सरोदवादक रुपाको प्रसव पीडा र खुसी : परिवार नियोजन गरेको १६ वर्षपछि गर्भवती बन्दा

सरोदवादक रुपाको प्रसव पीडा र खुसी : परिवार नियोजन गरेको १६ वर्षपछि गर्भवती बन्दा

म काठमाडौंको मुलपानीमा जन्मिएँ। तर म ७ वर्षकै हुँदा हाम्रो परिवार तराईको बारा बसाइँ सर्यो। त्यतिबेला बुबा सिंहदरबारको खरदारको जागिर छोडेर तराई झर्नुभएको रहेछ। 

०००
भर्खरै पाँच कक्षा पढ्दै थिएँ। बुबाले मेरो विवाह गराइदिनुभयो। त्यो समयमा तराईमा बालविवाह गर्ने चलन थियो। विवाह हुँदा म जम्मा १२ वर्षकी मात्र थिएँ। 

छोरीलाई जोगाउन गाह्रो हुन्छ भन्ने सोचले अभिभावकले सकेसम्म छिटो छोरीको विवाह गराइदिन्थे।

मलाई पढ्नका लागि भनेर काठमाडौं ल्याइएको थियो। काठमाडौंमा पढ्न पाइने भयो भनेर म दंग परेको थिएँ। तर नक्साल पुग्दा त त्यहाँ मेरै विहेको तयारी पो भइरहेको रहेछ। म त्यही रोएँ।

सबैले ‘तल पुलिस आएको छ, तिमी रोयौ भने दुलाहालाई र तिम्रो बुबालाई समेत समातेर लान्छ भनेर मलाई डराइदिन्थे। त्यसो भनेपछि म झन् रुन्थें। 

खेल्ने, कुद्ने उमेरमा मेरो बालविवाह भयो। विहे गराएर बुबाहरु तराई नै जानुभयो। विहे हुँदा मेरो महिनावारी नै भएको थिएन। विहेको वर्ष दिनपछि मात्रै महिनावारी सुरु भयो। १५ वर्षकी हुँदा त छोरी नै पाइसकेको थिएँ।

मलाई बच्चा पेटमा आएको केही अत्तोपत्तो थिएन। अल्छी लाग्ने, बान्ता हुने केही भएन। महिनावारी चाहिं नियमित भएन। किन भएन भनेर सोच्दा पनि सोचिनँ। २/३ महिना पनि महिनावारी नभएपछि घरका मान्छेले महिना नाघ्यो जस्तो छ भनेको याद छ।

पुतलीसडकस्थित क्लिनिकमा डा. शर्मिलाकहाँ देखाउन गएँ। सारी लगाएर गएको थिएँ। पानी परिरहेको थियो। एउटा हातमा ब्याग र अर्को हातमा छाता थियो। त्यतिबेला श्रीमान् कामको सिलसिलामा बाहिर जिल्लातिर हुनुहुन्थ्यो। म क्लिनिक पुग्दा सारी फुस्केर आँचल मात्रै बाँकी रहेछ।

त्यो समयमा सडकमा मान्छेको भीड कमै हुन्थ्यो। एकजना दिदीले नानी तिम्रो सारी हेर त भनेर देखाउनुभयो। यसो पछाडि हेरेको त सारी त कता हो कता। हत्त न पत्त सारी मिलाउन खोजें। लगाउन जानेको भए पो सम्हाल्न सक्थें। त्यो घटना म कहिल्यै बिर्सिन सक्दिनँ। 

०००
बच्चा जन्मने समय नजिकिंदै थियो। साह्रै पेट दुख्यो। त्यसपछि मलाई प्रसूति गृह लगियो। हस्पिटल गएको आठौं दिनमा मात्रै बच्चा जन्मेको थियो। आठ दिनसम्मको प्रसव पीडा अहिले सम्झँदा पनि जिउ सिरिङ्ग हुन्छ। व्यथा सुरु भएपछि चार दिनसम्म त मृत्युको अगाडि पुगेजस्तै लाग्थ्यो।

बच्चा जन्माउनु भनेको मरेर बाँच्ने रहेछ। अहिले जस्तो पेनकिलर खुवाउने, व्यथा लाग्ने औषधि दिने, अप्रेसन गर्ने चलन थिएन। म एक्लै हुन्थें हस्पिटलमा।

अस्पतालको तला/तलामा प्रसूति गराउने ठाउँ थियो। त्यहीँ बच्चा निकाले। बच्चा पाउने घर खुलेन भनेर काटे। काट्दा खासै दुखेन तर ८/९ टाँका लगाएर सिलाउँदा सहनै नसक्ने पीडा भयो। 

बच्चा जन्मिएको खबर पाउँदा पनि म खासै उत्साहित थिइनँ। केही समयपछि डाक्टर आएर तिम्रो बच्चा रोएको छैन, जे पनि हुनसक्छ भन्दै गए। त्यतिबेला म आफैं बेहोस जस्तै अवस्थामा थिएँ। मेरो मनले जेसुकै होस्, बच्चा मरे पनि मरोस् भन्ने सोच्थ्यो।

म यहाँबाट ठिक भएर गएपछि अगाडि बढ्छु। पढाइलाई निरन्तरता दिन्छु भन्ने लाग्यो। बच्चालाई वास्तै नगरी पल्टिरहेको थिएँ। भोलिपल्ट बच्चा रोयो तर जन्डिस भएकोले चार तला माथि सेकाउने ठाउँमा राखिएको छ भन्ने खबर आयो। तैपनि मलाई वास्तै लागेन। इमोसनल्ली एटेचमेन्ट नै थिएन। 

बच्चा जन्मेको पाँचौं दिन नर्सहरु दूध खुवाउन बोलाउन आए। घाममा लगेर दूध खुवाउन थालें। छोरीले दूध तानेपछि गज्जबको माया लाग्न थाल्यो। एक्कासि बच्चा नै संसार जस्तै लाग्यो। भुईंमै राख्न मन लागेन। त्यस्तो खालको मायाको अनुभव पहिलो पटक भयो।

०००
१० दिन हस्पिटल बसेर घर फर्कें। माइतीमा बच्चा जन्मेको खबर पठाइयो। घरमा १० दिन बसेर २१औं दिनमा आमासँग कलैया माइती गए। माइतीमा आमाले साह्रै स्याहार गर्नुभयो।

आमा सधैं मलाई हेरेर हरियो नहुँदै पहेंलो भइस् भनिरहनुहुन्थ्यो। सानैमा मेरो दुःख देखेर उहाँको मन दुख्दोरहेछ। तर पनि त्यो समय छोरा चाहिन्छ भन्ने समाज थियो। त्यही कारण अर्को बच्चा पाइहाल्न कर गरिरहनुहुन्थ्यो। 

उहाँले भनेको मलाई अझै याद छ, ‘नानी छोरा नभए घर हुँदैन, अर्को बच्चा पाइहाल। त्यही लुगामा हुर्किहाल्छ।’ तर मलाई ती कुराहरुको अर्थ खासै थाहा थिएन।

पहिलो बच्चा दुई वर्षको भएपछि अर्को बच्चा बसिहाल्यो। भर्खरै १७ वर्षकी थिएँ। छोरीलाई माइतीमै छोडें।  

०००
दोस्रो बच्चाको पालामा मलाई धेरै नै गाह्रो भयो। श्रीमान् प्रायः बाहिर जिल्लातिरै बस्नुहुन्थ्यो। गर्भ बसेको ६ महिनादेखि नै व्यथा लागे जस्तै पीडा हुन्थ्यो, पानी पनि बग्थ्यो।

पाटन अस्पतालमा देखाएको थिएँ। बेलाबेलामा अस्पताल गइरहन्थें। डाक्टरले बेड रेस्ट गर भन्नुभएको थियो।

दोस्रो पटक म तीन पटक त अस्पताल भर्ना नै भएँ। भर्ना भएपछि डिस्चार्ज हुनेबेला ३ सय रुपैयाँ तिर्नुपर्थ्यो। आफूसँग नहुने। एक पटक पैसा तिर्न नसकेपछि सिस्टरहरुलाई म पनि यहीँ काम गर्छु, मिलाइदिनूस् न भनें। उनीहरुले बच्चा पाएपछि काम दिउँला, अहिले पैसा तिरेर घर जाउ भने। एक पटक बैंकमा जागिर भएका हाँडिगाउँका एकजना व्यक्तिले मेरो पैसा तिरिदिएका थिए।

बच्चा जन्मने समयमा श्रीमान् यतै हुनुहुन्थ्यो। त्यही भएर अलि सजिलो भयो। पहिलो बच्चाको बेला गाह्रो भएको सम्झेर मैले डाक्टरलाई नदुख्ने औषधि लगाइदिन भनेको थिएँ। पहिलो जस्तो गाह्रो अनुभव गरिनँ। 

म १८ वर्षको उमेरमा दुई बच्चाको आमा बनिसकेको थिएँ। सुत्केरी बस्न माइती गएका बेला बाराको हस्पिटलमा परिवार नियोजनको अप्रेसन गर्ने घुम्ती सेवा चलिरहेको रहेछ। आमाले लगेर अप्रेसन गराउनुभयो। 

०००
बच्चा हुर्किंदै थिए। पढाइका साथै ह्याण्डीक्राफ्टको काम गरिरहें। श्रीमानले बच्चाहरुलाई समय दिन नसक्ने भएकाले बच्चा भोकै नहोस्, घर नबिग्रोस्, तिमीलाई मन परेको काम गर भन्नुभएको थियो।

आफूलाई मनपरेको संगीत शिक्षा पनि लिएँ। मैले सरोद बाजा बजाउन सिकें। गुरु स्व. मोहनसुन्दर श्रेष्ठसँग र कलानिधिमा सरोद बाजा सिकें र रेडियोमा पनि शास्त्रीय कार्यक्रम चलाउन थालें। 

०००
३४ वर्षकी भएपछि महिनावारी रोकियो। कति छिटो महिनावारी सुकेछ भन्ने लाग्यो। महिनावारी सुक्ने बेला विभिन्न खाले समस्या देखिन्छन्, यति छिटो त सुक्नु नपर्ने हो भनेपछि डाक्टरकहाँ देखाउन गएँ।

डाक्टरको रिपोर्टले त म छाँगाबाट खसेजस्तो भएँ। पेटमा बच्चा तीन महिनाको भइसकेको रहेछ। एकछिन त रनभुल्लमा परें। परिवारको नियोजन गरेपछि पनि यो कसरी सम्भव भयो भनेर मनमनै सोचें। ‘ओहो! मैले नै परिवार नियोजन गराएर त ठिकै भो, श्रीमानले परिवार नियोजन गरेर मैले  पेट बोकेको भए?’ यस्तो प्रश्न समेत उब्जियो।

डा. मीरा ओझालाई भेट्न मेडिकेयर अस्पताल गएँ। डा. ओझाको छोरा र मेरो छोरा सँगै पढ्ने। मैले सबै कुरा बताएँ। कस्तो संयोग, मैले बाराको हस्पिटलको घुम्ती सेवामा परिवार नियोजन गराउँदा डा. ओझा पनि सोही टिममा रहिछिन्। 

डा. ओझाका अनुसार कसै-कसैको परिवार नियोजन गरेपछि पनि कति समयपछि फेलर हुने रहेछ। कतिपय श्रीमानले परिवार नियोजन गरेपछि पनि श्रीमतीले पेट बोकेर घरवार बर्बाद भएका घटना पनि रहेछन्। 

मेरा दुवै छोराछोरी हुर्किसकेकाले बच्चा पाउने कुरा सोच्नै सकिनँ। डा. ओझाकै सल्लाहमा क्युरेट गराएँ। 

मैले जीवनमा धेरै खालका अनुभव गरें, केही तिता, केही मिठा तर आमा भएर बच्चालाई छातीमा राखेपछिको मिठो अनुभव कहिल्यै पाएको छैन। त्यो मायाले बाँकी जीवन सहजै बाँच्न प्रेरणा दिने रहेछ। जस्तोसुकै आपत-विपतमा पनि विचलित हुन नदिने साहस पनि मातृत्वकै देन रहेछ।

यो पनि

२१ कात्तिक, २०७८, १३:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।