गायिका हरिदेवी कोइरालाको प्रसव पीडा र खुसी : व्यथा लागेपछि डोलीमा राखेर आँबुखैरेनी लगियो

गायिका हरिदेवी कोइरालाको प्रसव पीडा र खुसी : व्यथा लागेपछि डोलीमा राखेर आँबुखैरेनी लगियो

हरिदेवी कोइराला चर्चित लोकगायिका तथा कवि हुन्। सानै उमेरदेखि गीत-संगीतमा लागेकी हरिदेवी अहिले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ भएर काम गरिरहेकी छिन्। 

वि.सं. २०१५ चैत १७ गते बैदाम, पोखरामा जन्मिएकी हरिदेवीले एसएलसी दिएलगत्तै विवाह गरिन्। विवाह भएको केही महिनामै बच्चा पेटमा आएपछि जन्माउने कि नजन्माउने भन्ने द्विविधामा परेकी उनी तेस्रो पटक गर्भवती हुँदा आफैंलाई जन्डिस भएर मृत्युसँग संघर्ष गर्नुपरेको घटना उनको मानसपटलमा अझै ताजै छन्।

गर्भवती हुँदा विभिन्न दुःख र पीडा भोगेकी हरिदेवीले प्रसव पीडा र खुसीलाई उकेरामार्फत यसरी व्यक्त गरिन्ः

करिब ४५ जनाको संयुक्त परिवार, त्यसमा पनि ९ भाइबहिनीकी जेठी दिदी म। ठूली छोरी भएकै कारण घरका सारा काम-धन्दा गर्नु र भाइबहिनीको हेरचाह गर्नु मेरो नियमित काम हुन्थ्यो।

म विवाह हुनुभन्दा अघि नै कविता-गीत लेख्ने र गाउने गर्थें। हजुरआमाले प्रत्येक बिहान श्लोकहरु सुनाउँदा खुब ध्यान दिन्थें। घरमा गन्धर्वहरु सारंगी बजाएर गीत गाउन आउँदा निकै खुसी हुन्थें।

म जन्मेको ठाउँ फेवातालकै छेउ, त्यही तालमा पौडी खेलेर बाल्यकाल बित्यो। त्यही तालको पानी पिएर हुर्किएँ। त्यही मेरो प्यारो फेवाले,  पोखराले, माछापुच्छ्रेले भाका फिराएर गाउन सिकायो, लेख्न सिकायो।

मैले १९ वर्षको उमेरमा एसएलसी दिएँ। त्यतिबेला छोरीलाई छिट्टै विवाह गरिदिनुपर्छ भन्ने सोच हुन्थ्यो। एसएलसी सक्नासाथ मेरो विवाह भयो। माघमा एसएलसी दिएँ, वैशाखमा विवाह भइहाल्यो। असारमा एसएलसीको रिजल्ट भयो, माघमा त पहिलो सन्तान नै जन्म्यो।

छोरीको विवाह २० वर्ष पुग्नुअघि नै गर्ने चलन थियो। विवाहपछि श्रीमानको पछि-पछि लागेर पोखराबाट तनहुँ लागें। श्रीमान् कृषि विकास बैंकमा जागिरे हुनुहुन्थ्यो। तनहुँ गएपछि म त्यहीँ स्कुलमा पढाउन थालें। शिक्षण पेसा मलाई मन पर्थ्यो।

त्यतिबेलाको समाज संकुचित थियो। कसैलाई केही पनि थाहा नभएजस्तो। विवाहपछि मेरो महिनावारी नै भएन। दुई महिना महिनावारी नभएपछि जँचाउन गयौं। वाकवाकी लाग्ने र खान नरुच्ने भयो। विवाह भएपछि यस्तै हुने पो हो कि भन्ने सोच्थें। अहिले सम्झन्दा कस्तो बचपन होला जस्तो लाग्छ।

डाक्टरले गर्भवती भएको बताएपछि मलाई श्रीमानलाई हेर्नै नै लाज लाग्यो। बडो अप्ठ्यारो लाग्यो, कसरी घर, माइतीलाई मुख देखाउने होला? भर्खरै विवाह भएको, कति छिटो गर्भवती भएँ? भन्ने भयो। के गरुँ, के गरुँ जस्तो भयो।

म र श्रीमान् नै बच्चाको आगमन हुन लाग्दा खुसी हुन सकेनौं। हामीले बच्चा जन्माउने कि फ्याल्ने भनेर सोचिरह्यौं। मुख्यतः हामीले यति छिटो बच्चाको बारेमा केही सोचेकै थिएनौं। हामी एकापसमा त्यति घुलमिल पनि भएका थिएनौं। मेरो जेठानीको पनि बच्चा भइसकेको थिएन। लाजै लाग्यो। हाम्रो बच्चा फ्याल्ने लगभग सहमति भयो। 

आमाको मन न हो, बच्चा फ्याल्ने निर्णय त गरियो तर मलाई उकुसमुकुस भयो। यसरी पेटमा आइसकेको बच्चालाई फ्याल्दा पछि अर्को बच्चा नहुने पो हो कि भन्ने दिमागमा आयो। आमा भनेको सृष्टिले सृष्टि गर्ने हो। यो त एकदम महत्वपूर्ण कुरा हो भन्ने मनमा लाग्यो।

त्यतिबेला मैले मलाई आमाले गरेको माया सम्झें। त्यसपछि मैले बच्चा नजन्माउने सोच त्यागें र हामी श्रीमान्-श्रीमती नै बच्चा जन्माउने निर्णयमा पुग्यौं।

त्यतिबेला हामी दुई जनामात्रै डेरामा बसेर काम गर्दै आएका थियौं। परिवारभन्दा टाढा थियौं हामी। पहिलो पटक डाक्टरकहाँ गएपछि त्यसपछि कहिल्यै जँचाउन पनि गएनौं। अहिले जस्तो भिटामिन, आइरन खाने चलन पनि थिएन।

मलाई बच्चा पाउने कुरा सम्झनै मन लाग्दैनथ्यो। बच्चा कसरी जन्माउने, कसरी पाल्ने? जस्ता कुराले दिमाग घुमि रहन्थ्यो। 

मलाई बच्चा जन्मिने समय पनि थाहा थिएन। व्यथा लाग्दा कस्तो हुन्छ, अत्तोपत्तो थिएन।

दिनभरि खोलामा लुगा धोएर घर फर्केर चाउमिन बनाएर खाएँ। साँझदेखि पेट दुख्न सुरु भयो। चाउमिन पुरानो पर्यो कि? केही मिलेन कि भन्ने लाग्यो। ग्यास्ट्रिक बढेको जस्तो पनि लाग्यो।

श्रीमानलाई राति नै नेपाली वैद्य औषधि लिन पठाएँ। रातभरि दुखिनै रह्यो। मेरो छटपटी देखेर गाउँका एक जनाले ‘व्यथा लागेको जस्तो छ’ भनेपछि बिहान ८ बजे नै डोलीमा बोकेर आबुखैरनी पुर्याए। त्यतिबेला तनहुँमा यातायातको व्यवस्था थिएन। आबुखैरेनीबाट बसमा पोखरा अस्पताल लगियो। त्यही राति बच्चा जन्मियो।

ओहो’ बच्चा जन्मनुअघिको व्यथा! अहिले सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ। सुत्केरी गराउने कोठामा कोही रोइरहेका, कोही चिच्याइरहेका त कोही सहेर बसेका थिए। म चाहिं चिच्याइरहेको थिएँ।

चिच्याउँदा-चिच्याउँदै छोरा जन्मियो। जब छोरा मेरो छातिमा राखिदिए, संसार नै जितेको अनुभव भयो। यो त प्रकृतिको सबैभन्दा बलवान संरचना हो, धर्तीको सर्वश्रेष्ठ रचना हो भन्ने लाग्यो। बच्चा नजन्माउने सोचेर मैले पाप पो गर्ने लागेको रहेछु भन्ने लाग्यो र म त्यहीँ भक्कानिएँ।

तीन दिनको अस्पताल बसाइपछि घर फर्कें। जाडो महिना थियो, गर्मी हुने खानाहरु बढी ख्वाइन्थ्यो। कुखुराको मासु, घिउ र भात त कति हो कति। एक पटक आठ दिनसम्म दिसा नै भएन। त्यसले मलाई धेरै गाह्रो बनायो। एकदमै दुख्थ्यो, प्रसव पीडाभन्दा कम थिएन। अस्पतालमा गएपछि औषधिहरु दिए र सागसब्जी र बढी पानी खान भनियो। 

त्यसको लगत्तै दूधको मुन्टा फुटेर साह्रै गाह्रो भयो। रुनु पर्ने गरी दुख्थ्यो। कति मल्हम लगाइयो, केही कम भएन। पछि भेडाको घिउ लगाएपछि आराम भयो। बच्चालाई दूध खुवाउन लाग्यो कि झसंङ्ग भएर जिउभरि काँडा उम्रने। सुत्केरीको समयमा मैले धेरै नै दुःख पाएँ।

छोरा दुई वर्ष पुग्दै गर्दा छोरी जन्मिइन्। छोरीको पालामा खासै समस्या आएन। बच्चाप्रतिको मोह पनि बढिसकेको थियो। छोरी घरमै जन्मिइन् तर साल नझरेपछि अस्पताल लगेर भिकियो। हामी दंग थियौं, घरमा लक्ष्मी भित्रिन् भनेर। 

छोरा दुई जना चाहिन्छ भन्ने समय थियो त्यो। भन्ने नै गरिन्थ्यो, दुई जना छोरा भयो भने ढुक्क होइन्छ। त्यसैले तेस्रो बच्चाको पनि प्लान गर्यौं। तर तेस्रो पटक गर्भवती हुँदा भने मरीमरी बाँचियो भन्दा पनि हुन्छ। 

पेटमा साढे सात महिनाको बच्चा हुँदा मलाई जन्डिस भयो। गर्भवती महिलालाई जन्डिस देखिनु राम्रो होइन रहेछ। पोखरामै जन्डिसबाट ५/६ जना मान्छे बितेको सुनें। सारै डर लाग्यो। अस्पतालमै देखाएर औषधि सुरु गरिसकेको थिएँ। आमाले थाहा पाएर मलाई टेकु लानु भयो। १७ दिन अस्पतालमै राखेर मेरो उपचार गरियो।

त्यो १७ दिनमा धेरै सुत्केरी महिला जन्डिसबाट बितेको देखें। आमाले हतारहतार मलाई अस्पतालमा नल्याउनु भएको भए म र बच्चाको के हुन्थ्यो होला भन्ने सोचेरै मन भारी हुन्थ्यो।

बच्चा समय भन्दा छिट्टै जन्म्यो। सालमा अलिकति छोएको रहेछ, बच्चालाई छुन भ्याइसकेको रहेनछ। बच्चा देखेपछि भगवानलाई धन्यवाद दिएँ, ठूलै कालबाट बचिएछ भन्ने लाग्यो। 

बच्चा एकदमै सानो र दुब्लो थियो। तेस्रो सन्तानको पालामा न त सुत्केरी स्याहार्ने मान्छे थिए न मैले सुत्केरी खाना नै खान पाएँ। तीन महिनासम्म नुन पनि खाइनँ। खाली उसिन्नेका खानाहरु मात्रै खान्थें। तेल मालिस गर्ने त कुरै भएन। 

अहिले सोच्छु, छिट्टै विवाह गर्नु र उमेर नपुग्दै बच्चा जन्माउनु ज्ञानकै अभावले हुने रहेछ। कसैले केही सिकाउने चलन नै थिएन। छोरीलाई विवाह गरिदियो, सकियो। 

त्यतिबेलाको सोचाइ र परिस्थिति नै फरक थियो। अहिले त बच्चा भए पनि ठिक, नभए पनि ठिक। छोरा भए नि हुन्छ, छोरी भए नि हुन्छ। मातृत्वको सवालमा आमामै पूरा अधिकार छ। विवाहअघि नै सबै कुरा थाहा हुन्छ। थाहा नभए पनि इन्टरनेटले सबै कुरा छर्लङ्ग पार्छ।

त्यति बेलाको प्रसव पीडा सम्झँदा मनै भारी भएर आउँछ। तर अहिले मेरो संगीत र साहित्य यात्राको निरन्तरता मेरो सन्तानप्रतिको मायाको प्रतिफल हो जस्तो लाग्छ। 

मेरो जेठो छोरा शीतल कोइराला स्ट्यान्डर्ड चार्टर्ड बैंकमा कार्यरत छन्। छोरी छाया कोइराला पन्त अस्ट्रेलियामा छिन् भने कान्छो छोरा पवन कोइराला पोखरामै पढाउँछन्।

म सबै सक्षम सन्तानको छहारीमा आफ्नो यात्रा अगाडि बढाइरहेको छु। जसमा मेरो श्रीमानले विवाहदेखि आजसम्म हरेक कार्यमा साथै दिंदै आउनुभएको छ। म सफल र सुखी आमा हुँ भन्ने लाग्छ।

यो पनि

१७ असोज, २०७८, १६:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।