घरकी कान्छी छोरी भएर होला म पहिलेदेखि नै बच्चाहरुसँग धेरै घुलमिल भइहाल्थें। मलाई बच्चा औधि मनपर्ने। दिदी, दाजुहरुका बच्चालाई खेलाउने, हुर्काउने मेरै जिम्मामा हुन्थ्यो।
विहे गरेको दुई वर्षपछि अब बच्चाको प्लान गर्नुपर्छ भन्ने मेरो मनमा आयो। म त्यतिबेला २८ वर्षको भइसकेको थिएँ। बच्चा जन्माउन मानसिक र शारीरिक रुपमा तयार भइसकेको थिएँ।
.jpg)
हामी श्रीमान्/श्रीमतीले सहमतिमै बच्चा पाउने प्लान गर्यौं। प्लान अनुसार नै म गर्भवती भएँ। हामी एकदम खुसी भयौं।
गर्भावस्थामा मलाई एकदमै खान रुच्थ्यो। जे देख्यो त्यही खान मन लाग्थ्यो। सपनामा समेत खाएकै देख्थें। छोरा पेटमा हुँदा लड्डु खाएको देखिन्छ भन्थे, नभन्दै मैले पहिलो छोरा पेटमा हुँदा लड्डु खाएको सपना देखें।
आमा, सासुहरु नाति नै पाउने भई भनेर दंग पर्थे। तर म भने उहाँहरु जस्तो खुसी हुन सकिनँ किनकी मलाई छोरीको चाहना थियो। छोरी भएको घरको रौनक नै बेग्लै हुन्छ भन्ने लाग्थ्यो।
मेरो दिमागमा गर्भवती हुँदा स्वास्थ्यवद्र्धक खाना खानुपर्छ, खुसी हुनुपर्छ भन्ने थियो। मेरो गल्ती भनेकै मैले त्यतिबेला धेरै खाएँ। ६० किलोको ज्यान ५ महिनाको बच्चा पेटमा हुँदा ७८ केजी भइसकेको थियो। हेल्दी खानुपर्छ भनेर ब्रेक फास्ट, लञ्च, खाजा, डिनरमा मज्जाले खान्थें।
५ महिनापछि मलाई पेटमा चिलाउन सुरु भयो। चिकित्सकहरुसँग सरसल्लाह गर्दा साधारण समस्या हो भनेर लोसन लगाउन दिइयो। घरमा पनि यो समस्यालाई ठूलो रुपमा लिइएन।
साढे ७ महिनापछि मेरो तौल ८२ केजीसम्म पुग्यो। त्यति बेलासम्म लोसनले काम गर्ने छोड्यो। अनुहार बाहेक जताततै चिलाउने। मेरो शरीर कटहरको बोक्रा जस्तै हुन थाल्यो।
मैले त्यतिबेला ओम हस्पिटलमा डा. ममता बराललाई देखाउँथें। उहाँले सबै परीक्षण गरेपछि मलाई बायल (लिभरमा नुनको मात्रा बढी भएको) बताउनुभयो। जुन संसारमा सय जना गर्भवती महिलामा ३ जनालाई हुने सम्भावना रहेछ। त्यो ३ प्रतिशतमा म पनि परें।

मलाई एकदमै गाह्रो हुन्थ्यो। बस्न, सुत्न केही गर्न नसक्ने। मलाई सहयोग गर्ने एक जना बहिनी थिइन्। उनले काँइयोमा कपास राखेर कपाल कोरेजस्तै जिउभरि कोरिदिन्थिन्। सुत्नुअघि बाथरुममा गएरै पूरै डिटोल खन्याएर, तातो पानीले जिउ पखालेर सुत्थें। यसले २ घण्टासम्म राहत दिन्थ्यो। फेरि उस्तै। साह्रै नै दुःख पाएँ।
यसले गर्दा म मानसिक रुपमा कमजोर बन्न थालें। डाक्टरले यसरी हुँदैन भनेर कम डोजको औषधि दिनुभयो। त्यो एलर्जी बच्चा जन्मेको १–२ महिनापछि आफैं कम हुँदै जाने रहेछ।
बच्चा ३९ हप्ताको भइसको थियो। त्यतिबेला मलाई प्रेसर हाई र प्रेगनेन्सी सुगर पनि देखियो। मेरो तौल ९० केजी पुग्यो। डाक्टरको सल्लाहपछि अप्रेसन गरेर बच्चा निकालियो।
मलाई अझैं याद छ, डा. रीता सिंह (नायक राजेश हमालकी दिदी) ले बधाई छ ऋचा, ४ केजीको छोरा जन्म्यो भनेको। विभिन्न औषधि र इन्जेक्सनले म कमजोर थिएँ, राम्ररी खुसी हुन पनि सकिनँ।
मलाई पोस्ट अप्रेटिभ रुममा राखिएको थियो। बच्चा शंकरजी र आमासँग थियो। उसलाई बोटलमा दूध खुवाइयो। २ दिनपछि नर्सले ‘तपाईं आफैं उठ्नुपर्छ’ भनेर भुईंमा खुट्टा टेकेर उठ्न लगाइन्। त्यो बेला अप्रेसन गर्दाको घाउको दुखाइ अनि ननस्टप ब्लिडिङ्ग। म त मर्छु कि क्या हो जस्तो लाग्यो। केही क्षणको आरमपछि ठिक भयो।

बाबु एक महिनाको भएपछि मेरो चिलाउने समस्या पनि स्वतः कम भएर गयो।
जेठो छोरा साह्रै राम्रो थियो। हुन त आफ्नो बच्चा सबैलाई राम्रै लाग्छ। स्व. आलोक नेम्वाङ्गलाई बच्चाहरु पटक्कै मन नपर्ने। तर मेरो छोरालाई देखेपछि फोन गरेर ऋचा तिम्रो छोरा क्युट छ भनेको म अझैं सम्झिन्छु।
०००
जेठो छोरा १५ महिनाको हुँदा हामीले बनाएको चलचित्र ‘तुलसी’ लिएर क्यानडा गएका थियौं। ४५ दिन क्यानडामा चलचित्र देखाएर हामी अमेरिका गयौं।
अमेरिकाका धेरै ठाउँमा चलचित्र देखाएपछि म पुन: गर्भवती भएको थाहा भयो। २ महिना पूरा भइसकेको रहेछ।
जति आदर्शको कुरा गरे पनि परिवार र बच्चाको भविष्यको कुरा गर्दा हामी इमोसनल हुने रहेछौं। बच्चालाई राम्रो शिक्षा र स्वास्थ सुविधा हुने भए बच्चा अमेरिकामै जन्माउने मैले ढिपी गरें। सुरुमा शंकरजीले मानिरहनुभएको थिएन। मेरै ढिपीले गर्दा यो निर्णय लिएको हुँ।
पहिलो गर्भावस्थामा जस्तो चिलाउने केही समस्या भएन। म सोच्थें, यस पटक पनि त्यही समस्या दोहोरियो भने मेरो लागि त्यो पल नर्क हुन्छ जस्तो लाग्थ्यो। मैले सुरुमै त्यहाँका चिकित्सकहरुसँग सल्लाह गरें, मेरा सबै समस्या बताएँ। उनीहरुले तौल धेरै नबढाऊ र आफूलाई सकभर सक्रिय राख्नु भने।

त्यसपछि त १५ महिनाको बच्चादेखि घरका सारा काम म एक्लैले गर्थें। एकछिन फुर्सदमा नबस्ने। धेरै काम गरेपछि पेट भित्रको बच्चाको तौल मात्रै बढ्यो, म भने जस्ताको त्यस्तै थिएँ। त्यति बेला सोच्थें, गर्भवती अवस्था एउटा शक्ति हो, ऊर्जा हो। यो कुनै रोग होइन।
डाक्टरले दिएको समय आइरहेको थियो। मलाई एकदमै पेट दुख्यो, सहनै गाह्रोगरी। हस्पिटलमा जाँदा पो थाहा भयो, प्रसव पीडा भनेको यही रहेछ।
पहिलो पटक बच्चा पाउँदा त्यो पीडालाई अनुभव गर्नै पाइनँ, अप्रेसन गरिहालियो। पाठेघरको ५ टाँका खुलिसकेको रहेछ। पहिलो बच्चा जन्माउँदा गराएइको अप्रेसनको कागजातहरु नहुँदा यसपटक पनि नर्मल डलिभरी गराइएन।
दोस्रो बच्चा जन्मिँदा मेरो जेठो छोरा २३ महिनाको थियो। सानो छोरा पाएपछि श्रीमान जेठो छोरा लिएर घर जानुभयो। भर्खर जन्मेको बच्चा लिएर पाँच रात एक्लै बसें। परिवारको सम्झना भए पनि त्यहाँको सुविधाले गर्दा खासै गाह्रो भने भएन।
अमेरिकामा एउटा सिस्टम रहेछ, त्यहाँको सोसल वर्करहरु आएर अर्को देशको नागरिक भएको कारण हस्पिटलमा केही भेदभाव भएको छ कि भनेर बुझ्ने र काउन्सिलिङ गर्ने रहेछन्।
५ दिनको हस्पिटलको बसोबासपछि म बच्चाको साथ अपार्टमेन्ट आएँ। शंकरजी काममा फर्कनुपर्ने थियो। घर लथालिङ्ग थियो। ५ दिनको सुत्केरी मैले अपार्टमेन्ट पूरै सफा गरें। खाना चाहिँ बाहिरबाटै मगाइ दिनुभएको थियो। अहिले पनि अचम्म लाग्छ, अप्रेसन गरेको सुत्केरी मान्छेमा यस्तो शक्ति कहाँबाट आयो होला? मातृत्वको ठूलो शक्ति हुने रहेछ, मैले त्यतिबेला अनुभव गरें।

०००
दुई छोरा त भए तर मलाई पहिलेदेखि नै छोरीको चाहना थियो। शंकरजीले अब रिस्क नलिउँ, दुई पटक अप्रेसन गरिसकियो। छोराहरुको विहेपछि बुहारी आउँछिन्, उनैलाई छोरी मानौंला भनेर फकाए। तर मैले मानिनँ।
म फेरि गर्भवती भएँ। शंकरजीले मलाई यस पटक पनि छोरा भए के गर्ने? भन्दा म निःशब्द बनेको थिएँ। ५ महिनापछि जाँच गराउँदा छोरा–छोरी के छ हेर्ने इच्छा गरें। डाक्टरले ९८ प्रतिशत छोरी छे भने। फेरि तनाव २ प्रतिशतको भयो।
त्यतिबेला मेरो ममी आइसक्नु भएको थियो। तेस्रो पटक गर्भवती हुँदा ब्याक पेन बढी हुने समस्या थियो। साथमा युरिन इन्फेक्सन र सुगरको लेबल बढी देखायो। एन्बिायोटिक चलायो, ब्याक पेन कम भयो। तर सुगर भने कन्ट्रोलमा आएन।
तेस्रो सन्तानको पालामा पेटमा छाला तानेर इन्सुलिन दिन्थे। जति बेला मैले भात, दाल, तरकारी, अचार खान्थें, मेरो सुगर लेबल ह्वात्तै बढ्थ्यो र मःमः खाएको बेला घट्थ्यो। काउन्सिङ्गको क्रममा थाहा भयो, कार्बोहाइड्रेट भएको खाना बढी खाँदा सुगरको लेबल बढ्ने रहेछ। त्यसपछि भात कम गरेर तरकारीको मात्रा बढी खान थालें।
३८ हप्ताको प्रेगनेन्सी जाँच गर्न आफैं गाडी चलाएर हस्पिटल गएको थिएँ। मेरो त पाठेघरको ६ घर खुलिसकेको रहेछ। मेरो ब्याग र गाडीको साँचो लिएर अप्रेसन थियटर लगे। श्रीमानलाई त्यहींबाट फोन गरेर बोलाए। श्रीमानलाई पनि अगाडि राखेर बच्चा निकाले।
त्यहाँ बच्चालाई बुबाको हातमा दिएर कैंचीले साल, नाल काट्न दिइन्थ्यो तर शंकरजीले सक्दिनँ भनेर डाक्टरलाई जिम्मा दिएर बाहिरिनुभयो। म भने यस पटक सारै दंग थिएँ, अब भने पूर्ण परिवार भयो भनेर।
अमेरिकन कल्चरमा ४/५ जनासम्म बच्चा पाउनु सामान्य नै हो। त्यसैले मलाई पनि अब फेरि बच्चा पाउने हो ? भनेर सोधे। मैले पुग्यो भनेपछि मेरो ट्युब टाइट गरिदिए। त्यो चाहिं बच्चा जन्मने वित्तिकै गर्ने रहेछ।
२/२ वर्षको अन्तरालमा ३ जना बच्चा जन्माएँ। धेरैले ५ वर्षको ग्याप गर्नुपर्छ भन्थे। तर मलाई भने २/२ वर्षको ग्याप गर्दा उनीहरु पनि साथी हुने र आफूलाई पनि एकै पटक हुर्काउन सजिलो हुने भन्ने लाग्थ्यो।
बच्चाहरु हेर्दा मलाई संसार जितेको लडाकु जस्तै लाग्थ्यो। कुनै दिन छैन, म बच्चाको कारण नहाँसेको। मलाई बच्चाहरु थेरापी जस्तै लाग्छ।
अमेरिका आएको लगभग ७ वर्ष पूरा भयो। बाहिर काम गरेर डलर कमाउने मौका नै पाइनँ मैले । तर ३ जना बच्चाको हेरचाह, उनीहरुको पढाइमा समय बिताएँ। अहिले आफू पनि कलेज ज्वाइन भएको छु।
म गर्व गर्छु, मेरो ३ जना छोराछोरी छन्। जीवनमा सबै कुरा हासिल हुँदैनन्। केही पाउन केही गुमाउनु पर्छ। मैले नेपाली चलचित्रको नायिका भएर दर्शकको माया निरन्तर रुपमा पाइराख्न सक्थें होला तर त्यसलाई छोड्नु पर्यो।
म पहिलेदेखि परिवारलाई प्राथमिकता दिने मान्छे। परिवारको लागि समय, धन, मन खर्च गर्छु। मेरो लागि परिवार नै शक्तिशाली अस्त्र हो।
अहिले ममी पनि यतै मसँग हुनुहुन्छ तर आमाबुबाहरु पनि उमेर बढ्दै गएपछि बच्चा जस्तै हुँदारहेछन्। यस अर्थमा म अहिले ४ जना बच्चाको हेरचाहमा छु।
अहिले पढाइ र परिवारको हेरचाहबाट बचेको समय आफ्नै प्रोडक्सन हाउसबाट विभिन्न देशका महिलाको यात्रा र संघर्षलाई पोडकास्टमार्फत पस्कँदै आएकी छु।
bishnuprasad parajuli
६४१ दिन
धेरै राम्राे लाग्याे । मनन् याेग्य