फेसन डिजाइनर रेजिनाको प्रसव पीडा र खुसी : भ्याकुमले तीन चोटि तान्दा पनि बच्चा नआएपछि शल्यक्रिया गर्नुपर्याे

फेसन डिजाइनर रेजिनाको प्रसव पीडा र खुसी : भ्याकुमले तीन चोटि तान्दा पनि बच्चा नआएपछि शल्यक्रिया गर्नुपर्याे

रेजिना मुल्मी फेसन डिजाइनर हुन्। तर, उनी फेसन डिजाइनरभन्दा बढी क्यान्सर सर्भाइभर र क्यान्सर पीडितको सहयोगीका रूपमा चिनिएकी छन्। 

स्तन क्यान्सर भएर स्तन प्रत्यारोपणपछि उनी क्यान्सर पीडितको लागि काम गर्दै आइरहेकी छन्।

रेजिनाले अस्पतालको बसाइमा आफूजस्ता बिरामी धेरै देखिन्। त्यसैले हिजोआज उनी समयमै उपचार गरे क्यान्सर निको हुन्छ भन्ने सन्देश दिँदै  हिँडिरहेकी छन्। उनी उपचारको लागि सहयोगी हातहरू, नेपाल क्यान्सर सपोर्ट ग्रुप तथा नेपाल क्यान्सर हस्पिटलमा पुगेर क्यान्सर पीडितलाई परामर्शसमेत दिने गर्छिन्। उनी अहिले आफ्नो क्विन्स वेयरमार्फत क्यान्सर सर्भाइभरलाई सहयोग पनि गर्छिन्। 

स्तन प्रत्यारोपणपछि उनले युट्रिस पनि निकालेकी छन्। शारीरिकरूपमा सानैदेखि बिरामी भए पनि मानसिकरूपमा कहिल्यै बिरामी भएको महसुस नगर्ने रेजिनासँग प्रसव पीडाका सम्झना टन्नै छन्।

उनले उकेरासँग प्रसव पीडा र खुसी यसरी पोखिन्–

१५ वर्षकै उमेरमा अन्तरजातीय भागी विवाह गरें। त्यो विवाह किन र कसरी गरें यसको कुरा गरे लामै हुन्छ। 

जे लेखेको छ, त्यही भोग्नुपर्छ भन्ने सुनेकी थिएँ, हो कि क्या हो ! 

पाटनको गावहालमा नेवार परिवारमा जन्मिएँ। बुबाको पाँच भाइ परिवारमा म मात्रै छोरी थिए। त्यही भएर धेरै माया पाएर हुर्किएँ। तर, सानैदेखि म एनिमिया रोगबाट ग्रसित थिएँ। मलाई ६ वर्षदेखि १३ वर्षसम्म डाक्टर प्रकाश सुन्दरले नियमितै हेर्नुभयो। त्यतिबेला उपचारमा खटिएका डाक्टरले मलाई बच्चा जन्माउन नमिल्ने बताएका थिए। 

हरगन्स नर्सिङ होमका डाक्टरले पनि त्यही भने। 

रोगै यस्तो रहेछ, कर्ममै बच्चा नहुने रहेछ भन्ने सोच्थें।

तर, विवाहपछि गर्भ बसिहालेछ। त्यसबारे तीन महिनापछि मात्रै थाहा पाएँ। मेरो त्यो अवधिमा पनि महिनावारीचाहिँ रोकिएको थिएन। त्यही भएर डाक्टरलाई देखाउन जानुपर्छ वा प्रेगनेन्ट भएँ होला भन्ने सोच्दै सोचिनँ।

डाक्टरले बच्चा पाउँदा बच्चा र आमा दुवैलाई खतरा हुने संकेत दिए। तर, मैले बच्चा फ्याल्ने सोच्नै सकिनँ।

एक त बच्चा भनेपछि हुरुक्क हुने मान्छे, त्यसमा तीन महिना त मेरै पेटमा बसिसकेको मेरो अंशलाई कसरी फ्याल्नु। जे हुन्छ, भोगौंला भन्दै कसैको राय, सल्लाह मानिनँ। सबैको अस्वीकृतिमा मैले बच्चा जन्माउने एकल निर्णय गरें।

त्यति बेलासम्म आमाबुबाले माइतीमा भित्र्याएको थिएन। अन्तरजातीय र सानै उमेरमा विवाह भएर पनि होला, घरमा सबै समस्या भन्न सक्दिनथें। प्रेगनेन्ट भएपछि आमा र हजुरआमाको धेरै याद आउँथ्यो। माइतीघर जान नपाउने। त्यति बेला पाटनमै बुबाको सःमिल थियो। त्यहाँसम्म जानेचाहिँ छुट थियो। भेट्न मन लाग्यो कि म त्यही जान्थें। हजुरबुबा, हजुरआमा, आमा–बुबा भेट्न आउनुहुन्थ्यो। 

त्यो समय नै मायाखोजी रहने, मेरो उमेरले मात्रै होइन, जिउ पनि सानै थियो। काम गर्ने बानी थिएन। के खानु हुने÷नहुने थाहा थिएन। तर, समय–समयमा डाक्टरकोमा देखाउन जान छुटाउँदिन थिएँ। 

देखाउन जाँदा कहिले मासुको डल्ला देखियो भन्थे। साह्रैै डराउँथें, के हुने हो ? ब्लिडिङ भइराख्थ्यो, त्यो त सामान्य नै लाग्थ्यो। ९ महिनासम्म पिरियड भइरह्यो। मैले त सुनेको थिएँ, प्रेगनेन्टमा महिनावारी रोकिन्छ भन्ने। 

तर, मैले महिनाबारी रोकेको महसुस पनि गर्न पाइनँ। जुन मेरो जन्मजात आएको रोग एनिमियाकै कारण थियो। तीन महिनाको प्रेगनेन्सीपछि फेरि अर्काे समस्या आइहाल्यो। जिउभरि एलर्जीले डाबरै डाबर।

डा. केशरी बज्राचार्यले ड्रमभरि पानीमा पोटास राखेर बस्नु भन्थे। यसको अरु विकल्प छैन भन्थे। यो समय एलर्जीको औषधी खानु हुँदैनथ्यो। घरमा गएर लुगा धुने बाटामा डाक्टरले भनेझैं पानी र पोटास राखेर जिउभरि खन्याउँथें। यो क्रम लगभग तीन महिना चल्यो।

आलु बखरा, साग र चिउरा, भुटेको लसुन, अण्डा र दुध मेरो खाने थियो। अरु त मुखमै राख्न नसक्ने। बच्चा नपाउञ्जेल त वाकवाकी त कतिकति। रातभरि सुत्न नसक्ने, मनमा डरैडर। बच्चा नजन्मेसम्म तनावै तनाव थियो। ससुराको दाजुभाइहरूको परिवारमा एक न एक जना डिसएबिलिटीका व्यक्तिहरू छन्। मेरै घरमा पनि देवर डिसएबिलिटी छन्। त्यसैले बच्चालाई त्यस्तै केही हुने त होइन भन्ने डरले बढी तनावमा हुन्थें। 

म पाटन हस्पिटलमा नियमित जचाउँथें। पेट ठूलो भएकाले धेरैले मेरो जुम्ल्याहा बच्चा छ भन्थे। म पनि मख्ख थिएँ, एकै पटक दुईजना बच्चा पाए कति रमाइलो।

डा. मीरा हाडा र डा. कुन्डु मलाई हेर्नै डाक्टर हुनुहुन्थ्यो। बच्चा पाउने बेला भयो, डाक्टरले टोकेको समय नाघिसक्यो। तर, व्यथा नै लाग्दैन। व्यथाको लागि इन्जेक्सन दियो, व्यथा लाग्दैन। फेरि दोस्रो व्यथा लाग्ने इन्जेक्सन दियो, तलबाट पानी बग्दै थियो। बच्चा ठूलो र मेरो पाठेघर सानो। बच्चाको टाउको तल आइसकेकाले अप्रेसन पनि गर्ने मिलेन। त्यही कारण भ्याकुमले तान्नेबाहेक अरु विकल्प थिएन। भ्याकुमबाट बच्चा तान्दा तीन पटक त भ्याकुम चुटेको थियो।

त्यसपछि तलबाट मेरो खुट्टासम्म काट्यो। भ्याकुमले बेस्सरी तान्दा बच्चाको टाउकोमा असर पर्ने हो कि डर थियो। पेटमा पुस गरेर अप्रेसन (शल्यक्रिया) गरेर बच्चा निकालियो। बच्चा निकालेपछि टाँका सिलाउँदै लग्यो। त्यति बेला भ्याकुमले निकाल्दा लागेको घाउको दाग अझैं मेरो छोराको अनुहारमा बाँकी छ।

आँखाको छेउमा पनि दाग छ। धन्न आँखा फुटेनछ। त्यसमै म खुसी छु। टाउकोमा त मासुको टुक्रा नै निस्केको थियो। मेरो त जिउभरि कति हो कति दागै दाग। अहिले पनि आँखा चिम्लेर बस्दा आँसु झरेको झरै गर्छ। बच्चाको टाउको, आँखानिर घाउ नै घाउ सम्झँदा धेरै पीडा हुन्छ।

मैले सानैमा बच्चा पाएछु। बच्चालाई केही भएको भए ? त्यो पीडा नमरुञ्जेलसम्मलाई हुन्थ्यो। मेरै कच्चा अनुभवले भन्न सक्छु– बिहे र बच्चा समय पुगेपछि मात्रै गर्नुपर्छ। 

छोरा जन्मेपछि डाक्टरले दोस्रो बच्चा त कल्पनै नगर्नु भनेका थिए। म पनि पाउने सुरमा थिइनँ। एक जना बच्चाको लागि नै संसार जितेको जस्तै भइसकेको थियो।

हस्पिटलको रिपोर्टमै  दोस्रो बच्चा पाउन नहुने र नर्मल डेलिभरिपछि अप्रेसन गरेको लेखेको छ। २६ वर्षपछि युट्ेस झिक्दा डाक्टरले तपाईंको त डेलिभरिको बेला ठुलै अप्रेसन भएको रहेछ भन्यो। पछि पो थाहा भयो पाठेघरै आधा काट्नु परेको रहेछ।

बच्चालाई २२ दिनसम्म मात्रै दुध खुवाउन पाएँ। दुध खुवाउँदा देब्रे दुधबाट रगत आयो। बच्चाको मुखमा रगत देख्दा जिउ नै सिरिंग भयो। त्यसपछि दुध खुवाउनै बन्द भयो। सो देब्रे दुध पनि १४ वर्षअघि ब्रेस्ट क्यान्सर भएर काटिसकेको छु। मसँग धेरै पीडा, घाउका दाग छन्। तर, त्योभन्दा ठूलो खट उनीसँग अझैं छ।

सानोमा सबैभन्दा बढी माया गर्नै काइँला काका विवाह गरेपछि बाेल्नुभएकै छैन, घरमा भित्र्याउनु भएकै छैन। बिरामी हुँदा हस्पिटल लैजाने, कुर्ने, स्कुल लाने काइँला काका बुबाजस्तै हुनुहुन्थ्याे। बुबा व्यवसायमा व्यस्त हुने भएकाले मेरो सबै काम उही काकाले गर्नुहुन्थ्यो। तर, एक पटक पनि बोल्नुभएन। मसँग नबोले पनि छोरासँग बोलिदिएहुन्थ्यो भन्ने मलाइ लाग्थ्यो। काकाले नबोलेको खट नमरुञ्जेल रहिरहने भयो। बुबा बितेको पनि २७ वर्ष भइसक्यो। मलाई अरु घाउभन्दा काइँला काकाको चित्त दुखाइबाट धेरै दुःखी छु। 

अहिले छोरा निकेश केसी २९ वर्षको भइसक्यो। उनले कमाएर मलाई खुवाउन सक्ने भइसकेको छ। सविन राई एण्ड फराहो ब्याण्डमा लिड गितारिस्ट हुन्।

अहिले पनि कामबाट राति फर्केपछि मसँग चकलेट माग्न आउँछ । विदेशमा कार्यक्रममा जाँदा पनि फोन नगरि बस्दैन। जीवनमा थुप्रै रोग र घाउ बसे पनि छोराको माया र कामले दंग छु।

म अहिले छोराको सांगीतिक झुकाव र क्यान्सर पीडितको लागि परामर्श दिई हौसला दिन पाइरहेकोमा खुसी छु।

यसरी नै बिताइरहेछु दुई दिनको जिन्दगी ! 

१५ चैत, २०७७, १९:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।