लामो अफेयरपछि मिडियामै व्यस्त भूमि श्रेष्ठसँग मेरो विहे भयो। मोफसलबाट आएर काठमाडौंलाई कर्मथलो बनाइरहेका हामी दुवैको पहिलो प्राथमिकता काठमाडौंमा स्थापित हुनु थियो। त्यसैले मेरो विहे नै ३० वर्षको उमेरमा भयो।

विहेपछि आफन्त तथा साथीहरुले ‘कति ढिला विहे गरेको, तिम्रो त बच्चा बस्दैन होला’ भनेर जिस्क्याउँथे। मनमा एक खालको डर हुन्थ्यो, साँच्चै केही समस्या पो आउने हो कि?
बच्चा पाइसकेका साथीहरुसँग यो विषयमा कुरा गर्थें। विहे हुनेवित्तिकै बच्चा जन्माइहाल्नुपर्छ भन्ने समाज र परिवारको दबाब थियो। त्यसमाथि हामीले विहे नै ढिलो गरेको। तर हामी श्रीमान-श्रीमतीले आपसमा एक खालको समझदारी बनाएका थियौं।
२० वर्षको उमेरपछि बच्चा जन्माउँदा शारीरिक रुपमा फरक नपर्ने मान्यता भए पनि हरेक महिला बच्चा पाउन मानसिक रुपमा नै तयार हुनुपर्छ भन्ने मेरो मान्यता थियो। त्यतिबेला म मानसिक रुपमा बच्चाको लागि तयार थिइनँ। मेरा श्रीमानले पनि मलाई साथ र सहयोग गर्नुभयो।
धेरैले मलाई महत्वाकांक्षी पनि भने होलान्, बच्चालाई भन्दा करिअरका लागि सोची भनेर।
मैले आफ्नो करिअर बनाउन धेरै मिहिनेत गरेको छु। करिअरलाई नै पनि म बच्चाको रुपमा लिन्छु। सुरुवाती दिनदेखि आफ्नै अंशको रुपमा हुर्काएकाले करिअरप्रति पनि उत्तिकै इमोसन जोडिएको छ।
त्यसो भन्दैमा हामी बच्चा नै नपाउने मनस्थितिमा भने थिएनौं। भगवानले दिएको सुन्दर वरदानलाई महसुस नगर्ने कुरै भएन।

काम र वैवाहिक जीवनको सन्तुलन मिल्दै गएको महसुस भएपछि विहे भएको चार वर्षमा बच्चाको प्लान गर्यौं। मानसिक रुपमा गर्भवती हुने चाहना भए पनि डर भने गज्जबकै थियो।
म गर्भवती भएँ। घर, माइती लगायत सबैतिर खुसी छायो। धेरैलाई हामीले बच्चा जन्माउँदैनौं भन्ने लागेको रहेछ।
गर्भवती भएको चार महिना मलाई साह्रै गाह्रो भयो। बान्ता हुने, खानाको बासना मन नपर्ने, अल्छी लाग्ने आदि। ओहो! अब त मेरो जीवन नै सकियो, केही गर्न सक्दिनँ कि क्या हो? जस्तो लागिरह्यो।
गर्भवती अवस्थामा सकारात्मक सोच्नुपर्छ भनेर किताब पढ्ने, फिल्म हेर्ने र सकभर हाँसिरहन खोज्थें। यति बेलाको असर बच्चामा पर्छ भन्ने लागेर रिसलाई पत्रि कन्ट्रोल गर्थें। जसरी हुन्छ, खुसी हुने बहाना खोजिरहन्थें।
पेटको बच्चा चार महिनाको भएपछि भने निकै रमाइलो महसुस हुन थाल्यो। म जस्तै मान्छे मेरो पेटमा विकास हुँदैछ भनेर निकै केयर केयर गर्थें। खाना मिलाएर खान्थें। दुई जनाको लागि खानुपर्छ भनेर डाइट चार्टमा खान्थें। ब्यागमा नट्स, चकलेट खाली नै नराख्ने। २-३ घण्टाको अन्तरालमा खाइरहन्थें। एकै पटक धेरै खाना खान त सकिनँ। तर समय समयमा खाइरहन्थें। जुस र फलफूल पनि मज्जाले खान्थें।
३४ वर्षको उमेरमा बच्चा जन्माउन लाग्दा पनि स्वास्थ्य समस्या भने खासै केही देखिएन। बच्चा पाउनु तीन दिन अघिसम्म काममा गइरहेको थिएँ।
आठ महिनाको अन्तिमतिरसम्म म्युजिक भिडियो निर्देशन गरिरहें। ठूलो पेट बोकेर एक्सन-कट गरिरहें। सायद मेरो सिर्जनात्मक व्यस्तताले होला, खासै गाह्रो भएन। तर बेलाबेलामा नर्भसनेस भने भइरहन्थ्यो। दिमाग न हो, नकारात्मक कुराहरु खेल्न खोजिरहने। दिमागलाई मोड्न सारै गाह्रो।
बच्चा पाउने बेला भयो। पेटमा पानीको अभाव भएका कारण प्राकृतिक रुपमा बच्चा नजन्माउन डाक्टरहरुको सुझाव आयो। हामीले पनि रिस्क मोल्न चाहेनौं।
अप्रेसन गरेर बच्चा जन्माउने निधो भयो। तर त्यतिबेला मलाई प्रसव पीडाको अनुभव गर्न नपाउने भएँ भनेर निकै पिर परेको थियो। आमाले प्रसव पीडाको अनुभव गर्नुपर्छ भन्ने भनाइ थियो।
अप्रेसन गरेपछिको एक हप्ताको समय पनि मेरा लागि कम्ती पीडादायी थिएन। चलमल गर्नै नसक्ने, दुखेर छटपटी हुने, अति नै गाह्रो भयो।
पोस्ट प्रेगनेन्सीमा म यति इमोसनल भएँ कि ३-४ दिनसम्म बच्चालाई हातमा राखेर ननस्टप रोइरहने। सायद पोस्ट प्रेगनेन्सी डिप्रेसन भनेको यही पो हो कि?

त्यतिबेला बच्चालाई बोकेपछि मैले नहेरे कसले हेर्छ यसलाई, भन्ने सोच आउने अनि रुन मन लागिहाल्ने। कहिल्यै पनि त्यो क्षणलाई म भुल्न सक्दिनँ।
त्यतिबेला मैले बच्चालाई दूध खुवाउन सकिनँ। किनकी दूध नै आइरहेको थिएन। दूध ननिस्केपछि काखीसम्म सुन्निसकेको थियो। अब पनि दूध आएन भने अप्रेसन गरेर निकाल्नुपर्छ भन्न थाले। तर चिकित्सक, परिवार र म मेरो कोशिसले पछि बच्चालाई दूध खुवाउन सकियो। त्यो क्षण मलाई संसार नै जितेजस्तो लाग्यो। त्यतिबेला बुझें मैले आमाको अर्थ।
मलाई सुत्केरी अवस्थामा पनि सुतिरहन मनले नमान्ने। १५ दिनमै भान्सामा गएर खाना पकाउन खोज्ने। आमा ‘तिमीले तीन महिना खाने, सुत्ने मात्रै हो’ भन्नुहुन्थ्यो तर म अटेरी गर्थें।
सुत्केरी भएको तीन महिनामा मैले कथामा अल्झिएका पुस्तकलाई पूरा गरें। यदि खाएर, सुतेर वा बच्चालाई डाइपर फेराएर मात्रै बसेको भए म डिप्रेसनमा जान सक्थें।
मैले पछि थाहा पाएँ, बच्चा पाएपछि आफ्नो नियमित रुटिनमा अचानक ब्रेक लाग्दा धेरै महिला डिप्रेसनमा जाँदा रहेछन्। यसो भन्दैमा सबै सुत्केरीको अवस्था यस्तो हुने भने होइन।
मैले आफैं गर्भवती भएपछि बुझेको कुरा के हो भने, बच्चा कसैको दबाबमा पाउने होइन। जब आफू मानसिक रुपमा तयार भइन्छ, त्यसपछि बच्चाको प्लान गर्दा राम्रो हुन्छ।