उकेरा कोलम

फेसन डिजाइनर तरुणिकाको प्रसव पीडा र खुसी : परिवार नियोजन भयो भनेर झुक्किँदा तेस्रो गर्भ


२३ वर्षदेखि फेसन डिजाइनिङमा संलग्न तरुणिका महतोले आजभन्दा १७ वर्षअघि विवाह गरेकी हुन्।

विहेलगत्तै गर्भवती भएकी उनलाई सुरुवाती समयमा घरमा एड्जस्ट हुन निकै गाह्रो भयो। छिट्टै गर्भवती हुँदाको लाज, प्रसवका पीडा साथै दोस्रो सन्तान आफूले सोचेकै दिन जन्माउँदाको खुसी उनी कहिल्यै भुल्न सक्दिनन्।

डाक्टरले परिवार नियोजन गरेको भन्ने ठान्दा ८ महिनापछि नै तेस्रो गर्भ रहेको थाहा पाउँदाको धर्मसंकट, करिअर र तीन बच्चालाई सँगसँगै हुर्काउनुपर्दाको दुःख उनीसँग छन्।

सुरुको प्रेगनेन्सीदेखि ३ वटै बच्चाकै पालामा भोग्नु परेको प्रसव पीडा र खुसीलाई तरुणिकाले उकेरासँग यसरी व्यक्त गरिन्ः

विहे भएको समयमा मलाई छातीमा चिसो लागेका कारण रुघाखोकीले निकै सतायो। त्यतिबेला कडा एन्टिबायोटिक खानुपर्‍यो।

एक त नयाँ घर, त्यसमाथि सन्चो नभएर गाह्रो भइरहेको अवस्था। समयमा पिरियड पनि भएन। केही समय औषधिको असर होला भन्ने ठानियो।

दुई महिनामा पनि पिरियड नहुँदा भने मनमा चिसो पस्यो। डाक्टरकहाँ देखाउँदा प्रेगनेन्ट भएको रहेछु। परिवारमा पापा, ससुरा र नन्द तीनै जना डाक्टर। पापासँग अहिले बच्चा नजन्माउने कि भन्ने सल्लाह लिंदा हुँदैन, पेटमा आइसकेको बच्चालाई संसार देखाउनुपर्छ भन्नु भयो। मलाई पनि मातृत्वको भावले इमोसनल बनायो।

करिअरको व्यस्तता, नयाँ घरलाई बुझ्न, सम्हाल्न समय दिनुपर्ने, त्यसमाथि प्रेगनेन्ट। त्यो समय एसिडिटीले धेरै सतायो। खानै मन नलाग्ने, जे पनि नमिठो लाग्ने।

चियाको पारखी म। तर चिया त हेर्नै मन लागेन। प्याजको मिठो बासना पनि नमिठो लाग्न थाल्यो। मासु, सागहरु पनि मुखमै हाल्न सकिनँ। फलफूल, मिठाइ र चिसो चाहिँ मनपर्थ्यो।

पहिलो प्रेगनेन्सीमा ढाड साह्रै दुख्थ्यो। रातभरि ढाड दुखेर सुत्नै सक्दिनथें। तर काममा जान भने कहिल्यै अल्छी गरिनँ। शरीरलाई धेरै आराम दियो भने थन्क्याएको मेसिनझैं जाम होला भन्ने डर लाग्थ्यो। 

०००
दशैंको बेला थियो। मेरा ससुरा दाजुभाइमध्ये सबैभन्दा जेठा भएकाले टीकाको दिन सबै जना हाम्रै घरमा जम्मा भएका थिए। मैले ४० जनालाई खाना पकाएर, खुवाएर सुतेको थिएँ।

मलाई राति अचानक गाह्रो भयो। पापाको साथी डा. सुशीला श्रेष्ठलाई फोन गरेर जँचाउन गयौं। मलाई बच्चाको मुभमेन्ट नै महसुस भएन। नन्द, म र श्रीमान् गएका थियौं। डाक्टरले अप्रेसन गरिहाल्नुपर्छ भन्नुभयो। हामी श्रीमान्-श्रीमाती नै नर्भस भयौं, डरायौं पनि। तर नन्द सँगै भएकोले उहाँले सम्हाल्नुभयो र सजिलो भयो।

दुखेकोभन्दा पनि बच्चाको मुभमेन्ट नभएकोले मानसिक रुपमा गाह्रो भयो। मैले सुनेको थिएँ, पेटको बच्चा ठूलो छ भने श्वास लिन सक्दैन। त्यही भएर पनि हस्पिटल जान हतार गरेकी थिएँ मैले। नभन्दै बच्चाको घाँटीमा साल बेरिएको रहेछ। अलिकति मात्रै ढिला भएको भए अनर्थ पनि हुन सक्थ्यो। 

अप्रेसन थिएटरमा लगेर बेडमा राखेपछि म अप्रेसन नगर्ने मानसिकतामा पुगेकी थिएँ। तर अप्रेसन नगरौं भन्छु भन्दाभन्दै बच्चा निकालिसकिएको रहेछ।

मलाई पूरै बेहोस बनाइएको थियो। केही चालै पाइनँ। एकै पटक दिउँसो ४ बजेतिर मात्रै होस आयो। होस आउनासाथ बच्चा स्वस्थ छ भनेर सोधेको थिएँ। बच्चा ठिक छ भन्ने सुनेपछि आनन्दको श्वास फेरेर फेरि सुतें।

तीन दिनसम्म आफैंलाई धेरै गाह्रो भएकोले बच्चाको बारेमा सोच्नै सकिनँ। नर्सहरु बच्चालाई दूध खुवाउन ल्याउँथे। मलाई गाह्रो भइरहेको हुन्थ्यो। सुरुसुरुमा रिस पनि उठ्यो। पीडा कम भएपछि बल्ल बच्चाप्रति माया जाग्यो। छोरोको तौल ४ केजी थियो। 

०००
हाम्रो सोच दुई वटा बच्चा चाहिन्छ भन्ने थियो। ६ वर्षको ग्यापमा दोस्रो सन्तानको प्लान गर्‍यौं। दोस्रो बच्चा जन्मिने समय पनि दशैंकै बेला दिइएको थियो। २०१० (अक्टोबर) १० महिना १० तारिख बिहान १० बजेको समयमा अप्रेसन गर्ने मिति तोकिएको थियो। त्यही समयमा दोस्रो बच्चा जन्माएँ। ३ किलो ८ सय ग्रामकी छोरी जन्मिइन्। लक्ष्मीको आगमन भयो भनेर खुसी भयौं। दोस्रोको पालामा आत्मबल बढिसकेकोले खासै गाह्रो भएन।

दुई वटा बच्चा अप्रेसन गरेर निकालेपछि डाक्टरले अर्को बच्चा पाउनुपर्छ कि परिवार नियोजन गरिदिउँ भनेर सोध्नुभएको थियो। मैले अब पुग्यो, परिवार नियोजन गरिदिनूस् भनेको थिएँ। परिवार नियोजन गरिदिएहोलान् भनेर ढुक्क भयौं, सावधानी अपनाउन जरुरी ठानेनौं। 

पहिले बच्चाको पालामा ८ महिना पिरियड भएन। दोस्रोको पालामा पनि त्यस्तै भयो होला भन्ने सोचें। मोटाउँदै गएको थिएँ। पेट पनि बढ्न थाल्यो। लाग्यो, एक्सरसाइज भएन।

विस्तारै खान पनि रुच्च छाड्यो। जीउ अप्ठ्यारो हुँदै गयो। दुई-दुई जना बच्चा अप्रेसन गरेर निकालेकोले त्यस्तो भयो होला भन्ने सोचें। तर केही महिनापछि पेटमा मुभमेन्ट महसुस गर्न थालें। अनि झस्कें, ओहो! केही गडबड त भएन। मनमा शंकै-शंका लिएर जँचाउन जाँदा पो थाहा भयो, म त फेरि प्रेगनेन्ट भएछु।

एकदमै आत्तिएँ। साथमा ६ वर्ष र एक वर्ष नै नपुगेको दूधे बच्चा छ। कसरी हुर्काउने? डाक्टरले बच्चा जन्माउने भए पनि अप्रेसन गर्नुपर्ने र फ्याल्ने भए पनि अप्रेसन नै गरेर निकाल्नुपर्ने बताए। मैले धेरै सोचें, जे भए पनि बच्चा जन्माउने नै निर्णय गरें। भगवानले दिएको प्रसाद सम्झें र मनमनै सम्हालें। मेरो जीवनमा ३ वटा बच्चा नै लेखेको रहेछ सोचें। 

अहिले सम्झिँदा कसरी म्यानेज गरें हुँला भनेर अनौठो लाग्छ। २ वटा साना बच्चा, घर, बुटिक अनि पेटमा अर्को बच्चा। मनले चाह्यो भने असम्भव केही नहुने रहेछ। जेजे आउँछ, टर्दै जाने रहेछ।

०००
तेस्रो सन्तान नर्भिक अस्पतालमा जन्माएको थिएँ। सबैभन्दा गाह्रो पनि त्यही बेला भयो। बच्चा ठूलो भएकोले र पेटमा स्टिजहरुमा प्रेसर होला भनेर ३६ हप्तामै अप्रेसन गरेर बच्चा निकालिएको थियो।

त्यसबेला सबैभन्दा बढी पीडाको महसुस गरें मैले। यति दुख्यो कि सम्हाल्नै सकिनँ। पेन किलरले पनि काम गरेन। त्यतिबेलै नर्भिकमा मेन्टिनेन्सको काम भइरहेको थियो। आवाजले साह्रै डिस्टर्भ भयो। वार्डमा बस्नै सकिनँ। क्याबिनेमा सार्न अनुरोध गरिरहेको थिएँ। तर कोठा खाली थिएन। बल्ल राति ११ बजे मलाई क्याबिनमा सारियो। 

तीन वटै बच्चाको पालामा छैंठौं दिनमा छैंठी गर्नलाई मात्रै घर लगिएको थियो। घर गएर सबै बच्चा हेरेपछि मनमा आनन्द भयो। घर-परिवारले साथ र सहयोग गरेकाले मेरो सुत्केरी र कामकाजी जीवन पनि सहज भयो। आमा भएपछिको जीवन पहिलेको तुलना गर्दा आकाश–जमिनकै फरक हुँदोरहेछ।

विहेअघिसम्म पनि म बच्चाहरुसँग इन्जोय गर्ने खालकी थिइनँ। घरमा साना नानीहरु आए भने सामान बिगार्लान् भनेर लुकाउँथें। बच्चाले दिसा गर्दा पनि घिन मान्थें। तर आफ्नो बच्चा भएपछि त्यो घिन कता हरायो कता। आफ्नो भएपछि माया लाग्दो रहेछ।

आमा बनेपछि मेरो बानी-व्यवहार नै परिवर्तन भयो। आमाको शक्ति साँच्चै भगवानकै बरदान हुँदोरहेछ।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....