उकेरा कोलम

ब्युटिसियन रुश्काको प्रसव पीडा र खुसी : गर्भवती हुँदा पिरियड रोकिन्छ भन्नेसम्म थाहा थिएन


१२ कक्षा सकिनासाथ मागी विवाह गरेकी ब्युटिसियन रुश्का वैद्यले बच्चा जन्मेपछि मात्रै करिअरलाई अगाडि बढाएकी हुन्।

लायन्स क्लब काठमाडौं हिमचुलीकी पूर्वअध्यक्ष रुश्का अहिले सिटिइभिटी स्कुल अफ ब्युटिसियन र आइटिसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर सञ्चालन गरिरहेकी छिन्। उनका रभिशेक र रुविष्का दुई छोरा-छोरी छन्।

कलिलै उमेरमा विवाह गरेर छिट्टै आमा हुँदा प्रेगनेन्सी सम्बन्धी ज्ञान समेत थिएन उनमा। १६ घण्टाको प्रसव पीडा सहनुपर्दाको अनुभव र बच्चा भइसकेपछिको खुसी रुश्काले उकेरामार्फत यसरी व्यक्त गरिन्ः

माइतीमा पढाइलाई नै प्राथमिकता दिइन्थ्यो। पढाइ बिग्रेला भनेर घरको केही काम पनि मलाई गर्न दिइँदैनथ्यो। बुबा साहित्य लेखन र गणितका शिक्षक हुनुन्थ्यो भने ममी पनि जागिरे।

स्कुलमा मलाई वादविवाद, हाजिरी जवाफ, वक्तृत्वकला र साहित्यका कार्यक्रममा मात्र भाग लिन लगाइन्थ्यो।

०००
११ कक्षामा पढ्दादेखि मेरो विवाहको कुरा चल्यो। श्रीमानको परिवारबाट माग्न आउनुभयो। त्यतिबेला भर्खरै ११ पढ्दै छ भनेर टारे पनि १२ कक्षा सक्नासाथ फेरि माग्न आउनुभयो। आमाबुबालाई चित्त बुझ्छ भने हुन्छ भन्ने मेरो जवाफपछि विवाहको तयारी भयो। विवाह गर्दा म १८ वर्षकी थिएँ।

टुंगो लागेको एक महिनाभित्रै मेरो विवाह भयो। त्यो एक महिना मलाई साह्रै रमाइलो लागेको थियो। दिनका दिन मेरै लागि सपिङ जाने, नयाँ-नयाँ सामानहरु किन्ने र नेवारी प्रचलन अनुसार आफन्तकहाँ ‘पेनजा’ अर्थात् खाना खान बोलाउने, टीका लगाएर लुगा, सगुन दिइन्थ्यो। म स्पेसल महसुस गर्दै थिएँ। अहिले सोच्दा मेरो कस्तो बच्चा बुद्धि होला जस्तो लाग्छ। विवाह बिर्सेर इन्जोय पो गरिरहेको रहेछु।

सुपारी ल्याउने दिन शृंगारिएर दुलहीको पहिरनमा बस्दा पो मन भक्कानियो। विवाह गरेर घर गएपछि त झन् अर्कै संसारमा पुगे जस्तो लाग्यो। जीवनको पाटो नै ठिक उल्टो भएजस्तो।

विहेअघि नै ममीले घरमा के-कस्ता काम र व्यवहार गर्नुपर्छ, सिकाएर पठाउनुभएको थियो। त्यही अनुसार बिहान ४ बजे उठेर ६ तलाको घर बढार्थें। घर सफा गर्दा-गर्दा पहिलो दिन त थाकेर भुईंमा थचक्कै बसेको थिएँ।

घरमा गएपछि खाना पकाउने तरिका फरक हुँदा सुरुमा केही गाह्रो भएको थियो तर विस्तारै मिल्दै गयो। छोरी मान्छेले ठाउँ र समय अनुसार आफूलाई परिमार्जन गर्दै लानुपर्ने रहेछ। पाइन्ट, स्कर्ट लगाएर हिँड्ने म विवाहपछि कटनको सारीमा गहना लगाएर घरमै बस्ने भएँ।

०००
विहेको ९ महिनापछि नै गर्भवती भएँ। त्यतिबेला मलाई गर्भवती हुँदा पिरियड रोकिन्छ भन्ने समेत थाहा थिएन। दुई महिना पिरियड रोकिएपछि हस्पिटलमा देखाउन जाँदा पो पाँच हप्ता भइसकेको रहेछ।

गर्भवती भएको तीन महिना मलाई एकदमै गाह्रो भयो। दालको गन्धले मात्रै पनि बान्ता हुन्थ्यो। दाल पकाउँदा कुकरको सिठी बज्ने बेला भाग्थें। अचार, गुन्द्रुक, आलुतामासँग भने खाना रुच्थ्यो। त्यो समय तितौरा धेरै खान्थें। माइतीबाट, साथीहरु, घरको जो काठमाडौंबाट आउँदा पनि रत्नपार्क पाउँ भण्डारबाट तितौरा लिएर आउनुहुन्थ्यो। मेरो खाटको र्याकभरि तितौरा हुन्थ्यो।

प्रेगनेन्सी समयमा श्रीमानले कोठामा सानो बच्चाको ठूलो पोस्टर किनेर टाँस्नुभएको थियो। त्यतिबेला जस्तो बच्चाको अनुहार हेरियो त्यस्तै जन्मन्छ भन्ने मान्यता थियो।

प्रेग्नेन्सीमा पेट यति चिलाउँथ्यो की कन्याउँदा-कन्याउँदा औषधि नै लगाउनुपर्थ्यो। कन्याएको ठाउँमा दाग लाग्छ भन्ने ज्ञान पनि थिएन मलाई। नङले कोट्याइरहन्थें। म प्रत्येक महिना डा. विमला मल्लसँग काठमाडौंमैं जनाउँथें। पछि डेलिभरी भने बनेपाको शीर मेमोरियल अस्पतालमा गराएँ।

०००
मामाघरमा अजा बित्नु भएकोले ममीले १३ दिनको कामपछि मात्रै मलाई दही-चिउरा खुवाउन मिल्थ्यो। दही-चिउरा खान नपाइने हो की भन्ने ठूलो चिन्ता परेको थियो मलाई। डाक्टरले पुस २ गतेको समय दिएको थियो। माइतीबाट १ गते मात्रै दही-चिउरा खुवाउनुभयो।

दही-चिउरा खाएकै राति २/३ बजेदेखि पेट दुख्न सुरु भयो। धेरै खाएर पेट दुख्यो होला भनेर ट्वाइलेट आउने-जाने भइरह्यो। दिसा लाग्ला जस्तो हुने तर नआउने। ७/८ पटक त यस्तै भइरह्यो। श्रीमानको निद्रा बिग्रेला भनेर विस्तारै जान्थें।

बिहान सासुले मलाई ब्यथा लागेको भनेपछि हामी हस्पिटल जाने तयारीमा लाग्यौं। दूध ल्याएको टाटा मोबाइल गाडीमा म, सासु र श्रीमान् हस्पिटल गयौं।

मलाई राखेको ठाउँमा जम्मा २ वटा बेड थियो। म बसुन्जेल त्यहाँबाट १२/१३ जनाले बच्चा पाएर गइसके तर मेरो केही अत्तोपत्तो थिएन। श्रीमानले जिस्क्याएर यसले बच्चा पाएर खाँदिन कि क्या हो भन्नुहुन्थ्यो।

३ बजेदेखि एकदमै दुख्न थाल्यो र ५:५० मा बच्चा जन्मियो। १६ घण्टा डरलाग्दो तरिकाले प्रसव पीडा सहें मैले। भित्र पनि ३५ मिनेट त धेरै नै गाह्रो भयो। तर डाक्टरहरुले तपाईं बलियो हुनुहुन्छ, सक्नुहुन्छ भनेर कोसिस गराइरहनुभएको थियो। बच्चा पाउँदासम्मको अनुभव भन्नु पर्दा म मरेर बाँचेको जस्तो भयो।

मलाई आफू मरिसकेको जस्तो भएको थियो तर बच्चा रोएको आवाजले त्यो भयावह पीडा सबै गायब भयो। त्यतिबेला मात्र मैले आमा, नारीको अर्थ बुझें। डाक्टरले ल हेर्नुस् तपाईंको छोरा भनेर देखाउँदा मलाई खुसीले संसार जितेजस्तो भयो। बच्चा ३ केजी ८ सय ग्रामको स्वस्थ थियो।

बच्चा ठ्याक्कै पोस्टरमा भएजस्तै। पास्नीको बेला त्यो पोस्टरको बच्चाले जेजे लगाएको थियो, त्यसरी नै लगाउन दिएर फोटो खिचाएँ। म त छक्कै परें, पोस्टरमा जस्तो थियो बच्चा त्यस्तै दुरुस्तै।

छोरालाई हरेक दिन चिटिक्क पारेर राख्थें। सुत्केरीको समय ४ छाक घिउ, चाकु भात, २ पटक तेल मालिस गराएर सारी, चोलो, पटुका, टोको र घाँटीमा कपडा बेरेर बस्थें। एक दिन कलेजका साथीहरु बच्चा हेर्न आइपुगे। जिन्स लगाएर आएका मेरा साथीहरुमाझ आफूलाई बुढी भएको महसुस गरें।  


०००
छोरा २२ महिनाको भएपछि छोरी पाएँ। दोस्रो बच्चा छोरी नै होस् भन्ने थियो। त्यसैले भाइसँग काठमाडौंबाट हिस्सी परेकी छोरीको पोस्टर मगाएँ।

दोस्रो प्रेगनेन्सीमा दूध र भात साह्रै रुच्ने। घरमा फलफूलको गोदाम थियो। दिनको एक दर्जन केरा खान्थें। जे पनि रुच्ने। ड्रम जस्तै देखिनेगरी मोटाएको थिएँ।

दसैंको नवमीको दिन धपेडीले हो कि, धेरै नै गाह्रो भयो। घरमा भोजको माहोल, आफू भने बसेको ठाउाँट उठ्न नसक्ने। पूर्णीमाको दिन समय दिइएको थियो तर छोरी १५ दिन ढिला जन्मिइन्।

डाक्टरले दिएको मिति नाघेको १५ दिन भएपछि श्रीमानसँग बाइकमा बसेर अस्पताल गएँ।

छोरालाई घरमै छोडेर आएको थिएँ तर छोरालाई म नै चाहिने। कहिले छोडेको थिइनँ। डाक्टरलाई मनाएर एकछिनलाई बाइकमै घर आएँ। बाबुलाई खाना खुवाउँदै थिएँ, धेरै गाह्रो भयो। केही सामान पोको पारेर बाइकमै हस्पिटल गएँ। भर्ना गरेपछि डाक्टरले ६ बजेतिर डेलिभरी हुन्छ भने। श्रीमान् मलाई सामान किन्न पसल जानुभयो भने सासु चाकु-भात लिन घरतिर जानुभयो।

४ बजेतिर एकदमै पेट दुख्यो। मलाई भित्र लानूस्, बच्चा पाउन लागिसकें भन्दै कराउँदै थिएँ। नभन्दै भित्र लग्ने वित्तिकै सजिलैसँग छोरी जन्मिइन्। छोरी त पूरै ४ केजीकी, स्वस्थ। बच्चा पाइसकें तर बाहिर त मेरो कोही थिएनन्। उहाँहरु आउँदा पुक्क परेकी छोरी मसँग देख्दा दंग पर्नुभयो।

सासु आमालाई मोटा बच्चा मनपर्ने, दुवै बच्चा मोटाघाटा नै थिए। भोलिपल्टै घर फर्किएँ। सुत्केरी समय मैले एकदमै इन्जोय गरेर बिताएँ। छोरी पाउँदा धेरै खुसी भएँ तर उसले पनि पछि यस्तै व्यथा सहनुपर्छ भन्ने सोचले मन चाहिँ चसक्क भएको थियो।

आमा भएपछि उनीहरुको एक मुस्कानले सारा तनाव, पीडा गायब हुने। नारीलाई सहनशील भनिने यस्तो ब्यथा सहेर भुल्न सक्ने शक्ति भएकोले नै होला। माइतीमा घुर्की लगाउँदा भन्नुहुन्थ्यो, आमा भएपछि थाहा हुन्छ। अहिले त्यो याद आइरहन्छ।

अहिले छोरा रभिशेक बिएचएमको चौथो सेमेस्टर पढ्दै छ भने छोरी रुविष्का थाइल्यान्डमा ब्याचलर इन ब्युटी साइन्स एन्ड कस्मोटोलोजी पढ्न जाँदैछिन्। रुविष्काले कोरिया, भियतनाम, दिल्ली, पुने लगायत धेरै ठाउँमा मोडलिङ कन्टेस जितेकी छिन्।

अहिले लकडाउनको समय मसँग नै नेल, आइलाइसिस, मेकअप क्लासहरु पनि लिँदै आएकी छिन्। अहिले छोरा र छोरी नै मेरो सबैभन्दा मिल्ने साथी बनेका छन्। भाग्यमानीले मात्रै आमा बन्ने सौभाग्य पाउँछन् जस्तो लाग्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....