उकेरा काेलम

न्युरो साइक्याट्रिस्ट डा निना राईको प्रसव पीडा र खुसी : मेरो बच्चा देऊ भनेर बर्बराइरहन्थें

सिर्जना दुवाल श्रेष्ठ


नेपालकी व्यस्त चिकित्सकमध्ये पर्छिन्, न्युरो साइक्याट्रिस्ट डा. निना राई। पछिल्लो समय नेपालीहरुमा मानसिक समस्या बढ्दै जाँदा उनको व्यस्तता पनि बढ्दै गयो।

कोरोना महामारी फैलिएपछिको एक वर्षको अवधिमा त डिप्रेसनका बिरामी अझै निकै बढेको अनुभव छ उनीसँग।

गर्भवती र सुत्केरीमा देखिने डिप्रेसनको परामर्शमा समेत व्यस्त रहेकी डा. निनाका आठ र पाँच वर्षका दुई छोरी छन्।

महिला भएपछि आमाको अनुभव गर्नुपर्छ भन्ने सोच आम महिलामा जस्तै उनमा पनि पहिलेदेखि नै थियो। गर्भवती हुँदाको प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन् डा. निना राई:

म छोरी हुँ, आमा हुने जातकी हुँ भन्ने सधैं लागिरहन्थ्यो। मलाई लाग्थ्यो, नारित्वको अनुभूति आमा बनेपछि मात्रै गर्न पाइन्छ। तर आमा, दिदीबहिनीहरुले आमा हुँदाको पीडा सुनाउँदा-सुनाउँदा साह्रै डर लाग्थ्यो।

ओहो! आमा बन्नु चानचुने काम पक्कै होइन। यो निकै गाह्रो काम हो भन्ने मेरो मानसिकता विकसित भइसकेको थियो।

मनोचिकित्सक हुने सपना थियो। खुबै मन लगाएर पढ्थें।

विसं २००७ मा डा. अशोक कुँवरसँग विहे गरें। हाम्रो प्लान थियो, एमडी सकेर काम गर्न थालेपछि मात्रै बच्चा जन्माउने।

मलाई दिदीबहिनी र साथीहरुको बच्चाहरु देख्दा निकै रमाइलो लाग्थ्यो। उनीहरुसँग घुलमिल भइहाल्थें। बच्चाहरुको बीचमा बस्दा फूलबारीमा बसेजस्तै लाग्थ्यो।

विहेको पाँच वर्षपछि हामीले बच्चा जन्माउने प्लान गर्‍यौं। यो पाँच वर्ष भने मलाई परिवार र आफन्तबाट धेरै दबाब आएको थियो। पढाइ, करिअर मात्रै भनेर हुँदैन। उमेर छिप्पिसक्यो। फेरि बच्चा नै नहोला आदि-इत्यादि।

यस्ता कुरा सुन्दा मन चसक्क हुन्थ्यो। कतै म साँच्चै आमा हुन नसक्ने पो हो कि? कतै मैले आफ्नो करिअर भन्दाभन्दै मातृत्वको अनुभूति अनुभव गर्नै नसक्ने पो हो कि? मनका यस्ता डर हटाउन म डाक्टर साथीहरुसँग सल्लाह लिन्थें। श्रीमान् पनि डाक्टर नै भएकोले उहाँले पनि सिनियर डाक्टरहरुसँग सरसल्लाह गर्नुहुन्थ्यो।

एमडी सकेर काठमाडौं आएपछि किस्ट मेडिकल कलेजमा लेक्चरलको रुपमा काम गर्न थालें। त्यसलगत्तै म गर्भवती भएछु। पहिलो पटक गर्भवती भएको खबर सुन्दा दंग परें। त्यतिबेला म ३० वर्षको थिएँ।

२८ वर्ष उमेर पुगेपछि गर्भवती हुँदा बच्चा र आमालाई असर गर्ने, बच्चा नबस्ने जस्ता कुरा सुन्दै आएकी थिएँ। समयमै बच्चा पाउने सोच हुँदाहुँदै पढाइ र काममा व्यस्त हुँदा उमेर बढिसकेको थियो। यस्तो मानसिक डरका बाबजुद पनि गर्भवती हुँदा मन हर्षले रमेको थियो।

गर्भवती भएको पहिलो तीन महिना आम महिलालाई जस्तै मलाई पनि मर्निङ सिकनेस भयो। वाकवाकी लाग्ने, खाना नरुच्ने, बढी थकान लाग्ने समस्याले साह्रै सतायो। तर जति अल्छी लागे पनि यसको असर काममा भने कहिल्यै देखाइनँ। मेरा विद्यार्थी र बिरामीलाई त्यसको कुनै छाया पर्न नदिई व्यस्त रहिरहें।

खाना नरुच्ने र खाएको कुरा पेटमा नअडिने हुँदा म निकै कमजोर भएको थिएँ। तर परिवार र सहकर्मीहरुको सहयोग मैले पाइरहेँ।

कतिपय गर्भवती महिला मकहाँ नै देखाउन आउँथे। गर्भवती हुँदा धेरै तनाव लिएर डिप्रेसनमा गएकाहरु पनि हुन्थे। उनीहरुलाई उचित सल्लाह त दिन्थें तर म आफैं चिकित्सक भए पनि मातृत्वका सवालमा धेरै कमजोर भएँ जस्तो लाग्छ।

जन्मनु केही हप्ता अगाडि मेरो पेटको बच्चाको मुटुको धड्कन कम देखियो। इको गरें। त्यही दौरान मलाई थाइरोइड पनि देखियो। थाइरोइडको औषधि नै खानु पर्‍यो।

त्यति बेला हर्मोन परिवर्तन हुनु सामान्य नै हो। तर पनि यस्तो कुराले गर्भवती महिलालाई असर चाहिं पर्ने रहेछ। इकोको रिपोर्ट ठिक छ भनेपछि मात्रै ढुक्क भएँ। हामी कामकाजी हुँदा आराम नपुग्ने र तनाव बढी हुँदा यस्तो हुने रहेछ।

बच्चा पाउने बेला पानी कम भएकोले अप्रेसन गर्नुपर्‍यो। म आफूलाई भाग्यमानी ठान्छु किनभने अप्रेसन गरेर बच्चा निकाल्ने डाक्टर पनि साथी र बच्चा रिसिभ गर्ने डाक्टर पनि साथी।

पेट चिरेर बच्चा निकालेपछि संसार जितेजस्तो अनुभव भयो। बच्चा निकालेर मेरो छातीमा राखिदिँदाको माया म शब्दमा वर्णन गर्न सक्दिनँ। अप्रेसन गरेकोले ८ घन्टा पोस्ट अप्रेटिभमा राख्दा म ‘मेरो बच्चा खोई, बच्चा देऊ भनेर बर्बराइरहन्थें। छिनछिनमा बच्चा खोजिरहन्थें। बच्चा नै संसार जस्तो लाग्ने रहेछ।

ढिलो बच्चा पाएकोले होला, बच्चा देखेपछि पनि तनावमै थिएँ। बच्चा नबोल्ने पो हो कि? नहिँड्ने हो कि भनेर पिर लाग्ने रहेछ। त्यसमाथि मलाई कब्जियतले सतायो। कब्जियत हुँदा ब्लिडिङ हुने र ट्वाइलेट जानै डर लाग्ने। यसको पनि औषधि खानु पर्‍यो।

दूध खुवाउन खोज्दा स्तनको निप्पल ठूलो भएर बच्चाले तान्नै सकेन। एक जना आमालाई बच्चाले दूध चुस्न नसक्दा सारै पीडा हुने रहेछ। सिरिन्जमा तानेर बोटलमा राख्दै खुवाउनु पर्थ्यो। दूध चिसो भइसक्थ्यो। कोशिस गर्दागर्दा बल्ल १५ दिनपछि मेरो दूध सिधैं खान सक्यो बच्चाले। त्यसपछि म धेरै खुसी भएँ।

आमा भएपछि यस्ता सानातिना लाग्ने कुराहरुले पनि धेरै फरक पार्ने रहेछ। गर्भवती हुँदाको ९ महिना साह्रै इमोसनल भएँ। सानो कुरामा पनि मन दुख्ने, रिस उठ्ने।

बच्चालाई दुई महिनापछि नै छोडेर काममा जानु पर्दाको पीडा एउटी आमाको लागि निकै सकसपूर्ण हुन्छ। मन नै नमान्ने। बिरामीलाई परामर्श दिइराख्दा होस् वा विद्यार्थीलाई पढाइराख्दा, मन चाहिँ छोरीतिरै गइरहने।

०००
साढे दुई वर्षपछि म फेरि गर्भवती भएँ। यो पटक हामीले खासै प्लान गरेका थिएनौं तर हामी खुसी भयौं। छोरीलाई साथी हुने भयो भनेर खुसी भएका थियौं।

हामी श्रीमान-श्रीमतीलाई नै छोरी मन पर्ने। दोस्रो पनि छोरी नै होस् भन्ने चाहना थियो।

बढ्दो उमेरले पनि होला पहिलो भन्दा दोस्रोको पालामा धेरै गाह्रो  भयो। छिट्टै थकाइ लाग्ने, रिस उठ्ने। यस पटक गर्भवती हुँदा पनि थाइरोइड देखियो। फेरि औषधि खानुपर्‍यो।

म घरमा सुतेर कहिले पनि बसिनँ। सकभर सक्रिय भइरहें। तर अन्तिम दुई साता मलाई सारै नै गाह्रो भयो। बच्चाको तौल पुगेन। डाक्टरले आराम नपुगरे बच्चा नबढेको भने। म छाँगाबाट खसे जस्तै भएँ। करिअरको धुनमा पेट भित्रको अंशलाई ख्याल गरिनँ कि भन्ने लाग्यो। त्यो अन्तिम दुई साता पूरै बेड रेस्ट गर्नुपर्‍यो।

एकै पटक हाई प्रोटिन डाइट खाँदा नपचेर डाइरिया भयो। धेरै जानियो, बुझियो भने झन् गाह्रो हुन्छ भनेजस्तो पो भयो।

तनावकै बीच एलर्जी कफ र खोकी धेरै आयो। प्रेसर लो भएर अर्को टेन्सन। यति धेरै कफ र खोकी आउँथ्यो कि अहिले सम्झँदा पनि आत्तिन्छु।

डेलिभरीको समय आइसक्यो, बच्चा त्यति बढेन भन्छन्। त्यो समय मेरो परिवार र साथीहरुले भरपुर सहयोग गरे। यदि प्रसवको बेला सहयोग र साथ नपाउने हो भने पेटभित्र विकास भइरहेको बच्चालाई समेत नकारात्मक असर पर्ने रहेछ।

दोस्रो पनि अप्रेसन गरेर नै निकालियो। भिडियो एक्स-रेमा देखाइएको तौलभन्दा कम हुने हो कि शंका थियो। तर बच्चा २.४ केजीको जन्मियो।

मलाई खोकी र कफले छोडेको थिएन। खोकी सुरु भएपछि ननस्टप लागिरहने। चिरेको पेटबाट टाँकाहरु निस्कन्छ जस्तो लाग्ने। टाँका निस्केला भनेर खोकी रोक्दा मरिएला जस्तै भएर पेट दुख्ने। श्रीमानलाई समात्न लगाएर विस्तारै-विस्तारै खोक्थें। हप्तौं दिन यो क्रम चल्यो।

दुवै छोरी जन्मँदा ठूलो समस्या केही नदेखिए पनि विभिन्न समस्या भने आइरहे। जसले मलाई तनाव दिई नै रह्यो। अहिले सम्झँदा लाग्छ, म जस्तो डाक्टरलाई नै यति धेरै समस्या र डरले घेर्छ भने चिकित्सकको पहुच नभएका महिलालाई कति गाह्रो हुँदो हो।

यहि बेला धेरै सुत्केरी महिलाहरु पोस्ट पार्टम डिप्रेसनमा जान्छन्। यो संसारभरिका महिलामा हुने समस्या हो। यति बेला महिलालाई सपोर्ट राम्रो हुनुपर्छ। अन्यथा धेरै महिलाले डिप्रेसनकै औषधि खानुपर्ने हुनसक्छ।

त्यसैले, हरेक परिवारले सुत्केरी महिलाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कान्तिपुर गाथा : तपाईंको आत्माले शान्ति पाओस् !

योभन्दा अगाडि, पहिलोपल्ट जुन कोभिडले नेपालमा आक्रमण गरेको थियो, त्यो कोभिड मास्क, स्यानेटाइजर र साबुन-पानीले पन्छिएको थियो। अहिलेको कोभिड निकै बलशाली देखियो। सरकारले सूचना जारी....

हिजोका कुरा : पञ्चायत समर्थकको कुटाइपछि विद्रोही बनेका नाटककार

सन् १९५४ मा धनकुटामा जन्मेका मल्ल सानैदेखि साहित्य, संगीत र नाटकको माहोलमा हुर्किए। धनकुटामा त्यतिबेला न बिजुली थियो, न सडक बाटो नै। गाडी हुने त....

ब्याच नम्बर ६९ : विमानस्थलै तस्करलाई ठेक्का दिएको त्यो समय

गोपी नेपालका युवा(युवतीलाई विभिन्न प्रलोभनमा पारेर लागु औषधको भरिया बनाउन सक्रियमध्येकी एक मुख्य पात्र हुन्। उनको समूहमा रहेर काम गर्दा पक्राउ परेकाहरू नेपालको कारागारमा पनि....

चौथो अंगमा कार्टुनिस्ट रविन सायमी : सम्पादक कर्पोरेट हाउसका हाकिम जस्ता भए

पहिलेदेखि नै राजनीतिक कार्टुनहरु बने हाम्रोमा। पञ्चायतकालमा प्रेस स्वतन्त्रता थिएन। यद्यपि, सरकार विरोधी पत्रिकाहरुले सरकारको व्यंग्य गर्थे।  सभ्य प्रकारको व्यंग्य भने २०४६ सालपछि नै हुन....

‘श्रीमतीको सपना पूरा गर्न सहरमा पसिना बगाउँदै छु’

सहरमा कोही व्यस्त छन्, घडेरी खन्न। कोही कौसीमा करेसाबारी बनाउँदै छन्। कोरोनाले सहरका मानिसलाई समय दिएको छ। उनीहरु समय कटाउन अनेक हर्कत गरिरहेका छन्। सरकारले....