सञ्चारकर्मी स्मीता राणाको प्रसव पीडा र खुसी : छेउमै सुताएको छोरो एकाएक हराउँदा...

सञ्चारकर्मी स्मीता राणाको प्रसव पीडा र खुसी : छेउमै सुताएको छोरो एकाएक हराउँदा...

दुई दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील स्मीता राणाले पोखराको माछापुछ्रे एफएमबाट आरजेका रुपमा करिअरको सुरुवात गरेकी हुन्।

पढाइको सिलसिलामा केही समय युके गएकी उनी आठ वर्षदेखि रेडियो कान्तिपुरमा कार्यक्रम निर्माता तथा प्रस्तोताका रुपमा कार्यरत छिन्।

चार वर्षअघि चितवनका आइटी व्यवसायी सञ्जयकुमार बराकोटीसँग प्रेम विवाह गरेकी स्मीता एक छोराकी आमा हुन्। गर्भवती हुँदा भोग्नुपरेका समस्या, प्रसव पीडा र बच्चा जन्मेपछिको खुसी उनी उकेरामार्फत यसरी व्यक्त गर्छिन्ः

केही समयको प्रेम सम्बन्धपछि मैले ३० वर्षको उमेरमा चितवनका सञ्जयकुमार बराकोटीसँग प्रेम विवाह गरें। उहाँ पेसाले आइटी व्यवसायी हुनुहुन्छ। हाम्रो विवाह भएको चार वर्ष भयो।

म घरकी कान्छी बुहारी। अन्तरजातीय विवाह भए पनि मलाई घरमा कुनै किसिमको बन्देज भएन। आफ्नो करिअर र कामलाई सहजतापूर्वक नै अगाडि बढाउन पाएँ।

०००
मेरो परिपक्व उमेर भइसकेकाले हामीले विवाहलगत्तै बच्चाको योजना बनाइहाल्यौँ। अब बच्चा पाउन ढिला गर्नु हुँदैन भन्ने हामीलाई लाग्यो।

छिट्टै बच्चा जन्माएपछि एक किसिमको ढुक्क हुन्छ र बच्चा पनि हुर्किहाल्छ भन्नमा हामी श्रीमान्–श्रीमती नै सहमत भयौँ। 

विवाहको ६ महिनापछि मलाई केही असहज महसुस हुन थाल्यो। महिनावारी हुने महिना भने कटिसकेको थियो। त्यसपछि मैले असहजताको बारेमा श्रीमानलाई सुनाएँ। 

शरीरमा थकान महसुस हुने, प्रेसर लो भएको जस्तो अनुभव हुन थालेपछि मलाई गर्भवती पो भएँ कि भनेर शंका लाग्यो। श्रीमान् र म हिमाल अस्पताल गयौँ। जचाउँदा म गर्भवती भएको प्रष्ट भयो।

म गर्भवती भएपछि घर र माइतीमा एक किसिमको खुसियाली छायो। यो खुसीको खबर मेरो जेठाजुले सबै आफन्तलाई फोन गरेर सुनाउनुभएछ। मलाई भने लाज लाग्यो। 

गर्भवती भएको तीन महिना मलाई निकै गाह्रो भयो। बान्ता हुने, खानाको गन्ध मन नपर्ने, दिक्क लाग्ने जस्ता समस्या देखिए। फलफूल त झन् हेर्नै मन लाग्दैनथ्यो। 

अरु फलफूल मन नपरे पनि केरा भने खुब खाएँ। एक दिन रेडियो जाँदै थिएँ ट्याक्सीमा। बाटोमा केरा देखेर एक दर्जन किनेँ। अफिस पुग्दासम्म त्यो सब केरा खाइसकेको थिएँ। मैले केरा खाएको देख्दा साथीहरुले तिमीले छोरा नै पाउँछौ भनेर जिस्क्याउँथे।

हाम्रो घरमा जेठानी दिदीले पनि छोरा पाउनुभएको छ। सासु–आमाका पनि तीन जना छोरा। त्यसैले मेरो छोरी जन्मिएहुन्थ्यो भन्ने सबैको इच्छा थियो। छोरीको निकै रहर गर्नुहुन्थ्यो। 

०००
तीन महिनापछि मलाई निकै भोक लाग्न थाल्यो। घरको खाना खान मन नलागे पनि जंकफुडहरुमा खुब मन जान्थ्यो। चाउमिन खुब खान्थेँ। अफिस आउनासाथ चाउमिन मगाइहाल्थें। क्रेजी फ्यानजस्तै चाउमिनको।

मलाई मःमः भने मनै परेन। देख्नै नपरे हुन्थ्यो जस्तो लाग्थ्यो। तरकारीमा काउली मन पर्दैनथ्यो। फलफूल, सलाद, ड्राइफ्रुटहरु पटक्कै मन नपर्ने। नर्मल खाना भने खान्थेँ। बच्चाको स्वास्थ्यको ख्याल राख्नका लागि पनि खाना त खानैपर्यो। 

गर्भवती भएको समय अरु सबै नर्मल भए पनि ग्याष्ट्रिकले भने एकदमै सताएको थियो। त्यतिबेला घरमा ससुरा–बुबा पनि बिरामी हुनुहुन्थ्यो। आमाले बुबाको स्याहार गर्नुपर्ने। म भने आफ्नै स्याहार पनि खासै गर्दैनथें।

श्रीमान् दिनभर अफिसमा व्यस्त हुनुपर्ने। म धेरै नै कमजोर भएपछि उहाँले मलाई माइत पठाउनुभयो। माइतमा आमाले हेरचाह गर्नुहुन्थ्यो। आमाले कर गरेर खाना खुवाउनुहुन्थ्यो। मलाई भने खाना खानेवित्तिकै बान्ता भइहाल्थ्यो। गर्भवती भएको ६ महिनासम्म बान्ता भयो। त्यसपछि भने सहज हुँदै गयो। 

पहिला मैले हिमाल अस्पतालमा  जँचाइरहेको थिएँ। पछि अस्पताल बदलेर नर्भिकमा डा. अचला वैद्यलाई देखाउन थालेँ।

चार महिना भएपछि पेटमा बच्चा चलेको महसुस हुन्थ्यो। त्यो बेला काउकुती लागेको जस्तो अनुभव हुन्थ्यो। त्यो अनुभव मलाई निकै रमाइलो लाग्थ्यो। 

४/५ महिनापछि मलाई थाइरोइडको समस्या देखियो। डा. अचलाले डा. डिना श्रेष्ठलाई देखाउन सुझाव दिनुभयो। थाइरोइड भएपछि नियमित औषधि खानुपर्यो। मैले औषधि खाँदा पेटमा हुर्किंदै गरेको बच्चालाई केही असर गर्ने पो हो कि भन्ने चिन्ताले निकै सतायो। त्यो चिन्ताले डिप्रेसनमै पुर्याउला कि भन्ने डर पनि लाग्यो।

श्रीमान् अफिसको काममा व्यस्त भए पनि बेलाबेला फोन गर्ने, सम्झाउने गरिरहनुहुन्थ्यो। म पनि अफिस जान छोडेको थिइनँ।

थाइरोइडका कारणले खानेकुर निकै बार्नुपर्थ्यो। कमजोरीले होला, पाइताला दुख्ने र थकान महसुस हुने समस्या पनि भयो। 

त्यसै बीचमा मलाई अर्को समस्या पनि थपियो। पेटमा बच्चा हुर्किंदै थियो। पाठेघर सानो भएकाले बच्चा तल–तल सर्ने रहेछ। त्यस्तो हुँदा बच्चा खेर जान सक्ने सम्भावना पनि देखियो। त्यसका लागि पनि नियमित औषधिको प्रयोग गर्नुपर्यो। 

केही महिना माइती बसेर घर फर्किएँ। श्रीमान् अफिसबाट राति अबेर घर आउनुहुन्थ्यो। मलाई एक दिन ग्याष्ट्रिक बढेर पेट घोच्यो। सहनै नसक्ने गरी दुख्यो। श्रीमानलाई फोन गरेर धरधरी रोएँ।

त्यो दिन तातोपानी पिएर घरमै बसें। भोलिपल्ट नर्भिकमा गयौं जँचाउन। त्यहाँ मलाई ग्याष्ट्रिकको औषधि दिइयो। त्यो औषधि मैले बच्चा नजन्मिउन्जेलसम्म खाएँ। 

०००
शरीरमा पानी कम भएका कारण डाक्टरले दिएको समयभन्दा अगाडि नै मेरो अप्रेसन गरेर बच्चा निकाल्नुपर्ने भयो। डा. अचला वैद्यको टिमले अप्रेसन गरेर बच्चा निकाल्यो।

बच्चा निकालेर नर्सले यी तपाईंको छोरा भनेर दिँदा त मेरो आँखाबाट आँसु नै झर्यो। त्यो बेला खुसीको सीमा नै रहेन। जन्मँदा मेरो छोरा २.८ केजीको थियो। घरमा सबैले छोरीको रहर गरेको भए पनि त्यो रहर भने पूरा हुन सकेन।

०००

बच्चा जन्मेलगत्तैको एउटा घटना। अप्रेसनपछि बच्चालाई अर्को कोठामा सिफ्ट गरिएको रहेछ। सिफ्ट गरेर सुताइएको कोठामा म बच्चालाई दूध खवाउन भनेर गएँ, त्यहाँ बच्चा थिएन। सुताएको ठाउँमा बच्चा नदेखेपछि म झसंग भएँ, छोरा कसले चोर्यो भनेर। तर पछि थाहा भयो, जन्मेको एक घण्टापछि छोराको पेट फुलेछ। उसलाई उपचारका लागि एनआइसियुमा लगेर राखिएको रहेछ।

बच्चालाई दूध खुवाउन नपाएको कारण मेरो स्तन गानिएको थियो। दूध निकाल्न मलाई नर्सहरुले एउटा पम्प दिएका थिए। त्यसको सहायताले दूध तानिरहेको थिएँ। एकातिर पम्पले दूध तान्दा हुने गाह्रो अर्कातिर छोरालाई दूध चुसाउन पाइनँ भन्ने चिन्ता। बच्चालाई दूध खुवाउन नपाएको कुराले मेरो मन बिझाइरह्यो। 

दुई दिनपछि मात्र मलाई बच्चा भएको ठाउँमा जान दिइयो। बच्चा भोकले रोइरहेको रहेछ। म दूध चुसाउन भनेर छोरो भएको ठाउँमा गएँ। तर मेरो दूध आएन। त्यसपछि उसलाई कम्प्लेन खुवाइयो। 

अस्पतालमा बच्चा रोएको रोयै गर्न थाल्यो। धेरै गाह्रो भएपछि चेकअप गर्दा बच्चाको सुगर लेभल घटेको थाहा भयो। त्यसपछि भर्ना गरेर ४ दिनसम्म एनआइसियुमा राखियो। त्यति सानो बच्चालाई औषधि र सुईको भरमा बचाउनुपर्दा मन कटकट भइरहन्थ्यो। १४ दिनपछि मात्र हामी आमाछोरा अस्पतालबाट डिस्चार्ज भयौँ । 

घर आएपछि पनि बच्चाको स्याहार मैले नै गर्नुपर्यो। मेरो अप्रेसन गरेको, घरमा ससुरा–बुबा पनि बिरामी। सासु–आमाको पनि नसाको रोगले हात दुख्ने समस्या थियो। एक महिनापछि भने म माइत गएँ। माइतीमा आमाले हेरचाह गर्नुभयो।

०००
सुत्केरी भएको चार महिनामा मलाई डेङ्गु भयो। त्यतिबेला बच्चालाई दूध चुसाउन पाइनँ। एक महिनासम्म पम्प गरेर छोरालाई दूध खुवाएँ। ६ महिनामा त बच्चा मेरो दूध नै नचुस्ने भयो। 

छोरो जन्मेपछि लगभग साढे दुई महिना आराम गरेँ। त्यसपछि भने माइतबाट नै अफिसको कामलाई निरन्तरता दिइरहेँ। माइतमा आमाबुबाले छोरा हेर्ने भइपछि मलाई काम गर्न पनि सजिलो भयो। अहिले छोरो ३२ महिनाको छ।

घरमै बसिरहँदा मन एकोहोरो हुने रहेछ। बच्चा मात्र हेरेर बस्ने, खाने मात्र कामले मेरो जीवन यति नै रहेछ भन्ने जस्तो महसुस हुन थाल्यो। त्यसैले अफिस गइहालेँ। 

आमा भइसकेपछि फुर्सद भन्ने नै नहुने रहेछ। रेस्ट गर्ने समय नै नपाइने। आमा भएपछि सबै कुरा परिवर्तन हुने रहेछ। हामीले एउटा जीवनलाई जन्म दिन्छौँ। त्यो चाहिँ निकै पावरफूल लाग्छ मलाई। 

बच्चा भइसकेपछि निकै संवेदनशील, प्रोटेक्टिभ, केयरिङ भइने रहेछ। जसको बच्चा देखे पनि आफ्नै जस्तो माया लागेर आउने। बच्चाको लागि बुबाको भन्दा आमाको भूमिका निकै बढी हुन्छ भन्ने महसुस हुन्छ मलाई।

यो पनि

१६ माघ, २०७८, १२:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।