उकेरा कोलम

डा. रीनाको प्रसव पीडा र खुसी : म चिच्याउँथें, नर्सहरु यति दुख्दैमा कहाँ बच्चा पाइन्छ भन्दै हप्काउँथे


डा. रीना शाक्य यतिबेला पाटनढोकास्थित आफैंले सञ्चालन गरेको लुमन्ती डेन्टल क्लिनिकमा व्यस्त छिन्।

बच्चा भनेपछि हुरुक्कै हुने र बालमैत्री बोली-व्यवहारले गर्दा उनको क्लिनिकमा आएका बच्चाहरु दाँतको उपचार गराउन सजिलै तयार हुन्थे।

विवाहपछि करिअर र घर-व्यवहार सँगसँगै सम्हाल्दै आएकी डा. रीनाले योजना अनुसार नै बच्चा जन्माएकी हुन्। गर्भवती हुँदा पाएको दुःख, प्रसवको पीडा र त्यसपछिको खुसीलाई उनले उकेरामार्फत यसरी व्यक्त गरिन्ः

मलाई बच्चा एकदमै मनपर्ने। जसको बच्चा पनि फकाएर राख्न सक्थें। हस्पिटलमा अरुले नसकेको बच्चाको उपचार गराउन मलाई राखिन्थ्यो। डाक्टरहरु क्लिनिकमा आएका बच्चालाई कसरी ह्याण्डल गर्ने भन्ने विषयमा आर्टिकल लेख्नूस् भन्थे।

अहिलेसम्म मकहाँ दाँतको उपचार गराउन आएका बच्चालाई फर्काउनु परेको छैन। म बच्चा फकाउनमा त  खप्पिस नै थिएँ। बच्चालाई बोकेर हिँड्न, फकाउन, खेलाउन साह्रै मनपर्थ्यो मलाई।

करिअर सुरु हुँदै थियो। मेरो विवाह पाटनका उद्यमी सुमन शाक्यसँग सन् २००५ मा भयो। उहाँको घरमा कोही पनि महिला थिएनन्। नन्द हुनुहुन्थ्यो, तर उहाँ र मेरो एकै पटक विवाह भयो। श्रीमान् र दुई जना अविवाहित काकाहरु मात्रै घरमा थिए।

सबै घरको जिम्मेवारी ममाथि आयो। पुरुष मात्रै भएकोले घरलाई बढी समय दिनुपर्‍यो। त्यसैले हामीले तुरुन्तै बच्चा पाइनहाल्ने सोच बनायौं। पहिला आफू सक्षम हौं र घरलाई पनि सम्हालौं भन्ने लाग्यो।

विवाह भएको दुई वर्षपछि हामीले बच्चाको प्लान गर्‍यौं। त्यसको ३ महिनापछि कन्सिभ भयो। म र श्रीमान दुवै दंग थियौं। एक त प्लान गरेकै थियौं, अर्को प्लान गरेर प्रेगनेन्ट हुँदा हरेक कुरा प्लानकै मुताविक हुनेमा ढुक्क थियौं।

मैले प्रेगनेन्सीको नवौं महिना निकै गाह्रो हुने कुरा साथी र आफन्तहरुबाट धेरै सुनेको थिएँ। त्यसबाट मलाई निकै डर लाग्थ्यो। ओहो! मेरो घरमा त कोही केटी मान्छे छैन, म कसरी बस्ने होला जस्तो लाग्थ्यो? 

तर, मैले सुनेको जस्तो गाह्रो भने भएन। ९ महिनाको अवधिमा कुनै दिन पनि न भोमिट भयो न त केही कुराको एलर्जी नै। जम्मा ४५ केजीको थिएँ। ५ महिनासम्म त म प्रेगनेन्ट भन्ने कसैलाई पनि थाहै थिएन। एकदमै एक्टिभ थिएँ। घरको सबै काम गर्नैपर्‍यो। त्यति बेला मोडल हस्पिटल र लायन्सको क्लिनिकमा काम गर्थें। बिहान वा साँझ अलिअलि हिड्थें पनि।

प्रेगनेन्ट हुनुअघि मलाई निकै टाउको दुख्थ्यो। दुई हप्ताको एक पटक त सिटामोल नै खान्थें। तर प्रेगनेन्सीपछि टाउको कहिल्यै दुखेन। अचम्म लाग्ने, अरुलाई कति गाह्रो भयो भन्थे। तर मलाई भने पहिले भएको गाह्रो पनि त्यो समयमा निको भयो। म भन्दा एक महिनापछि प्रेगनेन्ट भएको नन्दलाई श्रीमानको परफ्युमको बासनाले समेत भोमिट हुन्थ्यो। 

०००
डाक्टरले दिएको समय आउन हप्ता दिन बाँकी थियो। एक हप्ता घरमा आराम लिने सोचले भोलिपल्टदेखि बिदा मिलाएर ७ बजेको ड्युटी सकेर घर फर्केको थिएँ। घर फर्केर प्रेगनेन्सीको बारेमा लेखिएको किताबको पढ्न बाँकी अंशहरु पढ्दै थिएँ।

श्रीमान् त्यतिबेला एस इन्स्टिच्युटमा इभिनिङ क्लास लिनुहुन्थ्यो। उहाँलाई कुरिरहेको थिएँ। मलाई वाटर ब्रेक भयो। एकदमै डर र नर्भस भएँ। तत्काल डाक्टर कुन्डुलाई फोन गरिहालें। उहाँले भोलिसम्म लेबर पेन सुरु भयो भने पाटन हस्पिटल जानु नत्र क्लिनिकमा आउनु भन्नुभयो। 

राति ११ बजेदेखि नै लेबर पेन सुरु भइहाल्यो। रातभर सहेरै बसें। बिहान ४ बजे मेरो दिदीलाई फोन गरेर हामी पाटन हस्पिटल गयौं। पाटन हस्पिटलमा पुग्दा नाइटका डाक्टरहरु कोही थिएनन्। एक त प्रसवको भयंकर पीडा त्यसमा हस्पिटलको दिक्कलाग्दो म्यानेजमेन्ट। 

म चिच्याइरहेको हुन्थें। नर्सहरु भने यति दुख्दैमा कहाँ बच्चा पाइन्छ भन्दै हप्काएर फर्कंन्थे। भित्र श्रीमानलाई नपठाउने भएकोले मलाई काम गर्नेले रेखदेख गरिरहेकी थिइन्। बेडमा बेडसिट पनि थिएन। यहीँ पल्टनु भनेर अह्राए। साह्रै सकसपूर्ण पल थियो त्यो। बल्ल बिहान दिदीले ब्याग, सामान ल्याउनुभयो। 

पहिले-पहिले बच्चा जन्माउने बेला आमाहरु आउनुहुन्न भन्ने चलन रहेछ। आमा आउँदा दैवले आमाले हेरिहाल्छिन् नि भनेर छोड्छ भन्ने चलन रहेछ। त्यही भएर आमा आउनुभएन। त्यो समय आफ्नी आमालाई धेरै सम्झिइने रहेछ। मेरो दिदी नै आमा बनेर आउनुभएको थियो। 

लेबर पेन हुँदा पानी समेत खान नदिने रहेछन्। मलाई एकदमै प्यास लाग्यो। जिउ सुख्खा, मुख सुख्खा तर पानी खान नपाइने। म बेस्सरी कराइदिए। कराएको सुनेर श्रीमान भित्र आउनुभयो। त्यसपछि आधा ग्लास पानी खुवाए। त्यहाँ श्रीमानले चिन्ने डाक्टरलाई भनेपछि बल्ल लेबर पेन कम हुने इन्जेक्सन दिइयो।

त्यो भन्दा पहिला नै दिदीलाई बच्चाको टाउको देखिएपछि बोलाउन आउनु भनेर नर्सहरु गएका थिए। दिदी छिनछिनमा टाउको निस्क्यो कि भनेर हेरिरहनुहुन्थ्यो।

इन्जेक्सन दिएको केही समयपछि बच्चा जन्मियो। त्यसपछि भने एकदमै रिलिफ महसुस भयो।

प्रसव व्यथाको समयमा मलाई निकै गाह्रो भयो। म खासै पीडा सहन नसक्ने मान्छे। आमाले त मैले नर्मल बच्चा जन्माउँला भनेर कल्पना नै गर्नुभएको थिएन रे। एक दिनअघिसम्म ड्युटी गरिरहेको मान्छेले भोलिपल्ट बिहानै बच्चा पायो भन्दा कसैले पनि पत्याएका थिएनन्।

महिला नभएको घर भएकोले धेरै गाह्रो भयो। मलाई भन्दा श्रीमानलाई अझै गाह्रो भयो। त्यसैले न्वारन सकेर आठौं दिनमै माइती गएँ। माइती गएपछि तेल मालिस गराएँ। जाडो महिना थियो। घाममा धेरै बस्थें। हिटर र आगो पनि खाली नै हुन्नथ्यो।

सुत्केरीमा दुखेको ढाड निको हुन गाह्रो हुन्छ भनेर विशेष ख्याल गर्नुहुन्थ्यो। उखु पेलेपछिको केस्रा आगोमा बाल्दा ढाड दुख्दैन भनेर बिहानै उखु पेल्ने ठाउँमा पुगिहाल्नुहुन्थ्यो। त्यसरी स्याहार पाएकोले होला, मलाई अहिलेसम्म पनि ढाड दुख्ने समस्या छैन। घाममा धेरै बसेर भिटामिन डी पनि धेरै पाएर होला। नत्र डेन्टिस्टहरुमा ढाड दुख्ने समस्या हुन्छ नै। हाम्रो काम उठेरै बढी गर्नुपर्ने हुन्छ।

मैले छोरीलाई जन्मिएदेखि नै मजाले दूध खुवाउन सकें। उसलाई कहिल्यै ल्याक्टोजिन खुवाउनु परेन। दुई वर्षसम्म मेरै दूध खुवाएँ। 

बच्चा भएपछि ६ महिना हस्पिटलमा बेतलबी बिदा लिएँ। तीन महिनापछि लायन्स डेन्टलमा तीन घण्टाको लागि काममा जान थालें। 

०००
अहिले छोरी मेरो बेस्ट फ्रेन्ड जस्तै भएकी छिन्। हामी एउटै छोरीमा खुसी छौं।

हामीले छोराछोरी जे भए पनि एउटै मात्र सन्तान जन्माउने सोच बनाएका थियौं। समय दिन र खर्च गर्न सके मात्रै अरु बच्चाको बारेमा सोच्दा न्याय होला भन्ने लागेर हामी एउटै छोरीमा खुसी भएका छौं। म छोरीको आमा भएकोमा गर्व गर्छु।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....