त कहिले वाकवाकी लाग्यो ,न खाना नरुच्ने नै भयो। म पहिलेदेखि खानाको सौखिन। यति खान मन लाग्ने कि के भन्ने। जे खाना देखे पनि खान मन लाग्ने , भोक लागि हाल्ने। 

मेरो तौल बढेर ८५ किलोसम्म पुग्यो। नियमित चेकअप गर्न जाँदा भने मन अलि खिन्न हुन्थ्यो। मेरो तौल बढेको बढ्यै तर पेट भित्रको बच्चाको तौल सानो। पेटमा बच्चा ९ महिनाको हुँदासम्म म एक ,डेढ घण्टा बिस्तारै स्विमिङ¨ गर्थे। गर्भवती हुँदा गर्नमिल्ने एक्सरसाइजहरू सबै गर्थे। 

मलाई प्राकृतिक रूपमै बच्चा जन्माउने रहर। फिट भई रहन हिँड्ने ,एक्सरसाइज ,स्विमिङ¨ नियमित गर्थे। मलाई लाग्थ्यो म फिजिकल्ली फिट छु ,मैले नर्मली नै बच्चा जन्माउन सक्छु।

बच्चा जन्मनु भन्दा एक महिना अघि नै मेरो बाबा ,आमा अमेरिका आउनुभयो। म उहाँहरूलाई एयरपोर्टमा लिन गएर घरमा राती ढिलासम्म कुरा गर्दै थिए। त्यो दिन मलाई पिसाब धेरै पटक आइरह्यो। 

कुरा गर्ने अनि एक छिनमै ट्वाइलेट जाने। पिसाब गर्दे थिए, पिसाबै रोकिएन, निरन्तर आइ रह्यो। म चिच्याउदैं आमालाई मेरो पिसाबै रोकेन भनेँ। आमाले आत्तिएर हस्पिटल लैजान श्रीमान्लाई भन्नुभयो।  एकै छिनमा हस्पिटल पुर्‍याए मलाई। 

मेरो वाटर ब्रेक भएको रहेछ। मलाई त्यति बेलासम्म त्यसको जानकारी थिएन। बच्चा ३४ हप्ताको मात्रै थियो। ४ हप्ता त बाँकी नै थियो। तै पनि पानी धेरै बगेकाले धेरै कुर्नु हुँदैन भन्ने रहेछ। म नर्मल तरिकाले बच्चा पाउँछु भने। तर बच्चा साइडमा भएकोले केही समय कुरौँ, पछि मुभ भएर पोजिसनमा बस्यो भने नर्मल तरिकाले नै निकालौँला भन्ने कुरा भयो।

मैले ८ महिनाको त्यो समयमा पेटमा बच्चा चलेको कहिले चालै पाइन। बच्चा नचलेको टेन्सनमा डाक्टरकोमा कति गए, कति। मैले अरू आमाले जस्तो पहिलो बच्चाको पालामा बच्चा चलेको, लात्ती हानेको सुखद पलहरू अनुभव गर्नै पाइन।

डाक्टर आएर मलाई लेबर भइरहेको छ है भन्दै जान्थ्यो, तर आफूलाई केही भएकै थिएन। पटक्कै दुखेन, बरु महिनावारीको समयमा दुख्थ्यो। प्रसवको अवधिमा त्यति पनि दुखेन। कतिपय आमाहरूलाई लेबर सुरु भइराख्दा पनि नदुख्ने रहेछ। त्यो मैले अनुभव गरेँ।

केही समयपछि पेटमा बच्चाको मुभमेन्ट भयो भनेर मनिटर गर्दा बच्चा त भगवान् बुद्धको जस्तो आसनमा बसी रहेको रहेछ। टाउको माथि ,तल पलेटी मारेर। अल्ट्रासाउन्डबाट हेरेपछि डाक्टरले अव ढिला गर्नु हुँदैन भनेर अप्रेसन रुममा लगे। श्रीमानसङै थिए तर मेरो पेट काटेको उहाँले हेर्नै नसक्ने बताएपछि पर्दा राखेर बस्नुभयो। हामी हात समातेरै बसेका थियौँ। एक छिनमै बच्चालाई निकालेर श्रीमानको हातमा दिँदा उहाँ निकै आत्तिनु भएको रहेछ।

मलाई र बच्चालाई सफा गरेर दूध खुवाउन दिइहाले। बच्चा सारै सानी थिई, हातमा लिँदा पनि घाउ होला जस्तो, कलिलो। उ सानी भएकोले उसलाई हस्पिटलमा डाक्टर,नर्सहरूले पिनट नाम राखिदिए। 

बच्चा डेढ किलोको थियो। मैले पहिलो पटक बच्चालाई देखेपछि उसको सबै पार्टहरू छाम्दै हेरेँ। सबै ठिकठाक छ कि छैन भनेर। आमाको मन न हो। खाली नकारात्मक सोच आइरहने। अल्ट्रासाउन्ड गर्दा मेरो बच्चाको टाउको अलिकति ठुलो छ भनेका थिए। म यही कुराले कति रात डिस्टर्व भए। तर बच्चामा त्यस्तो केही भएन, टाउको पनि नर्मलै थियो। बच्चाको अरू सबै नर्मल, तौल भने कम।

अस्पतालमा बच्चाहरू चोरी हुने सम्भावनाले गर्दा बच्चा जन्मेपछि नै सेक्युरिटी लक लगाइ दिएका हुन्थे। त्यो बच्चालाई बाहिर लग्यो भने हस्पिटलमा साइरन बज्ने हुँदो रहेछ। यसबारे हामी अनभिज्ञ थियौँ। 

बच्चालाई श्रीमानले बोकिरहनु भएको थियो। मलाई भेट्न आएका व्यक्तिहरूलाई पार्किङसम्म पुर्‍याउन जानु भएको थियो। हस्पिटलमा साइरन बज्यो। हस्पिटलमा खैलाबैला मच्चेको रहेछ। भित्र आएपछि मात्र हामीलाई थाहा भयो।

अस्पतालले हामीलाई दुई दिन पछि नै घर फर्कायो। बच्चालाई घर लान कार सिट मिल्छ कि मिल्दैन भनेर हेर्दा रहेछन्, ठिकै भयो। घर आउनुअघि अस्पतालमा बच्चाको केयर गर्नेबारे एउटा भिडियो देखाएका थिए। जसमा बच्चाहरू सुत्दा सुत्दै मर्नेबारे पनि भनिएको थियो। त्यो भिडियोले मलाई यति नकारात्मक बनायो कि रातभरि सुत्नै डर लाग्ने। बच्चालाई ५–५ मिनेटको अन्तरमा नाकमुनि लगेर श्वास फेरेको छ कि छैन चेक गरी रहन्थेँ ।

छोरीलाई दूध खुवाएपछि केही समयमै रुने। कहिलेकाहीँ त के भएछ भन्ने लाग्थ्यो। पछि थाहा भयो, उसले आफूलाई चाहिने जति दूध नखाने रहेछ। पेट नभरेपछि रोएर दुख दिने रहेछ।

छोरी चार महिना लाग्नासाथ हामी नेपालमै बस्ने गरी आयौँ। नेपाल आएको केही दिनमै ‘कान्तिपुर टिभी’मा कल कान्तिपुर चलाउन पुगेँ। ११ वर्ष अमेरिका बसेर नेपाल फर्कँदा कल्चर सक चाहिँ भयो।

००० 

मलाई धेरै बच्चाहरू जन्माउने रहर। ५–६ जना आफ्नो सन्तान होस् भन्ने लाग्थ्यो। यदि काठमाडौँमा बच्चा हुर्काउन गाह्रो नहुने भए आधा दर्जनै बच्चा जन्माउँथेँ। त्यसैले श्रीमानले एउटै बच्चा भए भइहाल्यो भन्दा पनि मेरै फोर्समा ५ वर्षको ग्यापमा दोस्रो बच्चा पाएँ।

दोस्रो पटक पनि मलाई खासै गाह्रो भएन। खान पनि उतिकै रुच्ने। त्यति बेला म  बिगबोस खुबै हेर्थेँ। खाना खाएर बिगबोस हेर्दै बस्थेँ। पेटमा बच्चा यति चल्थ्यो कि पुरै नाचेको जस्तै। 

एक पटक थिएटरमा नाटक हेर्ने गएको थिए। फाइट सिनको आवाजले हो कि भित्र पनि बच्चा डाङडुङ गरेको जस्तै चल्यो। मलाई अटेसमटेस भएर थिएटरबाटै बाहिर निस्कनु पर्‍यो। मैले विएण्डबीमा डा. चन्दा कार्कीलाई देखाइरहेको थिए। सधैँ तौल बढ्यो भन्ने। तर मैले खान कन्ट्रोल गर्न सकिन।

दोस्रो पटक प्रेगनेन्सीमा म स्कुलको प्रिन्सिपल पनि थिए र मिडियामा पनि संलग्न थिए। भ्याईनभ्याइ हुन्थ्यो। प्रेगनेन्सीमा जति व्यस्त र सक्रिय रह्यो त्यति नै पेटको बच्चालाई र मलाई पनि राम्रो हुन्छ भन्ने विश्वास थियो। बच्चा जन्मेको दिनमा पनि दिनभरि स्कुलमा काम गरेर हस्पिटलमा पुगेको थिए।

छोरीले आफूलाई चाहिने दूध पनि नखाने तर छोरा भने भोमिट नगरुञ्जेलसम्म खाने। छोरा नेपालमा जन्मेको हुँदा घर परिवारबाट धेरै साथ र सहयोग मिल्यो। पहिलो सन्तानको पालामा चाहेर पनि नेपालमा गरिने जस्तो स्याहारसुसार पाइन। 

मलाई सुत्केरीमा नेपाल गरिने स्याहार ,सुत्केरी खाना साह्रै मन पर्ने। त्यो रहर मैले दोस्रो बच्चाको पालामा मात्र पुरा गरेँ। सासूले आफू सुत्केरी हुँदा बाह्र माना घिउ खाएको बताउनुहुन्थ्यो। मैले त्यति बेला सासू आमालाई मलाई पनि त्यसरी नै स्याहार्नु भन्थेँ। 

मैले सुत्केरीमा हरेक दिन बिहान, दिउसो र बेलुका गरेर तीन,तीन कुकर खाना खान्थेँ। सासूको नेवार समुदायकारसँग धेरै सङ्गत भएकोले उहाँहरूको जस्तै गरेर मलाई घिउ, चाकु राखेरै खाना खुवाउँथे। खाना खाइसकेपछि मिठा पान र हलुवाइले पकाएको जेरी ख्वाउनुहुन्थ्यो। पछिसम्म पनि खानापछि जेरीको तलतल लागि रह्यो। त्यो बानी हटाउन साह्रै मुस्किल पर्‍यो।

बिहान ५ बजे नै सासू आमाले घिउमा गुँड फुराएर ,दूधमा मिस्री राखेर ल्याइदिनु हुन्थ्यो। किचनमा पकाई राख्दा कोठामा त्यसको बास्ना मज्जाले आउँथ्यो। कहिले कोठामा ल्याइदिनुहुन्छ र खाइ हालौँ जस्तो हुने। 

दोस्रो सुत्केरीमा ८ माना घिउ र हरेक दिन तीन प्रेसर कुकुरको खाना खाएँ ।

चैत्रमा छोरा पाएको थिए। त्यस्तो गर्मीमा पनि हरेक दिन घाममा बसेर तेल मालिस गराउँथे। एक जना नेपाली सासूले खोज्ने जस्तो टिपिकल बुहारी भएर सुत्केरीको मज्जा लिए। म पनि दङ्ग अनि सासू पनि दङ्ग। 

आफू आमा भए पछि मात्रै मैले आमाको महत्त्व र अर्थलाई नजिकबाट नियाल्न पाएँ। कस्तो अचम्मको सम्बन्ध क्या बच्चासँगको। बच्चाको तुलना संसारको केही कुरासँग पनि नहुने। 

बच्चा भएपछि त अरू सम्बन्धनै फिक्का हुने। बच्चा पेटमा आएदेखि नै आमाको लागि सधैँ टेन्सन हुने रहेछ। आफू नमरुन्जेलसम्मलाई हरेक क्षण सन्तानकै टेन्सन हुने। कस्तो हैँ आमाको माया ! 

म मेरा यी दुई बच्चाहरूलाई हेर्दे रमाइरहेको छु। संसारमा धेरै कुराले खुसी र सुखहरू दिए पनि सन्तान सुख आमाको लागि सबैभन्दा शक्तिशाली सुख रहेछ। 

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....