कलाकार सरिता डंगोलको प्रसव पीडा र खुसी : डाक्टरको लापरबाहीले ठूलो मानसिक पीडा भोगें

कलाकार सरिता डंगोलको प्रसव पीडा र खुसी : डाक्टरको लापरबाहीले ठूलो मानसिक पीडा भोगें

पेन्टिङकी अब्बल कलाकार हुन् सरिता डंगोल। तर उनी पेन्टिङ मात्र गर्दिनन्, कला शिक्षाको आवश्यकता महसुस गरी कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल समेत सञ्चालन गरिरहेकी छिन्।

आर्ट स्कुलबाट राम्रा–राम्रा कलाकार जन्माइरहेकी सरिताले केही वर्षदेखि क्लासिक आर्ट ग्यालरी समेत खोलेर कला प्रदर्शनी गरिरहेकी छिन्।

सुरु-सुरुमा तरकारी सिरिजमा आफ्ना कला पस्किने सरिता अहिले खुर्सानीको सिरिजमा कला सिर्जना गर्छिन्।

एक छोरी र एक छोरा छन्।

कलाकार सरितासँग सुत्केरी अवस्थाका कतिपय रमाइला क्षण छन् भने प्रसव अवस्थामा चिकित्सकको सानो लापरबाहीले महिनौं दिन डिप्रेसनमा जानुपरेको परेको यथार्थ पनि छ। सरिताले उकेरासँग साटेका प्रसव पीडा र खुसी उनकै शब्दमाः

 

OOO

२२ वर्षको उमेरमा मेरो मागी विवाह भयो, जतिबेला भर्खरै स्नातक पढ्दै थिएँ। मेरो करिअरका सुरुवाती दिन थिए ती। श्रीमानले पनि पर्यटन क्षेत्रमा भर्खरै पाइला चाल्नुभएको थियो।

विवाहपछिको मेरो संघर्ष चुनौतीपूर्ण नै रह्यो। कला क्षेत्रमा लाग्नुको कारण आमा–बुबालाई बुझाउन नै लामो समय लाग्यो मलाई। विवाह गरेर अर्काको घरमा गएपछि त झन् सजिलै कुरा बुझिहाल्ने अवस्था भएन।

हामी दुवैको कामको सुरुवाती समय भएकोले करिअरमा फोकस हुनुपर्छ भन्ने सोच थियो। त्यही सोचले पाँच वर्षपछि मात्रै बच्चा पाउने योजना बनाएका थियौं। पाँच वर्षमा दुवैले आ–आफ्नो क्षेत्रमा केही रेखाहरु कोरेर बाटो बनाउन सफल हुन्छौं भन्ने विश्वास थियो।

मेरो र नन्दको विवाह एकै पटक भएको थियो। नन्दले एक वर्षमै छोरा जन्माएकाले मलाई परिवार र समाजबाट बच्चाको लागि दबाब पर्न थाल्यो। हाम्रो प्लानिङ र सोच अरु कसैले बुझ्न खोजेनन्।

बच्चा मात्रै जन्माएर के गर्ने? हामी श्रीमान–श्रीमती नै करिअर बनाएर राम्रो बन्दोबस्त नगरी बच्चा जन्माउनुुहुन्न भन्नेमा अडिग थियौं। त्यसैले कसैको मानसिक दबाबले जित्न सकिरहेको थिएन।

मभन्दा पछि विवाह गरेका काकाका बुहारीहरुले दुई–दुई वटा बच्चा पाइसकेका थिए। त्यसपछि भने मलाई झन् धेरै दबाब आयो।

परिवार र छिमेकीका यस्ता दबाबले लोग्ने मान्छेलाई खासै फरक नपर्ने रहेछ। जे पनि पनि महिलालाई नै दोष दिने सामाजिक परिवेश जो छ। कति आफन्त तथा छिमेकीले मलाई केटाजस्तै भएर हिँड्छे, यसले बच्चा पाउँदिनँ होला पनि भने।

पारिवारिक भेटघाट, भोज–भत्तेरमा समेत जान मन लाग्न छोड्यो। जसले पनि मेरै कुरा काटेको जस्तो लाग्थ्यो।

म पाँच वर्षे योजनामै थिएँ। मलाई थाहा थियो, गर्भ नबसेर होइन, योजनामै नपाएको हो।

विवाह भएपछि जसलाई पनि आमा हुने रहर हुन्छ तर आर्थिक अवस्था सबल बनाउन र करिअरलाई माथि उठाउन केही वर्ष ग्याप गरेको थिएँ। मलाई लाग्थ्यो, पैसा छैन भने बच्चा पाएर के खुवाउने?

पाँच वर्ष बित्यो। हामीले बच्चा जन्माउने तयारी गर्यौं।

मलाई अलिअलि डर चाहिं थियो, पाँच वर्ष बच्चा नपाउँदा केही समस्या आएर बच्चा नै नहुने पो हो की? तर मैले डाक्टरसँग काउन्सिलिङ गराइरहेको थिएँ। त्यसेले पनि ममा सकारात्मक भाव आइरह्यो।

०००
म गर्भवती भएँ। तर पेट नबढुुन्जेल कसैलाई भनिनँ। यो खुसीको खबर दिइहालौं भन्ने पनि लाग्दै लागेन। किनकी, यो पाँच वर्षमा मैले मानसिक रुपमा तनाव दिने यति धेरै कुरा सुनें, मेरो मन भित्रभित्रै कुँडिएको थियो।

गर्भवती भए पनि म त्यत्तिकै भने बसिनँ। आफ्नो कलालाई निखार्ने काम गरिरहेँ। सात महिनाको पेट हुँदा नाफामा एकल कला प्रदर्शनी गरेँ। गर्भवती भएको ९ महिनासम्म व्यस्त नै थिएँ म। खासै केही समस्या पनि भएन। खाना मज्जाले रुच्ने र काम पनि धमाधम भइरहेको थियो।

मैले बच्चा नर्मल डेलिभरी नगर्ने योजना बनाएको थिएँ। साथीहरुले नर्मल डेलिभरी गर्दाको पीडा र गाह्रो कुराहरु सुनाउँथे। त्यसैले अप्रेसन गरेर बच्चा पाउने निर्णय गरे। तर मेरी आमाले प्राकृतिक रुपमै पाउनुपर्छ भनेर दिनभरि मलाई दबाबमा राख्नुभयो।

सकेसम्म शरीरमा घाउ बनाउनु हुँदैन भन्ने पुरानो धारणा थियो आमाको। उहाँको मन राख्न पनि एक दिन पीडामै बसें। भोलिपल्ट डाक्टरलाई अनुरोध गरेर अप्रेसन गरेर बच्चा पाएँ। छोरी जन्मिएपछि म निकै दंग परें।

परिवार तथा समाजमा भने पहिलो बच्चा पाउनासाथ छोरा नै पाउनुपर्ने अर्काे टर्चर सुरु भयो।

छोरी पाउनु एकदिन अघिसम्म काममै थिएँ। जन्मिएपछि पनि काममा लागिहालें। सन् २००२ मा दुई महिनाकी छोरीलाई लिएर जापानको फुकुओेकामा तीन महिना आर्ट रेसिडेन्सी कार्यक्रममा भाग लिन गएँ। हाम्रो विधि अनुसार पाँच महिनामा भात खुवाई कार्यक्रम पनि जापानमै गरें।

मलाई धेरै बच्चा जन्माउने रहर थियो। शरीरले सक्ने भयो भने जति पनि पाउँछु भन्ने लाग्थ्यो।

पाँच वर्षपछि दोस्रो बच्चाको प्लान गर्ने सोच थियो। तर करिअरमै व्यस्त भयौं हामी।

२००५ मा छोरीलाई लिएर आर्ट एक्सचेन्ज रेसिडेन्सियल कार्यक्रममा भाग लिन दक्षिण कोरिया गएँ। त्यहाँ सबै घरमा २–३ जना बच्चा हुने। त्यो देखेर छोरीले म चाहिं किन एक्लै भन्न थालिन्। ओहो! अब त उसलाई पनि साथी चाहिन्छ भनेर दोस्रो बच्चाको प्लान गरेको थिएँ।

पाँच वर्षको ग्यापमा दोस्रो बच्चा जन्मियो। दोस्रो बच्चा जन्मिँदाको समय निकै पीडादायी बन्यो मेरा लागि। बच्चा जन्मिने बेलामा डाक्टरहरुको लापरबाही धेरै नै भोगें।

पहिलो छोरी हुँदा डा इन्दिरा उपाध्यायलाई देखाएको थिएँ, त्यस्तो केही समस्या भएन। दोस्रो बच्चाको पालामा उहाँको क्लिनिक धेरै टाढा भएकोले नजिकै अल्का हस्पिटलमा देखाएको थिएँ। त्यहाँ डाक्टरको लापरबाहीले एकदमै गाह्रो भयो।

०००
हरेक महिना जँचाउन जाँदा बच्चा र मेरो स्वास्थ्य अवस्था राम्रै देखिन्थ्यो। त्यस दिन २ बजेतिर धेरै पेट दुख्यो। तैपनि काम गरिरहें। ४ बजे कम्प्युटरमा काम गरिरहँदा फेरि गाह्रो भयो। आफैं गाडी चलाएर एक्लै हस्पिटल पुगें। डाक्टरले समय भइसक्यो आज साँझ अप्रेसन गरेर बच्चा निकाल्नुपर्छ भने।

त्यसपछि ममी र श्रीमानलाई आज अप्रेसन छ, आउनूू भनेर खबर पठाएँ। ४ बजेपछि डाक्टरले सबै रिपोर्ट देखाउनुभयो। सबै राम्रो थियो। आमा र श्रीमानलाई तपाईंहरु बाहिरै बस्नु, म ४५ मिनेटमा बच्चा निकाल्छु भनेर मलाई डाक्टरले अप्रेसन थिएटरमा लगे।

पेट चिरेर बच्चा निकाल्न कोशिस गर्दा हातबाट चिप्लेर बच्चा पुनः पेटभित्रै गएछ। भित्र गएपछि बच्चालाई समात्न सकिएन छ। डाक्टरले कुन स्पेसमा बच्चा छ भनेर पत्ता लगाउनै सकेनन्।

बच्चा पत्ता लगाउन नसकेपछि फेरि अर्काे ठाउँमा काटियो। पत्ता लागेन। फेरि अर्को ठाउँमा काटियो। यसरी मेरो पेट तीन पटक काटियो। पेटमा तीन वटा चिरेको दाग छ।

डाक्टरले धेरै कोशिस गर्दा पनि बच्चा भेट्टाउन सकिरहेका थिएनन्। पेटमा बच्चा खोतल्दाखोतल्दै मेरो धेरै रगत बगिसक्यो। बेड भरिएर भुईंमा समेत रगत गइसक्यो।

म होसमा थिइनँ। ४५ मिनेटमा गर्ने भनिएको अप्रेसन साढे दुई घन्टा लगाए। त्यति नै बेला म ब्युँझिएछु। अप्रेसनमा खटिएका डाक्टरले ‘हे पशुपतिनाथ’ भनेर पुकारेको आवाज झ्वास्स मेरो कानमा ठोक्कियो। त्यतिबेला मैले बच्चाको आश नै मारिसकेको थिएँ।

०००
बेडको माथि सिलिङ फ्यान थियो। एकोहोरो त्यो फ्यान हेरिरहँदा बच्चालाई मात्रै सम्झिएँ। डाक्टरहरु पेटमा हात, ब्लेड लगायत कुन्नि के–के लिएर बच्चा खोज्दै थिए। बल्ल भेट्टाएर निकाले। निकाल्दा बच्चाको छातीभरि ब्लेडले लागेका घाउ थिए। त्यो बेला छोराको छातीमा लागेको घाउको दाग अहिले पनि छ।

जस्तोसुकै परिस्थिति भए पनि बच्चा निकालिएपछि मेरो मन केही शान्त भयो। एक छिनमा बच्चा रोयो, बच्चा रोएपछि मनमा आनन्दको महसुस भयो। दोस्रो जन्म पाएजस्तै भयो मलाई। श्रीमान् र आमा डाक्टरले गरेको लापरबाही बाहिर ल्याउनुपर्छ भन्दै कराउँदै हुनुहुन्थ्यो। मैले केही नगरौं, अझै यो बच्चा उनीहरुकै निगरानीमा राख्नुपर्छ भनेर सम्झाएँ। पाँच दिनको हस्पिटलको बसाइपछि घर फर्किएँ।

शरीरबाट धेरै रगत बगेकोले कमजोरीका कारण घर फर्किएपछि ३–४ पटक बेहोस भएँ। यो घटनाले मलाई लगभग ६ महिना डिप्रेसन नै गरायो।

अल्का हस्पिटलको बाटो नहिँड्ने, अल्काको नामै सुन्न मन नलाग्ने, रिस उठिरहने, त्यही कुरा मात्रै याद आइरहने, खाना खान मन नलाग्ने, म मरें भने मेरो छोरालाई कसले हेर्छ जस्ता कुराहरुले मलाई तर्साइरह्यो।

मेरो आर्टले ६ महिनाको डिप्रेसनमा औषधिको काम गर्यो। त्यही बेला कलामा भएको मेडिसिनको शक्तिबारे थाहा पाएँ मैले। तनाव हुँदा स्केच गर्ने, कविता लेख्ने र किताब पढें। यसले विगतको पीडा भुलाउन मद्दत पुग्यो।

यो घटनापछि झन्डै दुई वर्ष पेन्टिङ गरिनँ। कति वर्ष त अल्काको छेउबाटै हिँडिनँ। चलचित्रका क्लिप्सहरु दिमागमा आएजस्तै त्यो घटना आइहाल्ने। डाक्टरको लापरबाहीले मलाई निकै मानसिक तनाव भयो। म जस्ता कति आमाहरुले यस्तो समस्या भोग्नुपर्यो होला भनेर अहिले सोच्छु।

घर–परिवार मलाई डिप्रेसन भएको चिन्ताभन्दा पनि नाती कुल धान्ने भयो कुराले दंग थियो।

छोरा जन्मिएको दुई वर्षपछि काम गर्ने सोच आयो। छोरी हेर्नुपर्ने र छोरालाई पनि समय दिनुपर्ने भएकोले आर्ट एजुकेसनमा लाग्ने निर्णय गरें मैले। सन् २००७ मा कम्युनिटी चिल्ड्रेन आर्ट स्कुल खोलें।

तीन महिनाको भएपछि श्रीमानको अफिसमा छोरालाई दूध खुवाएर सुताई म चाहिँ चाकुपाटमा आर्ट क्लास लिन आउँथें। अहिले मेरा दुई छोराछोरी कला–संगीतमा रुचिपूर्वक लागेका छन्। अहिले मेरो जीवनमा खुसी फर्किएको छ।

८ चैत, २०७७, १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।