उकेरा कोलम

म पढाइमा तेज थिएँ। १४ वर्षकै उमेरमा एसएलसी उत्तीर्ण गरेर १७ वर्षको हुँदा नर्सको रुपमा अस्पतालमा काम गर्न थालिसकेको थिएँ। त्यतिबेला नर्सहरु अस्ट्रेलिया जाने क्रम बढ्दो थियो। म पनि पढाइसँगै नर्सिङमा काम गर्न उतै लागें। अस्ट्रेलियामा चार वर्ष काम र अध्ययन गरेपछि नेपाल नै फर्कें।

नेपाल फर्कनुको मुख्य कारण विवाह थियो। डा. विश्व पोखरेल र म प्रेममा थियौं। उहाँको बुबा डेढ वर्षअघि बितिसक्नुभएको थियो भने भने घरबाट उहाँलाई विवाहको लागि प्रेसर थियो।

म नेपाल आएपछि हाम्रो विवाह भयो। अस्ट्रेलियामा म बिएस्सी नर्सको रुपमा अस्पतालमा काम गर्थें। त्यहीँ पब्लिक हेल्थमा मास्टर्स गर्ने सोच बनाएकी थिएँ। तर अचानक नेपाल आउनुपर्दा त्यो पूरा गर्न पाइनँ।

विवाह गरेलगत्तै बच्चाको लागि पनि प्रेसर हुन थाल्यो। हामी दुई जनामा ९ वर्षको फरक, घरमा सासु र हामी दुई जना मात्रै। सासुले हुर्काइदिन्छु भन्नुभएकोले बच्चाको योजना बनाइहाल्यौं। नभन्दै बच्चा बसिहाल्यो। म गर्भवती भएपछि घरमा बेग्लै किसिमको खुसी छायो।

०००

म जीवनमा कहिल्यै चुप लागेर बसिनँ। काम, पढाइलाई निरन्तरता दिंदै व्यस्त समय बिताइरहेको थिएँ। त्यसमा पनि अस्ट्रेलियामा त एकछिन चुप लागेर बस्न पाउने कुरै थिएन।

नेपालमा आएपछि भने साथी सर्कल कोही नभएको र काम पनि नहुँदा मलाई निकै समस्या भयो। ‘खाली दिमाग सैतानको बास’ होला भन्ने डर लागिरह्यो।

अब त  केही गर्नैपर्छ भनेर मेरा लागि नयाँ विषय चार्टर्ड एकाउन्टेन्ट पढ्न थालें। सबैले यो विषय गाह्रो छ, स्वास्थ्य क्षेत्रको मान्छे कहाँ यसमा लाग्ने पनि भने तर मलाई गाह्रो र फरक विषय नै पढेर व्यस्त रहनु थियो। 

कोर्षका किताबहरु किनेर पढ्न सुरु गरेपछि फ्रेस हुँदै गएँ। पढाइमा रमाउन थालें। किताब नै मेरो साथी बन्न थाल्यो।

विहान श्रीमानले क्लासमा पुर्‍याइदिनुहुन्थ्यो। त्यति बेला आफैं स्कुटर चलाउदिनथें। पब्लिक बसहरुबाट फर्किन्थें। जाडो महिना थियो, बाक्लो ज्याकेट लगाएर जान्थें। म प्रेगनेन्ट भन्ने कसैलाई अत्तोपत्तो थिएन।

पढाइमा धेरै फोकस भएर होला, प्रेगनेन्सीमा खासै समस्या पनि आएन। तर बच्चा कस्तो जन्मिएला भन्ने तनाव चाहिं थियो। आफू कालो वर्णको भएकोले बच्चा पनि कालै होला भन्ने चिन्ता हुन्थ्यो। गोरो बच्चा होस् भन्ने चाहना थियो। नभन्दै बच्चा मैले सोचे जस्तै गोरो, कपाल कालो, राम्रो जन्मियो।

डाक्टरले दिएकै समयमा व्यथा लाग्यो। नर्मल तरिकाले बच्चा पाउन धेरै कोशिस गरियो तर बच्चा ठूलो भएकोले अन्त्यमा अप्रेसन नै गर्नुपर्‍यो। बच्चाको आगमनले घर, परिवारमा खुसी छायो, म पनि आमा बनेकोमा दंगै थिए । मैले प्रेगनेन्सी र बच्चा जन्माइसकेपछि घर, परिवारले बच्चाप्रति बढी ध्यान दिने र सुत्केरीको मानसिक र शारीरिक अवस्थालाई त्यति वास्ता नगर्ने परिपाटी महसुस गरें । 

नेपालमा बच्चालाई आमाले सँगै सुताउने चलन छ। विदेशमा भने साइडमा छुट्टै बेड बनाएर सुताइन्थ्यो। मलाई पनि सँगै सुताउँदा बच्चालाई जिउले लाग्ला, किचिएला भन्ने डर भइरहन्थ्यो। त्यसैले साइडमा बेड बनाएर सुतें। अलार्म राखेर उठ्दै दूध खुवाउँदै गर्थें। तर यसरी बच्चालाई छुट्टै सुताउँदा आफन्तले अनेक कुरा गरेर हैरान। जो पनि ‘हामी त सँगै च्यापेर सुत्थ्यौं’  भन्दै फर्कन्थे। मैले गर्नै नहुने काम पो गरेछु कि जस्तो लागेर फेरि सँगै सुताएँ।

यसरी बच्चालाई आफूसँगै सुताउँदा सुत्केरी आमाको मनोवैज्ञानिक रुपमा कस्तो असर पर्छ भन्ने कुरा कसैले बुझ्नै खोज्दैन। आमालाई पनि आराम चाहिन्छ भन्ने सोच सबैले राख्नुपर्छ जस्तो लाग्छ मलाई। रातभरि सुत्न सक्दिनथें, बच्चालाई लाग्ला भनेर।

०००
सुत्केरी अवस्थामा आमा र बच्चालाई गरिने स्याहारको परम्परागत मान्यता र अहिले पढेर, रिसर्च गरेर गरिने स्याहारको मामिलामा मैले धेरैसँग टक्कर नै गर्नुपर्‍यो। नर्सको रुपमा बच्चाको डेलिभरीदेखि केयरसम्म पढेर, काम गरेर आएकोले मलाई यस विषयमा ज्ञान थियो।

मैले बच्चालाई तेल लगाइसकेपछि टाउको र छाती गुम्स्याएर नराखेकोमा धेरै जनाबाट धेरै कुरा सुन्नु पर्‍यो। कोठाको तापक्रम मिलाएर म र बच्चा खुला भएर बस्थ्यौं। घरमा हेर्ने आउनेहरुलाई जति बुझाउँदा पनि नसकिने। सासु आमाले पनि बच्चालाई यसरी नराख भन्नुहुन्थ्यो। श्रीमान् पनि आमाकै पक्ष लाग्नुहुन्थ्यो।

अहिले सम्झदा लाग्छ, सासु र मेरो जेनेरेसन ग्यापको समस्या हो। श्रीमानले पनि आमाको चित्त दुख्ला भनेर मेरो पक्ष नलिएको रहेछ भन्ने बुझ्दैछु। 

कोरोनाको कारण नेपालमा सेनिटाइजर जीवनको एउटा पाटो जस्तै बनिसकेको छ। मैले बच्चा पाइसकेपछि कसैले बच्चा हेर्न आउँदा पहिला सेनिटाइज गराएर मात्रै छुन दिन्थें। त्यति बेला पनि सबैले कसैले नपाएको बच्चा पाए जस्तो भनेर कुरा काट्थे। बच्चालाई बाहिरको प्रदूषण, फोहोर नलागोस् भनेर आगो छोएर आउने परिपाटीकै आधुनिकीकरण नै सेनिटाइजर हो भनेर बुझाउन साह्रै गाह्रो पर्‍यो।

०००
हामी दुवैले दुई वटा बच्चा जन्माउने सोच बनाएका थियौं। धेरै वर्षको ग्याप पनि नगर्ने नै प्लान थियो। कम्तीमा दुई वर्षको ग्यापमा पाउने सोच्दासोच्दै छोरा १६ महिना पुग्दैगर्दा दोस्रो बच्चा जन्म्यो।

सुत्केरीपछि पिरियड भएर केही महिनापछि फेरि पिरियड रोकिएपछि चेक गर्दा प्रेगनेन्ट देखायो। मलाई पटक्कै खुसी लागेन। दिमागमा म अब के गर्ने होला? भन्ने मात्रै आउन थाल्यो। पढाइ पूरा भएको थिएन। नयाँ करिअर सुरु गर्नु छ, बच्चा सानो छ, यस्तो अवस्थामा अर्को बच्चा हुने भयो भनेर रोएको थिएँ। एकदमै आत्तिएको पनि थिए। त्यति बेला मेरो श्रीमानले सम्हाल्नुभयो। 

मैले दोस्रो प्रेगनेन्सीमा भने धेरै नै गाह्रो अवस्था भोग्नु पर्‍यो। घरमा पहिले नै सानो बच्चा थियो, जसको कारण मैले सुरुको बच्चाको बेला पाएको जस्तो केयर, एटेन्सन र सोचे जस्तो सपोर्ट पाइनँ। स्वास्थ्य पनि पहिले जस्तो राम्रो थिएन। तै पनि मैले पढाइलाई फोकस गरिरहें। मन यताउता घुम्न लाग्यो भने पढाइमै केन्द्रित गर्थें।

दोस्रो प्रेगनेन्सीमा ठूलो पेट अनि पानी धेरै भएर अप्रेसन गरियो। अप्रेसन गर्दा धेरै ब्लिडिङ्ग भएर मरफिन दिएर लठ्याइएको थियो। बच्चा एक पटक रोएको सुनें। अरु चालै पाइनँ।

बच्चाले राम्रोसँग श्वास फेरेन भनेर आइसियुमा लगिएको रहेछ। अलि कम्लिकेसन आएको छ भने पनि सामान्य समस्या नै होला सोचें किनकी मैले बच्चा रोएको आवाज सुनेको थिएँ। बाहिर श्रीमानको हाल चाहिं बेहाल भएछ। बच्चा आइसियुमा छ। आमाको ब्लिडिङ धेरै भयो भनेर देखाएकै होइन। रुवाबासी नै चलेको रहेछ। 

त्यो राति टिचिङ अस्पतालमा बेड खाली नभएर रातभरि स्टेचरमा राखियो। भोलिपल्ट मात्रै बेडमा सारियो। केही समयपछि बच्चा देखाउन ल्याउँदा मैले आफूलाई सम्हाल्नै सकिनँ। सानो, लुरे, अक्सिजन राखिएको, इन्जेक्सन लाइरहेको, बच्चालाई छुन पनि सकिनँ।

हुन त मैले नर्सका रुपमा कयौं यस्ता बच्चालाई स्याहारेको छु, हेरेको छु, तर आफ्नो बच्चा त्यस्तो हुँदा मनलाई सम्हाल्न गाह्रो भयो। बल्ल बुझें मातृत्वको अर्थ यही रहेछ। 

जेठो छोरो खाएर सुतेपछि खासै दुःख नदिने। तर कान्छो छोरा दूध नै नखाने। मेरो दूध पनि नखाने, बोटलको पनि नखाने। हैरानै भएँ। त्यो बेला पनि मैले एकदमै ठूलो गल्ती गरेको महसुस गरें। आफूले गर्नसक्ने मात्रै आँट्नुपर्ने रहेछ भन्ने लाग्यो। 
 
बच्चालाई केयर गरेर आएको, एउटा बच्चा पाइसकेको भए पनि दोस्रो बच्चाको अनुभव मेरा लागि नयाँ जस्तै भयो, शून्यबाट सुरु गरेको जस्तै। 

बच्चा दूध नखाने, रोएकोरोयै मात्र गर्ने। आफू मेडिकल पर्सन भएर पनि बच्चाको लागि झारफुक गर्न पनि गएँ। म झारफुकमा पटक्कै विश्वास नगर्ने व्यक्ति तर उपाय खोज्दै जाँदा त्यसको शरणमा पनि परें। ६ महिनाको त्यो समय मेरो जीवनकै सबैभन्दा कठिन समय थियो। 

त्यस गाह्रो अवस्थामा पनि पढाइलाई भने निरन्तरता दिइरहें। दोस्रो बच्चा ९ महिनाको पेटमा हुँदा पनि परीक्षा दिएँ र पास पनि भएँ। 

०००
विदेशमा पोस्टपार्टम ब्लुजको बारेमा पढाइ हुन्छ। बच्चा देखेर २/४ दिन खुसी भए पनि चार दिनपछि आमालाई बच्चालाई कसरी रिकभरी गराउने, मेरो स्वास्थ्य बिग्रियो, कसरी स्वस्थ हुने, ठूलो भएपछि कसरी बच्चा हुर्काउने’ भन्ने जस्ता समस्या आउन सक्छ। त्यो समयमा परिवारबाट सपोर्ट भएन भने डिप्रेसनमा जाने धेरै चान्स हुन्छ।

मलाई चाहिं यस्तो हुनसक्छ है भन्ने थाहा भएर पहिले नै अलर्ट हुन्थें। मलाई पनि ३ दिनसम्म त टाउको पनि उठाउन गाह्रो भयो। त्यसपछि टाउको दुख्न सुरु भयो। खाली समय भयो कि किताब पढिहाल्थें। पढाइ नभएको भए मलाई धेरै गाह्रो हुन्थ्यो होला। हरेक कुरा थाहा भएको, त्यही विषयमा पढेको व्यक्तिलाई त यस्तो भयो भने अरुलाई के–कस्ता समस्या सामना गर्नुपर्छ होला भन्ने लागिरहन्छ। 

विदेशमा जस्तै नेपालमा पनि प्रेगनेन्ट हुनुअघि प्रेगनेन्सी एजुकेस क्लास र पछि श्रीमान् र परिवारका सदस्यलाई पनि प्रेगनेन्सी केयरको जानकारी दिनुपर्छ जस्तो लाग्छ मलाई।

अहिले दुवै छोरा जुम्ल्याहा जस्तै देखिन्छन्। ९ र ८ वर्षका छोराहरु मेरा साथी भएका छन्। त्यति बेला मैले शारीरिक र मानसिक रुपमा धेरै अप्ठ्याराहरु झेल्नु परे पनि अहिले बच्चालाई हेरेर दंग छु।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....