उकेरा कोलम

कवि शान्ति शर्माको प्रसव पीडा र खुसी : दगुरेर बरन्डाबाट हाम फालुँला जस्तो गर्थें


सानैदेखि साहित्यमा रुचि भएकी शान्ति शर्मा क्यान्सर जितेपछि अर्थात् पाँच वर्षदेखि पूर्ण रुपमा साहित्य क्षेत्रमै सक्रिय भइन्। उनी अहिले कविता, गीत, गजल र मुक्तक लेख्ने गर्छिन्। तिहारलगत्तै उनको कवितासंग्रह आउँदै छ भने संस्मरण र उपन्यास पनि प्रकाशोन्मुख छन्।

सोलुखुम्बुमा जन्मेर १५ वर्षकै उमेरमा विहे गरी तराई झरेकी शान्ति १७ वर्षकै उमेरमा आमा बनिन्। प्रसूति स्वास्थ्य सम्बन्धी खासै ज्ञान नभएकी शान्तिलाई तीन दिनसम्मको प्रसव पीडा र बच्चा निकाल्दाको दुःख अझै याद छ।

पहिलो बच्चा जन्मिँदा भएको पीडा सम्झेर दोस्रो बच्चा पेटमा आएपछि फ्याल्नको लागि विभिन्न उपाय अपनाएकी शान्ति बच्चा जन्मेपछिको सुखाअनुभूति त बयान नै गर्न नसक्ने बताउँछिन्।

पाँच वर्षअघि भएको स्तन क्यान्सर छोराको माया र हेरचाहबाट जित्न सकेको बताउने शान्ति प्रसवको पीडा र खुसीलाई उकेरामार्फत यसरी पोख्छन्:

मेरो विहे १५ वर्षकै उमेरमा भयो। सोलुखुम्बुमा त्यतिबेला छोरीको विहे छिट्टै गरिदिने चलन थियो। विहेसँगै सरकारी जागिरे श्रीमानको पछि लागेर सिरहाको लहान पुगें। विहे भएको दुई वर्षमा पहिलो सन्तान जन्म्यो।

मलाई प्रेगनेन्सीको बारेमा केही ज्ञान नै थिएन। आउँ परे जस्तो, कट्कट् दुखे जस्तो भयो। महिनाबारी पनि बेलामा भएन। एकदमै कमजोर भएको महसुस भयो। मैले सोचेकै थिइनँ, पेटमा बच्चा छ।

त्यहा मसँग काम गर्ने कान्छी दिदी थिइन्। उनले मेरो समस्या देखेर सोधी-खोजी गरिन्। त्यसपछि मात्रै हामी डाक्टरकहाँ देखाउन गयौं।

विराटनगर आएर डा. शोभा श्रेष्ठलाई देखाउँदा पेटमा तीन महिनाको बच्चा भइसकेको रहेछ। म त ट्वाल्ल परें। म आफू नै बच्चा जस्तो थिएँ।  ६ महिना भएपछि फेरि देखाउन गयौं। पुस महिनामा बच्चा जन्मने समय दिइएको थियो। त्यही दुई पटक मात्रै हो, डाक्टरकहाँ जँचाउन गए पनि।

०००
हामी बुढाबुढी लहानस्थित मीना राईको घरमा बस्थ्यौं। म सानी थिएँ, पेट पनि सानै थियो। सधैंजसो कुर्सीमा बसिरहन्थें। कान्छी दिदीले यसरी कुर्सीमा मात्रै बसिराख्नु हुँदैन, पछि बच्चा पाउन गाह्रो हुन्छ, हिँड्डुल गर्नु भन्थिन्। मलाई चाहिं बच्चा कसरी पाउने होला भन्ने तनाव थियो।

एक्लै हुँदा मैले कान्छी दिदीसँग सोधें, ‘बच्चा कसरी पाइन्छ? कस्तो-कस्तो हुन्छ?’ उनले भनिन्, ‘९ महिना पूरा भएपछि ब्यथा लाग्छ। ढाड, कम्मर दुख्छ। अगाडि-पछाडि कट्कट् खान्छ। सेतो पानी बग्छ अनि बच्चा जन्मन्छ। मलाई लाग्यो, बच्चा पाउन त सजिलो पो रहेछ। अनि मैले बच्चा पाउनेबारे सोच्दै सोचिनँ।

एक दिन कान्छी दिदीले भनेजस्तै भयो। राती सुत्दै थिएँ, डरलाग्दो गरी दुख्यो। श्रीमानले घरभेटी मीना दिदीलाई बोलाउन जान खोज्दा मैले भनें, कान्छी दिदीले भने जस्तै अगाडि-पछाडि दुखिसक्यो। सेतो पानी पनि बगिसक्यो। अब बच्चा निस्किहाल्छ।

म त्यस्तो जाडो समयमा पनि पसिनाले निथ्रुक्क भिजिसकेको थिएँ।

मेरो कुरा सुनेर श्रीमान् पनि ढुक्क हुनुभयो। लहानमा त्यतिबेला बत्ति, टेलिफोन, यातायात केही थिएन। ६ बजेदेखि ८ बजेसम्म विद्युत प्राधिकरणले जेनेरेटरले बत्ति बाल्थ्यो। अरु समय त टुकीकै भर थियो। 

उज्योलो भयो तर मेरो व्यथा कम भएन। न त बच्चा नै जन्म्यो। विराटनगरमा जान गाडी थिएन। लाहानकै स्वास्थ्य केन्द्रबाट चम्पा राई नामकी नर्सलाई बोलाइयो। उनी आउनुअघि वरिपरिका महिला जम्मा भई आगो बालेर ढाडमा सेकाएर पूरै बल गर्न लगाइरहे। जति बल गरे पनि केही भएन। चम्पा नर्सले स्लाइन लगाइदिइन्।

तीन दिनसम्म ब्यथा लागेर पनि बच्चा नजन्मेपछि नर्सले नै बेलुका ८ बजे काटेर बच्चा निकालिदिइन् र टाँका लगाइदिइन्। त्यो बेला मलाई यति पीडा भयो कि मलाई बरु मार भनेर दगुर्थें। दगुरेर बरण्डाबाट हाम फालुँला जस्तो गर्थे।

त्यतिबेला खोटाङबाट मेरा दुई जना मामा आउनुभएको रहेछ। भान्जी भनेको सुनेको थिएँ। मलाई धेरै गाह्रो भएको देखेपछि उहाँहरु फर्किनुभएछ। गाउँमा गएर यतिबेला त शान्ति भान्जी मरिसकी होला भनेर खबर सुनाउनुभएछ। अहिले जस्तो सञ्चार सुविधा थिएन। हुलाक र आवाको भर थियो। घर र मावलीमा त पूरै रुवाबासी नै चलेछ।

साढे तीन केजीको छोरा निकालेर मलाई दिएपछि त्यो तीन दिनको मरेतुल्य दुखाइ त कता भाग्यो कता। त्यो प्रसव पीडापछिको खुसी शब्दले वर्णन गर्न सक्दिनँ।

०००
नाति जन्मेको खबर पाएपछि मेरो लागि सुनको नेकलेस सेट, बच्चालाई डस्ना, लुगाहरु बनाएर भरियासहित बुबा आउनुभएको थियो। बुबा देख्नासाथ मलाई लाज पो लाग्यो। उहाँको अगाडि बच्चालाई काखमा राख्न नै सकिनँ। बच्चा छोडेर पर-पर भाग्थें। हुन त बुबा र म जम्मा १९ वर्षको फरक साथीहरु जस्तै थियौं। तैपनि, बच्चा पाएपछि लाज चाहिं एकदमै लाग्यो। 

बच्चा समात्न नजान्ने, छेउमा सुताउन डर लाग्ने, दूध भने खोला बगेजस्तो बग्ने। दूध धेरै आएर पनि दुःखै भयो। बच्चा निकालेपछि काटेको भागमा टाँका लगाउँदा प्लास्टिकको धागो अलिकति छोडिएको रहेछ। त्यो प्लास्टिकको धागोले खुट्टाको दुवै कापमा घाउ बनाएर पनि दुःख पाएँ। सुत्ने बेला बीचमा सिरानी हालेर मात्रै सुत्नुपर्ने। तैपनि, त्यो पीडाको अगाडि आमा बन्दाको खुसी दुनियाँमै नपाइने अनमोल थियो।

दुई वर्षको हुँदा छोरालाई निमोनिया देखियो। हस्पिटलमा दशैंको बेला ६ दिन भर्ना गर्नुपर्‍यो। त्यतिबेला सो हस्पिटलमा दार्जिलिङका नेवार र राई दुई जना नर्स थिए। ती नर्सहरु बाबुलाई बोक्दै हिँडिरहने। मलाई पनि साह्रै माया गर्थे।

०००
जेठा छोरा चार वर्षको लाग्दा कान्छो छोरा पेटमा आएको थियो। पहिलो बच्चाको पालामा दुखेको क्षण र डर सम्झेर बच्चा नजन्माउने सोचले हस्पिटल पुगें। त्यहाँ ती दुवै नर्ससँग भेट भयो। मैले पेटको बच्चा नपाउने बताएको मात्रै के थिएँ, हामी छौं, किन फ्याल्ने? हामी हेरिदिन्छौं भनेर फकाएर पठाए। 

पछि श्रीमानको उदयपुर, नेपालटार सरुवा भयो, उहाँको पछि लागेर हामी पनि उतै गयौं। यो ९ महिनामा दुई महिना पनि अन्न पेटमा गएन। खाली डर मात्रै थियो। मैले दोस्रो बच्चा नजन्माउनको लागि के-के मात्रै गरिनँ। सोच्दा पनि अहिले आफैसँग रिस उठ्छ। धामी-झाँक्रीदेखि विभिन्न पूजापाठ पनि लगाएँ। तर भगवानको मर्जीको अगाडि कसैको केही नलाग्ने रहेछ।

कात्तिक १३ गते बिहानैदेखि व्यथा सुरु भयो। बेलुकासम्म त बच्चा जन्मिहाल्यो। हेल्थपोस्टबाट कम्पाउन्डर बहिनी आएर बच्चा निकालिदिइन्। पहिले जस्तो काट्नुपरेन। काट्न नपरेपछि टाँका लगाउनुपरेन र त्यो दुखाइबाट पनि बचियो। अन्न नै कम खाएको शरीर भएर कमजोर चाहिं भयंकर भयो।  

०००
सानै उमेरमा दुई जना बच्चा हुर्काउनु-बढाउनुपर्‍यो मैले। ठूलो छोरालाई हुर्काउन खासै गाह्रो भएन। कान्छोलाई हुर्काउन भने धेरै गाह्रो भयो। बिरामी भइरहने। निमोनिया हुने, हरियो दिसा गर्ने, चिसो लागिरहने, छाती घ्वार्घ्वार भइरहने भयो। तीन वर्षसम्म त राति खासै सुत्नै पाइनँ। कान्छो राति पटक्कै नसुत्ने। काखमै राखिरहनुपर्ने।

कान्छोलाई बचाउन धेरै दुःख भयो। कहिले जुत्ता-चप्पल नै नलगाई हस्पिटल पुग्थें। बच्चा नै नजन्माउने सोच बनाएको मलाई पछि त बच्चाको अनुहार मात्रै देख्दा पनि मायाको गहिरो कनेक्सन हुने भयो।

बच्चालाई केही पीडा हुँदा पनि होस् हवास नै उड्ने। आमाको माया त अपरम्पार रहेछ।

अहिले जेठो छोरा क्षीतिजबाबु रिजाल र कान्छो छोरा अधिवक्ता अतीतबाबु रिजाललाई हेर्दा जीवनमा सबैभन्दा भाग्यमानि मैं हुँ कि जस्तो लाग्छ। 

०००
पाँच वर्षअघि स्तन क्यान्सर भएपछि दुई छोराको प्रेम, स्याहार-सुसारले मैले नयाँ जीवन पाएँ। ठूलो छोरा अस्ट्रेलियामा छ अहिले। सानोले यहाँ मलाई ६ महिनाको बच्चालाई जस्तो केयर गर्छ। मेरो खुसीको लागि मेरा छोरा जस्तोसुकै परिस्थितिसँग जुध्न हमेसा तयार छन्।

मेरो साहित्य यात्रामा छोराले अभिभावकले जस्तो साथ दिएका छन्।

आमा बनेपछि नै हो मैले जीवनको सही महत्व बुझ्न थालेको। आमाको लागि सन्तानको मायासँग केही पनि तुलना गर्न सकिँदैन। मैले क्यान्सर जित्नुमा पनि छोराहरुको माया नै त हो।

यो पनि

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गायिका मनिषाको प्रसव पीडा र खुसी : बच्चा नदिउन्जेलसम्म कतै साटिदिने हुन् कि भन्ने डर लागेको थियो

छोराछोरी हुर्किएपछि संगीतलाई निरन्तरता दिने बाचाका साथ ‘लुपोस्’ सँग लडिरहेकी उनै मनिषा राईले उकेरासँग आफ्नो प्रसव पीडा र खुसी यसरी साँटिन्: मेरो जन्म खोटाङमा भयो। हामी पाँच....

डा. रन्जितको उपचार अनुभव : अप्रेशन थिएटरमा लगिसकेकी महिलालाई सिनियर डाक्टरले बाहिर निकाले

महिलाको उपचारका लागि सर्जरी गर्ने योजना अनुरुप मुटुरोग विशेषज्ञ डा. रन्जित शर्माको टिमले बिरामीलाई अप्रेशन थिएटरमा पुर्‍यायो। डाक्टरको टिम शल्यक्रियाका लागि तयार भयो। तर, त्यतिबेलै....

सर्वनामको ‘लाटो’ गाथा

अहिलेसम्मका लागि उसको नाम हो सर्वनाम। ‘सर्वनाम’ पनि भन्न मिल्ने हो कि होइन? त्यो भन्न सकिने अवस्था पनि छैन। व्याकरणमा लेखिएको छ जस्तो लाग्दछ– नामको....

‘के लत बस्यो मलाई’का सर्जक प्रदीपकुमार मैनालीसँग हिजोका कुरा : पाँच दिनसम्म डरले रुखमा लुकेर बसे, सात दिन लगाएर सर्वप्रिय गजल लेखे

सानोमा उनी 'पल्टन' खेल खेल्थे। आफू सानो भए पनि खेल्दा सबैलाई पल्टाउने गर्थे। रुखमा बस्दाबस्दा थाकेपछि उनी घरभित्र रहेको कोदाको ढुकुटीभित्र पसेछन्। चौध-पन्ध्र मुरी....

चौथो अंग : युनिभर्सिटीमा पत्रकारिता पढेर आएकालाई ४ लाइनको समाचार लेख्न किन आउँदैन?

शैली बदलिइरहन्छ अनि माध्यम पनि। पहिला हातले कागजमा लेखेरै पत्रकारिता चल्थ्यो। कम्प्युटर आएपछि कम्प्युटर जाने सहजै रोजगारी पाउन सकिने भयो। पछि इन्टरनेट आयो।  अहिले त....