पूर्वमिस नेपाल प्रीतिको प्रसव पीडा र खुसी :२९ घन्टाको पीडा सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ

पूर्वमिस नेपाल प्रीतिको प्रसव पीडा र खुसी :२९ घन्टाको पीडा सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ

सन् २००३ की मिस नेपाल हुन्, प्रीति सिटौला। मिस नेपाल भएपछि ‘कल कान्तिपुर’ लगायत केही टेलिभिजन कार्यक्रममा काम गर्दैगर्दा उनी उच्च शिक्षाका लागि अमेरिका पुगिन्।

अमेरिकाबाट पब्लिक रिलेसन विषयमा मास्टर्स गरेकी प्रीतिले अमेरिकाकै उत्कृष्ट मानिने यल युनिभर्ससिटीमा काम गरेकी थिइन्।

नेपालमा केही समय हिडेन ट्रेजरमा कार्यक्रम संयोजकका रुपमा समेत काम गरिन् उनले।

भनिन्छ, सिधा बाटो हिँडिरहेकी एउटी महिलाको जीवन गर्भवती भएपछि अन्यत्रै मोडिन्छ। यस्तै अनुभव प्रीतिसँग पनि छ। ६ वर्षको छोरा आरभ र पाँच वर्षीया छोरी आश्नाकी आमा प्रीति सिटौलाले आफूले भोगेको प्रसव पीडा र खुसीलाई उकेरामार्फत यसरी पोखिन्ः

सन् २००७ मा डा विजोय राजवंशीसँग विहे गर्दा म अमेरिकामा थिएँ। विजोय नेपालमा काम गर्ने भएकोले विहेपछि हामी सँगै बस्न पाएनौं। चिकित्सक भएकोले ऊ भन्नासाथ अमेरिका जान मिल्दैनथ्यो। विहे गरेको तीन वर्षसम्म कहिले म नेपाल आउने त कहिले ऊ अमेरिका जाने भइरह्यो।

हामीले मेरो पढाइ सकिएपछि मात्रै बच्चा जन्माउने योजना बनाएका थियौं। योजना अनुसार नै मैले मास कम्युनिकेसनमा ब्याचलर र पब्लिक रिलेसनमा मास्टर्स पूरा गरेपछि बच्चा जन्माउने तयारी गर्यौं।

मलाई बच्चा साह्रै मन पर्ने। मिस नेपालमा भाग लिनुअघि चार वर्ष किन्डर गार्डेन स्कुलमा बच्चा पढाएको अनुभव मसँग थियो। बच्चा बोलेको, हाँसेको, रोएको, खेलेको साह्रै रमाइलो लाग्थ्यो मलाई।

विहेलगत्तै बच्चा जन्माउने रहर पनि नभएको होइन तर पहिला पढाइ पूरा गरौं भन्ने थियो।

०००
गर्भवती भएपछि मलाई बेग्लै खालको अनुभव भयो। ओहो! मेरो पेटभित्र अर्काे मानवको विकास भइरहेको छ भन्ने सोचेर मन त्यसै–त्यसै रोमाञ्चित हुन्थ्यो। तर शारीरिक रुपमा भने मेरो लागि यो अवधि चुनौतीपूर्ण रह्यो।

गर्भवती भएको पहिलो चार महिना पूरै बिरामी जस्तो भएँ। केही खान मन नलाग्ने, बल्ल–बल्ल खायो, त्यो पनि बान्ता भइहाल्ने।

मलाई दाल, भात, तरकारी साह्रै मन पर्छ। तर त्यतिबेला मसलाको बासना नै मन नपर्ने। मैले बच्चा पेटमा हुँदाको पूरै समय माछा–मासु मुखमै हालिनँ।

०००
पाँच महिना लागेपछि मेरो मुटुको धड्कन एकदमै बढ्यो। साँझतिर डर लाग्न थाल्यो। पहिला म यस्तो पटक्कै थिइनँ। केही कुरासँग पनि डर लाग्दैनथ्यो। तर बच्चा पेटमा आएपछि अनौठो डरले डेरा जमाउन थाल्यो।

गाडी चलाएर एक्लै हस्टिपलको इमर्जेन्सीमा देखाउन गएँ। शरीरमा पानीको मात्रा कम भएकोले यस्तो भएको रहेछ।

त्यसपछि ८ महिनासम्म भने खासै समस्या आएन। रमाइलो हुन थाल्यो। आमा पनि मसँगै बस्न आउनु भएको थियो। घरको वरिपरि रमणीय पार्क थियो। आमासँग बिहान र साँझ हिँड्न जान्थें। ८ महिनाको अन्तिम समयसम्म पनि स्विमिङ गर्थें।

मलाई श्रीमानले गर्भवतीका लागि स्विमिङ बेस्ट एक्सरसाइज हो भनेकोले पनि म पौडी खेलिरहन्थें। जसले मलाई रिल्याक्स अनुभूति पनि हुन्थ्यो।

८ महिना चलिरहेको थियो। म अमेरिकामै थिएँ। नेपालमा ससुरा बालाई ब्रेन ट्युमर भएको खबर आयो। त्यसपछि हामी निकै तनावमा पर्यौं। विजोयको दिदी-बहिनी, दाजु-भाइ कोही थिएन। त्यही भएर हामी अमेरिका छोडेर नेपाल आउनुपर्ने अवस्था भयो।

म १० वर्ष अमेरिका बसेर उतै सेटल हुने सोचमा थिएँ। तर सबै छोडेर नेपाल आउनुपर्ने कुराले मलाई डिस्टर्व गर्यो। तैपनि म जस्तोसुकै परिस्थितिलाई सहज मानेर अघि बढ्न खोज्थें। शारीरिक र मानसिक रुपमा फ्रेस हुन धेरै कोशिस गर्थें। मेरो कारण बच्चालाई नकारात्मक असर नहोस् भन्ने चाहन्थें।

बच्चा जन्मने समय आउनै लाग्दा मलाई खानेकुराहरु रुच्न थालेको थियो। आमाले पकाएर दिनुहुन्थ्यो, म खाइरहन्थें।

०००
डाक्टरले दिएकै समयमा मेरो पेट दुख्न थाल्यो। पेट दुखेपछि हस्पिटल गइयो। सबै नर्मल भएकोले अप्रेसन गर्न खोजिएन। मलाई २९ घन्टा प्रसव ब्यथामा राखियो। ओहो! त्यो २९ घन्टाको पीडा सम्झँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ।

अमेरिकामा सकभर अप्रेसन गरिनहाल्ने सिस्टम रहेछ। कम्लिकेसन देखिए मात्रै सर्जरी गर्ने हुँदा मलाई नर्मल डेलिभरी गराउन लामो समय ब्यथाको अनुभव गर्न दिइयो।

महिनावारी हुँदा मलाई सारै दुखाइ हुन्थ्यो। त्यो बेलाको भन्दा १० गुणा बढी पीडा हुँदोरहेछ प्रसव ब्यथामा। तर जस्तोसुकै पीडामा पनि चिच्याउने, कराउने मेरो बानी थिएन। धेरै दुख्दा आमाको हात च्याप्प समात्थें। कति पटक त मर्छु कि क्या हो जस्तो पनि लाग्यो।

जब बच्चा निकालेर सफा नै नगरी जस्ताको तस्तै मेरो छातीमा टाँसिदिए, त्यो पीडा कता गायब भयो कता। नजिकै रहेका श्रीमानलाई हात, खुट्टा सबै ठिक छ कि छैन हेर भनें। बच्चा जन्मिसकेपछि केही समस्या होला कि भन्ने डर हुने रहेछ।

बच्चा पाउने बेला अमेरिकामा श्रीमानलाई पनि सँगै राख्ने चलन थियो। बच्चा नपाउँदासम्म नै श्रीमानको हात समाएरै बसेको थिएँ। बच्चालाई दूध ख्वाउन खोज्दा दूध आएको थिएन। सुरुमा डर–डर पनि लागेको थियो तर दूध आउन थालेपछि ढुक्क भएँ।

मैले बच्चा जन्माएको यल हस्पिटलमा प्रीति सिंह भन्ने भारतीय नागरिकले पनि छोरा जन्माएकी थिइन्। बच्चालाई नर्सरी रुममा राख्ने बेला मलाई निकै तनाव भयो।

बच्चाको हातमा ‘पिएस’ मात्रै लेखिएको थियो। मेरो र उसको छोटकरी नाम जुधेकोले बच्चा साटिन्छ कि भन्ने डर लाग्यो। भर्खर जन्मिएका बच्चा उस्तैउस्तै पनि देखिने। पछि डाक्टरहरुले सम्झाएपछि ढुक्क भएको थिएँ।

बच्चा जन्मिएकोमा खुसी भए पनि ससुरा बाको कारण हामी निकै तनावमा थियौं। भर्जिनियामा ममी–ड्याडीकहाँ मलाई छोडेर विजोय नेपाल फर्के। २२ दिनको बच्चा र मलाई अमेरिकामा छोडेर नेपाल आएका श्रीमानले ससुरालाई दिल्ली लगेर सर्जरी गराए।

बच्चा चार महिनाको भएपछि म पनि नेपाल आउने प्लानमा थिएँ। काम, घर, सामान सबै छोडेर आउनु पर्थ्यो। म त्यति बेला यल युनिभर्सिसटीमा काम गर्थें। यल युनिभर्ससिटी अमेरिकाको उत्कृष्ट तीन कलेजमध्ये एक पर्दथ्यो।

तर, बच्चा तथा परिवारको अगाडि करिअर ठूलो थिएन। मैले कलेजमा राजीनामा दिएँ। सुत्केरीको राम्ररी अनुभव पनि गर्न नपाई प्याकिङदेखि सबै सामान मिलाउन निकै व्यस्त हुनुपर्यो। श्रीमान् नेपालमा आफू अमेरिकामा, गाह्रो भयो।

पहिलो छोरा जन्मँदा मेरो जीवन नै मोडियो। इमोसनल धेरै भइयो।

चार महिनापछि मलाई लिन श्रीमान् अमेरिका जानुभयो। म बच्चा बोकेर सपनाको देशलाई बाईबाई गर्दै नेपाल फर्किएँ।

उता हुँदा सबै काम आमाले हेरिदिनुहुन्थ्यो। यता काम गर्ने मान्छे पनि पाइएन। विजोय निकै व्यस्त, आफ्नो ड्युटी र बुबाको स्याहार।

मेरो माइतीको नाममा कोही पनि थिएन, नेपालमा। ६ महिनामा बच्चाको पास्नी सकाएर फेरि अमेरिका गएँ। अमेरिका फर्कनुको कारण पनि तनाव नै थियो। मेरो छोरो दुब्लो थियो, दूध मात्रै खाने, सोलिड केही खुवाउन नसक्ने। जो आउँछ, बच्चा कस्तो सानो, दुब्लो भनेर फर्कन्छ।

सुत्केरीमा महिला मोटाउनु स्वभाविकै थियो। मलाई कस्तो मोटाएकी, बच्चाको भाग पनि तिमी खान्छौं कि क्या हो भनेर जिस्क्याउने। यस्ता कुरा सुन्दासुन्दा मलाई एकदमै गाह्रो भयो। इमोसनल तनाव धेरै अनुभव गरें।

बच्चा एक वर्षको भएपछि फेरि म नेपाल फर्कें।

०००
सन् २०१५ मा म फेरि गर्भवती भएँ। मेरो छोरा र छोरीमा दुई वर्षको मात्रै फरक छ। हामीले पहिले नै दुई सन्तान जन्माउने तर दुई वर्षको मात्रै फरक गर्ने सोचेका थियौं।

त्यतिबेला म हिडेन ट्रेजरमा प्रोग्राम कोअर्डिनेटर थिएँ। मिस नेपालको लागि कलेज क्याम्पियनदेखि धेरै काममा व्यस्त थिएँ। कलेजका ५-६ तला त फटाफट चढ्थें। खासै केही समस्या भएन। सायद धेरै व्यस्त भएर पनि होला।

मिस नेपाल आयोजना भएको पछिल्लो साता वैशाख १२ गते महाभूकम्प गयो। छोरालाई सुताइराखेको थिएँ, भूकम्प गयो। छोरालाई उठाएर बाहिर लगें। त्यतिबेला मैले आफू गर्भवती भएको पनि बिर्सेछु। पछाडिपट्टि सड्किएको थियो। त्यसको असर अहिलेसम्म पनि छ। बढी हिँड्दा वा शारीरिक रुपमा थाक्दा त्यही ठाउँमा दुख्छ।

छोरीको पालामा खासै समस्या थिएन, खाना पनि मज्जाले रुच्थ्यो। भूकम्पको पराकम्पन रोकिएको थिएन। दोस्रो भूकम्प आउँदा घरको ढोका अड्केर निस्कन सकिएन। सारै सकस भयो।

ससुराको अवस्था पनि झन्झन् बिग्रँदै थियो। ससुराले मलाई तिमी यहाँ नबस, अमेरिका गएर आमाहरुसँग बस भन्नुभयो। ‘न मैले तिमीलाई हेर्न सक्छु, न तिमीले मलाई। मलाई तिम्रो टेन्सनले झन् गाह्रो भयो,’ उहाँले भन्नुभएको अहिले पनि याद छ मलाई।

मलाई बुबाको कुरा ठिक लाग्यो। घर सल्लाह गरेर बुबालाई दिल्लीमा देखाउन लाने बेला सँगै गएर म छोरा लिएर अमेरिका जाने र उहाँहरु नेपाल फर्कने योजना बन्यो।

मेरो पेट निकै ठूलो थियो। दिल्ली पुगेपछि कुन्नी के भयो, अमेरिका जाने आँटै आएन। दुई वर्षको छोरो र यति ठूलो पेट बोकेर जान सक्छु भन्ने आत्मविश्वास हरायो। घरपरिवारकी सबैभन्दा आँटिली सदस्य थिएँ म। तर मेरो आँट जिरो लेबलमा पुग्यो।

बच्चा बाहेक केही नदेखिने रहेछ मातृत्वको मायामा। यो अवधिमा हरेक आमा इमोसनल्ली कमजोर हुने रहेछन्। फेरि बच्चा जन्मेपछि भने अर्काे खालको आँट र हिम्मत बढ्ने रहेछ। दिल्लीबाट हामी सपरिवार नेपाल नै आयौं।

०००
मैले ग्रान्डी अस्पतालमा छोरी जन्माएँ। बच्चा जन्माउने नवौं तलामा र हामी बसेको ११ तलामा। भूकम्पको डर उस्तै थियो। बुबा बिरामी र छोरा दुुई वर्षको।

त्यो समय विजोयलाई धेरै नै गाह्रो थियो। तीन जना सम्हाल्नुपर्ने।

बच्चा ४.३ केजी भएकोले हप्ता दिनअघि नै अप्रेसन गरेर बच्चा निकालियो। त्यो दिन विजोय मसँगै अस्पताल बसे।

त्यो रात पहिलो पटक छोरालाई काम गर्नेसँग छोडेका थियौं हामीले। छोरा आफ्नो कोठामा सुत्न नमानेको थाहा पाएपछि मैले विजोयलाई छोरासँग घरै पठाए। त्यतिबेला १९९९ मिस नेपाल श्वेता सिंह र कान्तिपुर टिभीकी भिडियो एडिटर सृष्टि गहतराजले पालै पालो हस्पिटलमा बसेर सहयोग गरे। परिवार सँगै नहुँदाको पीडा पनि अनुभव गरें मैले।

जब म अस्पतालबाट घर फर्किएँ, दुवै बच्चालाई च्यापेर बेस्सरी रोएँ। अब यी दुई बच्चालाई कसरी सम्हाल्नू भन्ने मनमा आयो। परिवारमा कोही थिएन, २७ महिनाको छोरा, भर्खर जन्मिएकी छोरी अनि बिरामी ससुरा बाहेक। म शारीरिक र मानसिक रुपमा निकै कमजोर भएछु।

०००
छोरी जन्मिको चार महिनामा ससुरा बा बित्नुभयो। नातिनीको मुख हेर्न नै पर्खनु भएजस्तो। यो घरमा दिदीबहिनी, छोरी कोही नभएकोले मेरी छोरी देख्दा बुबा धेरै खुसी हुनुभएको थियो।

दोस्रो पटक बच्चा जन्माउँदा पनि म सुत्केरी भनेर आरामले बस्न पाइनँ। किरिया बस्ने समयमा बुहारीको काम कति हुन्छ भन्नै परेन। सबै काम, जिम्मेवारी मेरै टाउकोमा थियो। अहिले बच्चाहरु खुसी त लाग्छ तर दुवै पटक गर्भवती हुँदाको अवधि भने मेरा लागि निकै कठिन रह्यो।

समाजले बच्चा जन्माउनुलाई सामान्यीकरण गरेको मलाई पटक्कै मन पर्दैन। सबैले जन्माएकै त हो नि भनेर हल्का रुपमा लिइन्छ तर बच्चा जन्माउनु साधारण कुरा होइन। त्यसमा पनि घरपरिवार, सामाजिक दायरा र बाहिरी काम पनि गर्दै आएका महिलालाई यो गर्भावस्थाको समय निकै कष्टपूर्ण हुन्छ। मलाई यसको महसुस हरेक पुरुषले गर्नुपर्छ जस्तो लाग्छ।

२९ चैत, २०७७, १७:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।