व्यवसायी लिमाको प्रसव पीडा र खुसी : मेरो अवस्था देखेर श्रीमान् झन्डै बेहोस !

व्यवसायी लिमाको प्रसव पीडा र खुसी : मेरो अवस्था देखेर श्रीमान् झन्डै बेहोस !

हस्पिटालिटी व्यवसायी लिमा अधिकारी चेम्बर अफ कमर्शको कार्यसमिति सदस्य, नेपाल महिला चेम्बरको महासचिव, नेपाल चाइना चेम्बरको सचिव तथा अनेमसंघको केन्द्रीय सदस्य हुन्।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीकी छोरी लिमाले १८ वर्षअघि व्यवसायी सुदीप आचार्यसँग विवाह गरिन्।

लिमाले प्रसवका बेला जति पीडा अनुभूत गरिन्, खुसीहरु त्यत्तिकै सँगालिन्। बच्चा जन्माइसकेपछि प्रसवको असह्य पीडा पनि सजिलै भुल्न सकिने हुँदा आमासँग कसैको तुलना हुनै नसक्ने उनी बताउँछिन्। सान्भी मोहनी र नमामीकी आमा लिमाले गर्भवती हुँदाका अनुभूतिहरु उकेरामार्फत यसरी पोखिन्ः

१८ वर्षअघि चाइनाबाट एमबिए सकेर नेपाल आएलगत्तै मेरो विवाह व्यवसायी सुदीप आचार्यसँग भयो। उमेर पनि भइसकेकाले हामीले स्वीकृति दिएपछि हाम्रो विवाह भयो।

हामी दुवै जना आ-आफ्नै व्यावसायिक जीवनमा व्यस्त थियौं र करिअर अगाडि बढाइरहेका थियौं। सबै ठिकठाक चलिरहेको थियो। तर घरायसी कारणले हामी अमेरिका जानुपर्ने भयो। गयौं।

त्यो बेला मेरो पिरियड हुने समय थियो तर समय नाघिसक्दा पनि पिरियड भएन। प्रेगनेन्ट भएँ कि भन्ने शंका लागेर चेक गर्दा पोजिटिभ देखियो। हामीले प्लान नगरेको भए पनि बच्चाको चाहना त थियो नै। हामी दुवैजना दंग पर्यौं। आमा बन्दै छु भन्ने कुराले पनि महिलालाई धेरै खुसी दिने रहेछ।

६ महिनासम्म त भोमिटिङ र खानाको बासना नै सहन नसक्ने अवस्था थियो। भान्सामा केही पकाउँदा पनि घर बाहिर जानुपर्ने हुन्थ्यो। भातको बासना त झनै गाह्रो।

०००
अमेरिकाको मिनिसोटो बस्थ्यौं। त्यो सहर निकै जाडो थियो। मलाई भने खाना नपाकुन्जेल घरभित्र बस्नै नसक्ने अवस्था भयो। तीन महिनासम्ममा म धेरै दुब्लाएकी थिएँ। तौल घटेको देख्दा आफैंलाई डर लागेको थियो।

खाएको केही पनि पेटमा अडिँदैनथ्यो। मेरा लागि त्यो समय निकै कष्टकर रह्यो।

अर्काको देश त्यो पनि पहिलो पटक गएको। त्यहाँको रहनसहन र वातावरण बुझ्न पनि पाएको थिइनँ। चिसो ठाउँ, खाना नरुच्ने। आफ्नो देश धेरै सम्झें। नेपालमा भएको भए आफन्तको बीचमा हुन्थें, सबैले केयर गर्नुहुन्थ्यो जस्तो लाग्थ्यो। यस्तै-यस्तै सोचले इमोसनल भइरहन्थें।

मेरो बुबा र आमा वर्ल्ड बैंकको कार्यक्रममा भाग लिन अमेरिका आउनुभएको थियो। उहाँहरुले मेरो बच्चा पनि हेर्ने हिसाब-किताब गरेर समय मिलाउनुभएको थियो। बिरानो ठाउँमा आमा-बुबा आउने भएपछि मनमा बेग्लै उमंग छायो। आमा र बुबा भएकै बेला बच्चा जन्माउन पाउँदा धेरै नै खुसी भएँ।  

०००
डाक्टरले दिएको समयमै दिउँसो ३/४ बजेदेखि व्यथा लाग्न सुरु भयो। भोलिपल्ट १ बजेसम्म पनि व्यथा लगाएर त्यत्तिकै राखिएको थियो। जति गाह्रो भए पनि अप्रेसन नगराउने रहेछ। पछि बच्चाको टाउको ननिस्केपछि भ्याकुमले तानेर बल्ल निकालियो। भ्याकुमले तान्दा घाउ भएर रगताम्मे भएँ।

अमेरिकामा बच्चा जन्माउने बेला श्रीमानलाई सँगै राखिन्थ्यो। उहाँ मेरो रगताम्मे अवस्था देखेर डरले बेहोस जस्तै हुनु भएछ। स्वाथ्यकर्मीले उहाँलाई बाहिरै लैजानुपर्ने अवस्था भयो। मलाई पनि अब बाँच्दिन भन्ने लागेको थियो।

बच्चा निकालेपछि २० मिनेट लगाएर टाँका लगाइएको थियो। यति पीडा भयो कि शब्दमा व्याख्या गर्न सक्दिनँ। यस्ता कुरा छोरीहरु हुर्कँदै गएपछि बिर्सँदै गएँ।

बच्चा निकालेर मेरो छात्तीमा राखिदिंदा पनि खासै उत्साहित भइनँ। किनकी, बच्चा जन्माउँदाको भयानक पीडा जो भोगें।

अमेरिकामा सुत्केरीलाई नेपालमाजस्तो तेल मालिस गरेर स्याहार्ने चलन थिएन। बाथ टप बस्ने चलन थियो। मलाई दुखाइ कम गर्नका लागि पेन किलर दिइयो। ६ हप्ता भइसक्यो, तैपनि दुखाइ उस्तै। म बाथ टपमा बस्दा यति धेरै रुन्थें कि, ओहो! यो दुखाइ निको नै पो हुँदैन कि भन्ने लाग्थ्यो।

धेरै पेन किलरको प्रयोगले दूधमा असर पुग्ने रहेछ। त्यही कारण मेरो दूध नै आएन। पम्प गरेर निकाल्न खोज्दा पनि नआएकाले बच्चालाई सुरुदेखि नै बट्टाको दूध खुवाउनुपर्यो।

लगभग दुई महिनापछि बल्ल नर्मल भएँ र बच्चासँग रमाउन थालें। त्यसपछि पीडा पनि विस्तारै हराउँदै गयो। पहिलो बच्चा जन्माउँदा भोगेको पीडा सम्झेर अर्को बच्चा त पाउँदै पाउँदिन जस्तो लागेको थियो।

०००
पिरियड भएको ६ दिनमा बच्चा बस्दैनथ्यो। तर मेरो भने त्यही बेलामा दोस्रो बच्चा बस्यो। मैले सोचेकै थिइनँ। हामीले दोस्रो बच्चाको प्लान गरेकै थिएनौं। पिरियड समयभन्दा १०/१२ दिन ढिला भएपछि चेक गर्दा प्रेगनेन्ट भएको थाहा भयो। यो त भगवानकै उपहार हो भन्ने सोच्यौं।

काखमा छोरी, अमेरिकामा सबै काम आफैं गर्नुपर्ने। त्यसमा पहिले जस्तै भोमिटिङ र नोजिया त छँदै थियो। गर्भवती भएको खबरले पहिलाको पीडाले गर्दा जति खुसी हुनुपर्ने हो त्यति खुसी हुन सकिनँ।

डाक्टरसँग हामीले पहिले नै सल्लाह गर्यौं। पहिलो प्रेगनेन्सीको अवस्था र रिपोर्ट देखाएपछि सुरुमै सर्जरी नै गरेर बच्चा जन्माउने निधो भयो। म ढुक्क भएँ। अमेरिकाका डाक्टर, नर्सहरुले गर्भवती महिलाको कुरा मजाले सुन्ने र रेस्पेक्ट गर्ने कुरा व्यवहारबाट निकै प्रभावित भएँ म।

ठूली र सानी छोरीको बीचमा जम्मा २ वर्ष ३ महिनाको मात्रै ग्याप छ। दुई जना बच्चालाई हेर्न गाह्रो हुन्छ भनेर बच्चा पाउनुअघि नै सासुले ठूली छोरीलाई नेपाल लैजानु भएको थियो।

काखे बच्चालाई छोड्नुपर्दाको दुःख जीवनभरकै सबैभन्दा पीडादायी क्षण भयो मेरा लागि। सधैं मैसँग मात्रै बसिरहेकी छोरीलाई सासुसँग नेपाल पठाउँदा म धेरै रोएँ। हरेक राति रोएर बस्थें। यस्तो बेला रुनु हुँदैन भन्ने थाहा थियो। तर सम्हालिनै सक्दैनथें।

०००
दोस्रो प्रेगनेन्सीमा बच्चा धेरै चलेर गाह्रो भयो। बच्चा यति चल्ने कि बस्दा, उठ्दा र सुत्दा पनि अप्ठ्यारो। एक हप्ता त रातभरि सुत्नै पाइनँ। सुत्न खोज्छु, चलेकोचल्यै गर्ने। डाक्टरलाई सोध्न पनि गएँ।

दोस्रो बच्चाको समयमा अप्रेसन गर्ने निधो भएको थियो। तर अप्रेसन गर्ने दिनभन्दा एक दिनअघि नै व्यथा लाग्यो। रातभरि व्यथा लाग्यो। भोलिपल्ट बिहान ३ बजेतिरै हस्पिटल लगियो। ८ बजेतिर अप्रेसन गरेर बच्चा निकालियो।

अप्रेसन गरेर बच्चा निकाल्दा बच्चा पाएको अनुभव नै भएन। किनकी, मलाई पहिलो छोरी जन्माउँदाको पीडा थाहा थियो। बच्चा जन्मेको ५/६ दिनदेखि आफैं खाना बनाउन र अन्य घरको काम गर्न थालिसकेको थिएँ।

हिटर बालेर बच्चालाई आफैंले तेल मालिस गरिदिन्थें। आफ्नो शरीरमा तेल दल्थें। राति आधा घन्टा जति बाथ टपमा बस्थें। एक्लै आधा घन्टा बाथ टपमा बस्दा रिल्याक्स फिल हुन्थ्यो। त्यति बेला क्यान्डल बालेर मधुरो संगीतमा बस्थें। यसले मेरा सबै तनाव हटाउन मद्दत गर्थ्यो।

०००
छोरी आठ हप्ताकी भएपछि अमेरिका छोडेर नेपाल आयौं। दुई वर्ष मात्रै फरक भएकोले दुवै बच्चा उस्तै-उस्तै थिए। एउटा बिरामी भएर निको हुने, अर्को बिरामी हुने। एउटा सुत्ने, अर्को अर्को उठ्ने। बच्चाहरु ५ वर्षका भएपछि बल्ल केही सहज भयो।

ठूली छोरी सान्भी मोहनी आचार्य १६ वर्षकी र सानी छोरी नमामी आचार्य १३ वर्षकी भइन्। अहिले कसरी छोरीहरुलाई टिनएजरको समस्याका बारेमा बुझाउने, कसरी स्पेस दिने, कसरी सम्झाउने भन्नेमै लागिपरेकी छु। उनीहरु सँगसँगै म आफैं पनि परिपक्व बन्दै गएको महसुस गर्दैछु।

माया तलतिरै बग्ने रहेछ। बच्चाको अझै बढी माया लाग्दो रहेछ। आमाले आफ्ना सन्तानलाई गर्ने मायासँग संसारको कुनै मायाको पनि तुलना गर्न सकिँदैन। म आमा भएर संसार हेरिरहेछु।

यो पनि

६ भदौ, २०७८, १७:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।