उकेरा कोलम

निर्देशक सम्झनाको प्रसव पीडा र खुसी : जब डाक्टरले बच्चाको घाँटीमा साल बेरिएको खबर सुनाए


फिल्म निर्देशक सम्झना उप्रेतीले फोटो पत्रकार विकास रौनियारसँग अन्तरजातीय विवाह गरेकी हुन्। उनले टेलिभिजन हुँदै ‘मेघा’ तथा ‘फागु’ फिल्मको निर्देशन गरेकी छिन्।

विवाह भएको दुई वर्षमा गर्भवती भएकी सम्झना ९ महिनाको अवधिमा खासै पीडा भोग्नु नपरेको अनुभव सुनाउँछिन्। तर, प्रसवका बेला भने उनले लामै पीडा सहनुपर्‍यो।

बच्चा उल्टो बसेको, नचलेको र बच्चालाई सालले बेरेपछिको तनावले उनी मानसिक रुपमा निकै कमजोर भइन्। त्यतिमात्र होइन, ९ महिनासम्म बच्चा हुर्किएको कोख नै फ्याल्नुपर्दाको पीडा अहिले पनि झल्झली सम्झिन्छिन् सम्झना। गर्भावस्था, प्रसव पीडा र त्यसपछिको खुसी उनी उकेरामार्फत यसरी सुनाउँछिन्ः 

आमा-बुबाका चार छोरीमध्ये म माइली। सर्लाहीमा जन्मे पनि मेरो पढाइ र हुर्काइ भने काठमाडौंमा भयो। हरेक काममा सक्रिय म कलाकर्मप्रति निकै रुचि राख्थें। 

त्यति बेला नायिका सनी रौनियार इमेज च्यानलमा कार्यक्रम सञ्चालक र निर्मात्रीका रुपमा काम गरिरहनुभएको थियो। उहाँले बोलाउनु भएपछि म सँगै काम गर्न थालें। काम गर्दै जाँदा सनी र म नजिकियौं।

त्यतिबेला सनीको विवाहको कुरा चल्दै थियो। एक दिन म सनीलाई पुर्‍याउन उनको गएको थिएँ। मलाई देखेपछि सनीकी आमाले विकासका लागि मेरो कुरा चलाउनुभयो। मैले हत्त न पत्त ‘म कहाँ मधेसीसँग विवाह गर्छु’ भनेर फर्किएँ। सनी विकासको माइला बुबाकी छोरी हुन्। मैले यो कुरालाई त्यति सिरियसली लिएको थिइनँ। तर उहाँहरुले भने मलाई माग्ने मनस्थिति बनाइसक्नुभएको रहेछ।

केही दिनपछि मेरो घरमा सनीका आमा, बुबा, विकास र उनकी दिदी मलाई माग्न आउनुभयो। परिवार नै छोरीलाई माग्न आएपछि मेरो ममीले तत्काल नाइँ भन्न त सक्नुभएन तर निर्णय पनि दिन सक्नुभएन। 

मलाई विकास मेरो श्रीमान् हुन लायक व्यक्ति हो जस्तो लागिसकेको थियो। तर ममीलाई मनाउन सकिनँ। त्यसपछि हजुरआमा (ममीको ममी) सँग कुरा गरें। आमालाई हजुरआमाले रक्सी खाएर पिट्नेलाई दिनुभन्दा मधेसी नै ठिक छ। यदि तिमी कन्यादान नदिने भए म नै कन्यादान दिन्छु भनेपछि बल्ल आमाले मान्नुभयो। 

विवाह हुँदा म २१ वर्षकी थिएँ।

०००
हामी श्रीमान्-श्रीमती नै करिअरमा फोकस्ड भएकाले बच्चा पाइहाल्ने सोचमा थिएनौं। त्यही समय विकासको हजुरबुबा बित्नु भयो। शोकमा नै रहेका बेला मेरो महिनावारी समयमा भएन। पिसाब जचाउँदा गर्भवती भएको थाहा भयो।

बच्चाको बारेमा केही नसोचे पनि पेटमा बच्चा छ भनेपछि माया लाग्न थाल्यो। हजुरबुबा बितेकोले मेरो पेटमा भएको बच्चा उहाँकै अंश पो कि जस्तो पनि लाग्दो रहेछ। 

मलाई माछा-मासु निकै मन पर्ने। तर गर्भवती भएपछि माछा-मासुको बासना नै मन पर्न छाड्यो। म बियरको पनि पारखी थिएँ। बियर पनि छाडें। बच्चा राम्रो होस् भन्ने चाहना मात्रै भइरहन्थ्यो। चार महिना भएपछि भने माछा-मासु खान थालें।

जति पटक हस्पिटल जान्थें, हरेक पटक विकास पनि मसँगै जान्थे। गर्भवती भएपछि मैले कामबाट विश्राम लिएँ। त्यो ९ महिना यति धेरै सिनेमा हेरें कि भनिसाध्य छैन। सिनेमा हेर्नु मेरो पहिलेदेखिको सोख पनि हो। म हरेक खालका सिनेमा हेर्थें तर विकासले डरलाग्दो र क्राइमका सिनेमा हेर्न दिंदैनथे।

मलाई शारीरिक रुपमा खासै गाह्रो भएन। तर मानसिक रुपमा भने कहिलेकाहीँ कमजोर महसुस हुन्थ्यो। घरबाट जति सपोर्ट र माया पाए पनि दिमागमा एक्लो महसुसु हुने, रुन मन लाग्ने जस्ता समस्या भए। त्यो बाहेक गर्भवती अवस्था खासै गाह्रो अनुभव भएन।

०००
बच्चा जन्मिने समय नजिकिँदै थियो। जँचाउन जाँदा डा. सुप्राता कोइरालाले बच्चा उल्टो बसेको छ भन्नुभयो। त्यसपछि डा. ज्योती अग्रवालसँग पनि देखाउन गएँ। उहाँले पनि त्यही भन्नुभयो।

मेरो मन डराइरहेको थियो। पटनामा बस्ने फुपूको सासु र नन्द दुवै गाइनो डाक्टर हुनुहुन्थ्यो। संयोगले उहाँहरु दुवै जना नेपाल आउनुभएको थियो। उहाँहरुले मेरो चेकजाँच गर्नुभयो। उहाँहरुले पनि बच्चा उल्टो बसेको छ, तर डराउनु पर्दैन भन्नुभयो। जन्मिने बेलासम्म चल्दाचल्दै सुल्टो हुने सम्भावना पनि छ भन्नुभयो। उहाँहरुको कुराले अलि राहत मिल्यो।

उहाँहरुले तीन वटा जति एक्सरसाइज पनि सिकाइदिनुभयो। जुन एक्सरसाइजले बच्चा सुल्टो बनाउन मद्दत गर्नेरहेछ। हरेक दिन एक सोल्टी होटल एक चक्कर लगाएर सो एक्सरसाइज गर्थें।

०००
९ अक्टोबर १९९९ शनिबार बिहान सधैंझैं सोल्टी होटल चक्कर मारेर घरमा एक्सरसाइज गर्नै लागेको थिएँ, एकदमै पेट दुख्यो। एकछिन निको भएजस्तो हुने, फेरि दुख्ने। आधा-आधा घन्टाको फरकमा दुख्ने, रोकिने क्रम चलिरह्यो।

ममीलाई फोन गरें। उहाँले यो तिमीलाई व्यथा लागेको दुखाइ हो भन्नुभयो। कान्छी सासुले माछाको झोल र भात खुवाउनुभयो। रौनियार परिवारमा कुनै शुभ कार्य गर्नुअघि माछाको झोल र भात खुवाउने चलन रहेछ। 

डा.सुप्रातालाई फोन गर्‍यौं। उहाँले दुई चक्की सिटामोल खाऊ, सहनै नसक्नेगरी दुख्यो भने हस्पिटल आऊ भन्नुभयो। हस्पिटल भने गइहालेनौं। 

त्यो बेला मलाई अजिबको रहर जाग्यो। मलाई कहिल्यै आइसक्रिम, चकलेट मन नपर्ने। तर आइसक्रिम, पिज्जा, चकलेट खान मन लाग्यो। विकासले गाडीमा हालेर ठमेल पुर्‍याए। मैले व्यथा लागिरहेकै बेला सिंगै पिज्जा र आइसक्रिम खाएँ। 

घरमा फर्केपछि झन् व्यथाले च्याप्यो। त्यसपछि ओम हस्पिटल लगियो। तर डाक्टरले बेला भएको छैन भन्दै वार्डमै राखे। रातभरिको व्यथाले म एकदमै थाकिसकेको थिएँ। बच्चा पनि पटक्कै चलेन। डाक्टरहरुले जाँचेपछि बिहानदेखि रातभरिको व्यथाले आमासँगै बच्चा पनि थाकेकोले चल्न नसकेको र घाँटीमा साल पनि बेरिएको छ भने। म छाँगाबाट खसेझैं भएँ।

डाक्टरले नर्मल डलिभरी गरायो भने आमा वा बच्चामध्ये एक जनालाई मात्रै बचाउन सक्ने बताए। त्यो रिस्क मोल्ने कुरै भएन। आधा घन्टाभित्रै अप्रेसन गरियो। बच्चा पूरै सालले बेरिएको रहेछ। त्यही कारण बच्चा चल्न नसकेको रहेछ। यदि बच्चा निकाल्न ढिला भएको भए के हुन्थ्यो भन्ने कुराले मेरो मन एकदमै अशान्त बनायो। 

०००
ओहो! कस्तो गज्जबको बच्चा। मलाई टुलुटुलु हेरिरहेको थियो। आफैसँग राखि राखु जस्तो। त्यस्तो माया कसैसँग भएन। डाक्टरले मेरो दायाँ गालामा बच्चालाई छुवाइदिनुभयो। मेरो छोराको पहिलो स्पर्श शब्दमा बयान गर्नै  सक्दिनँ। जीवनकै सबैभन्दा अनमोल अनुभूति थियो त्यो।

छोरा जन्मेको त्यो दिन घटस्थापना थियो। 

तीन दिन हस्पिटल बसेर घर फर्कें। रौनियार परिवारमा रमाइलो छायो। दशैंको टीकाको दिन न्वारन गरियो। परिवार भित्रका १ सय जना जति जम्मा भएर न्वारन गरियो। 

१२ दिनको दिन घट्टेकुलोस्थित ममीको आएँ। माइतीमा मलाई राम्रो स्याहार मिल्यो। आमाले सुत्केरीमा राम्रो स्याहार भयो भने बच्चालाई राम्रो हुन्छ भनेकोले खाना पनि चार छाक खान्थें। मजाले खाने भएकोले दूध पनि मजाले आउँथ्यो। बच्चा ११ महिना नहुञ्जेल बच्चालाई नै ध्यान दिएँ। काम, करिअर र पैसा भनेको पछि पनि कमाउन सकिन्छ, बच्चा हुर्काउन केही सम्झौता गर्नुहुन्न भन्ने मेरो मान्यता थियो। 

०००
छोरा ११ महिनाको भएपछि वरिष्ठ छायाँकर मञ्जुकुमार श्रेष्ठको चलचित्र ‘सिउँदोको सिन्दुर’ मा काम गर्न थालें। त्यतिबेला सासु र ममीले छोरालाई हेरिदिनुभयो। १८ महिना भएपछि स्कुलमा राखिदिएँ।

मलाई सधैं बच्चाको पढाइमा सम्झौता गर्नुहुँदैन भन्ने लाग्थ्यो। हामी बुढाबुढीले सल्लाह गरेर छोरालाई कालिम्पोङस्थित सेन्ट अगस्टेन स्कुलमा राखिदियौं। बच्चा छोडेर फर्कंदा कालिम्पोङको डाँडादेखि टिस्टाको डाँडासम्म रुँदै फर्किएको थिएँ। 

हरेक पटक छोरा बिदामा आएर फर्कंदा म दुई दिन अघिदेखि बिरामी पर्थें। छोरालाई आफूबाट टाढा राख्नुपर्दाको पीडा त मैले नै भोगेकी थिएँ।

तर, मैले छोरालाई होस्टेल छोडेर आएपछि समाज, परिवारबाट धेरै कुरा सुन्नुपर्‍यो। ‘एउटा बच्चा छ, त्यो पनि होस्टेल पठाउने? सधैं हनिमुन मनाएर बस’ भन्थे। धेरै अवगाल सुन्नु परेपछि छोरालाई नेपालमै रातो बंगला स्कुलमा पढाउने कोशिस पनि गरियो तर, छोरालाई मनाउन सकिएन।

०००
केही वर्ष अगाडि मेरो तल्लो पेट एकदमै दुख्यो। ढाड पनि दुख्न सुरु भयो। प्रसव व्यथा भन्दा कम थिएन त्यो दुखाइ। डाक्टरको सल्लाहमा एमआरआई गर्दा पाठेघरमा समस्या देखाएर दुई वर्षसम्म औषधि खान दिए। तर गत साउनमा डाक्टरले औषधिले भएन अब पाठेघर नै फ्याल्नुपर्छ भने।

त्यतिबेला म ४३ वर्षकी थिएँ। डाक्टरले पाठेघर फ्यालेपछि सबै ठिक हुन्छ भनेपछि अप्रेसन गरेर पाठेघर निकालियो। भोलिपल्ट वार्डमा सारेपछि छोराले मलाई हेरेर म ९ महिना बसेको होस्टेल नै रिमुभ भयो भन्दा मलाई साह्रै नमज्जा लाग्यो। 

जहिले पनि एउटा बच्चा, एउटा श्रीमान् भन्ने थेगो नै थियो। तर उसले त्यसो भनेपछि म निकै भावुक भएँ। अब त मैले बच्चा पाउन सक्दिनँ भनेर हर्ट भए। त्यो सम्झिँदा अहिले पनि मेरो घाँटी बस्छ।

अहिले छोरा हामीसँगै छ। मेरो सबै कुरा छोराले नै म्यानेज गरिदिन्छ। ब्रेकफास्ट बनाइदिनेदेखि घरको अरु काम पनि सघाउँछ। २२ वर्षमा लागेको मेरो छोरामा अल्लारेपना कहिल्यै आएन। व्यवहार गर्न जान्ने जिम्मेवार छ।

अनुराधा कोइराला र करिष्मा दिदीले पनि मेरो छोरालाई एकदमै माया गर्नुहुन्छ। उसलाई देख्दा, उसलाई अनुभूत गर्दा म जीवनमा सबै कुरा जितिसकेको व्यक्ति हुँ जस्तो लाग्छ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....