निकिलाको प्रसव पीडा र खुसी : डाक्टरले गाली गरेपछि पो अस्पताल भर्ना भएँ

निकिलाको प्रसव पीडा र खुसी : डाक्टरले गाली गरेपछि पो अस्पताल भर्ना भएँ

मेरो माइतीमा बुबाका धेरै दाजुभाइ र दिदीबहिनी भएकोले परिवारमा कुनै न कुनै बच्चा भइरहन्थ्यो। मलाई बच्चासँग खेल्न साह्रै मनपर्ने। बच्चासँग खेल्दा तनाव नै हराउँथ्यो।

मैले २१ वर्षअघि विनोदनरसिंह श्रेष्ठसँग विहे गरें। विहेपछि बच्चा कहिले पाउने भन्ने प्लान थिएन। त्यो विषयमा खुलेर कुरा पनि हुँदैनथ्यो।

विहे भएको साढे दुई वर्षपछि म प्रेगनेन्ट भए। डा. विमला मल्लकहाँ देखाएका थियौं। प्रेगनेन्ट भएको कुराले म खासै खुसी हुन सकिनँ। अब बच्चाको जिम्मेवारी कसरी लिने भन्ने कुरा सोच्नमै २/३ महिना समय लाग्यो।

म प्रेगनेन्ट भएको थाहा पाउनासाथ अंकलले प्रेगनेन्सी सम्बन्धी केही किताब ल्याइदिनुभयो। म त्यो किताब दोहोर्याई-तेहर्याई पढ्थें। कसैले केही सोध्न पनि नसक्ने। डा. विमला मल्ल एकदमै सहयोगी हुनुहुन्थ्यो। म किताबमा नबुझेका कुराहरु सोध्न जाँदा राम्ररी बुझाइदिनुहुन्थ्यो। त्यो किताब मेरो लागि बरदान नै सावित भयो।

मेरो प्रेगनेन्सीको खबरले सबैभन्दा धेरै खुसी मेरी ८२ वर्षकी बज्यै (आमाको आमा) हुनुभयो। चौथो पुस्ता देख्न पाउने भएँ भनेर उहाँ खुसी हुनुभएको थियो। उहाँले नै बच्चाको लागि लुगाफाटा, ओच्छ्यान बनाउनु भएको थियो। यो खाउ, यो नखाउ, मन्दिर नजाउ जस्ता कुराहरु भनिरहनुहुन्थ्यो। 

०००
म त्यतिबेला एनजिओमा काम गर्थें। काम त्यति गाह्रो पनि थिएन। साथै मलाई प्रेगनेन्सीमा खासै गाह्रो भएन। नर्मलै थिएँ, पहिलाको जस्तै। खाली पेटले मात्रै फरक देखाइरहेको थियो।

डाक्टरले दिएको समय आउन एक हप्ता बाँकी थियो। अब बिदा लिनु पर्ला भनेर बोर्ड मिटिङमा कुरा गर्छु भन्दाभन्दै बोर्ड मिटिङ हुने बिहान ५ बजेतिरै मेरो पानी बग्यो, पूरै सारी भिज्नेगरी।

त्यो बिहान मेरो खाना पकाउने पालो थियो। पानी बगिरहेको बेला पनि खाना पकाएर हस्पिटल गएँ। डा. मल्लले गाली गर्नुभयो, अहिले नै पाटन हस्पिटलमा गएर भर्ना होउ भनेर। हामी क्लिनिकबाट पाटन हस्पिटल पुग्दा ११ बजिसक्यो सकेको थियो। प्रसूतिको बेडबाटै अफिसमा फोन गरेर बिदा मिलाएँ। 

त्यो प्रसब पीडा सम्झिँदा अहिले पनि जिउ सिरिङ्ग हुन्छ। दुखाइ अनि छटपटीले साह्रै गाह्रो भयो। डाक्टरलाई अप्रेसन गरेर बच्चा निकाल्न अनुरोध गरें। तर मान्नु भएन। डाक्टरको भनाइ थियो, अवस्था नर्मल नै छ, किन अप्रेसन गर्ने?

०००
नेवार समुदायमा बच्चा पाउनुअघि माइती र घरबाट दही-चिउरा खुवाउने चलन छ। मेरो ममी र फुपूहरु ९ महिना छुनासाथ घरमा दही-चिउरा खुवाउन आउनुभयो। दही-चिउरा खुवाउन बिहीबार धेरैले राम्रो मानिँदोरहेछ। अर्को बिहीबार ठूलो ममी आउने कुरा थियो, तर बुधबारै हस्पिटल ल्याएकोले त्यही दिन उहाँले दही-चिउरा खुवाउन ल्याउनुभयो।

म हस्पिटलमा प्रसवको डरलाग्दो पीडामा थिएँ, ठूलो ममी भने मेरो मुखमा खानेकुरा कोच्याइरहनु भएको थियो। मैले खान मानिरहेकी थिइनँ तर उहाँ भने दही-चिउरा नखाएसम्म तिम्रो बच्चा जन्मँदैन भनेर कर गरिरहनुभएको थियो। नभन्दै उहाँले खुवाएको केही क्षणमै बच्चा जन्मिहाल्यो। 

त्यो लामो पीडापछि जन्मिएकी छोरीलाई पुलुक्क हेरें, साह्रै आनन्द आयो। पेटबाट केही अंश नै हराए जस्तो भयो। बच्चालाई छातीमै टाँसिराखौं जस्तो भयो। परिवारमा सबै दंग थिए, माइतीमा त हर्षउल्लास नै भयो। पहिलो सन्तानको सन्तान भएर पनि होला। 

बच्चा पाएको १०/१२ दिनपछि ब्रेस्ट फिडिङ गर्दा दूधको निप्पलमा घाउ भयो। घाउ भएपछि बच्चालाई दूध खुवाउन सकिनँ। बोटलबाट दूध खुवाउन सुरु गरियो। कस्तो नमज्जा लाग्ने त्यो क्षण। आफ्नो दूध आइरहेको छ तर छोरीले खान पाएकी छैन। निप्पलबाट रगत समेत बग्ने हुँदा पम्पबाट निकाल्दा पनि रगत आउँथ्यो।

मेरो लागि प्रसवको सबैभन्दा पीडादायी घटना यही हो। अहिले सम्झँदा पनि रुन आउँछ। माइतीमा सुत्केरी बस्न नजाँदासम्म मलाई धेरै गाह्रो भयो। बच्चा आफैं हेर्नुपर्ने, आफैं नै कमजोर र अस्वस्थ। 

०००
एक्काइसौं दिनमा माइतीबाट मासु खुवाउन ल्याएपछि भोलिपल्टै माइती गएँ। यदि मलाई माइतीबाट पूरा सपोर्ट नभएको भए धेरै गाह्रो हुन्थ्यो। यो मेरो मात्रै होइन, हरेक महिलाको साझा कुरा हो। बच्चा ५ महिनाको हुँदासम्म माइतीमै बसें।

श्रीमानका ३ जना दाजुभाइ, सगोलमै बस्थ्यौं। त्यो भएर खासै सपोर्ट थिएन। जंकु (पास्नी) को साइट निकालेपछि ४ दिनअघि मात्रै घर फर्केको थिएँ। पास्नीपछि छोरीलाई निमोनिया भयो। त्यसैले फेरि माइतीमै आएँ। त्यसपछि मैले अफिस छोडें।

६ महिनापछि कलेजमा २-३ वटा क्लास लिन जान थालें। बच्चालाई माइतीमै छोडेर काममा जान्थें।

त्यसपछि मलाई टिबी भयो। धेरै डाक्टरलाई देखाएँ तर के भएको पत्ता लगाउनै सकेनन्। एकदमै दुब्लाएर गएको थिएँ र मुखवाट रगत पनि आउने। टिबीको टेस्ट गर्दा नेगेटिभ देखाउने। मेरो फुपाजु पनि डाक्टर हुनुहुन्थ्यो। उहाँले रिक्स लिएर टिबीकै औषधि चलाइदिनुभयो। ९ महिना नियमित औषधि खाएँ। त्यो बेला डेढ वर्षकी मेरो छोरी ठिक समयमा औषधि र पानी बोकेर आइपुग्थी।

त्यतिबेला मलाई खुब डर लाग्थ्यो, म मरें भने यो बच्चाको के हालत होला? होइन यसकै लागि बाँच्नुपर्छ भन्ने पनि लाग्थ्यो। बाच्ने चाहना र आधार पनि छोरी नै बनी।

छोरी १८ महिनाकी भएपछि कान्तिपुर टेलिभिजनमा काम गर्न गएँ। कान्तिपुरको सुरुवाती समयका ३/४ जना स्टाफमध्ये म पनि एक थिएँ। टेलिभिजनमा समयको ठेगान नहुने छोरीले खाना खानुभयो, पानी पर्दा छाता लानुभएको छ भन्दै फोन गर्थी। एकदमै सहयोगी थिई मेरी छोरी। 

बच्चा २/३ वर्षको भएपछि माइतीबाट अर्काे बच्चाको लागि फोर्स आइरहन्थ्यो। तर छोरीसँग यस्तो एटेचमेन्ट भयो कि अरु छोराछोरी चाहिन्छ भन्ने फिल नै भएन। सानैदेखि उसले इमोसनल सपोर्ट गर्थिन्। मलाई अझै याद छ, माइतीबाट घर जाँदा कोठा फोहोर देख्दा श्रीमानसँग कराउँथें। छोरीले मलाई बाटोभरि घरको कोठा फोहोर भए पनि बुबासँग नकराउनु है, म पनि सफा गरिदिन्छु भन्थी। मलाई लाग्थ्यो, मैलै छोरी मभन्दा पनि बुझकी पाएछु।

०००
ससुरा सितार बजाउनुहुन्थ्यो। उहाँले छोरी ५ वर्षकी भएपछि भ्वाइलिन उपहार दिनुभयो। १४ वर्षअघि दिएको त्यो भ्वाइलिन उनी अहिले पनि बजाउँछिन्।

हरेक दशैंमा हजुरबुबासँग बसेर मालश्री धुन, मंगलधुन बजाउँछिन्। अहिलेसम्म पनि उनले बजाउँदा म दर्शक भएर सुनिदिन्छु। उनलाई वाद्य शिरोमणि घरानामा सिक्न लाँदा म पनि तबला सिक्न गएको थिएँ तर मेरो ढाडको समस्या देखिएपछि त्यसलाई निरन्तरता दिन सकिनँ। 

१९ वर्षकी छोरी विपस्वी अहिले ब्याचलर पढिरहेकी छिन्। अहिले आएर मलाई आमाछोरीको सम्बन्धलाई हेर्दा हार्ट टु हार्टको सम्बन्ध भनेर यही रहेछ भन्ने लाग्छ। एकअर्काको एक्सप्रेसन पनि हामी दुवैले मज्जाले बुझ्छौं। 

हामी आमाछोरी बेस्ट फ्रेन्ड जस्तै छौं। अहिले त म उनीसँग सल्लाह पनि लिन्छु। उ नीनया जेनेरेसनको प्रतिनिधित्व गर्छिन्। 

छोरीले २०२० मा अमेरिकामा पढ्न जाने छात्रवृत्ति पाएकी थिइन्। कोरोनाले गर्दा जान पाइनन्।

मलाई मेरो हजुरबुबाले भनेको कुरा सधैं याद आउँछ- केटी मान्छेलाई पढाउनुपर्छ र आत्मनिर्भर बनाउनुपर्छ। मेरी छोरीले पनि आत्मनिर्भर भएर देशको प्रतिनिधित्व गरुन् भन्ने चाहना छ।

यो पनि

२४ असोज, २०७८, १५:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।