फेसन कोरियोग्राफर जयनको प्रसव पीडा र खुसी : बिन्दास हिँड्नुपर्ने मान्छे, आमा बनेको स्वीकार्नै सकिनँ

फेसन कोरियोग्राफर जयनको प्रसव पीडा र खुसी : बिन्दास हिँड्नुपर्ने मान्छे, आमा बनेको स्वीकार्नै सकिनँ

साढे दुई दशकदेखि मोडलिङ र पत्रकारितामा लागेकी जयन सुब्बा मानन्धर अहिले फेसन कोरियोग्राफर, फेसन स्टाइलिस्ट र सेलिब्रेटी म्यानेजरको रुपमा व्यस्त छिन्।

५ सयभन्दा बढी ब्युटी पेजेन्ट र फेसन शोमा कोरियोग्राफरको भूमिका निभाइसकेकी जयनले २१ वर्षअघि नेपाल टेलिभिजनका क्यामरा पर्सन सुरेशराज मानन्धरसँग विवाह गरिन्।

१७ वर्षको उमेरदेखि करिअर सुरु गरेकी जयनलाई विवाहपछि जति सक्दो छिटो बच्चा जन्माएर काममा फर्किहाल्नुपर्छ भन्ने लाग्थ्यो। विवाह गरेको एक वर्षभित्रै छोरा जन्माएकी जयनलाई आफू बच्चा पाउन मानसिक रुपमा तयार नहुँदा ६ महिना धेरै गाह्रो भएको थियो।

समाजको कर वा आर्थिक रुपमा तयार भएर मात्र बच्चा जन्माउन नहुने जिकिर गर्छिन् उनी। जबसम्म मातृत्वको अनुभूतिलाई मानसिक रुपमा स्वीकार्न सकिँदैन तबसम्म बच्चा जन्माइहाल्नु नहुने उनको तर्क छ। जयन आफूले अनुभव गरेको प्रसव पीडा र खुसी उकेरामार्फत यसरी व्यक्त गर्छिन्:

सानैदेखि बन्धन मन नपर्ने मानिस हुँ म। लाहुरे परिवारमा मलेसियामा जन्मेँ र त्यही हुर्कें। मेरा बुबा र दाइहरु लहुरे थिए। तर मलाई लाहुरेसँग विहे गरेर लाहुरेनी हुने रहर कहिल्यै लागेन।

विदेशी केटासँग विहे गर्छु भन्ने सोच्थें। त्यसमा पनि काठमाडौंको नेवारसँग त विहेको कल्पना पनि गरेकी थिइनँ। मैले सुनेकी थिएँ, काठमाडौंको रैथाने नेवार बढी रुढीवादी र परम्परागत सोच राख्छन्। तर विवाह भनेको सोचे जस्तो नहुने रहेछ।

०००
नेपाल टेलिभिजनमा क्यामेरा पर्सन सुरेशराज मानन्धर लगायत हामी १२ जनाको  एउटा ग्रुप थियो। हामी सँगै घुम्ने, खाने गर्थ्यौं। म उहाँलाई सुरेश दाइ भनेर सम्बोधन गर्थें। उहाँको विहेको लागि मैले नै कति एयर होस्टेज दिदीहरु देखाइदिएकी थिएँ।

म २६ वर्षको हुँदा घरमा विहेको कुरा चल्न थाल्यो। हाम्रो ग्रुपमा कुराकानी हुँदै गर्दा एक दिन उहाँले मलाई नै प्रपोज गर्नुभयो। मलाई घरमा देखाएका लाहुरेहरुसँग विहे गर्ने इच्छा थिएन। त्यसैले उहाँको परिवारसँग भयो।

मेरो आमा-बुबाले यदि केटो राम्रो छ भने जात-धर्म केही होइन भन्नुभयो। उता उहाँको घरमा त झनै अन्तरजातीय र अन्तर्राष्ट्रिय वैवाहिक सम्बन्ध नै रहेछ। उहाँका माइला दाइको गुरुङ, दिदीको ठकुरी र कोहीको विदेशीसँग विवाह भएको थियो। त्यसैले लिम्बुसँग विहे गर्ने कुरा ठुलो इस्यु नै भएन।

विहेको कुरा भएपछि मात्रै एक महिना जति ग्रुप बाहेक दुई जना मात्रै घुम्न जान थाल्यौं। म नेवारसँग विहे गर्ने डराउँथें। अन्त्यमा मेरो विवाह नेवारसँगै भयो।

०००
विहेपछि मैले बच्चा पाइहाल्ने सोचें। नभन्दै विहे भएको तीन महिनामै पिरियड रोकियो। मनमा शंका लिई-लिई पुतलीसडकस्थित डा. कुन्दुको क्लिनिकमा देखाउन पुगें। डाक्टरले प्रेगनेन्ट भएको सुनाउँदा मलाई अचम्मको अनुभव भएको थियो।

नयाँ कुरा स्वीकार्न सबैलाई गाह्रै हुन्छ। आमा बन्ने भएपछि भित्रैदेखि एकदमै खुसी थिएँ तर साथमा भयंकर डर पनि। बच्चा भएपछि मेरो के हुन्छ, करियर कसरी अगाडि बढ्छ? भन्ने चिन्ता थियो।

प्रेगनेन्सीको ९ महिना नै खासै केही समस्या आएन। खान पनि मज्जाले रुच्थ्यो। बान्ता पनि पटक्कै भएन। खाने तेलको बासनामा मात्रै एलर्जी थियो। कोठामा तेलको बासना आउँदा ढोका बन्द गरिदिन्थें।

प्रेगनेन्सीको दौरानमा कसैलाई के, कसैलाई के समस्या चाहिं हुने रहेछ। मलाई चाहिं अचम्मको समस्या भयो, पाइताला खुबै चिलाउने। अत्यधिक चिलाउँदा राति डोरम्याटमा खुट्टा दल्थें।

अहिले प्रेगनेन्सीका बेला बढ्दै गएको पेट देखाउने र सेलिब्रेसन गर्ने चलन छ। तर मेरो पालामा लुकाउने चलन थियो। आफू गर्भवती भएको कसैलाई थाहा नहोस् भनेर लेदरको छोटो कोट, पाइन्ट र बाहिरबाट मफलर लगाउँथें। त्यो समय कालो रङका लुगा, कलरफुल मफलर र फ्ल्याट बुथ लगाउँथें । म प्रेगनेन्ट छु भन्ने कसैलाई थाहै थिएन। मैले बच्चा पाएपछि राजेन्द्र सलभ दाइले 'तिमीले कहाँबाट बच्चा ल्यायौ' भनेको अझैं सम्झन्छु।

०००
प्रेगनेन्सीको अन्तिम समयसम्म पनि म इभेन्ट, कोरियोग्राफीमा व्यस्त नै थिएँ। तीन महिनाको प्रेगनेन्सीमा काठमाडौं उत्सवको काममा थिएँ। त्यति बेला रमा सिंह भने ७ महिनाकी गर्भवती हुनुहुन्थ्यो। उहाँ पनि निकै एक्टिभ हुनुहुन्थ्यो।

बच्चा कहिले निस्कन्छ र  फेरि पहिला जस्तै काममा फर्किन सकुँला भन्ने मात्रै सोच्थें। ९ महिना धेरै संगीत सुनें। आफै गितार बजाएर बस्थें। बोर भएर चाहिँ कहिल्यै बसिनँ।

डाक्टरले समय दिएको दुई हप्ता अगाडि पिरियड भएको हो कि पिसाब बगेको हो, ह्वारह्वारी पानी बग्यो। पेट भने हल्का मात्रै दुखेको थियो। दिदीलाई सँगै लिएर पाटन हस्पिटल गएँ। संयोगले डा. कुन्दुको त्यही बेला ड्युटी रहेछ।

नर्मल बच्चा पाउनुपर्छ भनेर सिँढी चढेरै माथि उक्लें। त्यति बेलासम्म पानी धेरै बगिसकेको रहेछ। डाक्टरले 'ह्वाइट वाटर' बगेको र 'ग्रिन वाटर' बग्न थाल्यो भने बच्चालाई खतरा हुने संकेत गरे। आमाको मन न हो डराइहालें। तुरुन्तै अप्रेसन गर्न तयार भएँ।

श्रीमान् त्यतिबेला 'हिजोआजका कुरा' खिच्दै हुनुन्थ्यो। आफैंले कागजपत्रमा दस्तखत गरेर अप्रेसन कोठातिर लम्कें। १२ मिनेटभित्र अप्रेसन गरेर बच्चा निकालियो। काम सकेर श्रीमान् आउँदा छोरा जन्मिसकेको थियो।

पहिलो पटक बच्चा देख्दा 'ओहो! मैले जन्माएको बच्चा' भनेर इमोसनल भइयो। पहिलो पटक बच्चालाई दूध चुसाउँदा मलाई निकै अप्ठेरो लागेको थियो। कहिल्यै नगरेको काम। खोई कस्तो, कस्तो? दूध गानिएर उत्तिकै दुखेको छ। आमा हुँदा खुसीको अनुभूति भयो तर निकै अप्ठ्यारो अनुभव पनि भयो।

सारी लगाएर बस्न नसक्ने, उलनको पाइन्टमा चोलो लगाउँथें। उलन पाइन्टको इलास्टिकले चिरेको ठाउँमा पाकेर पिप नै आयो। घाउमा यस्तो पीडा हुन्थ्यो कि घोप्टो पर्न पनि नसक्ने। दुखेर बरर आँशु आउँथ्यो।

यो त शारीरिक पीडाको कुरा भयो। बच्चा जन्मेको ६ महिना त मलाई मानसिक रुपमा तयार हुनै लाग्यो। बच्चा पाउँछु भनेर मात्रै नहुने रहेछ। म एक्लै बिन्दास पारामा हिँड्नुपर्ने मान्छे, बच्चा बोक्दै, ब्यागमा न्यापी, डाइपर दूध आदि बोकेर हस्पिटल जानु पर्दा सत्यलाई स्वीकार्नै सकिनँ। म आमा हुँ भनेर स्वीकार गर्न निकै गाह्रो भयो।

कहाँबाट आयो यो बच्चा? कस्तो जीवन कस्तो भयो भन्ने सोच आइरह्यो। बल्ल बच्चा एक वर्षको भएपछि विस्तारै स्वीकार्दै गएँ र नर्मल जीवनमा फर्कें।

०००
घरमा सासु, ससुरा, जेठाजु, जेठानी सबै भएकोले बच्चा हेर्न त्यति गाह्रो भएन। तर म मानसिक रुपमा त्यति तयार भइसकेको रहेन छु। त्यही कारण १५ दिनको सुत्केरी अवस्थामै आफ्नो काममा फर्कें।

निप्पलमा कपडा राखेर काममा जान्थें। अफिस पुग्दा दूध चुहिएर कपडा भिजिसकेको हुन्थ्यो। यदि मैले काममा फर्कने निर्णय नगरेको भए यति धेरै गाह्रो हुँदैनथ्यो होला। तर काममा फर्केपछि माइन्ड क्रियटिभ भएर फ्रेस हुँदै गएँ।

म र श्रीमान् दुवै जना मिडियामा थियौं। व्यस्त त हुने नै भयौं। राति बच्चा हेर्ने, दुई-दुई घण्टामा दूध बनाएर खुवाउने पालो मिलाएका थियौं।

छोरा ७/८ महिनाको भएपछि पोजिटिभ भाइब्स आउन थाल्यो। बच्चा हाँस्दा, दाँत आउँदा, हिँड्दा, बोल्दा बेग्लै खुसीको अनुभूति हुने रहेछ। त्यो खुसीको कुनै मूल्य छैन।

अहिले छोरा २० वर्षको भयो। ६ फिट अग्लो छ। कहिलेकाहीँ ओहो! मेरो पेटबाट निस्केको छोरा भन्ने भाव आउँछ। छोराले मेरो कामलाई एकदमै रेस्पेक्ट गर्छ। घरको, किचेनको काम सघाउँछ।

छोरा पनि विज्ञापनमा खेल्थ्यो। १५ वटा जति विज्ञापनमा खेलिसकेको थियो। तर रातो बंगला स्कुलले खेल्न नदिएपछि त्यसप्रति छोराको रुचि घटेको छ। पहिले ऊ मसँग धेरै क्लोज थियो भने अहिले बाबासँग नजिक छ।

पोस्ट प्रेगनेन्सीमा मलाई जस्तो अरुलाई नहोस् भन्ने चाहन्छु। त्यसको लागि आमा बन्ने हर-कोहीले शारीरिक, मानसिक, आर्थिक रुपमा तयार हुनुपर्ने रहेछ।

यो पनि

२७ असार, २०७८, १२:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।