नर्स मनिषाको प्रसव पीडा र खुसी : अप्रेसन थिएटरमा सुताउँदा यहाँबाट कसरी भाग्ने होला भन्ने सोच आयो

नर्स मनिषाको प्रसव पीडा र खुसी : अप्रेसन थिएटरमा सुताउँदा यहाँबाट कसरी भाग्ने होला भन्ने सोच आयो

शिक्षण अस्पतालमै कार्यरत डा. अनिलसँग सुरुमा मनिषाको सामान्य चिनजान मात्र भयो। जब डा. अनिल पढाइका लागि दिल्ली गए, उनीहरुको कुराकानी बाक्लिन थाल्यो।

डा. अनिल दिल्लीबाट डिएम कार्डियोजी गरेर फर्केपछि उनीहरु झन् नजिकिए। विस्तारै यो जोडीले प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने निर्णय गर्यो।

विवाह गर्ने त गरे तर, उनीहरु बीचमा एउटा सामाजिक पर्खाल थियो। डा. अनिल तराईका, मनिषा नेवार समुदायकी। सुरुमा विवाह गर्न समाजसँग जुध्नुपर्ने हो कि भन्ने डर थियो। तर दुवैको परिवार बुझ्ने भएकाले सोचे जस्तो गाह्रो भने भएन।

परिवारको स्वीकृतिमा दुवै संस्कृतिलाई मिक्स गरेर डा. अनिल र नर्स मनिषाबीच विवाह भयो।

विवाहको एक वर्षपछि नै बच्चा जन्माउने योजना थियो उनीहरुको। तर योजना बनाएको झन्डै दुई वर्षपछि मात्र मनिषा गर्भवती भइन्। 

विवाहपछि महिलालाई मातृत्वको चाहना र समयमा बच्चा नबस्दाको तनाव झेलेकी छिन् उनले। साथमा बच्चा जन्मिएपछि धेरै दूध आएर समस्या बढेको अनुभव पनि उत्तिकै छ।

अहिले उनी झन्डै तीन महिनाको प्रेगनेन्सी पिरियडमा छिन्। आमा बन्नु भनेको संसार जित्नु जस्तै हो भन्ने नर्स मनिषाले आफूले भोगेको प्रसव पीडा र खुसी उकेरासँग यसरी पोखिन्ः

णण

000

विवाहपछि हस्पिटलको जागिर छोडेर श्रीमानकै हार्ट क्लिनिकमा इन्चार्जको रुपमा काम गर्ने थालें, जहाँ मैले क्लिनिकको स्टाफदेखि फाइनान्सियल जिम्मेवारी समेत हेर्थें।

विवाहपछि तुरुन्तै बच्चाको प्लान नगर्ने हाम्रो सहमति थियो। अफेयर चलिरहँदा घुम्न र डेटिङ गएको जाने अनुभव नै गर्ने पाएनौं। उहाँ पनि व्यस्त र म पनि व्यस्त हुँदा हामीले एकअर्कालाई समय दियौं।

एक वर्षपछि बच्चाको प्लानिङ गर्यौं। तर कन्सिभ भइरहेको थिएन। हामी दुवै स्वास्थ्य क्षेत्रका भएकोले कन्सिभ नहुँदा पनि डराएनौं। दुवैमा शारीरिक रुपमा केही पनि समस्या थिएन। अहिलेको नयाँ कन्सेप्ट अनुसार प्लानिङ गरेपछि फोलिड एसिड खानुपर्ने थियो। तर मेरो मिस भयो।

प्लानिङ गरेको झन्डै साढे दुई वर्षपछि मात्रै गर्भ बस्यो। लामो पर्खाइपछि गर्भवती भएको खबरले एकदमै एक्साइटेड भयो। डाक्टरले जाँचेर ‘ल बधाई छ’ मात्र के भनेका थिए, मेरो मुटु ढुकढुक भयो। के गरौं, कसो गरौं, छटपटि जस्तै भयो। घर–परिवार सबै दंग थिए।
 
०००
पाँच हप्ताको प्रेगनेन्सीमा छठ मनाउन जनकपुर गएको थिएँ। फर्केर आउँदा तल्लो पेट साह्रै दुख्यो। मैले देखाइरहेको गाइनोकोलजिस्ट डा. पदमराज पन्तसँग सल्लाह गर्दा गर्भ जाने सम्भावना भएकोले पूरै आराम गर्न लगाइयो। आराम गरेको हप्ता दिनमै दुखाइ कम भयो तर आराम भने गरिनै रहें।

त्यतिबेला म ३० वर्ष नाघिसकेकोले पनि रिस्क हुनसक्छ भनेर केही महिना आरामै गरें। पहिलो सर्कलपछि नर्मल भएँ तर भोमिट हुने र बासनाको एलर्जी भने पछिसम्म नै भइरह्यो। पहिले गुलियो खान मनपर्ने मैले प्रेगनेन्सीमा गुलियो त मुखमै राख्न सकिनँ। अहिले सम्म पनि गुलियो खान मन लाग्दैन।

लसुनको बासना सहनै नसक्ने भयो। अरु त सबै नै रुच्थ्यो। दाल, भात, तरकारी मज्जाले खान्थें। साग चाहिं धेरै नै खाएँ। मेरो तौल १५ केजी बढ्यो। आफैंलाई ऐना हेर्दा ओहो! मै हो र? जस्तो लाग्थ्यो। 

सात महिनाको अन्तिम समयतिर तिध्रा दुखेर हिड्डुल गर्नै सकिनँ। त्यसपछि फेरि बेड रेस्ट गर्नुपर्यो। दुवै पटक बेड रेस्ट गर्दा दिक्क चाहिं लागेन। म आफ्नो बच्चा स्वस्थ जन्माउन चाहन्थें र धेरै महत्वकांक्षा पनि थिएन। जसरी भए पनि बच्चालाई पेटभित्र राम्रो र सजिलो होस् भन्ने सोच हुन्थ्यो। 

३६ हप्ता कटेपछि जँचाउन जाँदा पानीको भोलुम बोर्डर लाइनमा देखियो। त्यसैले एक हप्तापछि नै जँचाउन बोलाइयो। पानी अझै कम भएको रहेछ।  पानी कम भयो भने बच्चालाई रिस्क हुनसक्छ।

०००
३७ हप्ता लाग्यो। डाक्टरले अब भोलि बिहानै अप्रेसन गरौं भन्नुभयो। त्यसपछि भने एकदमै डराएँ। त्यत्रो वर्ष नर्स भएर बिरामी, अप्रेसन सेवा गर्ने म यति कमजोर भएँ, अहिले भन्न पनि अप्ठ्यारो लाग्छ। श्रीमान् र डा. पन्तले मेरो साइकोलोजी बुझेर मानसिक रुपमा बलियो बनाउन धेरै सपोर्ट गर्नुभयो।

हस्पिटलमा हजारौं बिरामीसँग काम गरेको अनुभव भए पनि आफैं बिरामी भएर हस्पिटल बस्नु परेको थिएन। अप्रेसन थिएटरमा लिएर जाँदा मेरो डरको सीमा नाघेको थियो। हजारौंलाई क्यानुला लगाइदिएको भए पनि आफैंले क्यानुला लगाउँदा होस उडेको थियो।

अप्रेसन थिएटरको टेबुलमा सुताएर आधा शरीर प्यारालाइज गर्दा मेरो दिमागमा यहाँबाट कसरी भाग्ने होला भन्ने सोच आयो। यस्तो गाह्रो हुने रहेछ, अब अर्काे बच्चा नै जन्माउँदिन जस्तो लाग्थ्यो। 

हामीले मेरो पेटमा छोरा वा छोरी के छ हेरेका थिएनौं। त्यसैले के जन्मिएला भन्ने उत्सुकता उत्तिकै थियो।

अप्रेसन गरेर निकालेपछि डा. पन्तले छोरी हेर्नूस् भनेपछि साह्रै खुसी भएँ। खासमा मलाई छोरी होस भन्ने नै चाहना थियो। छोरी साथी जस्तै हुन्छन् भन्ने लाग्थ्यो। छोरीको अनुहार देखेपछि त अघिसम्मको पीडा र डर त कता हो कता भाग्यो।

ओहो! म पनि आमा भएँ। ठूलै संघर्ष पार गरे जस्तै लाग्यो। श्रीमान् ओटीकै गाउन लगाएर बाहिर कुरिरहनु भएको थियो। मेरो पीडा हेर्न नसकेर उहाँ बाहिर मलाई कुरिरहनु भएको थियो। मेडिकल पर्सन भए पनि आफूलाई पर्दा डर चाहिं लाग्दो रहेछ। मैले प्रेगनेन्सीको अवधिमा महसुस गरेको पक्ष यही नै हो। 

०००
स्टिचिङ गरेको ठाउँमा दुखेको थियो। रिकभरी रुममा राख्दा म दुई घन्टा निदाएछु। २४ घन्टापछि ब्रेस्ट फिडिङ गराएँ। छोरीले अलिअलि गर्दै दूध खान थालिन्। त्यो अनुभव हरेक आमाको लागि अविस्मरणीय नै हुन्छ होला। मैले चाहिं खुब इन्जोय गरें।

श्रीमान् बच्चालाई लिइराख्नुभएको थियो। कसैलाई छुन पनि दिनुभएन। आफैंले बोक्दै केयर गरिरहनुभयो। तीन दिन हस्पिटलमा राखेर घर फर्किंदा खुट्टा दुखेर भर्याङ चढ्नै सकिनँ। श्रीमान् र मेरो दाइले बोकेर लानुभयो। 

मैले छोरीलाई ६ महिनासम्म एक थोपा पानी पनि नखुवाई आफ्नै दूध मात्रै खुवाएँ। यति दूध आउँथ्यो की छोरीले टन्न खाएर पनि कचौराका कचौरा निकालेर फ्याल्नु पर्थ्यो। बच्चाले सबै दूध खान नसक्दा गानिएर धेरै गाह्रो भयो। एउटा ब्रेस्टमा त पिप नै भरिएर युसडी गराएर सिरिञ्जले घोचेर निकाल्नु पर्यो।

मेरो मात्रै दूध खाने हुँदा हरेक २÷२ घन्टा उठेर खुवाउनुपर्ने। झन्डै तीन वर्षसम्म ब्रेस्ट फिडिङ गराएँ। २÷३ वर्ष त निद्रा त कता हो कता। तैपनि छोरीको मुख देखेपछि माया लागेर सबै दुःख हराउँथ्यो।

छोरी जन्मिएपछि पूरै समय उसैको लागि दिइरहेको छु। आमा भएपछि पहिलो कर्तव्य त आफ्नो सन्तानको विकासको लागि दिनुपर्छ भन्ने लाग्थ्यो। त्यही भएर कहिले पनि बच्चाले गर्दा मेरो करियर रोकियो भन्ने लागेन। 

अहिले छोरी अनिषा पाँच वर्षकी भइन्। छोरीको नाम हामी दुवैको नामलाई मिलाएर अनिषा राखेका हौं। 

अहिले दोस्रो प्रेगनेन्सीमा छु। अर्को हप्ता तीन महिना पुग्दैछ। हामीले छोराछोरी जे भए पनि दुई जना सन्तान चाहिं चाहिन्छ भन्ने सोचेका थियौं। पहिलेको तुलनामा यस पटक अलि बढी गाह्रो अनुभव गर्दैछु। पहिले यात्रामा गएकोले तल्लो पेट दुखेर बेड रेस्ट गर्नुपर्यो तर यस पटक कहीँ नगए पनि तल्लो पेट दुखेको छ। साथै स्पोटी ब्लिडिङ पनि भयो र दुखाइ पनि भएकोले हार्मोन मेडिसिन खाएर कोठामै आराम गर्दैछु।

हुन त कोरोनाको कारण कतै जाने कुरा पनि भएन। अहिले मेरो दिनचर्या बस्ने, खाने, आराम गर्ने र त्यही फ्लोरमा हिँडडुल गर्ने मात्रै हो। हरेक प्रेगनेन्सी नयाँ नै हुने रहेछ। हरेक प्रेगनेन्सीको अनुभव फरकफरक हुने रहेछ। हामीले छोरी तीन वर्षपछि अर्को प्लान गर्ने सोच बनाएका थियौं गत साल कोभिडले गर्दा सोच्दै सोचेनौं। यस पटक प्लानिङ नै गरेका हौं।

उमेर बढेपछि कन्सिभ हुन पनि गाह्रो हुन्छ। तर कोभिडले गर्दा मानसिक रुपमा भने साह्रै कमजोर बनाउँदो रहेछ। हस्पिटल जान, डेलिभरी गराउन, बच्चालाई केही होला भन्ने डर भने भइरहन्छ। चिकित्सक घरमै भएकोले हरेक मुभमेन्टमा अलर्ट चाहिँ भइरहने। त्यसको फाइदा भने छ। 

आफू आमा भएपछि आमाप्रतिको सोच र धारणा नै बदलिएको छ। आमा हुनु भनेको भाग्यमानीले मात्रै पाउँछ, सौभाग्य नै हो। आमालाई भगवानभन्दा माथि राख्नुपर्छ भन्ने सोच बढेको छ। मेरी आफ्नी आमा र श्रीमानको आमाप्रति अझै बढी माया बढेको छ।

यो पनि

 

१३ असार, २०७८, २२:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।