उकेरा कोलम

मेकअप आर्टिस्ट स्नेहाको प्रसव पीडा र खुसी : चाइनिज क्यालेन्डर फलो गरेर छोरा जन्माएँ


स्नेहा राणाको मेकअप कला र सुन्दरताको परख धेरैले गर्छन्। नगरुन् पनि किन?, ५० वर्ष लागिसक्दा पनि उनको सुन्दरतामा कत्ति पनि कमी आएको छैन।

चढ्दो उमेरमा पनि आफू सुन्दर देखिनुको मुख्य कारण सुत्केरी अवस्थामा गरिएको स्याहारलाई मान्छिन् स्नेहा।

भारतको तेहरी गढवालमा जन्मिएकी स्नेहाको विवाह २० वर्षकै उमेरमा उपेन्द्रशमशेर राणासँग भयो। भारतमा जन्मिए पनि उनलाई नेपाल नौलो ठाउँ थिएन। आवात-जावत भइरहन्थ्यो।

स्नेहाकी हजुरआमा नेपालकी राणा परिवारकै थिइन्। त्यसैले उनलाई भौगोलिक रुपमा फरक ठाउँमा विवाह भए पनि रहनसहन र व्यावहारिक रुपमा असहज भएन।

बच्चा भनेपछि हुरुक्कै हुने स्नेहाले विवाह गरेको एक वर्षमै छोरीलाई जन्म दिइन्। छोरी गर्भमा आएदेखि प्रसव अवस्थाका व्यथा, सुत्केरी भएपछि आफूलाई स्याहार्दाका अनुभव र छोरा पाउन लिएको चाइनिज क्यालेन्डरको सहायतादेखि थुप्रै खालका तिता-मिठा अनुभूति छन् उनीसँग। जसलाई स्नेहाले उकेरामार्फत यसरी पोखिन्ः

म उता (भारतमा) कलेज सक्दै थिएँ। यता (नेपालमा) मेरो विवाहको लागि कुरा चल्दै थियो। कलेज सक्नासाथ २० वर्षकै उमेरमा उपेन्द्रशमशेर राणासँग विवाह भयो।

मुमा-बुबाको घर छोडेर आए पनि मलाई केही गाह्रो थिएन। नयाँ घरमा रमाउँदै थिएँ। मलाई बच्चाहरु साह्रै मनपर्ने। बच्चासँग बस्दा म आफैं बच्चा जस्तै भएको अनुभव गर्थें। भनौं, बच्चाप्रति मेरो विशेष लगाव थियो। त्यही भएर विहे भएको एक वर्षभित्रै छोरी पाइहालें।

श्रीमानले केही वर्ष बच्चाको प्लान नगर्ने कि भन्नुभएको चाहिँ थियो। मैले सुनेको थिएँ, जति छिटो, समयमै बच्चा पायो, शरीर दुरुस्तै रहन्छ। नभन्दै २१ वर्षमैं छोरीकी आमा भइहालें। म आफैं पनि हुर्किँदै थिएँ, बच्चा पनि सँगसँगै हुर्कँदै गयो।

०००
त्यतिबेला प्रसूति गराउने अस्पताल दुई वटा मात्र थिए, पाटन र प्रसूति गृह। प्रसूति गृहमा महिला र त्यसमा पनि प्रसूति मात्रै हेरिने भएकोले मैले त्यहीँ देखाएँ।

पहिलो पटक म प्रेगनेन्ट भएको खबर डा. दिब्यश्वरी मल्लले सुनाउँदा  एकदमै खुसी भएकी थिएँ। अरुको बच्चा त मनपर्ने मलाई आफ्नै पेटमा बच्चा हुर्किरहेको खबर सुन्दा हर्षित नहुने कुरै भएन।

म आफू र पेट भित्रको बच्चालाई एकदमै केयर गर्थें। प्रेगनेन्टको समयमा मलाई खासै समस्या आएन। त्यतिबेला क्याल्सियम खुवाउने चलन थिए। मेरो पेट नै देखिँदैनथ्यो। बच्चा पाउने अन्तिम समयसम्म पनि धेरैलाई म गर्भवती छु भनेर थाहा नै थिएन। पछाडिबाट त केही पनि देखिँदैनथ्यो।

प्रेगनेन्सीको ६ महिनामा २/३ हप्ता बच्चा पेटमा चल्दै चलेन। आमाको मन न हो, अनेक किसिमका डर आउन थाले। डराएर डा.मल्ललाई देखाउन गएँ। डाक्टरले ‘तिम्रो बच्चा पेटमा मेडिटेड गरी बसेको छ, ठिक छ’ भन्नुभयो।

त्यतिबेला डाक्टरले के भनेको होला भन्ने लाग्थ्यो। अहिले सोच्दा त साँच्चै नै छोरी आध्यात्मिक मार्गमा लागेकी छिन्। धेरैले तिम्रो छोरी त ब्लेसिङ बेबी हो भन्छन्। साँच्चै पेटदेखि नै बच्चाको बानी-व्यवहार निर्धारण हुन्छ कि क्या हो।

खासै केही समस्या नभए पनि मनमा डर भने बसिराख्दोरहेछ। मेरो डर देखेर डाक्टरले तिमी योङ छौ, केही हुन्न भन्नुहुन्थ्यो।

०००
डाक्टरले दिएको समय आउन दुई हप्ता जति बाँकी थियो। अंग्रेजी नयाँ वर्षमा साथीहरुसँग पार्टीमा खुब नाचेर रमाइलो गरें। त्यसको दुई दिनपछि मलाई व्यथा लागेर हस्पिटल लगियो।

सबैले सहन नसक्नेगरी व्यथा लाग्छ भनेकोले म पूर्ण तयारीमा थिएँ। एकदमै दुख्यो, तर त्यही दुखाइ व्यथा हो भन्ने थाहा थिएन। अझै दुखाइलाई कुर्दै थिएँ। प्रसव व्यथाको बारेमा मैले यति डरलाग्दो सोच बनाएको थिएँ कि, जति दुखे पनि त्योभन्दा बढी दुखाइ सहनुपर्छ भन्ने मेरो तयारी मनस्थिति थियो।

०००
बच्चा निकाल्नासाथ मेरो पेटमा राखिदिए। ‘ओ माई गड लक्ष्मी घरमा आइन्’ भनेर दंग थिएँ। भाग्यमानी व्यक्तिले मात्रै छोरी पाउँछन् जस्तो लाग्थ्यो। छोरीलाई देख्नासाथ ती दुखाइहरु त कता हो कता हराए।  

मैले पूरै तीन महिना सुत्केरी स्याहार पाएँ। जिउभरि तेल दलेर टाउको कपडाले बाँधेर, तीन पटक भात, दाल, घिउ, चाकु, ज्वानोको झोल खाएर, मलमलको कपडाले पटुका बाँधेर छुट्टै कोठामा बसेँ। छोरीले चार महिना मेरो दूध खाइन्।

छोरीको आगमनले घरमा बेग्लै रौनकता छाएको थियो। छोरीको नाम ससुराका दाजुले ‘यसका आँखा ठूल्ठूला छन्, सुनयना राख्नुपर्छ’ भनेर नामकरण गरिदिनुभयो।

मेरो मुमा एक्ली छोरी। मामाहरु कोही थिएनन्। मेरा पनि तीन जना दिदीबहिनी मात्रै। दाजुभाइ छैनन्। त्यसैले मलाई एउटा छोरा पनि जन्माउने रहर थियो।

०००
त्यतिबेला चाइनिज क्यालेन्डर हेरेर गर्भाधारण गर्ने लहर नै चलेको थियो। मेरा पाँच जना साथीको पनि पहिलो सन्तान छोरी नै थिए। हामी सबैले चाइनिज क्यालेन्डर फलो गरी कन्सिभ गर्यौं। नभन्दै पाँचै जनाको छोरा भए।

प्रेगनेन्सीको बीचमा खुसुक्क गएर अल्ट्रासाउन्ड गराएँ। यदि छोरी नै पेटमा भएको भए भन्दैनथ्यो होला। छोरा भएकोले मलाई खुसुक्क छोरा छ भने। साह्रै खुसी भएँ।

छोरीको पालामा भन्दा दोस्रो प्रेगनेन्सीमा पेट ठूलो थियो। त्यही भएर बहिनीले अमेरिकाबाट पठाएको बडी बटर खुब लगाउँथें। दोस्रो पटक खुट्टा भने सुन्निएका थिए। खाना भने जे पनि रुच्ने।

छोराको समय दिएको दिन संयुक्त जनमोर्चाले नेपाल बन्द आयोजना गरेको थियो। त्यस दिन व्यथा लागेको थिएन तर ससुरा सागर शमशेरले बिहानै हस्पिटल पठाउने व्यवस्था गर्नुभयो। दिउँसो व्यथा लागे कसरी जाने भन्दै गाडीमा झन्डा फहराएर कुपण्डोल हाइटबाट थापाथली प्रसूति गृहमा लगियो। बिहानै पनि गाडीमा ढुंगामुढा गर्नेहरु थिए।

मलाई एक खालको डर लागेको थियो। तर केही भएको थिएन। पटक्कै व्यथा पनि लागेन। पुस्तक पढ्दै त्यो दिन बिताएँ।

वरिपरिबाट व्यथा लागेका दिदीबहिनीहरु कराउँदै, चिच्याउँदै, रुँदै गरेको आवाज सुन्दै आफ्नो समय कुर्दै थिएँ। राति ११ बजे व्यथा सुरु भयो। त्यति बेला औषधि र इन्जेक्सन लगाएर व्यथा लगाउने चलन थिएन।

मलाई सहनै नसक्नेगरी दुख्यो। यस पटक धेरै कराएँ, चिच्याएँ। एक जना सरसफाइ गर्ने दिदीको हात समाएर चिच्याइरहेको थिएँ, दुखेको सुरमा उहाँको हातै मर्काइदिएछु।

०००
छोरा देखेपछि दंग भएँ। मामा, दाजुभाइको अभाव भएर होला, छोराप्रतिको त्यस्तो तृष्णा।

भोलिपल्ट बिहानै मेरी मुमा विशालनगरबाट हिँड्दै नाति हेर्न आइपुग्नुभयो। भोलिपल्ट पनि नेपाल बन्द नै थियो। चाइनिज क्यालेन्डर अनुसार प्लान गरेर कन्सिभ गरेका पाँचमध्ये तीन जनाको त्यही दिन छोरा जन्मेका थिए। एक जना साथीको पनि प्रसूति गृहमै मसँगै छोरा जन्मेका थिए।

भारतमा स्कुल पढ्दा मेरो मिल्ने साथीको भाइको नाम पराक्रम थियो। त्यो नाम साह्रै मनपर्थ्यो। म मनमनै सोच्थें, छोरा पाएँ भने नाम पराक्रम राख्छु। मैले छोराको नाम पराक्रम नै राखें।

मैले भगवानलाई धन्यवाद दिएँ, एक-एकजना छोराछोरी दिएकोमा। पहिले जस्तै फेरि पूरै तीन महिना सुत्केरी स्याहार पाएँ।

बच्चा असारमा जन्मेको साह्रै गर्मी थियो। तर कोठामा पंखा खोल्ने अनुमती थिएन। पंखाको चिसोले पछि जिउ दुख्ने, सुन्निने हुन्छ भन्थे। सुत्केरी हेर्न  आउने हरेक अग्रजहरु सुत्केरी राम्रोसँग स्याहारे ५० वर्षपछि त्यसको रिजल्ट आउँछ भन्दै जानुहुन्थ्यो।

अहिले सोच्दा लाग्छ, हाम्रा पुर्खाहरु कति विज्ञान र दर्शन बुझेका। सुत्केरी स्याहार्नेदेखि खानपानसम्म सबै मिलाएर रुटिन बनाइएको छ। अहिलेका पुस्तालाई यी कुरा रुढीवादी र परम्परागत सोच जस्तो लाग्ला। तर मेरो अनुभवमा बच्चा पाउने समयदेखि सुत्केरी बार्ने, स्याहार्ने तरिका सही भयो भने पछि आफैंलाई सजिलो हुन्छ।

०००
अहिले छोरी सुनयना साउथ इन्डियाको कोइम्बाटोरस्थित सद्गुरुको इशा फाउन्डेसनमा बस्छिन्। उनी पेटमा बस्दा जस्तै अध्यात्मतिर लागेकी छिन्। उनी इशा फाउन्डेसनबाट नेपालको पहिलो हठ योग गुरु हुन्। छोरी यसरी योग, ध्यान हुँदै अध्यात्मतिर लागेकोमा म एकदमै खुसी छु।

त्यस्तै छोरा पराक्रम मुम्बईमा बस्छन्। उनी त्यहाँ फेसन ब्लगर, कन्टेन क्रियटरको रुपमा आफ्नो परिचय बनाइरहेका छन्। उनले लन्डनको कन्डेनास्टबाट भोग फेसनको सर्टिफिकेट पाएका छन्। उनले अहिले नेपालीमाझ युट्युब र टिकटकबाट चर्चा कमाएका छन्।

छोराछोरीले आआफ्नो बाटो समातेकोमा म आमाको नाताले दंग छु। दुवैले आआफ्नो तरिकाले नाम कमाउँदै गएको देख्दा आमाको मन खुसी नहुने त कुरै भएन नि।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....