गायिका देविका बन्दनाको प्रसव पीडा र खुसी : डाक्टरले खासखुस गर्दै बच्चा भित्र लगेपछि…

गायिका देविका बन्दनाको प्रसव पीडा र खुसी : डाक्टरले खासखुस गर्दै बच्चा भित्र लगेपछि…

गायिका देविका बन्दना नेपाली सांगीतिक क्षेत्रमा परिचय गराइरहनुपर्ने नाम होइन। उनको सुमधुर स्वरमा गुञ्जने अनगिन्ती गीतहरु नै देविकाका परिचय हुन्।

‘यस्तै रहेछ यहाँको चलन’, ‘भरे आउँछु सपनीमा’, ‘एउटा परेदेशी’, सुन सुन सनम’, ‘अच्छा लेकिन’, ‘यो माया के हो?’, ‘लुकी-छुपी, लुकी-छुपी हेर्नेलाई’ जस्ता गीतहरु गाएर नेपाली सांगीतिक आकाशमा छुट्टै पहिचान बनाएकी छिन् उनले।

देविकाले गाएको नेपाली भजनको अडियो क्यासेट ‘ओम जय जगदीश्वर’ पाँच लाखभन्दा बढी बिक्री भएर रेकर्ड राखेको थियो। अहिलेसम्म उनका १५ वटा एकल एल्बम बजारमा आइसकेका छन्।

किशोर वयको सुरुवातदेखि नै संगीतमा लागेकी देविकाले १८ वर्षकै उमेरमा महेशमान सिंहसँग विवाह गरिन्। विवाहलगत्तै गर्भवती भएकी देविकासँग प्रसव पीडाका साथै बच्चा जन्मिएपछिको जिम्मेवारी र खुसीले जीवनमा ऊर्जा थपिएका मिठा अनुभूति पनि छन्।

बच्चा जन्माउन जति गाह्रो छ, त्यसपछिको संसार भने रंगीन फूलबारी जस्तै हुने उनको तर्क छ। दुई सन्तान जन्माउँदाको पीडा र बच्चा जन्मिसकेपछिको खुसी उकेरामार्फत व्यक्त गर्छिन् गायिका देविकाः

मेरो जन्म इलामको पशुपतिनगरमा भए पनि बाल्यकाल भारतको मुम्बई, कोलकाता, दार्जलिङ र पुनेमा बित्यो। म टिनएजरमा मात्रै परिवारसँग काठमाडौंमा बस्न थालेकी हुँ।

सानैदेखि गायनप्रति रुचि भएकोले शिलाबहादुर मोक्तानसँग पहिलो पटक संगीत सिक्न पुगें। त्यसपछि संगीत प्रवीण नरराज ढकालसँग शास्त्रीय संगीत र शम्भुजित बास्कोटासँग गायन तथा संगीत सिकें।

०००
म १४/१५ वर्षकै उमेरदेखि स्टेजमा गाउँथे। स्टेजमा गाउने क्रममा महेशमान सिंहले मलाई देख्नुभएको रहेछ। प्रपोज गर्नुभयो र त्यसको केही वर्षपछि हाम्रो विवाह भयो। त्यतिबेला म १८ वर्षकी थिएँ।

विवाह भएको केही महिनापछि नै म गर्भवती भएछु। उमेर सानै भएकोले गर्भवती भएको थाहा पाउँदा बेग्लै खालको अनुभूति भयो। रमाइलो पनि लाग्यो।

प्रेगनेन्ट हुँदा के गर्नुपर्छ, के गर्नु हुँदैन, डाक्टरसँग सल्लाह लिइरहन्थें। मेरो  लापरबाहीले पेटको बच्चालाई केही नहोस् भन्ने सोच मात्रै थियो। डाक्टरले सबै राम्रो छ तर पनि केयर गर्नु, गह्रुंगो सामान नउठाउनु, तनाव नलिनु, खुसी हुनु भनिरहनुहुन्थ्यो।

म भजनहरु गाइरहन्थें। सकभर सकारात्मक कुराहरु मात्रै सोच्थें। मलाई प्रेगनेन्सीमा खासै केही समस्या देखिएन। भोमिट हुने, खुट्टा सुन्निने जस्ता समस्या भने थियो। खान चाहिं साह्रै रुच्थ्यो।

अल्ट्रासाउण्ड गर्दा पेटमा छोरी छ भन्ने थाहा भयो। म एकदमै रमाएको थिएँ। त्यसपछि मैले छोरीका लागि मोजा, स्वेटर, विभिन्न डिजाइनका लुगाहरु बनाएर राखें। छोरी पाएपछि यसरी राख्छु भन्ने सपना पनि बुन्थें। मैले पहिलो पटक लगाइदिएको छोरीका लुगाहरु अहिले पनि जस्ताको तस्तै संम्हालेर राखेको छु। आमा हुने सोचले नै ममा परिपक्वता आएको जस्तो अनुभूति हुन्थ्यो।

०००
गर्भ ९ महिनाको भएपछि अस्पतालमा नियमित जाँच गर्न जाँदा भर्ना नै गरियो। व्यथा लगाउनको लागि स्लाइन पानी चढाएपछि त यस्तो दुख्यो की म अहिले बयान नै गर्न सक्दिनँ।

नर्मल डेलिभरी भयो तर बच्चा मलाई दिइएन। डाक्टरहरुले खासखुस गर्दै बच्चालाई भित्र लगे। म एकदमै आत्तिएँ। बच्चालाई के भयो, किन नदिएको भन्दै कराइरहें। पछि पो थाहा भयो, छोरीलाई त जन्डिस भएको रहेछ।

जम्मा साढे २ किलोकी छोरीलाई सिसाको बट्टाभित्र राखेर ट्रिटमेन्ट सुरु गरिसकिएछ। बच्चा पाउनासाथ उसलाई हेर्ने, छुने, दूध खुवाउने सपना थियो, सबै उडेको जस्तै भयो।

डाक्टरहरुलाई धेरै अनुरोध गरेर बच्चा हेर्न गएँ। भर्खर जन्मिएको कलिलो नानीलाई सिसाभित्र बन्द गरेर राखिएको थियो। मैले मन थाम्नै सकिनँ। भित्रभित्रै टुटिसकेको थिएँ।

बच्चालाई दूध खुवाउन नपाएपछि मेरो दूध गान्निएर हैरान। निकाल्दै फ्याल्दै गर्दाको तनाव। बच्चाले खानुपर्ने दूध निचोरेर फ्याल्नुपर्दा आमाको मनमा कस्तो भयो होला। तर पनि मन सम्हाल्थें। हाम्रो बसमा केही छैन, ईश्वरकै मर्जी हो जस्तो लाग्थ्यो।

एक हप्तापछि बच्चालाई जन्डिस निको भएपछि घर पठाइयो। म दंग थिएँ। बच्चालाई एकछिन पनि छोड्न मन लाग्दैनथ्यो। सुरुमा दूध खुवाउन सकस भयो, तर विस्तारै खान थालिन्।

जन्डिस भएको बच्चा भएकाले विशेष ख्याल गर्नुपर्थ्यो। घाम नअस्ताउन्जेल घाममै राख्थें। ४ वटा खुट्टा भएको जालीभित्र राख्थें। ऊ घाममा मस्त सुत्थिन्। म छोरीको मस्त निन्द्रा हेर्दै पूरै दिन काट्थें। खाट वरिपरि टन्न गुडिया राखेर छोरीलाई सुताउँथें।

०००
छोरी साढे दुई वर्षकी भएपछि अर्को बच्चा जन्माउने योजना अनुरुप म फेरि गर्भवती भएँ। यो पटक भने मेरो तौल असाध्यै बढ्यो। तौल धेरै नै बढेपछि श्रीमानले बिहान र बेलुका हिँडाउन लानुहुन्थ्यो। त्यतिबेला हामी लाजिम्पाटमा बस्थ्यौं।

छोराको पालामा खुट्टा पनि एकदमै सुन्नियो। खान भने यो पटक पनि मजाले रुच्थ्यो। आफन्तहरुले दिनका-दिन कहिले के, कहिले के बनाएर ल्याइरहने। मःम र चाउमिन पनि त्यो बेला दिनदिनैजसो खाएँ होला।

घरमा दुई छाक नै मासु-भात खानैपर्ने। खाना अनुसारको जिउ त लाग्ने नै भयो। मोटाएँ भन्ने पिर पनि नहुने रहेछ त्यो बेला। जसले पनि तिम्रो पेटमा जुम्ल्याहा बच्चा छ हो? भनेर सोध्थे। अल्ट्रासाउन्डमा एउटा मात्रै बच्चा भने पनि मनले नमानेर हरेक पटक डाक्टर सोधिरहन्थें।

०००
डाक्टरले दिएकै समयमा मलाई हल्का पेट दुख्न सुरु भयो। हस्पिटलमा भर्ना भएँ। ब्यथा पनि लागेपछि बच्चा निकाल्न थालियो। तर बच्चासँगै आउनुसार्ने साल त पेटमै छुटेछ। बाहिर बसेका श्रीमान् र परिवारसम्म पनि यो कुरा पुगिसकेको रहेछ। रातारात सिनियर डाक्टरलाई बोलाएर अप्रेसन गरेर पेटभित्र अड्केको साल निकालियो।

लामो समयपछि मात्रै मेरो होस आएको रहेछ। यदि ढिलासम्म साल पेटमै राखेको भए ज्यान नै जाने सम्भावना पनि रहेछ।

बच्चा जन्मँदा ४ किलो ६ सय ग्राम थियो। साललाई बच्चाले थिचिराखेको रहेछ। बच्चा ठूलो भएकोले बल्ल-बल्ल निकाल्दा साल अड्केको रहेछ। अप्रेसन गरेपछि दुई दिन हस्पिटलमा बस्नुपर्यो।

०००
दुवै बच्चाको पालामा पूरै एक-एक वर्ष कतै नगई घरमै बसें। त्यस अवधिमा बच्चा कसरी हुर्काउने भन्ने विषयमा बच्चाको मनोविज्ञानबारे धेरै पुस्तक किनेर पढें। जसले मलाई बच्चा हुर्काउन धेरै नै मद्दत गर्यो।

८ महिनासम्म दिनमा दुई पटक तेल लगाएर बसें। गीत गाउन पनि पूर्ण रुपमा बन्द गरें। आमाहरुले भनेझैं सुत्केरीमा राम्रो स्याहार गरेर बसें। त्यही भएर हुनुपर्छ, मलाई अहिले ढाड दुख्ने, खुट्टा दुख्ने जस्ता समस्या छैन।

०००
छोरी प्रज्ञा सिंहले भर्खरै फिलिपिन्सबाट एमडी सकेकी छिन्। उनी बच्चाको डाक्टर भएर फिलिपिन्सबाट स्वदेश फर्केकी छिन्। छोरा प्रत्युषमान सिंह बुटवलमा सिंह कम्पलेक्सको एमडीका रुपमा काम गर्दैछन्। म उनीहरुको प्रगति र कामप्रतिको लगाव देखेर नतमस्तक भएकी छु।

उनीहरु दुवै जना ज्ञानी र संस्कारी छन्। यति हुनुमा मैले सानैदेखि दिएको अनुशासन र संस्कार हो जस्तो लाग्छ।

मैले छोरा-छोरीलाई धेरै वर्षसम्म त टिभीमा कार्टुन बाहेक केही देखाउँदै देखाइनँ। पूजा तथा भजनहरु गाउन र सुन्न लगाउँथें। सधैंजसो विदेशमा नेपालीले भोग्नुपर्ने पीडा, आमा-बुबाको महत्व, आफ्नो संस्कार र ज्ञानका कथाहरु सुनाइहन्थें।

त्यही भएर होला, दुवैले विदेशमा पढाइ पूरा गरे पनि कर्मभूमि नेपाल नै रोजेका छन्। अहिले छोरा-छोरी र हामी आमा-बाबु साथीजस्तै भएका छौं।

यो पनि

२४ साउन, २०७८, १५:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।