उकेरा काेलम

सञ्चारकर्मी दिपाञ्जलीको प्रसव पीडा र खुसी : आफ्नो सन्तानलाई पेटबाटै मृत निकाल्नुपर्दा...

म एक शिक्षित महिला, त्यसमा पनि मिडियामा काम गरेको। म जस्ता महिलाले त समाज र परिवारको खुसीको लागि छोरा पाउन खोज्छौं भने गाउँघरको स्थिति कस्तो होला?

सिर्जना दुवाल श्रेष्ठ


दुई दशक लामो टेलिभिजन कार्यक्रम प्रस्तोताको रुपमा लामो अनुभव बोकेकी सञ्चारकर्मी हुन्, दिपाञ्जली लामा शाह। टेलिभिजन र रेडियो कार्यक्रममा दख्खल र निरन्तरता नै उनको कमाइ हो।

लामा परिवारमा जन्मेकी दिपाञ्जलीले टेलिभिजनकर्मी असीम शाहसँग अन्तरजातीय विवाह गरिन्। जात र संस्कृति नै फरक हुँदा परिवारमा घुलमिल हुन केही वर्ष बच्चा नजन्माउने निर्णय गरेकी थिइन्। समाजमा छोराको महत्वका कारण आफूले पाएको मानसिक पीडा र प्रसवका खुसीलाई उनले उकेरासँग यसरी पोखिन्।

०००
सन् २००५ मा म र असीम शाहले अन्तरजातीय विवाह गर्‍यौं। म बौद्ध धर्मालवम्बी। असीम इस्लाम धर्मालवम्बी। हाम्रो मन मिल्यो। धर्मले रोक्न सकेन। विवाह भयो।

म बौद्ध धर्म र संस्कारमा हुर्केको। असिम इस्लाम धर्म र संस्कृतिमा हुर्केको। विवाह गरेर गएपछि श्रीमानको धर्म र संस्कृतिलाई निभाउनु पर्छ भन्ने पहिलेदेखिकै सोच हो।

त्यही कारण नै मैले बच्चा जन्माइहाल्ने योजना बनाइनँ। पहिला त उनको परिवारलाई बुझ्नु थियो। परिवारसँग भिज्नु थियो।

विहे भनेको दुई जनाको मात्रै सम्बन्ध होइन। यो त सिंगो परिवारप्रतिको सम्बन्ध र जिम्मेवारी पनि हो। त्यसैले हामीले विवाह अगाडि नै विवाह गरेको केही वर्ष बच्चाको प्लान नगर्ने भनेर सल्लाह गरेका थियौँ।

सन्तान जन्मेपछि कस्तो संस्कार दिने, कसरी पारिवारिक भ्यालु दिने भन्ने कुरा पनि हुन्छ। यसको लागि मैले असिमको परिवारलाई बुझ्न जरुरी थियो। साथमा इस्लाम धर्म र संस्कृतिलाई पनि बुझ्नु थियो।

ती वर्षपछि ममा कन्फिडेन्ट बढ्यो। साथमा हाम्रो फाइनान्सियल स्टाटस पनि ठिकै हुँदै थियो। हामी अब सन्तानलाई केयर गर्न सक्छौं भन्ने मानसिकतामा पुग्दै थियौं।

एक दिन अचानक मेरो पेट असाध्यै दुख्यो। ज्वरो पनि आयो। चिकित्सककोमा देखाउन गयौं। मलाई युरिन इन्फेक्सन देखियो। साथमा प्रेगनेन्सी जाँच पनि गरियो। त्यो पनि पोजिटिभ आयो। अब चाहिँ बच्चा चाहिन्छ है भनेर प्लान गर्ने सोचमा थियौं, प्रेगनेन्ट नै भइसकेको रहेछु। म दंग परें।

प्रेगनेन्ट भएकोले युरिन इन्फेक्सनको लागि कडा औषधि दिइएन। पानी र मिश्री पानी मात्रै खान सुझाइयो। त्यसैबाट ठिक पनि भयो।

म आमा बन्न लागेको छु भन्ने सोच्दा मात्र पनि अचम्मको खुसी लाग्थ्यो। छिनछिनमा ओहो! मेरो पेटमा त हाम्रो मायाको चिनो हुर्कंदैछ भन्ने लाग्थ्यो।

पहिलो तीन महिना अरुलाई जस्तै रिंगटा लाग्ने, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, किचेनको बासना सहन नसक्ने भयो। तीन महिनापछि त केही समस्या नै भएन। जे पनि रुच्ने, मैले भन्नु मात्रै पर्थ्यो, खाना अगाडि आइहाल्थ्यो। जेरी चाहिँ धेरै नै खाएँ। असीम मैले भनेको खुवाउन पाउँदा दंग पर्थे।

त्यति बेला म नयाँ बजारमा बस्थें। इमेज च्यानलमा काम गर्थें। इमेजको अफिस लाजिम्पाटमा थियो। म बिहान नयाँ बजारबाट हिँड्दै लजिम्पाट पुग्थें र फर्कंदा पनि हिँड्दै आउँथें।

त्यो ६ महिना म निकै नै हिडें। मेरो दिमागमा धेरै हिँड्यो भने अनि शारीरिक रुपमा सक्रिय भयो भने बच्चा जन्माउन सजिलो हुन्छ भन्ने थियो।

मेरो माइतीको कोही पनि नेपालमा थिएनन्। ममी मोरिसस बस्नुहुन्थ्यो। त्यो समय आमाको धेरै सम्झना आउने रहेछ। ममीसँग हरेक दिन फोनमा कुरा भइरहन्थ्यो।

बच्चा जन्मनुभन्दा दुई साता अघितिर मलाई खोई किन हो चिकेन मःम खान मन लाग्यो। त्यो पनि ममीकै हातबाट पकाएको। त्यो कुरा मैले फ्याट्ट ममीलाई भनेछु। आफ्ना सारा काम छोडेर नेपाल आउनुभयो। आमाको मन पक्कै मानेन होला।

ममी आन्टीकोमा बस्नु भएको थियो। मलाई भोलिपल्टै बोलाएर मःम पकाएर खुवाउनु भयो। मैले तीन वटा भाँडामा पकाएको ३० वटै मःम एक्लैले खाइदिएँ। त्यति म:म खाएपछि मलाई आत्मतृप्त भएजस्तै भयो।

मःम खाएको ४ दिनमै व्यथा लागेर हस्पिटल गएँ। प्राकृतिक तरिकावाटै बच्चा जन्माएँ। त्यो प्रसव पीडा भयंकरै थियो। तर बच्चा निकालेर छातीमा राखे। बच्चा रोएपछि त त्यो पीडा कता हो कता। खाली खुसी मात्रै।

तीन वर्षको ग्यापमा सानो छोरी जन्मिइन्। त्यो पनि हाम्रो प्लान अनुसार भएको हैन। प्रेगनेन्ट भएँ, ठिकै लाग्यो।

धेरै वर्ष ग्याप गर्नै सोच पनि थिएन। संयुक्त परिवारमा भएकोले बच्चा हुर्कन गार्हो पनि नहुने सोच थियो। दोस्रो बच्चाको बेला पनि खासै गाह्रो भएन। खासमा म चुप लगेर बस्न नसक्ने, यताउता चलिरहन्थें। त्यही भएर पनि गाह्रो नभएको होला।

मेरो बच्चा जन्मने समय जेठ १७ गतेलाई दिइएको थियो। तर वैशाख ३१ देखि नै पेट दुख्न थाल्यो। भोलिपल्ट हस्पिटल जाँदा व्यथा लाग्ने सुईं दिए। व्यथा पनि लाग्यो, घर पनि खुल्दै गयो तर बच्चा आउँदैन।

पछि अल्ट्रासाउण्ड गरेर हेर्दा त पानी सुकिसकेको रहेछ। त्यही भएर बच्चा निस्कन गाह्रो भएको बताए चिकित्सकले। बच्चाको मुटुको धड्कन बढ्दै गयो। रिस्क नलिउँ भनेर अप्रेसन गरेर निकालियो।

दोस्रो बच्चाको बेलामा मज्जाले व्यथा पनि लाग्यो र अप्रेसन गर्नुपर्‍यो। बच्चा र म दुवै जना स्वस्थ नै थियौं। केही समस्या आएन।

गर्भमा तीन हप्ता मृत शिशु
हाम्रो समुदाय अझैं पुरातन सोचमै छ। कसैले मुख खोलेरै नभने  पनि एउटा छोरा पाए हुन्थ्यो भन्ने मनसायलाई म बुझ्थें। त्यही भएर एउटा छोरा पाउँ भनेरै तेस्रो बच्चाको लागि प्लान गरेका थियौं।

चाइनिज क्यालेन्डर हेरेर, डाक्टरसँग परामर्श गरें। त्यति बेला म ३२ वर्षको थिएँ। सकरात्मक कुरा मात्रै सोच्थें, एउटा छोरा चाहिँ होस् भन्ने लाग्थ्यो।

पाँच महिनाको नियमित जाँच गर्न जाने बेलामा मलाई बच्चा अलि कम चलेको अनुभव भएको थियो। रेगुलर अल्ट्रासाउण्ड गर्दा त मेरो पेटको बच्चा ३ हप्ताअघि नै मरिसकेको रहेछ।

डाक्टरले यसो भनिरहँदा मेरो मन रन्थनियो। मैले केही सोच्नै सकिनँ। न रुन नै सकें। म जिउँदो लास जस्तै भएँ। डाक्टरहरु भने तीन हप्ता मृत बच्चा कोखमा राखिरहँदा पनि मलाई केही संक्रमण नभएको देख्दा यो त मिराकल नै हो भन्दै थिए।

पेटको बच्चा निकाल्नु वाहेक अरु उपाय थिएन। व्यथा दिएर निकाल्ने कि अप्रेसन गरेर निकाल्ने कुरा हुँदै थियो। पेटभित्र बच्चा सुकिसकेको हुँदा अप्रेसन नै गरेर निकालियो। मैले बच्चा हेर्न सकिनँ। बच्चा छोरा थिएन, छोरी नै रहिछे।

असिम बच्चालाई हातमा लिएर धरधरी रोयो। हाम्रो लागि एउटा ठूलो दुर्घटना थियो त्यो।

इस्लाम धर्ममा पेटमा चार महिना कटेको बच्चा मर्दा पनि नुहाएर, कफनमा बेरेर गाड्नु पर्छ। त्यो सबै काम असीम र उनको बुबाले गरे।

म एउटी शिक्षित महिला, त्यसमा पनि मिडियामा काम गरेको। म जस्‍ता व्यक्तिले त समाज र परिवारको खुसीको लागि छोरा पाउन खोज्छौं भने गाउँघरको स्थिति कस्तो होला।

मेरो पाँच महिनाकी छोरीलाई पेटबाट मृत निकालेपछि म पूर्ण रुपमा टुटें। मानसिक रुपमा विचलित नै भएँ। ५/६ महिना म डिप्रेसनमै गएँ। एक्लै बस्ने, दुवै छोरीलाई हेर्न नै मन नलाग्ने, झुण्डिएर मरुँ जस्तो लाग्ने, कौसीबाट हाम फालौं जस्तो लाग्ने भयो।

पछि आफैंले आफैंलाई सम्हालें। डाक्टरहरुको कुरालाई पनि मनन गरें। बच्चा मानसिक वा शारीरक रुपमा कमजोर भएर आफैं कोल्याप्स भएको हो, जन्मे पनि केही समस्या हुन सक्थ्यो भने डक्टरले।

तर, आफ्नो सन्तानलाई पेटबाटै मृत निकाल्नुपर्दाको पीडा कस्तो होला? त्यो जस्तो दर्दनाक पीडा मेरो लागि केही छैन र हुन्न पनि होला। त्यो समय मलाई श्रीमानले धेरै नै हौसला र साथ दिए। नत्र म मात्रै होइन, मेरी दुईटी फूल जस्ती छोरीको पनि के हुन्थ्यो होला?

मसँग दुई वटा च्वाइस थियो। एउटा, डिप्रेसन भएर रोएरै बस्ने। अर्को, त्यो पीडा भुलेर करिअरमा फोकस भएर अघि बढ्ने। मैले दोस्रो च्वाइस छानें।

त्यति बेलासम्म मैले जीवनको यथार्थलाई चिन्ने मौका पाइसकेको थिएँ। जे लेखेर आएको छ, त्यही हुन्छ र जे भयो त्यसलाई स्वीकार्नुपर्छ भन्ने लाग्यो।

त्यति बेला मन झसंग भयो। जाने त गइसक्यो तर मेरो फूलबारीमा त दुई जना छोरी छन्। रातपछि दिन आउँछ भन्दै करिअरलाई रोक्न दिइनँ।

मैले अहिले आएर बुझेको एउटै कुरा,  मान्छेले प्लान गरेअनुसार जीवन नहुने रहेछ। सृष्टिकर्ताको प्लान बाहेक कसैको केही नचल्ने रहेछ।

अहिले हामी दुई छोरीसँग खुसीका साथ बसेका छौं। घरमा बालबच्चा हुनु भनेको आँगनमा फूल फुलेजस्तै हो। बच्चा हुर्काउने क्रममा अभिभावक आफैं पनि मानसिक रुपमा परिपक्व भइरहेको हुन्छ।

अहिले पनि समाजमा छोरा नै चाहिन्छ भन्ने मानसिकता छ, त्यो हटाउनुपर्छ। समाज, परिवारले बुझ्नुपर्छ, बुहारी भनेको बच्चा पाउने मेसिन होइन।

साथै बच्चा पाउँदा जसरी परिवारका सबै खुसी देखिन्छन्, त्यो खुसी व्यावहारिक रुपमै देखाउनु पर्छ। मैले सबैलाई खुसी पार्छ छोराको लागि कोशिस गरें। तर, त्यतिबेला छोराछोरी दुवै बराबरी हुन् भन्न सकिनँ।

हामी महिला आफ्नो लागिभन्दा समाज, परिवारको लागि बाँच्न खोज्छौं । यो भुमरीमा आफ्नो इच्छा, आकांक्षा र सोच नै गुमाउन पनि तयार हुन्छौं। अबका आमाहरु कमजोर हुनुहुन्न। किनकी हामीसँग त्यो शस्त्र छ, जुन पुरुषसँग छैन। मातृत्वको शक्ति बलियो हुन्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

विज्ञापन एजेन्सीकी नीताको प्रसव पीडा र खुसी : यहाँ त बस्दिनँ भनेर हस्पिटलको चार तलाबाट भागें

म बिन्दास खालकी युवती थिएँ। घरकी कान्छी छोरी भएकोले निकै पुलपुलिएकी थिएँ। घरमा खाना सबैभन्दा पहिले मैले नै खान्थें। कसैले पहिला खायो भने रिसाउँथें। मेरो....

कान्तिपुर गाथा : गफमात्रै कि काम पनि ?

उनी प्रधानमन्त्री भएको पूर्ववर्तीले गरेका संवैधानिक गल्ती मेटाउन मात्रै होइन, कोभिड-१९ ले फैलाएको आतंकको भुंग्रोमा पिल्सिएका नेपाली जनतालाई त्राण दिन पनि हो। संविधान त सच्चिइहाल्छ।....

बिरामीको रोदनका गीत गाउने डाक्टर

सात वर्षअघि काठमाडौंको बत्तीसपुतलीको एक अस्पतालमा बिष पिएर पुगेकी ती युवतीलाई बचाएपछि डा. रणजितकुमारले बिष पिउनुको कारण सोधेको थिए। त्यसको प्रत्युत्तरमा उनले उक्त जवाफ दिएकी....

हिजोका कुरामा कुन्ती मोक्तान : फुटबल खेलाडीको गायनमा छलाङ

प्राकृतिक दृष्टिले सुन्दर दार्जिलिङको मारग्रेस्होप चिया बगान गाउँमा बित्यो कुन्तीको बाल्यकाल। सानो र चिटिक्क परेको त्यो गाउँ हरियाली चिया बगानले निकै सुन्दर देखिन्थ्यो। गाउँका आफ्नै....

ब्याच नम्बर ६९ : जर्मन नागरिकको गाडी भत्काइसकियो, चरेस छैन त !

उनीहरु बसेको घर बाहिर हाम्रो २४ घन्टा निगरानी थियो। उनीहरु २ वटा गाडी लिएर नेपाल भित्रिएका थिए। जर्मन प्रहरीको दावी अनुसार उनीहरु त्यही गाडीमा चरेस....